११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्ययन भन्छ– तनावको असर  प्रतिरक्षा प्रणालीमा 



काठमाडौं । तनावले मानसिक र शारीरिक स्वास्थ्यमा असर पार्ने आमचेतनाजस्तै भइसकेको छ । विभिन्न अध्ययनले तनावले दम, अल्सर, हृदयाघात र स्ट्रोकजस्ता गम्भीर स्वास्थ्य जोखिम बढाउने देखाएकै हुन् । तर, हालै भएको एक अनुसन्धानले निश्चित प्रकारको तनावले व्यक्तिको प्रतिरक्षा प्रणालीमै असर गरी समयभन्दा अघि नै बुढो बनाउन सक्ने देखाएको छ । 

शोधकर्ताले संयुक्त राज्य अमेरिकामा ५० वर्षभन्दा माथिका करिब पाँच हजार सात सय मानिसमा सर्वेक्षण गरेका थिए । सहभागीसँगको सवालजवाफलाई तिनको रगतबाट लिएको प्रतिरक्षा कोशिका गणना र क्रस–रेफरेन्स गरिएको थियो । सर्वेक्षणमा सहभागीलाई कामको तनाव, दीर्घ तनाव, जीवनमा सबैभन्दा तनावपूर्ण घटना, दैनिक भोगिएका वा जीवनभर भोगिएको भेदभाव (लैंगिक वा अन्य विभिन्न प्रकारको भेदभाव) र जीवनमा आघात पुग्ने घटनाबारे तथ्यांक लिएको थियो ।

ad

अनुसन्धान टोलीले उच्च तनाव लिने व्यक्तिको प्रतिरोधात्मक क्षमता व्यक्तिको उमेरभन्दा बढी बुढो वा कमजोर भएको पायो । यो खोजको नतिजा नेसनल एकेडेमी अफ साइन्सेजको प्रोसिडिङ्समा १३ जुनमा प्रकाशित छ । अहिलेसम्म कसैले पनि सामाजिक तनाव र तिनको शरीरको प्रतिरोधात्मक क्षमतामा प्रभावबारे पूर्ण रूपमा अनुसन्धान गरेको नपाएको मिनेसोटा विश्वविद्यालयमा बुढेसकाल सम्बन्धमा अनुसन्धान गर्नेे म्याथ्यु युसेफजादेहले बताए । तथापि, म्याथ्यु नयाँ अनुसन्धानमा भने संलग्न थिएनन् ।

निरन्तर भेदभाव सहनेले बारम्बार बिरामी महसुस गर्ने
न्युयोर्क सहरकी मनोचिकित्सक रेनी एडीले यसप्रकारको अध्ययनले भेदभाव र आघात सहँदै बाँचिरहेका मानिसलाई पहिलेदेखि थाहा भएको कुरालाई प्रकाश पार्ने बताइन् । उनका अनुसार निरन्तर विभेद सहने व्यक्तिले बारम्बार रोगले समात्ने गरेको महसुस गर्ने गर्छन् । आनन्द दिने कुरामा ध्यान केन्द्रित गर्नाले र सामाजिक समर्थन पाउने स्थितिको नजिक भएमा असर कम हुन सक्छ । 

मनोचिकित्सक रेनी एडी भन्छिन्– विचार नमिल्नेसँग नभेट्नुहोस्
तपाईंले यदि दैनिक रूपमा सामाजिक रूपमा तनाव अनुभव गर्नुहुन्छ भने तनाव कम गर्न के–के बदल्नुपर्छ भन्ने कुरा सोच्नुपर्ने एडीको भनाइ छ । जस्तो, कुनै साथीको राजनीतिक विचारले तपाईंलाई सधैँ अप्ठ्यारो महसुस गराउँछ भने ती साथीसँग सम्पर्क सीमित गर्ने वा आफ्नो सामाजिक वृत्त परिवर्तन गर्ने पो हो कि ? यदि कार्यालयका कुनै सहकर्मीले तपाईंको उमेरको कारणले होच्याउने गर्छन् भने तिनलाई किन यस्तो गरिरहेको छ भनेर सामुन्ने सोध्दा हेपाइ कम हुन्छ कि ? जीवनमा कहाँ र कसरी तनावपूर्ण अवस्थाहरू प्रकट हुन्छन् भन्ने कुरामा ध्यान दिने निर्णय गर्नु अग्रगमनतर्फको पहिलो चरण हो । 

‘कतिपय परिस्थिति नियन्त्रणबाहिर पनि हुन्छन्’
पक्कै पनि केही परिस्थिति हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छन्, तर तिनको असरबारे समझदारी विकास गरेर तिनले पार्ने असरलाई कम गर्न सकिन्छ । प्रतिरक्षा प्रणालीलाई समयअघि नै बुढो हुन रोक्ने रणनीति पनि स्वस्थ जीवनका लागि अपनाइने आमरणनीतिहरू नै हुन् । अर्थात् स्वस्थ आहार खार्ने, नियमित व्यायाम गर्ने, धूम्रपान र मद्यपानलाई कम गर्ने वा बन्द गर्ने र पर्याप्त सुत्ने गर्नुपर्छ । परिवार, साथीहरूसँगको मेलमिलाप पनि यसमा धेरै महत्वपूर्ण हुन्छ । यी बानीहरू लागू गर्न अवकाश पर्खिरहनुपर्दैन । ‘मानव प्रतिरक्षा प्रणालीलाई पुनरुत्थान गर्ने विषयमा वैज्ञानिक जगत्मा ठूलो रुचि भए पनि हालसम्म विज्ञानले बुढ्यौलीलाई उल्टाउने उपाय पत्ता लगाउन सकेको छैन,’ युसेफजादेहले भने ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : १५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *