७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेंगु संक्रमण उच्च बिन्दुमा : संक्रमित २२ हजार नाघ्दा २९ को मृत्यु



काठमाडाैं । डेंगु संक्रमण उच्च बिन्दुमा पुगेको छ । असारको पहिलो सातादेखि सुरु भएको डेंगुबाट हालसम्म २२ हजार नौ सय ५२ जना संक्रमित भएका छन् । यीमध्ये २९ को मृत्यु भएको छ । भयावह रूप लिइरहेको डेंगु नियन्त्रणमा आउन अझै दुई महिना लाग्ने प्रक्षेपण छ । कात्तिक अन्तिम सातादेखि डेंगु नियन्त्रणमा आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययनले देखाएको हो । 

‘अहिले डेंगु ‘पिक’मा छ, अझै एक महिना संक्रमण घट्दैन,’ मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले भने, ‘कात्तिकको अन्तिमसम्म भने यो हराउनेछ ।’ उनका अनुसार सरुवारोग विशेषज्ञसहितको टोलीले डेंगुको फैलावट र अवस्थाबारे अध्ययन गरेको थियो । अध्ययनले हाल यो उच्च बिन्दुमा पुगेको देखाएको छ । हाल डेंगु सबैभन्दा बढी उपत्यकामा देखिएको छ । यहाँ अझै संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ । प्रवक्ता डा. ठाकुरका अनुसार विगतका वर्षमा पनि डेंगु कात्तिकदेखि नियन्त्रणमा आएको थियो । 

२२ हजार ९५२ संक्रमित, धेरै उपत्यकामा
देशभर डेंगु संक्रमितको संख्या २२ हजार नौ सय ५२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या २९ पुगेको छ । हाल संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा छन् । काठमाडौंमा सात हजार तीन सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने ललितपुरमा पाँच हजार पाँच सय ८५ पुगेको छ । त्यस्तै, मकवानुपरमा दुई हजार एक सय ३५, दाङमा एक हजार दुई सय ७५, रुपन्देहीमा सात सय आठ, भक्तपुरमा एक हजार ५० जनामा डेंगु संक्रमण भएको छ । यी जिल्ला सबैभन्दा धेरै डेंगु फैलने जिल्लामा पर्छन् । महाशाखाका अनुसार मुस्ताङ र हुम्लाबाहेक देशका ७५ जिल्लामा डेंगु संक्रमण भइसकेको छ । 

सबैभन्दा धेरै संक्रमण बागमतीमा
हाल सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा फैलिएको छ । बागमती प्रदेशमा १७ हजार सात यय ३१, लुम्बिनीमा दुई हजार आठ सय २१, प्रदेश १ मा पाँच सय ९१, मधेस प्रदेशमा तीन सय २३, गण्डकीमा पाँच सय १५, सुदूरपश्चिममा सात सय ७७ र कर्णालीमा दुई सय ३० जना डेंगु संक्रमित भेटिएका छन् ।

स्थानीयस्तरमा लार्भा नियन्त्रण भएन
स्वास्थ्य मन्त्रालयले भदौ पहिलो साता नै सबै स्थानीय तहअन्तर्गतका स्वास्थ्य विभाग तथा शाखा, जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्यचौकीलगायतलाई डेंगु नियन्त्रणका कार्यक्रम बनाउन निर्देशन  दिएको थियो । तर, स्थानीयस्तरमा लार्भा नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा संक्रमण उच्च बिन्दुमा पुगेको छ । यसलाई रोक्न स्थानीय तहकै भूमिका रहने भए पनि उनीहरूले चासो नदिँदा संक्रमणदर बढेको मन्त्रालयका प्रवक्ता डा. ठाकुरले बताए । ‘हामीले आवश्यक पर्ने औषधि र रकम पठाएका छौँ, तर स्थानीयस्तरमा यसको रोकथामका लागि प्रयास कम भयो,’ उनले भने, ‘सबै परिचालन भएर लार्भा नष्ट नगरेसम्म यो नियन्त्रणमा आउँदैन ।’

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले पनि यसको रोकथामबारे पुग्दो जनचेतना र कार्यक्रम नभएको बताए । उनले लामखुट्टे, लार्भा र त्यसको वासस्थान नष्ट गर्नेबारे स्थानीय सरकार ऐक्यबद्ध नहुँदा संक्रमण बढिरहेको बताए । ‘लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ भन्ने धेरैलाई थाहा छ, तर त्यसको टोकाइबाट कसरी जोगिने कमलाई मात्रै थाहा छ,’ उनले भने, ‘रोकथामका प्रयास नभए यसको संक्रमण अझै फैलिन्छ ।’ उनका अनुसार विगतको संक्रमणदर र तथ्यांक हेर्दा कात्तिकदेखि यो नियन्त्रणमा आउने देखिन्छ । तर, अझै एक महिना यसले ‘पिक’ लिन सक्ने उनको भनाइ छ ।

डेंगु नियन्त्रण गर्न स्थानीयस्तरबाट पहल नै भएको छैन 
शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ

लामखुट्टे र लार्भा नष्ट नगरेसम्म डेंगु संक्रमण अझै फैलिन्छ । डेंगु नियन्त्रणमा स्थानीयस्तरबाट पहल नै भएको छैन । पानी जम्न नदिने, लार्भा र लामखुट्टे नष्ट गर्ने हो भने जोखिम स्वतः कम हुँदै जान्छ । 

लामखुट्टेको लार्भा नष्ट नगरेसम्म डेंगु नियन्त्रणमा आउँदैन
डा. सञ्जयकुमार ठाकुर प्रवक्ता, स्वास्थ्य मन्त्रालय

हामीले डेंगु नियन्त्रणका लागि आवश्यक पर्ने औषधि र रकम पठाएका छौँ । तर, स्थानीयस्तरमा यसको रोकथामको प्रयास कम भयो । सबै परिचालन भएर लार्भा नष्ट नगरेसम्म यो नियन्त्रणमा आउँदैन ।-Nayapatrikadaily.com

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : २३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *