काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
गत बिहिबार विदेशबाट आई प्रहरीमा आत्मसमर्पण गरेका लामिछानेलाई आज पहिलो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछाने पक्राउ परेपछि लगातार सार्वजनिक विदा परेकाले अदालतबाट उनलाई हिरासतमा राख्ने अनुमति लिइएको छैन । १० बजे अदालत खुल्ने भएता पनि लामिछानेलाई संचार कर्मीको आँखा छलेर आज विहान साढे नौ बजे नै काठमाडौं जिल्ला अदालत पुर्याएको थियो ।
उनलाई अहिले न्यायाधीश दयाराम ढकालको इजलासमा सोधपुछ भइरहेको छ । जिल्ला अदालत परिसरमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । लामिछानेमाथि एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी छन् । प्रहरीले लामिछानेलाई बढीमा २४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।
प्रतिक्रिया