काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पुनः तालमेल वा पार्टी एकताका लागि एमाले सँग प्रस्ताव गरेका छन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष यस्तो प्रस्ताव अघि सारेका हुन् । नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण गराउँदै श्रेष्ठले भने, ‘नेपालको सन्दर्भमा वामपन्थी आन्दोलन कमजोर भए देश सकिन्छ ।
त्यसैले वाम शक्तिबीच पहिले तालमेल र मोर्चा त्यसपछि अर्को दिशातिर (पार्टी एकतातिर) जानुपर्ने आवश्यकता पनि हुनसक्छ । यसतर्फ गम्भीरतापूर्वक सोचौं ।’ वामशक्ति विभाजित हुँदा सबै कम्युनिष्टहरु आपसमा लडेरै सकिने र त्यसले देशभक्तिको आन्दोलन कमजोर बन्दा मुलुक नै सकिने अबस्था आउनसक्नेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै श्रेष्ठले ओलीसमक्ष संघ र प्रदेशको निर्वाचनमा तालमेल र एकताको प्रस्ताव राखेका हुन् ।
कार्यक्रममा अधिकांश एमाले समर्थित कार्यकर्ता थिए । तर, त्यही सार्बजनिक कार्यक्रममा श्रेष्ठले तत्कालीन नेकपाको एकता जोगाउन नसकेकोमा गम्भीर आत्मालोचनासमेत गरे । एमाले र माओवादी दुवै पार्टीमा प्रमुख नेताले जे बोले पनि ताली बजाउने, व्यक्ति पूजाको संस्कृति हुर्किरहेको संकेत गर्दै आलोचनात्मक चेतसहित अगाडि बढ्न ध्यानाकर्षण पनि गराए ।
साथै, उनले ओलीलाई इंगित गर्दै पार्टी एकता जोगाउन नसकेकोमा घटनाक्रमको गम्भीर समीक्षा गर्न सुझावसमेत दिए । ‘तुम सेर तो हम सवासेर हुन छाडिदिऊँ । घटनाक्रमको गम्भीर आत्मसमीक्षा गरौं, गल्ती कमजोरीको आत्मालोचना गरौं ।
म त पार्टी एकता जोगाउन नसकेकोमा आत्मालोचना गर्छु, अरुले पनि गरुन् । एमसिसीमा केके भयो, १९ बुँदे आरोपपत्रले के गरिदियो, एसपिपीले के गरिदियोे, सबै घटनाक्रमको समीक्षा गरौं, कमसेकम एकताको आधार बनि हालेन भने पनि तालमेल गरेर अगाडि बढौं ।’
३२ असार २०७९, शनिबार
26
Shares
प्रतिक्रिया