१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अंग प्रत्यारोपण बारे अनुभव आदानप्रदान गर्दै दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न



काठमाडौं । मानव अंग प्रत्यारोपण सम्बन्धि अनुभव आदानप्रदान गर्दै दोस्रो अन्तराष्ट्र्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न भएको छ । सम्मेलन काठमाडौंमा दुई दिनसम्म संचालन भएको हो ।

शनिवार र आइतबार भएको सम्मेलनमा नेपाली विज्ञले १६ वटा र विदेशी विज्ञले १२ वटा कार्यपत्रहरु प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै नेपाली विज्ञहरुले अंग प्रत्यारोपणमा नेपालले फराकिलो रुप लिएपनि अझै सतप्रतिशत सफलता हात लाग्न नसकेको बताए ।

उनीहरुले खासगरी कुनैपनि अंग प्रत्यारोपणका लागि चाहिने दाताको अभाव र मृत्यु पश्चात पनि आफन्त र परिवारका व्यक्तिले मृतकको अंग दान गर्न हिचकिचाउदा कयौं बिरामीले अकालमा ज्यान गुमाइरहेको उल्लेख गरे ।

यसबारे सरकारले व्यापक जनचेताना जागाउन सके अंगदान गर्ने कार्यमा प्रगति हुने उनीहरुको विस्वास छ । कार्यपत्र प्रस्तुतीका क्रममा विदेशि विज्ञहरुले पनि समस्या र त्यसको समाधानका उपाय बारे तथ्यहरु प्रस्तुत गरेपछि अंगदान र प्रत्यारोपण बारे अनुभव साटासाट गर्दै मृत्युपछि अंगदानको अवस्था चुनौती तथा सम्भावनाबारे पनि चर्चा गरिएको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार यो सम्मेलनले नेपालमा अंगदान तथा प्रत्यारोपण कार्यलाई प्रभावकारी बनाउन सहयोगी भूमिका खेल्ने विस्वास लिइएको छ ।

सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, बंगलादेश, हल्याण्ड, बेल्जियम, स्लोभानिया लगायत १५ देशका विज्ञ सहभागि रहेका थिए ।

शनिबार मुख्य सचिव शंकरदास बैरागीले उद्घाटन गरेको सम्मेलनमा स्वास्थ सँग सम्बन्धि विज्ञहरु, समाजसेवी, पत्रकार, कलाकार, कानूनविद तथा जिल्ला अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुख समेतको सहभागिता थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा भक्तपुर अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन भएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : ४० बजे