१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ महिनामा ६ अर्बको चामल भित्रियो, कृषिजन्य वस्तुको आयात भने ३३ प्रतिशतले घट्यो



काठमाडौं।  वस्तु आयात–निर्यातमा कमी आइरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले आयातमा गरेको कडाइ र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण कृषिजन्य वस्तुको आयातमा उल्लेख्य कमी आएको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) सम्म कुल वस्तु आयातमा १८ प्रतिशतले कमी आई पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपैयाँको वस्तु आयात भएको छ । सो अवधिमा निर्यातमा ३३ दशमलव ३० प्रतिशतले कमी आई ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपैयाँको निर्यात भएको छ ।

चार महिनामा कृषिजन्य वस्तुको आयातमा समेत उल्लेख्य कमी आएको छ । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चार महिनामा कृषिजन्य वस्तुको आयात ३३ दशमलव २४ प्रतिशतले घटेर ९७ अर्ब १९ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ४५ अर्ब ५८ करोड रुपैयाँको आयात भएको थियो ।

यो चार महिनाको अवधिमा भटमास आयात ३२ दशमलव ८० प्रतिशत घटेर १८ अर्ब ३० करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष सो अवधिमा २७ अर्ब २३ करोड रुपैयाँको भटमास आयात भएको थियो । यस्तै पाम तेलको कच्चा पदार्थ आयात ३२ दशमलव ८६ प्रतिशतले घटेर १२ अर्ब ८७ करोड रुपैयाँको भएको छ । अघिल्लो वर्ष सो अवधिमा १९ अर्ब १८ करोड रुपैयाँको आयात भएको थियो । यस्तै ३२ दशमलव ४८ प्रतिशतले घटेर सनफ्लावर तेलको कच्चा पदार्थ आयात चार अर्ब ९१ करोड रुपैयाँ आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा सात अर्ब २८ करोड रुपैयाँ आयात भएको छ ।

यस्तै उक्त चार महिनाको अवधिमा चामल आयात ३७ दशमलव ५९ प्रतिशतले घटेर पाँच अर्ब ९३ करोड रुपैयाँको आयात भएको केन्द्रको तथ्याङ्क छ । अघिल्लो वर्ष सो अवधिमा नौ अर्ब ५० करोड रुपैयाँको चामल आयात भएको थियो ।

मकै आयात ३१ दशमलव ६३ प्रतिशत घटेर चार अर्ब ७३ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा छ अर्ब ९२ करोड रुपैयाँको आयात भएको थियो । धान आयात ७७ दशमलव ६४ प्रतिशतले घटेर ८५ करोड रुपैयाँ बराबरको भएको छ । अघिल्लो वर्ष तीन अर्ब १७ करोड रुपैयाँको आयात भएको थियो । गहुँ आयात ९६ दशमलव ९१ प्रतिशतले घटेर छ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब आठ करोड रुपैयाँको आयात भएको थियो ।

यस्तै दलहन बालीको आयात ४८ दशमलव ६८ प्रतिशतले घटेर चार अर्ब ४२ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा आठ अर्ब ६१ करोड रुपैयाँको आयात भएको थियो । चार महिनामा लसुनको आयात १० दशमलव ३८ प्रतिशतले घटेर ३७ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ४१ करोड रुपैयाँको आयात भएको थियो ।

यस्तै चिनी आयात ७२ दशमलव ४० प्रतिशतले घटेर ८८ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा तीन अर्ब १७ करोड रुपैयाँको आयात भएको थियो । यस्तै आलुको आयात १० दशमलव ३० प्रतिशतले घटेर चार अर्ब रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा चार अर्ब ४५ करोड रुपैयाँको आयात भएको थियो ।

आयात कडाइको प्रभाव

आयातकर्ता सङ्घ, नेपालका उपाध्यक्ष एसपी ढकालले नेपाल राष्ट्र बैङ्कले आयातमा गरिएको कडाइले गर्दा कृषिजन्य वस्तु लगायतका अन्य सामानको आयातमा उल्लेख्य कमी आएको बताए । “बजारमा तरलता अभाव छ, बैङ्कको चर्काे ब्याजदरले व्यवसायीले सामान आयात गर्न सकिरहेका छैनन् । राष्ट्र बैङ्कले निश्चित एचएस कोड भएका वस्तुको आयातमा प्रतिबन्ध लगाएको भए व्यवसायीलाई वैकल्पिक उत्पादनमा जान सहज हुन्थ्यो,” उनले भने ।

विदेशी मुद्रा सञ्चिति बढाउन गरिएको आयातमा प्रतिबन्ध गर्नु केही समयका लागि उचित भए पनि कच्चा पदार्थ आयात गरेर व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई प्रत्यक्ष असर परेको उनको भनाइ छ । व्यापारविज्ञ रविशङ्कर सैँजूले बैङ्कको उच्च ब्याजदर र व्यवसायीले ऋण नपाउँदा सामान आयातमा कमी आएको धारणा व्यक्त गरे । यस्तै चार महिनाको अवधिमा डेरीजन्य उत्पादनको आयात भने २३ प्रतिशतले बढेर ८२ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष सो अवधिमा ६६ करोड रुपैयाँको आयात भएको थियो ।

प्याज र स्याउको आयात बढ्यो

चालू आर्थिक वर्षको चार महिनामा दुई अर्ब १९ करोड रुपैयाँको प्याज आयात भएको छ भने अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब १७ करोड रुपैयाँको आयात भएको थियो । यसैगरी स्याउको आयात २ दशमलव ८६ प्रतिशतले बढेर दुई अर्ब ८० करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब ७२ करोड रुपैयाँको आयात भएको थियो । -गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *