७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले जित्याे साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि



काठमाडौं । नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँदै कप्तानी प्रदर्शन गरेपछि उपाधि नेपालको पोल्टामा परेको हो ।

घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको खेल डवल राउण्ड रोविन प्रणाली अन्तर्गत संचालन गरिएको थियो ।

चार खेलबाट तीन जित र १ बराबरीको नतिजाबाट नेपाल १० अंक जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

नेपाललाई उपाधि जित्न बराबरी नै पर्याप्त थियो भने बंगलादेशका लागि जित आवश्यक थियो । खेल १–१ को बराबरीमा रहेका बेला बंगलादेशले अन्तिम समयमा पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन र नेपाल भाग्यमानी बन्यो । जहाँ सुजाता नायक बनिन् ।

बीएसएसएसएमके रंगशालामा भएको खेलको १४औं मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा नेपालले अग्रता कायम राख्यो । दोस्रो हाफमा घरेलु टोली बंगलादेशले गोल फर्कायो । बंगलादेशकी कप्तान रुमा अख्तरले ५४औं मिनेटमा गोल गरेकी थिइन् ।

खेलको अन्तिम मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर, बंगलादेशकी जोयनोब बीबी रिताको पेनाल्टी प्रहार कप्तान तथा गोलकिपर सुजाता तामाङले बचाउँदै नेपालको संकट टारिन र ऐतिहासिक उपाधि दिलाइन् ।

नियमित कप्तान दीपा रोकायको स्थानमा सुजाले बंगलादेशविरुद्ध कप्तानी गरेकी हुन् ।

नेपाल, बंगलादेश र भुटान गरी तीन टिम मात्र सम्मिलित यस प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।

प्रतियोगितामा नेपालले भुटानलाई ७–० र १–० तथा , बंगलादेशलाई १–० ले पराजित गरेको थियो । चारवटै खेल हारेको भुटान भने अंकविहीन हुँदै यसअघि नै घर फर्किसकेको छ ।

नेपालको महिला फुटबल टिमले उमेर समूहमा जितेको यो दोस्रो उपाधि हो । यसअघि सन् २०१४मा श्रीलंकामा भएको यू–१४ रिजन प्रतियोगितामा नेपालको यू–१४ महिला टिमले उपाधि जितेको थियो ।

साफ यू–१५ महिला च्याम्पियनसिपमा भने नेपालको यो पहिलो उपाधि हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ६ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *