काठमाडाैं । सञ्चालनमा आएको १७२औँ दिनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ । चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमानले चार्टर्ड उडानमार्फत बुधबार पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको हो ।
बुधबार बिहान ०६:०४ बजे छेन्दु विमानस्थलबाट उडेको विमान दुई घन्टा ५८ मिनेटको यात्रापछि बिहान ०९:०२ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो । विमानमा चीन भ्रमणबाट फर्केका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभाका सातजना सदस्य र दुई कर्मचारीसँगै चीनको लिङजी नगरका प्रमुख, उपप्रमुखसगै खेलाडी र चिनियाँ पर्यटक आएका थिए । १३१ सिटे विमानमा चालकदलका १२ र ८४ यात्रु गरी ९६ जना पोखरा उत्रेका थिए । चीनबाट आएको विमान एक घन्टा पोखरा बसेर चालक दलका सदस्यसहित काठमाडाैं फर्केको थियो ।
८ र ९ असारमा फेवातालमा दक्षिण एसियामै पहिलोपटक नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ हुँदै छ । सोही फेस्टिभलमा सहभागी हुन चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक, पर्यटक आएका हुन् । बोट रेसमा नेपालका सात प्रदेशका र चीनका गरी १२० खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । बोट रेसमा दुई सय र पाँच सय मिटर गरी दुई सेगमेन्टमा आठवटा बोट रेस हुनेछ । १७ पुसमा ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको विमानस्थलमा ११ फागुनमा इन्स्टु«मेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय र रात्रिकालीन उडानका लागि तयार भएको थियो । चार्टर्ड उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ भन्नेमा टुंगो लागेको छैन ।
चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब २२ अर्ब ऋण सहयोगमा विमानस्थल निर्माण गरिएको हो । अन्तराष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मादण्डअनुसार फोरडी मोडेलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र २५ सय मिटर लामो धावनमार्ग छ । जहाँ बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज उडान गर्न सकिन्छ । विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ ।
चीनले पुनः भन्यो– विमानस्थल बिआरआईअन्तर्गत
चीनको एक्जिम बैंकको क्रण सहयोगमा निर्माण भएको विमानस्थललाई चीनले पुनः बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गत निर्माण भएको बताएको छ । यसअघि १७ पुस ०७९ मा विमानस्थल उद्घाटन कार्यक्रममा तत्कालीन नेपालका लागि कार्यवाहक चिनियाँ राजदूत वाङ सिनले बिआरआई परियोजनाअन्तर्गत विमानस्थल निर्माण भएको बताएका थिए । बुधबार पुनः चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बिआरआई परियोजनाअन्तर्गत रहेको दोहोर्याएका हुन् । उनले भने ‘बिआरआईको महत्वपूर्ण पक्ष कनेक्टिभिटी रहेको र यो ट्रान्स–हिमालय बहुआयामिक कनेक्टिभिटी सञ्जालसमेत हो ।’
विमानस्थलको निर्माण चीन सरकारको सहयोगमा भएको हो भने चीनका इन्जिनियरहरूले यसको डिजाइन गरेका हुन् । अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएसँगै नेपाल र चीनबीच कनेक्टिभिटीको नयाँ अध्यायसमेत सुरु भएको उनले बताए ।
-नयाँ पत्रिका
प्रतिक्रिया