१९ फाल्गुन २०८०, शनिबार | Mar 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुरुषभन्दा महिला बढी बाँच्ने तीन कारण यस्ता छन्



संसारभर, महिलाहरूको ‍औसत आयु पुरुषहरूभन्दा लामो छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए।

यो तथ्याङ्क लिङ्गका आधारमा औसत आयु छुट्टाउँदा भने महिलाको ७४ वर्ष दुई महिना र पुरुषको ६९ वर्ष आठ महिना थियो।

वृद्धवृद्धा
पुरुषभन्दा महिला एक सय वर्षभन्दा बढी जिउने सम्भावना ज्यादा हुन्छ

सन् २०१० को अमेरिकी जनगणनामा अमेरिकाका एक सय वर्षभन्दा माथि उमेरका ५३,३६४ जना थिए। उनीहरूमध्ये ९,१६२ जना पुरुष र ४४,२०२ जना महिला थिए।

किन पुरुषभन्दा महिला बढी बाँच्छन् त? उनीहरूलाई केले पुरूषभन्दा लामो जिउन सहयोग गर्छ?

प्रमुख तीन कारण यस्ता छन्:

जीन

मानव मृत्युदरका बारेमा ४० देशका तथ्याङ्क उपलब्ध छन्। ती मध्ये स्वीडेन र फ्रान्सका क्रमश: सन् १७५१ र १८१६ देखिका तथ्याङ्क छन्।

तर जापान र रुसमा बीसौं शताब्दीको मध्यबाटको तथ्याङ्क मात्रै उपलब्ध छ।

क्रोमोजोमको चित्र
महिलाहरूमा दुई सेट एक्स क्रोमोजोम हुन्छ

तथ्याङ्क भएका ती सबै देशमा प्रत्येक वर्ष महिलाहरूको औ‍सत उमेर पुरुषहरूको भन्दा बढी छ। त्यसैले महिलाको तुलनामा पुरुषलाई प्रकृतिले नै जिउन कम उमेर दिएको देखिन्छ।

भ्रूणहरू

युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डेभिठ जेम्स भन्छन्, “पुरुष भ्रूणहरू महिला भ्रूणभन्दा बढी खेर जान्छन्।”

यसको एउटा कारण चाहिँ लिङ्ग निर्धारण गर्ने क्रोमोजोमका कारण हुनसक्छ।

महिलाहरूमा दुई एक्स तथा पुरुषहरूमा एक्स र वाई क्रोमोजोम हुन्छन्।

क्रोमोजोमा जीन हुन्छ। एक्स क्रोमोजोममा आयु लामो बनाउने धेरै नै क्रोमोजोम हुन्छ।

मड्रिडका चराहरू
पुरुष चरामा दुई एक्स क्रोमोजोम हुन्छ

बीबीसी रेडियोसँग कुरा गर्दै जेम्सले भने, “यदि तपाईँको एक्स क्रोमोजोमको कुनै समस्या छ र तपाईँ महिला हो भने तपाईँसँग अर्को एउटा एक्स क्रोमोजोम रहन्छ। तर तपाईँ पुरुष हो भने तपाईँसँग अर्को एक्स क्रोमोजोम हुन्न।”

“पुरुषहरू गर्भावस्थामै मर्ने सम्भावना २० देखि ३० प्रतिशत बढी हुन्छ,” एक्टर विश्वविद्यालयकी लोर्ना ह्यारिसले भनिन्।

भाले चराहरूमा भने दुई एक्स क्रोमोजोम हुन्छ र उनीहरू पोथी चराभन्दा बढी बाँच्छन्।

. हर्मोन

किशोरावस्थामा किशोर किशोरीहरूमा हर्मोन परिवर्तन हुन्छ।

काबुलको एक चिहानमा महिलाहरू
युद्धमा पुरुषहरू महिलाहरूभन्दा धेरै मर्छन

धोक्रो आवाज र छातीमा रौंजस्ता पुरुषजन्य विशेषताका लागि टेस्टस्टोरोन नामक हर्मोन जिम्मेवार हुन्छ।

किशोरावस्थाको अन्तिमतिर पुरुषहरूमा ह्वात्तै टेस्टस्टोरोन बढ्छ। यही समय पुरुषहरूको मृत्युदर पनि बढ्छ।

विज्ञहरूका अनुसार पुरुषहरूले झगडा, तीव्रगतिमा सवारी हाँक्नेजस्ता जोखिमपूर्ण कामहरू र आत्महत्या पनि धेरै गर्छन्।

केही वर्ष अगाडि कोरयाली वैज्ञानिक हान नाम पार्कले उन्नाइसौं शताब्दीमा एउटा समुदायमा मरेकाहरूको मृत्युको विवरण अध्ययन गरेका थिए।

तीमध्ये किशोरावस्थामा पुग्नु अगाडि अण्डकोष निकालिएका ८१ जना नपुंसकहरू थिए र उनीहरूको ‍औसत उमेर ७० वर्ष पाइएको थियो। त्यही समयका अरू पुरुषहरूको उमेर भने ५० थियो।

धेरै अध्ययनहरूले मानिस वा जनावरहरूको आयु अण्डकोष नभएमा लामो हुने देखाएका छन्।

महिलाहरूको हार्मोन एस्ट्रोजिनमा भने शरीरमा हुने हानीकारक तत्वहरूलाई हटाउने गुण हुन्छ।

मानव मुटुको चित्र
महिलाहरूको हर्मोन एस्ट्रोजिन हानीकारक कोलोस्ट्रोलविरुद्ध लडेर मुटु रोगबाट बच्न मद्दत गर्छ

. पेशा र आचरण

द्वन्द्वग्रस्त क्षेत्रहरूमा पुरुष आयु धेरै घट्छ। तर स्वास्थ्य सेवा नपुगेका ठाँउहरूमा सुत्केरी हुने बेलामा धेरै महिलाहरूको ज्यान जान्छ।

धूम्रपान, मद्यपान र खानपानका कारण पनि विभिन्न देशहरूमा पुरुष र महिलाको आयु फरक हुन्छ।

रुसमा पुरुषहरू अधिक मद्यपानका कारण महिलाहरूभन्दा १३ वर्ष कम बाँच्छन्।

महिलाको आयु लामो भएपनि उनीहरूमा रोग लाग्ने सम्भावना ज्यादा हुन्छ।

ब्रिटेनको एक अस्पतालमा वृद्धा
महिलाहरू पुरुषभन्दा बढि अस्पताल पुग्छन्

महिलाहरू १६ देखि ६० वर्षको उमेरमा पुरुषभन्दा धेरै अस्पताल पुग्ने गर्छन्।

खाडल पुरिदै

हालैका केही अध्ययनहरूले महिला पुरुषबीच आयुको यो खाडल छिट्टै पुरिने बताएका छन्।

ब्रिटेनको एक विद्यालयमा बालबालिकाहरू
ब्रिटेनमा महिला र पुरुषको आयु दुई दशकमा बराबर आउने बताइएको छ

इम्पेरियल कलेज लण्डनको एक अध्ययनका अनुसार सन् २०३० सम्ममा ब्रिटेनमा महिला र पुरुषबीचको यो दुरी एक वर्ष नौ महिनामा झर्ने बताइएको छ।

अहिले ब्रिटेनमा जन्मेको पुरुष ७९ वर्ष दुई महिना बाँच्ने र महिला ८२ वर्ष नौ महिना बाँच्ने तथ्याङ्क छ।

प्राध्यापक लेस मेहेउले गरेको एक अध्ययनमा सन् २०३२ सम्ममा महिला पुरुषको आयु बराबर हुने देखाइएको छ।-स्रोत बीबीसी

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *