८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामखुट्टेले सार्छ यस्ता रोग



लामखुट्टे पनि फरक–फरक किसिमका हुन्छन् । फरक प्रजातिका लामखुट्टेले फरक रोग सारिरहेका हुन्छन् । लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगु, ज्वरो, जापानिज इन्सेफ्लाइटिस, हात्तीपाइले, कालाजारजस्ता सरुवा रोग सर्न सक्छ । लामखुट्टेले रोगी मानिसको शरीरबाट ल्याएको कीटाणु स्वस्थ मानिसमा सार्ने गर्छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ । 

मलेरिया
एनाफिलिज नामक लामखुट्टेको टोकाइबाट मलेरिया रोग लाग्ने गर्छ । यसको प्रमुख कारण प्यारासाइट प्लाज्मोडियमलाई पनि मानिन्छ । टाउको दुख्नु, बान्ता, ज्वरो आउने, ज्यान दुख्नेजस्ता यसका लक्षण हुन् । समयमै उपचार नगरेमा मलेरियाकै कारण ज्यानसमेत जान सक्छ । पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला मानिस मलेरियाबाट बढी प्रभावित हुने गर्छन् । 

डेंगु
लामखुट्टेको टोकाइबाट लाग्ने रोगमध्ये डेंगु सबैभन्दा घातक हो । एडिज नामक पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ । डेंगु भएमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्ने हुन्छ । डेंगु चार प्रकारका हुन्छन् । यदि डेंगु सुरुवाती चरणमा छ भने झोलिलो खानेकुरा खाएर आराम गर्नुपर्छ, आफैँ निको भएर जान्छ । तर, ज्वरो दोहोरिएको अवस्थामा डेंगुले जटिल समस्याहरू निम्त्याउँछ । चिकित्सकले डेंगुको परीक्षण गरेर बिरामीको अवस्था नियाल्दै उपचार गर्ने गर्छन् । 

जापानिज इन्सेफ्लाइटिस
जापानिज इन्सेफ्लाइटिसले सीधै दिमागमा असर गर्छ । नसा र स्पाइनल कर्डमा समेत असर पुर्‍याउने भएकाले यो रोगलाई निकै घातक रूपमा लिइन्छ । ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुनेजस्ता लक्षण यो रोग लागेपछि देखिन्छन् । यसको समस्या देखिएपछि शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले सास फेर्न गाह्रो हुन्छ ।

लामखुट्टे बढ्नुको प्रमुख कारण

– तराई क्षेत्र तथा धेरै गर्मी हुने ठाउँमा लामखुट्टे धेरै हुने भएकाले यी ठाउँमा रोगको संक्रमण पनि बढी हुन्छ । तर, विभिन्न कारणले पछिल्लो समयमा पहाडी क्षेत्रमा पनि लामखुट्टे फैलन थालेको छ । त्यसैले यसको जोखिम सबैतिर बढ्न थालेको छ ।

– खोला किनार, दूषित पानी भएका स्थान, सहरी क्षेत्र तथा बाक्लो बस्ती भएका ठाउँमा लामखुट्टे चाँडै फैलिन्छ । त्यस्तै, घरको गमलामा पनि लामखुट्टेले फुल पार्न सक्छ । त्यस्तै, पानी जम्ने खालको टायरमा पनि यसले फुल पार्छ । यस्ता क्षेत्रमा सरुवा रोगको महामारीसमेत चाँडै फैलने जोखिम हुन्छ । खासगरी, सरसफाइको अभाव, स्वास्थ्य चेतनाको कमीका कारण लामखुट्टे बढ्छ । 

कसरी बच्ने ?

– सरुवा रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ । त्यसैले घरमा फुल रोप्ने गमलामा पानी जम्न दिनुहुँदैन ।

– सामुदायिक तवरले नै यसको नियन्त्रण गर्नुपर्छ । पानी जमेको ठाउँमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्नुपर्छ । ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुपर्छ । पानीलाई जम्न नदिई बग्ने बनाउनुपर्छ । यसले लामखुट्टेको प्रजननमा बाधा पुर्‍याउँछ र नियन्त्रण गर्न सजिलो हुन्छ । 

– राति सुत्दा अनिवार्य रूपमा झुल प्रयोग गर्नुपर्छ ।

– घरका झ्याल–ढोकामा लामखुट्टे छिर्न नसक्ने जालीको अनिवार्य प्रयोग गर्नुपर्छ । 

– लामखुट्टेको टोकाइबाट बच्न एक किसिमको लोसन पाइन्छ । सुत्ने वेलामा जिउमा लोसन लगाउने र बिहान नुहाउने गर्नुपर्छ । 

– तराई तथा अत्यधिक गर्मी हुने ठाउँमा फुल बाहुला भएको कपडा लगाउनुपर्छ । कतिपयले गर्मी भयो भनेर हाफ बाहुला भएको कपडा लगाउने गर्छन् । तर, लामखुट्टेको टोकाइबाट बच्न अनिवार्य फुल बाहुला लगाएर हिँड्ने गर्नुपर्छ । प्रदूषित ठाउँमा तथा झाडीमा जाँदा पनि यस्तो कपडा लगाउनु आवश्यक हुन्छ । 

– लामखुट्टे मार्न टोल–टोलमा विषादी छकर्ने गर्न सकिन्छ । तर, यस्तो विषादी पानीको मुहानमा पर्ने गरी छर्कनुहुँदैन । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १२ : १० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *