७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद्मा प्रभावकारी भूमिका खेल्न देउवाको निर्देशन



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।

कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सत्ता गठबन्धनलाई निर्वाचनमार्फत जनताले अनुमोदित गरेकाले राष्ट्रिय राजनीतिका सन्दर्भमा छिट्टै गठबन्धनको बैठक बसेर अरु निर्णय गर्ने उनले उल्लेख गरे ।

महामन्त्री गगनकुमार थापाले आइतबारदेखि सुरु हुने पार्टीको केन्द्रीय समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि निर्वाचन समिति गठन गरी आगामी बुधबारसम्म निर्णय आउने बताए । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापतिले प्रतिनिधिसभाका सम्पूर्ण निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिँदै संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाहका लागि निर्देशन दिनुभएको जानकारी दिए । उनले कांग्रेस संसद्मा ठूलो दलको हैसियत प्राप्त गरेको र गठबन्धनमा पनि फराकिलो अन्तर रहेकाले स्वभाविकरूपमा कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने भए पनि यससम्बन्धी निर्णय गठबन्धनको बैठकबाट हुने बताए ।

नेता डा. शेखर कोइरालाले कांग्रेस प्रतिनिधिसभाको ठूलो दल भएकाले उसकै नेतृत्वमा गठबन्धन सरकार गठन हुनुपर्ने धारणा राखे । अर्का नेता विमलेन्द्र निधिले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने जिकिर गरे । नेता एनपी साउदले पार्टी सभापतिकै नेतृत्वमा गठबन्धनले सफलता पाएकाले उनकै नेतृत्वमा प्रधानमन्त्रीमा सहमति हुने विश्वास व्यक्त गरे ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँचदलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *