१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी बैठक : गठबन्धनमाथि प्रश्न



काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। राजधानीको प्रज्ञा भवनमा आयोजित बैठक सोमबार ११ बजे बस्ने बताइएको छ।

आइतबार पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले १० पन्ने ‘संक्षिप्त प्रतिवेदन’ पढेर सुनाए। प्रतिवेदन पढ्नुअघि उनले सात प्रदेशसहित ९ कमिटीका अध्यक्षहरुबाट ब्रिफिङ सुने।

त्यसपछि प्रचण्डले बैठकमा ‘संक्षिप्त राजनीतिक प्रतिवेदन’ प्रस्तुत गरे। राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गर्दै स्थानीय निर्वाचन, सत्ता गठबन्धन र आगामी निर्वाचनका बारेमा प्रचण्डले दस्तावेजमार्फत केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा प्रस्तुत गरेका छन्।

पदाधिकारीको विषयले पाएन प्रवेश
लामो समयदेखि अल्झिरहेको पदाधिकारी चयनको विषयले भने यो बैठकमा पनि प्रवेश पाउन सकेको छैन।

खासगरी महासचिव र उपाध्यक्ष पदमा भागवण्डाको लफडा मिलाउन नसक्दा प्रचण्डले यो विषय थाती राखेको नेताहरु बताउँछन्।

गत मंसिरमा ८ औँ महाधिवेशन गरेको माओवादीले अहिलेसम्म पदाधिकारी चयन गर्न नसक्दा आलोचना खेप्ने गरेको छ।

पहिलो दिनमा प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने कार्यसूची भएपनि पदाधिकारीको विषयले भने प्रवेश पाउन सकेन्। यो बैठकबाट जसरी पनि पदाधिकारी टुंगिनपर्ने नेताहरुले आन्तरिक छलफल गरेपछि नेतृत्वसामु भने खुलेर यो विषय उल्लेख गर्न सकेका छैनन्।

‘पार्टीको यही पाराले यो पटक पनि पदाधिकारी चयन हुँदैन्,’ एकजना असन्तुष्ट केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘निर्वाचनसम्म यतिकै जान्छ जस्तो छ।’

तथापि प्रचण्डको प्रतिवेदनमा भने गर्नुपर्ने संगठनात्मक कामहरुमा स्थायी कमिटी, पोलिटब्यूरो र पदाधिकारी चयनको विषयलाई पनि समेटिएको छ ।

तर, पार्टीका एक नेताले नेपालखबरसँग भने, ‘अध्यक्षजीमा स्थायी कमिटी र पोलिटब्यूरो गठनको पक्षमै रहे पनि पदाधिकारी नबनाई टार्ने मनसाय देखिएको छ, हामीले बैठकमा पदाधिकारी चयनमा दबाव दिनेछौं ।’

कांग्रेससँगको गठबन्धनमाथि प्रश्न
माओवादी बैठकको पहिलो दिन राजनीतिक विषयमा पनि प्रदेशका नेताहरुले कुरा उठाए । अहिलेको पाँच दलीय सत्ता गठबन्धनप्रति माओवादी नेताहरुले रोष प्रकट गरे । विशेषगरी स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुबीच समन्वय हुन नसकेको भन्दै आफ्नै बलमा शक्ति आर्जन गर्न प्रचण्डलाई नेताहरुले सुझाव दिएका छन्।

एक केन्द्रीय सदस्यका अनुसार बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले गठबन्धनप्रतिको रोष चर्को रुपमा पोखेका थिए। साथै, पार्टी विशेष कमिटीका अध्यक्ष जगत सिंखडाले पनि गठबन्धनका कारण समस्या भएको बताएका थिए।

प्रचण्डको स्वीकारोक्ति
अध्यक्ष प्रचण्डले गठबन्धन दल आजको आवश्यक्ता भए पनि यसमाथि गम्भीर हुनुपर्ने बैठकमा बताएका थिए।

नेपाली कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने गरेको आरोपसमेत लगाए।

‘हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा काँग्रेसका नेताहरुबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ ,’ प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।

एमालेले नराम्रोसँग हार ब्यहोरेको भन्दै पहिलेको तुलनामा ८८ सिट गुमाएको आफ्नो प्रतिवेदनमा प्रचण्डले उल्लेख गरेका छन्।

प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको दाबी गरेका छन्।

तर समाजवादीले पाँच दलीय गठबन्धनमा ठूलो भाग खोज्दा धेरै ठाउँमा क्षति व्यहोर्नुपरेको पनि उनको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा प्रचण्डले यो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको मत घटे पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको समेत उल्लेख गरेका छन्।

प्रदेश कमिटीका अध्यक्षको ब्रिफिङ
प्रदेश १ का पार्टी कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङले सुरुमै ब्रिफिङ गरे। नेम्वाङले पार्टीको आन्तरिक जीवनमा समस्या भएको भन्दै प्रचण्डको ध्यानाकर्षण गराएका थिए।

बैठकमा नेम्वाङले प्रदेश १ भरीको स्थानीय निर्वाचनको समीक्षा सुनाए। उनले पार्टीको कमजोर परिणाम आउनुका पछाडि आफ्नै दलका नेताहरुको पनि कमजोरी भएको बैठकमा बताएका थिए।

त्यसपछि मधेस प्रदेशका अध्यक्ष गणेश साहले बैठकमा ब्रिफिङ गरेका थिए। उनले मधेसमा भएको हारको निर्मम समीक्षा हुनुपर्ने बताए। ‘चुनावमा मात्र मधेसमा समस्या आउने हैन,’ उनले भनेका थिए,‘पार्टीले मधेसको मधेसको आर्थिक राजनीतिक मुद्दाको छलफल नै गर्दैन। यसबारे निर्मम समीक्षा हुनुपर्छ।’ पदाधिकारी चयनमा भएको समस्या तत्काल समाधान हुनुपर्ने साहको भनाइ थियो।

बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले विद्यार्थी संगठनमा देखा परेको समस्या समाधानका लागि अध्यक्षको ध्यानाकर्षण गराएका थिए। साथै, स्थानीय निर्वाचनको परिदृश्यले डरलाग्दो गरी अन्तर्घातको अवस्था देखिएको उनले बताए।

गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङले नेताहरुमा व्यक्तिवाद चरित्र हाबी भएको बताइन्। गण्डकीका माओवादी नेताहरुमा अराजकता देखिएको आरोप उनले लगाएकी थिइन्।

‘केन्द्रीय सदस्य गोजीबाट ल्याउनुभयो। त्यसो गर्दा समस्या हुन्छ। यस्तो अवस्थामा आन्दोलन उठ्छ कि उठ्दैन’ उनले भनेकी छिन्।

लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले गठबन्धन अपेक्षा अनुसार सफल नभएको बताएका छन्।

उनले प्रचण्डलाई सुझाव दिँदै भने, ‘अखिल क्रान्तिकारी, वाइसीएल लगायत नबनाऔं, फङ्सनल बनाउन सकिँदैन्,’ उनले बैठकमा भनेका छन्, ‘यस्तोमा पार्टीलाई पहिलो बनाउन सकिँदैन, यो तीतो सत्य हो।’

सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीले पनि गठबन्धनको बारेमा चासो राखेका थिए।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ३१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *