१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड प्रधानमन्त्री नियुक्त, शपथ भोली हुने



काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएका छन् ।

संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

प्रचण्डले दोस्रो ठूलो दल नेकपा (एमाले) सहित ७ दल र ३ स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।

तेस्रोपटक प्रधानमन्त्री बनेका उनले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।

प्रचण्डका अघिल्ला कार्यकाल

भदौ २०६५ मा उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए । १० वर्ष लामो सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएको माओवादी पहिलो संविधान सभा चुनावमा सबैभन्दा ठूलो दल बनेपछि उनी प्रधानमन्त्री बनेका थिए ।

तर, विडम्बना त्यो कार्यकालमा प्रधानसेनापति हटाउन खोज्दा उनी आफैँ हट्नुपर्‍यो ।

संविधान बनेपछि २०७२ असोजमा माओवादीले नेकपा एमालेसँग ९/९ महिना प्रधानमन्त्री हुने सहमति गरेको थियो । पहिलो पटक प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ९ महिनापछि सत्ता छाड्न मानेनन् । सत्तामा उक्लने प्रचण्डको चाहना पनि पूरा हुन पाएन ।

उनले सत्ता गठबन्धनको भरपर्दो विकल्प कांग्रेसलाई देखे । एमालेसँगको गठबन्धन टुटाएर १९ साउन ०७३ मा कांग्रेसकै समर्थनमा आफू प्रधानमन्त्री बने । दोस्रोपटक प्रधानमन्त्री भएका प्रचण्डले पूर्वसहमतिअनुसार १० महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको चाबी बुझाए।

राजनीतिमा अस्थिर र ढुलमुले स्वभावको छवि बनाएका प्रचण्ड फेरि एमालेसँग गठबन्धन गर्न आइपुगे तेस्रो पटकको प्रधानमन्त्रीको आकाङ्क्षा लिएर।

एमाले सरकार ढालेको केही महिनामै वाम गठबन्धनको ‘सर्प्राइज’ दिएका प्रचण्डले २०७४ को संसदीय चुनावमा एमालेसँग गठबन्धन मात्र हैन पार्टी एकता नै गरे। त्यति बेलासम्म ओली दोस्रो पटक प्रधानमन्त्री बनिसकेका थिए। ओलीसँग साढे २ वर्षपछि प्रधानमन्त्री बन्ने सहमति पनि कार्यान्वयन भएन। साढे २ वर्षको कार्यकाल प्रचण्डलाई सुम्पिन नमानेर ओलीले संसद् विघटन गरे।

त्यसपछि प्रचण्डले कांग्रेससंग गठबन्धन गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए। गठबन्धन गरेरै कांग्रेस माओवादीलगायतको पार्टी चुनावमा होमियो। पाँच दलीय गठबन्धनले सरकार बनाउन बहुमत पनि पाएन।

अरु दल र स्वतन्त्र सांसदहरू मिलाएर गठबन्धनमा ल्याउने कसरत चल्यो।

तर कांग्रेस माओवादीमा ‘पावर शेयरिङ’ मा कुरा मिलेन। प्रधानमन्त्री र राष्ट्रपति दुवै पद छाड्न कांग्रेस तयार नभएपछि माओवादी एमालेसँग गठबन्धन गर्न गयो। अन्ततः एमाले नेतृत्वमा माओवादीसहित ७ दलको गठबन्धन बनाउँदै प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ३१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *