१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब मिर्गौला फेल भएर अकालमा ज्यान गुमाउनु पर्दैन : डाक्टर श्रेष्ठ



काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला फेल भएकै कारण अब कुनैपनि व्यक्तिले अकालमा ज्यान गुमाउन नपर्ने बताएका छन् ।
मिर्गौला प्रत्यारोपणलाई सरकारले निःशुल्क गरेपछि बिरामीले ठुलो राहत पाएको र यसले गर्दा मिर्गौला फेल भएपनि प्रत्यारोपणपछि फेरी नर्मल जिवनमा फर्किनेको संख्या बढेको उनले बताए ।
यो सेवाले राज्यलाई आर्थिक भार परे पनि देशले स्वस्थ नागरिक पाएकाले यसलाई दिगो बनाइनुपर्ने उनले बताए ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रले पोखरामा आयोजना गरेको मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदान र प्रत्यारोपणसम्बन्धी कार्यक्रममा उनले नेपालमा पाँच वर्षअघि सुरु गरिएको प्रत्यारोपण सेवामा हालसम्म एक हजार बढीको सफलरुपमा मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिए ।

काठमाडौं बाहेक पोखरामा समेत गत असारदेखि प्रत्यारोपण सेवा सुरु भएकोमा हालसम्म तीन जनाको प्रत्यारोपण गरिएको र छिट्टै सुर्खेतमा पनि सेवा विस्तारको तयारी भएको प्रत्यारोपण केन्द्रले जनाएको छ ।

कार्यकारी निर्देशक एवं कलेजो र मिर्गौला प्रत्यारोपण विज्ञेषज्ञ डा श्रेष्ठले प्रत्यारोपणपछि बिरामी र परिवारले गुणस्तरीय जीवन जीउन पाउने भएकाले डायलासिसभन्दा प्रत्यारोपण बढी किफायती रहेको उल्लेख गरे ।
निःशुल्क डायलासिस सेवा उपलव्ध हुँदा बिरामीको झुकाव यसमा बढी पाइएकाले सरकारले विसं २०७४ वैशाख २ देखी राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पूर्णरुपमा निःशुल्क प्रत्यारोपण सेवा सुरु गरिएको डा श्रेष्ठले जानकारी दिए ।
डायलासिस मेसिन तथा उपभोग्य सामान विदेशबाट आयात गर्नुपर्ने कारणले नियमित सञ्चालनका लागि राज्यलाई वार्षिक दुई अर्ब ५० करोडभन्दा बढी आर्थिक भार पर्ने गरेको बताइन्छ ।

नेपालमा मिर्गौला प्रत्यारोपण सेवा नहुँदा बर्सेनि ६ अर्ब रकम देश बाहिर जाने गरेको थियो । स्वदेशमै सेवा सुरु भए पनि विदेश जाने प्रवृत्तिमा अझै कमी आउन नसकेको बताइन्छ । नेपालमै विश्वको उत्कृष्ट प्रत्यारोपण सेवा रहेको केन्द्रको भनाइ छ ।

केन्द्रबाट वर्षमा अधिकतम दुई सयसम्मको मिर्गौला प्रत्यारोपण गर्नसक्ने क्षमता रहेको भएपनि पाँच सयको प्रत्यारोपण माग हुने गरेको छ । सरकारले पछिल्लो समय प्रत्यारोपण कानुनमा परिमार्जन गरेपछि अङ्गदानको दायरा फराकिलो भई नाता पर्ने जति सबैबाट अङ्गदान हुनसक्ने व्यवस्था गरेपछि मिर्गौला प्रत्यारोपण सेवाले थप गति लिएको र अङ्ग अभाव कम भएको केन्द्रका विशेषज्ञ डा. निभाष श्रेष्ठको भनाई छ ।
नेपालमा हरेक वर्ष एक हजारको सडक दुर्घटनाबाट मस्तिष्क मृत्यु हुने गरेका तथ्याङ्क छ ।

दुर्घटनाबाट भएको मानव मृत्युले प्रत्यारोपण गर्न सकिने अङ्ग खेर गएकाले यसको सदुपयोग गर्न अङ्गदान सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । मानिसको मृत्युपछि खेर जाने मिर्गौला, फोक्सो, मुटु, कलेजो, सानो आन्द्रा र प्याङ्क्रियाजको प्रत्यारोपण गर्न सकिने विशेषज्ञको भनाइ छ । एक जना व्यक्तिबाट खेर जाने अङ्गबाट आठ जनालाई नयाँ जीवन सम्भव भएको बताइन्छ ।
मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानले पूर्णरुपमा मृत घोषित गरे पनि यस्तो अवस्थामा मृत व्यक्तिको नातेदारको सहमतिमा अङ्ग निकालेर बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ ।

मस्तिष्क मृत्युपछिको अङ्ग दान, कुनै पनि व्यक्तिको मृत्यु अस्पतालको आइसियुमा भई मस्तिष्क मृत्यु घोषणापछि मात्र सम्भव हुन्छ । घरमा मृत्यु भएको व्यक्तिको अङ्गदान मरणोपरान्त अङ्ग दान सम्भव नहुने बताइन्छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले सरकारले आधारभूत स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँच विस्तारको लक्ष्य राखे पनि देशभर अझै आधारभूत स्वास्थ्य सेवा विस्तारमा सफल हुन नसकेको बताए । उनले प्रत्यारोपण सेवा अत्यन्त महत्वपूर्ण रहेकाले राजधानी बाहिर विस्तारका लागि सरकारले प्राथमिकतामा राखेको बताए । कार्यक्रममा केन्द्रका मिर्गौला रोग विशेषज्ञ डा. कल्पना कुमारी श्रेष्ठ लगायत टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : २३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *