१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कलेजो रोग र नेपालमा कलेजो प्रत्यारोपणको अवस्था



कलेजो मानव शरिरको पाचन प्रणाली अन्तर्गतको एक महत्वपूर्ण अङ्ग हो । यो पेटको माथिल्लो भागमा दाहिनेपट्टि रहेको हुन्छ । आकार तथा तौलका हिसाबले यो मानव शरिरको सबैभन्दा ठुलो ठोस अङ्ग हो । वयस्क मानिसमा कलेजोको तौल अन्दाजी एक किलोभन्दा धेरै हुन्छ ।
कलेजोका कोषिकाहरुलाई हेपाटोसाइट्स भनिन्छ । कलेजोलाई पाचन प्रणाली अन्तर्गतको अङ्ग भनिएता पनि यसले शरिरका अन्य प्रणालीसँग सम्बन्धित अरु थुप्रै कार्यहरु पनि गरिरहेको हुन्छ ।

नेपालमा कलेजो प्रत्यारोण हुन थालेको ६ वर्ष पुग्न थाल्यो ।
शहीम धर्मभक्त राष्ट्रिय प्रत्यारोण केन्द्र भक्तपुरले पहिलो पटक २०७३ साल मंसिरमा भक्तपुरका बलराम नागाको कलेजो प्रत्यारोपण गरेको थियो । त्यसपछि हालसम्म यो अस्पतालमा ९ जना सहित देशभर गरेर
करिब २२ –२३ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । कलेजोमा आउने समस्या, त्यसको उपचार र प्रत्यारोपण नै गर्नुपर्ने अवस्था कस्तो बेला आइपर्छ ? यिनै विषयको सेरोफेरोमा रहेर नेपाली अक्षरले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोण केन्द्र भक्तपुरमा कार्यरत डाक्टर अनिसा तिवारीसँग गरेको कुराकानीको सम्पादित अंश :

१. मानव शरीरमा कलेजोको भूमिका के हो ?
खासमा कलेजोले हाम्रो शरिरमा धेरै कार्यहरु गर्ने गर्छ । सबैभन्दा पहिलो कुरा गरौं, यसले उत्पादन तथा स्राव गर्ने पित्त रसका बारेमा । कलेजोले पित्तरस बनाउँछ । अनि पित्त रसले चाहीँँ चिल्लोको पाचन, चिल्लोको अवशोषण, भिटामिन ए, डी, ई र केको अवशोषण, आन्द्राको गति कायम राख्ने, गतिशील बनाउने र आन्द्रामा किटाणुहरुको विकास हुनबाट रोक्ने जस्ता काम गर्दछ । यो सँगै खाना पचाउने र औषधी तथा हर्मोनहरु मेटाबोलिजम गर्ने काम पनि कलेजो नै गर्छ ।

जस्तो रगतमा ग्लुकोज बढी भएको समयमा ग्लाइकोजेनमा परिवर्तन गरेर भण्डार गर्छ । रगतमा ग्लुकोज कम भएको समयमा भण्डार गरेको ग्लाइकोजेनलाई फेरि ग्लुकोजमा परिवर्तन गरेर रगतमा ग्लुकोजको मात्रा बढाइदिन्छ । त्यस्तै प्रोटिनलाई तोडेर सानासाना एमिनो एसिडहरु बनाउँछ । एमिनो एसिडहरु जोडेर नयाँ प्रोटिन बनाउँछ । प्लाज्मा प्रोटिन बनाउँछ । आवश्यक परेमा प्रोटिनबाट कार्बोहाइड्रेट बनाउँछ ।

कलेजोमा रोगले च्याप्दै गएमा भने निम्न समस्या आउन सक्छन् ।
–जन्डिस हुने
–पेट फुल्ने, पेटमा पानी जम्ने
–हातगोडा सुनिने
–खाना नपच्ने
–रगत बान्ता हुने
–थकान हुने अनि शरिर गल्ने तथा कमजोर महसुस हुने ।

हामीले प्रयोग गर्ने विभिन्न औषधिहरु पनि कलेजोमा गएर मेटाबोलिज्म हुन्छन् । मदिरा सेवन गर्ने व्यक्तिको कुरा गर्दा उनीहरुको कलेजोले अल्कोहल डिहाइड्रोजिनेज इन्जाइमले रक्सीलाई पनि मेटाबोलाइज गर्छ । त्यस्तै प्रतिरक्षा कार्यका बारे भन्नुपर्दा हाम्रो कलेजेमा रहेको कप्फर कोषिकाले रगतमा भएका किटाणुहरु मारेर स्वस्थ बनाउन सहयोग गर्दछ भने हाम्रो खानेकुरासँग धेरै रासायनिक र विषालु पदार्थ पनि शरिरभित्र जाने हुँदा त्यसलाई पनि मेटाबोलाइज गरेर निष्क्रिय बनाउछ । यसको साथै कलेजोले ग्लुकोज, भिटामिन ए, भिटामिन बी १२, आइरन आदि स्टोर गरेर राख्छ अनि शरिरलाई आवश्यक परेको बेला त्यसलाई परिचालन गर्छ ।

अर्को कुरा कलेजोले प्लाज्मा प्रोटिनमार्फत रगत बग्न रोक्ने, विभिन्न इन्जाइमहरु बनाउने र अमोनियाबाट युरिया बनाउने गर्दछ । रगत सञ्चय, रातो रक्तकोषिका उत्पादन, पुराना रातो रक्तकोषिका नष्ट गर्ने र शरिरमा ताप उत्पन्न गराउने जस्ता महत्पूर्ण भूमिकाहरु पनि कलेजोको नै हुन्छ ।

२. कलेजोमा समस्या आउदा देखिने लक्ष्यणहरु केके हुन ?
समस्या आउदा देखिने लक्ष्यणभन्दा पलिा हामी समस्या के हुन् त्यो बारे जानौं । कलेजोमा कुनै पनि समस्या आउदै छ भनेर थाहाँ पाउने पहिलो सङ्केत चाहीँ दुख्नु हो । यस्तो बेला अत्याधिक थकान महसुस पनि हुन्छ । कतिपय व्यक्तिको कलेजोमा सुनिने समस्या पनि आउने गरेको छ । यस्तो अवस्थामा पेटको आकार नर्मल अवस्था भन्दा ठुलो हुन्छ र केहीले मोटाएर पेट बढेको भन्ने सोच्दछन् । दुखाइसँगै पेट बढेको हो भने कलेजो सुन्निएको पनि हुनसक्छ ।

पिसाबको रङ्ग परिवर्तन हुनु अर्को सङ्केत हो । यो सँगै कलेजोमा खराबी आएपछि मुखमा स्वाद हराउछ र खान रुच्दैन । खाएको पनि पचाउन मुस्किल हुन्छ । गाढा पिसाब हुनु र नङ एवम् आँखाको भाग पहेंलो भएमा पनि कलेजोमा केही समस्या आयो भनेर थाहा पाउनु पर्छ । कलेजोमा रोगले च्याप्दै गएमा भने निम्न समस्या आउन सक्छन् ।
–जन्डिस हुने
–पेट फुल्ने, पेटमा पानी जम्ने
–हातगोडा सुनिने
–खाना नपच्ने
–रगत बान्ता हुने
–थकान हुने अनि शरिर गल्ने तथा कमजोर महसुस हुने ।

कलेजोलाई बचाउन भने निम्न उपायहरु अपनाउन सकिन्छ ।
–रक्सी सेवन नगर्ने
–लगु पदार्थ सेवन नगर्ने
–धेरै चिल्लो नखाने, बजारमा पाइने रेडिमेट खानेकुरा नखाने
–जङफुड जस्तौ चाउचाउ, कुरमुरे, चिजवल जस्ता कुरा खाँदै नखाने
–नियमित व्यायम गर्ने, तौल लेबलमा राख्ने
–नियमितरुपमा कलेजोको चेकजाँच गरिरहने

३. यसको उपचार प्रक्रियाहरु के हुन् ?
पहिलो ध्यानदिने कुरा त केही सङ्केत देखिएमा तुरुन्तै त्यसको व्यवस्थापनमा लाग्नु पर्छ । समयमै सम्बन्धित चिकित्सलाई भेट्ने र सुरुवाती चरणमै छ भने तत्काल उपचार सुरु गर्नु नै राम्रो हुन्छ । केही समयदेखि नेपालमा कलेजोको सामान्यदेखि जटिल खालका उपचार हुन थालेका छन् ।

कलेजो नै फेल भएमा पनि अहिले नेपालमै प्रत्यारोपण हुन्छ । अहिले त कैयौं चिकित्सकहरूले यसमा विशेषज्ञता हासिल गरेर काठमाडौं सँगै देशका अधिकांश ठाउँमा उपचार गर्न थालिसकेका छन् । त्यसैले रोगको पहिचान समयमै गरेर उपचारतिर लाग्नु नै आफूलाई ठुलो खतराबाट जोगाउनु हो । कतिपय अवस्थामा कलोजमा लाग्ने रोग अन्तिम अवस्थामा मात्र थाह हुने हुँदा त्यस्तो बेला चाहीँ प्रत्यारोपणमै जानुपर्ने हुन्छ ।

४. कलेजोमा आउने जटिल समस्याहरु के-के हुन ? त्यो के कारणले आउछ ?
जब कलोजे बिग्रीएर सुध्रिन नसक्ने अवस्था आयो भने त्यो अवस्थालाई सिरोसिस भनिन्छ । अहिलेसम्मको रेकर्ड हेर्दा कलेजोको सबैभन्दा बढी बिमारीहरुको कारण रक्सी, सुर्तिजन्य पदार्थ र अस्वस्थ आहार हो । कलेजोमा धेरै रोग हुन सक्छन्, जसमा लिभर फेलर, लिभर क्यान्सर, लिभर एबसेस, फ्याटी लिभर, लिभर सिरोसिस प्रमुख छन् । यस्तो बेला चाहीँ कलेजो चिकित्सकको निगरानीमा बस्नु पर्ने हुन्छ ।

५. कलेजो प्रत्यारोपाणको प्रक्रिया के हो ?
यदि कोही व्यक्तिको कलेजो फेल भइसकेको प्रमाणित भयो भने त्यो अवस्थामा प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि बिरामीले आफ्नो परिवार भित्रको नाता पर्ने व्यक्तिबाट उसको आधा कलेजो काटेर आफ्नो शरिरमा राख्ने प्रक्रिया सुरु हुन्छ ।

यसको पनि कानूनी कुराहरु छन् । त्यो ख्याल गरेर डाक्टरहरुले सबै कागजात र मेडिकल रिर्पोटहरुका आधारमा प्रत्यारोपण गर्ने गर्छन् । कलेजो दान गर्ने व्यक्तिको कलेजो ३ देखि ६ महिनाभित्रमा पलाएर पुरानै अवस्थामा फर्किन्छ भने अर्को चाहीँ मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवार मञ्जुर भएको खण्डमा पनि बिरामीलाई त्यस्तो मृत ब्यक्तिको कलेजो प्रत्यारोपण गर्न मिल्छ ।

६. कलेजोमा खास के समस्या आयो भने प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आइलाग्छ ?
हुन त सुरुको चरणमा हुँदा कतिपय रोग उपचारबाटै पनि निको हुन्छ । तर सिरोसिस भएर कलेजो कामै नलाग्ने अवस्थामा केही जटिल समस्या देखिन्छन् । जस्तो जन्डिस, पेटमा पनी जम्नु, रगत बान्ता हुने र बेहोस भएर अस्पतालको आइसियुमा नै पुगेको अवस्थामा प्रत्यारोण तिर लाग्नुपर्ने हुन्छ ।

७. कलेजो दान गर्ने व्यक्तिले कति प्रतिशत आफ्नो कलेजो काटेर दिनुपर्छ ? यसो गर्दा केही समस्या हुँदैन ?
कलेजो दाताले आफ्नो शरिरको लगभग ६० प्रतिशत भाग दिनुपर्ने हुन्छ । कलेजो भनेको नङ्ग र कपाल जस्तो फेरि पलाउने अङ्ग हो । अघि नै भनेजस्तो स्वस्थ व्यक्तिको काटेको कलेजे ३ देखि ६ महिनामा फेरि पलाएर पुरानै अवस्थामा आएर नर्मल हुन्छ । त्यस कारण दातालाई केही समस्या हुदैन् ।

८. प्रत्यारोणपछि बिरामीको सरदर आयु कति हुन्छ ?
प्रत्यारोपण पछि मानिस आफ्नो औसत आयुसम्म बाँच्छ । एकपटक प्रत्यारोपण गरेको कलेजोले काम गर्न थालेपछि त्यो ब्यक्ति जीवनभर स्वस्थ भएर बाच्न सक्छ ।

९. कलेजो प्रत्यारोणका बेला सर्जरीे गर्दा आउने मुख्य जटिलता के हुन । यहाँको अनुभव के छ ?
कलेजो प्रत्यारोपण संसारकै सबैभन्दा ठुलो र जटिल शल्यक्रिया मानिन्छ । संसारभरिको रेकर्ड हेर्दा कलेजो प्रत्यारोपण ९० प्रतिशत सफल भएको देखिन्छ । जटिलता चाहीँ धेरै सानोसाने नलीहरु एकआपसमा जोड्नुपर्ने भएकाले कहिलेकाही रगत धेरै बग्ने, जोडेको रक्तनलीहरु बन्द हुने, पित्तथैली बन्द हुनेलगायतका समस्या आउन सक्ने हुन्छ । तर यो सबै बिरामीमा हुन्छ भन्ने छैन् ।

१०.नेपालमा करिब कति जतिले कलेजो प्रत्यारोण गरे होलान् । चेकजाँचमा उनीहरुको अवस्था के पाउनुभयो ?
नेपालमा हालसम्म करिब २२ –२३ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मात्र ९ जनाको प्रत्यारोपण भइसकेको छ । उहाँहरु नियमित चेकजाँचमा आइरहनु हुन्छ । सबैको अवस्था राम्रो छ । सबैले आफ्नो पेशा, व्यवसाय गरेर बस्नु भएको छ । अरु व्यक्ति जस्तै स्वस्थ हुनुहुन्छ ।

११. कलेजो दान गर्नेमा श्रीमान, श्रीमती, छोराछोरी वा अन्य कसको संख्या धेरै छ ? किन सबैले कलेजो दान गर्ने आट नगरेका होलान ?
कलेजोको मात्रै होइन् अन्य अङ्ग दान गर्ने कुरामा अहिले पनि हाम्रो समाजमा धेरै खालका भ्रम छन् । यस्तै समस्या किड्नीको पनि छ । अङ्ग दान दिँदा धेरै बाचिन्न, जीवन असहज होला, अनेक समस्या आइपर्ने हो कि जस्ता भ्रमले गर्दा यो समस्या आएको हो । आफ्नो नजिकको मान्छेले पनि अङ्ग दान गरेर आफन्त बचाउने बेलामा धेरै पटक सोच्ने गरेको देखिन्छ ।

तर किड्नी वा कलेजो दान गर्दैमा दातामा कुनै समस्या आउदैन् । उहाँहरु पुरानै अवस्थामा रहने हो । कलेजो दान गर्नेहरुको कुरा गर्दा अहिलेसम्म श्रीमती, दिदीबहिनी, छोराछोरी आदिले दान गरेको रेकर्ड छ । मैले अघि पनि भने कलेजो नङ्ग र कपालजस्तो पलाउने हुँदा यसमा हिचकिच मान्नुपर्ने कुरै छैन् ।

१२. नेपालमा प्रत्यारोपणका लागि उपकरणको अवस्था के छ ?
कलेजो प्रत्यारोपणका लागि शल्यक्रिया कक्षको राम्रो व्यवस्थापन र विशेष उपकरणहरुको जरुरत हुन्छ । जुन हामीसँग उपलब्ध छ ।

हाम्रो शरिर निकै अनमोल छ । हामीले यसको उचित स्याहार गर्ने बानीको बिकास गर्नुपर्छ ।

१३. यहाँले भने जस्तै कलोजो प्रत्यारोपणका लागि त एनेस्थिेसिया, शल्यचिकित्सा, रेडियोलोजी, प्याथोलोजी, हेपाटोलोजी, नर्सिङ र प्रशासनिक सेवासहितको ठूलो टिम चाहीँन्छ । यो हेर्दा जनशक्तिको प्रयाप्तता र दक्ष टिमको स्थीति कस्तो छ ?
नेपालमा हाल प्रत्यारोपणका लागि चाहीँने जनशक्ति प्रयाप्त छैन् । दक्ष शल्य चिकित्सकहरु उपलब्ध भए पनि एनेस्थिेसिया, हेपाटोलोजीस्ट र अन्य सहयोगी टिम अपुग नै छ । तर यसैको लागि भनेर केही जनशक्ति अहिले तालिममा पठाइएको अवस्था छ भने अन्य टिमहरु पनि तालिमको तयारीमा छन् । त्यसपछि हामी थप व्यवस्थितरुपमा प्रत्यारोपण गर्नसक्ने अवस्था रहने छ ।

१४. कलेजो प्रत्यारोपणका लागि सरकारले अझै प्रयाप्त पहल गरेन भन्ने सुनिन्छ । यसमा के भन्नुहुन्छ ?
हो यो समस्या नै छ । जस्तो मिर्गौला प्रत्यारोपणका लागि सरकारले खर्च दिने गरेको छ । जसले गर्दा बिरामीहरुलाई धेरै सहज भइरहेको छ । तर कलेजो प्रत्यारोपणका लागि भने त्यस्तो सुविधा छैन् । यसबारे हामीले सरकारसँग पहल गरिदिन अनुरोध गरिसकेका छौं । अब चाडै त्यो अवस्था आउनेछ भन्नेमा आस गरिरहेका छौ ।

१५. नेपालमै पहिलो पटक २०७३ साल मंसिरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण भयो । सुरुको बेला र अहिले के फरक छ ?
यहाँले भने जस्तै नेपालमा २०७३ मंसीरमा पहिलो पटक कलेजोको प्रत्यारोपण भएको हो । त्यो बोला कलेजो जस्तो जटिल अप्रेसनका लागि हाम्रो मात्र क्षमताले नपुग्ने भएकाले कोरिया र भारतबाट डाक्टरहरुको टिम आएको थियो । त्यसपछि भने त्यति ठुलो टिम आउनु परेको छैन् । तर आवश्यक परेको खण्डमा केही चिकित्सक आउने र समन्वय गर्ने गरिएको भने छ । अब केही समयमै सानातिना अभाव पनि पुरा गरेर प्रत्यारोपणलाई थप ब्यवस्थीत बनाउने योजना छ ।

१६. उपचार गर्न धेरैजसो देशबाहिर किन जान्छन् खासगरी नेतासहित हाइप्रोफाइल व्यक्तिहरु ?
पैसा भएका र हाइप्रोफाइल व्यक्तिहरु विदेश गएर उपचार गरेको देखिन्छ । अब प्रशस्त पैसा भएकाहरु जहाँ गए पनि सक्छन् । तर हाम्रो लक्ष्य भनेको त्यस्ता व्यक्तिहरु हुन् जो सँग खर्चको अभाव छ । उनीहरुका लागि हामी विदेशतिर जस्तै दक्ष टिम र अत्याधुनिक उपकरण प्रयोग गरेर आफ्नै देशमा सर्वसुलभ सेवा दिन चाहन्छौं । जुन हामी अहिले पनि गरिरहेकै छौ ।

१७. के नेपाली चिकित्सक माथि विस्वास नगरेको हो वा चिकित्सकहरुमा दक्षताको कमी छ भन्न मिल्छ ?
कहाँ उपचार गराउने भन्ने उहाँहरुको आफ्नो इच्छा हो । तर नेपाली डाक्टरसँग विश्वास नगर्नुपर्ने कारण छैन् । किनभने विदेशमा गरे पनि नेपालमा गरे पनि अवस्था त सबैको उस्तै छ । त्यसैले हाम्रो उद्देश्य चाहीँ बिरामी भएर अस्पताल आउनेले राम्रो उपचार पाएर पूर्णरुपमा निको भएर घर फर्किन पाउन भन्ने हो । लामो समयदेखि हरेक बिरामी र अप्रेसनका केसमा हामी यहीँ गरिरहेका छौं ।

१८. कलेजो बचाउन वा स्वस्थ राख्न केके कुरामा ध्यान दिनुपर्ने हुन्छ ?
सबैभन्दा पहिलो कुरा आफुलाई हरेक हिसाबले स्वस्थ राख्नुपर्छ । रोग लाग्नुभन्दा रोगै लाग्न नदिनु नै उत्तम उपाय हो । तर पनि कलेजोलाई बचाउन भने निम्न उपायहरु अपनाउन सकिन्छ ।
–रक्सी सेवन नगर्ने
–लगु पदार्थ सेवन नगर्ने
–धेरै चिल्लो नखाने, बजारमा पाइने रेडिमेट खानेकुरा नखाने
–जङफुड जस्तौ चाउचाउ, कुरमुरे, चिजवल जस्ता कुरा खाँदै नखाने
–नियमित व्यायम गर्ने, तौल लेबलमा राख्ने
–नियमितरुपमा कलेजोको चेकजाँच गरिरहने

१९. तपाई त जनरल सर्जन पनि हुनुहुन्छ । यहाँले अहिलेसम्म कुन कुन अप्रेसन गर्नुभयो । सबै भन्दा जटिल कुन अप्रेसन लाग्छ र किन ?
जनरल सर्जरी गर्दा मैले अहिलेसम्म पित्त थैली, पित्त नलीको पत्थरीहरु, एपेन्डिसाइड, हर्निया, पायल्स (हेमोराइड्स), फिस्टुला, पेट तथा आन्द्रा, कलेजो, पित्तथैली, र पेटको आन्द्राको क्यान्सरको अप्रेसन इत्यादि छन् । तर सबैभन्दा जटिल सल्याक्रिया चाहीँ कलेजो प्रत्यारोपण नै हो । अरु भन्दा यसमा जोखिम धेरै हुन्छ र निकै सजकताका साथ उच्च सावधानी अपनाउनु पर्ने हुन्छ ।

२०. अन्त्यमा हामीले सोध्न छुटाएका केही कुराहरु भन्न मन छ ?
यति धेरै चासोको विषयमा विस्तृत रुपमा सबै कुरा जानकारी गराउने अवसर दिनु भएकोमा नेपाली अक्षरलाई धन्यवाद । सबैभन्दा ठुलो कुरा हाम्रो स्वास्थ्य हो । यदि स्वास्थ्य नै ठिक भएन भने संसार नै ठीकढंगले नचलेको जस्तो लाग्ने गर्छ । त्यसैले हाम्रो शरिर निकै अनमोल छ । हामीले यसको उचित स्याहार गर्ने बानीको बिकास गर्नुपर्छ ।

स्वास्थ्यलाई के कुराले हानी गर्छ त्यो कहिल्यै गर्नु हुँदैन । कुरा कलेजोको मात्र होइन हरेक रोगबाट आफूलाई टाढा राखेर स्वस्थ जीवन जिउन सबैभन्दा पहिलो कुरा आफ्नै आनीबानी, दैनिकी र खानपिनमा विशेष ख्याल गर्न हुन म सबैलाई आग्रह गर्दछु । किनभने स्वस्थ जीवन नै सुखी र खुसी जीवन हो । धन्यवाद !!

 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : ३६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *