१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराईमा नाइरोबी फ्लाईका बिरामी बढ्दै



झापा । पूर्वी तराईमा ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण बढ्न थालेको छ । यहाँका अस्पतालले यस्ता बिरामीको संख्या दिनहुँ बढिरहेको बताएका छन् । 

दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलले पछिल्लो एक सातामा नाइरोबी किराको एसिडका कारण घाउ भएर करिब तीन सयजना उपचारका लागि आएको बताए । ‘पछिल्लो समय दैनिक ४५–५० जना बिरामी आइरहेका छन् । पहिला मेरोमा दादका बिरामी धेरै आउँथे । तर, अहिले अधिकांश बिरामी नाइरोबी फ्लाईकाकारण घाउ भएका हुने गरेका छन्,’ उनी भन्छन्, ‘नाइरोबी फ्लाईकै कारण हो भनेर यकिन गर्नबायप्सी गर्नुपर्छ । तर, सबै लक्षण मिलेको छ । क्लिनिकल डाइग्नोस्टिकले नै नाइरोबीकै कारण भन्ने पुष्टि हुन्छ ।’ दमक अस्पतालमा मात्र पछिल्लो एक सातामा करिब तीन सय बिरामी यही समस्याका कारण आएका छन् । भारी वर्षापछि यसको फैलावट भएको हुन सक्ने डा. पौडेलको भनाइ छ । 

यस्ता छन् नाइरोबीका लक्षण
नाइरोबीका कारण शरीरका जोर्नीहरूमा घाउ देखिएको डा. पौडेलले बताए । ‘आँखा र शरीरको जोर्नीमा समस्या देखिन्छ । शरीरको जुन ठाउँमा किरा थिचिन्छ, त्यहीँ समस्या देखिने हो,’ उनले भने, ‘यो किराले टोक्ने होइन । थिचिएपछि यसबाट कडा एसिड निस्किन्छ । त्यही कारण घाउ हुन्छ ।’किरा बसेको भाग रातो हुने, पोल्ने, फोका उठ्ने, फुट्ने र थप संक्रमण हुने डा. पौडेलले बताए । उनका अनुसार यो किराको संक्रमण तराई, पहाड र हिमाली क्षेत्रसम्म हुन्छ ।

यद्यपि,  स्वास्थ्य कार्यालय झापाले भने झापामा नाइरोबी किराका कारण हुने संक्रमण नदेखिएको जनाएको छ । स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले झापामा नाइरोबीका कारण संक्रमण फैलिएको हल्ला निराधार भएको बताए । ‘यो हल्ला मात्र हो । यसको पुष्टि भएको छैन,’ उनले भने, ‘शरीरमा घाउ त देखिएका छन् । तर, प्राविधिक पुष्टि भइसकेको छैन ।’

कसरी जोगिने ?
यसलाई रोक्न झ्यालमा जाली लगाउने । सुत्दा ओछ्यानमा किरा भए–नभएको राम्रोसँग हेर्ने गर्नुपर्छ । लुगा लगाउँदा पनि भित्र केही छ कि छैन भनेर टकटक्याएर लगाउने गर्नुपर्छ । बत्तीमा यस्ता किरा आउन सक्छन्, बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन । संक्रमण देखिए चिकित्सकसँग परामर्श गर्नुपर्छ । 

सिक्किममा सयभन्दा बढी विद्यार्थीमा नाइरोबी फ्लाई संक्रमण 
भारतको सिक्किममा तीव्र गतिमा फैलिरहेको नाइरोबी फ्लाईको संक्रमणबाट इस्ट सिक्किमका सयभन्दा बढी विद्यार्थी बिरामी परेका छन् । बर्खामा नाइरोबीको प्रजनन धेरै हुने भएकाले यसको जोखिम बढी हुने सिक्किमको स्वास्थ्य विभागले जनाएको छ ।

नाइरोबी फ्लाईलाई केन्याली फ्लाई वा ड्र्यागन बगसमेत भन्ने गरिन्छ । पेडेरस एक्सिमियस र पेडेरस सबाइस नामक किराहरू सुन्तला र कालो रंगका हुन्छन् । उच्च वर्षा हुने क्षेत्रमा यो बढी देखिने गर्छ । खासगरी बत्तीमा आकर्षित हुने भएकाले साँझपख बढी देखिन्छ । यो वेला सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । नाइरोबीको संक्रमण एक वा दुई सातामा निको हुन्छ । तर, कतिपय अवस्थामा संक्रमण फैलिएर जटिलता निम्तिने जोखिम रहन्छ । 

नाइरोबीको संक्रमण विशेषगरी केन्यामा देखिने गरेको पाइन्छ । यसबाहेक अफ्रिकाका केही मुलुकसँगै भारत, जापान, इजरायल, पाराग्वेमा पनि संक्रमण फैलिएको पाइन्छ । 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  २ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *