काठमाडौं । असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरदार प्रितम सिंहको बारेमा उनकी छोरी दीप सन्धुले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह धेरै पटक नयाँ दिल्ली धाएको बताएका थिए ।
उनको त्यो धारणाले सार्वभौम संसद्को खिल्ली उडाएको भन्दै एमालेले असार २० गतेदेखि संसद् बैठक अवरूद्ध गर्दै आएको छ ।
प्रचण्डको अभिव्यक्तिकै कारण संसद्मा अवरोधको श्रृंखला बढ्दै गएपछि संसद्को ठूलो सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुलाउनका लागि पहल गरिदेलान्, मध्यस्थता गरिदेलान् भन्ने आकांक्षा राखेका थिए ।
तर, देउवाले असार २४ गतेसम्म पनि मध्यस्थता गर्ने कुनै छाँटकाँट नदेखाएपछि आइतबार बिहान ११ बजे संसद् अवरोधको विषयमा छलफल गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख दुई दल नेपाली कांग्रेसका सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका थिए ।
प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा देउवाले आफ्नो अभिव्यक्तिका कारण बन्धकजस्तै भएको र संसद् खुलाउनका लागि ओली र आफूबीच मध्यस्थता गर्छन् भन्ने प्रचण्डको आशा थियो । तर, देउवाले विषयबस्तु के हो ? तपाईँहरू आफैँ कुराकानी गर्नुस् भनेर पन्छिए ।
त्यसपछि प्रचण्ड आफैले विषयको उठान गरे । आफूले आफ्नो अभिव्यक्तिबारे संसद्को रोष्टममा उभिएर आत्मालोचना गर्ने भनेपछि कुरा मिलेको थियो । आइतबार दिउँसो एक बजेका लागि बोलाइएको संसद् बैठक प्रचण्डकै आग्रहमा ३ बजेका लागि सारियो ।
जब बैठक सकेर ओली नयाँ वानेश्वरस्थित संसद् भवनमा पुगे । त्यसपछि एमाले नेताहरूले असार २१ गते प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिलाई कारण देखाएर संसद् चल्न नसक्ने जानकारी प्रचण्डलाई टेलिफोनमा दिए ।
प्रेस सल्लाहकार आचार्यले विज्ञप्तिमा लेखेका थिए, ‘संसदमा प्रष्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आसयविपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ । दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरूद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आशलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ ।’
त्यसपछि एमालेको आक्रोश रोक्न प्रचण्डले पुनः देउवालाई टेलिफोन गरेर मध्यस्थता गरिदिन भने । तैपनि देउवाले वास्ता नगरेपछि अहिले प्रचण्ड सन्त्रासमा छन् ।
निकटस्थ स्रोतका अनुसार देउवाको सोचाइ भने फरक छ । प्रचण्ड जति विवादमा पर्छन्, त्यति मौन बस्ने । पक्षमा पनि नबोल्ने, विपक्षमा पनि नबोल्ने । प्रचण्डले बाध्य भएर सत्ता छोडे भने आफ्नो मौका आउँछ भन्ने दाउमा देउवा भएको बुझिन्छ । र, सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने देउवाको रणनीति भएको बुझिन्छ ।
अहिले समर्थन फिर्ता लिएमा प्रचण्डले संसद्मा बहुमत जुटाउन एक महिना समय पाउछन् । संसद अवरुद्धसँगै सरकार ढाल्न कांग्रेसबाट डा. शेखर कोइराला, महामन्त्री गगन थापा, नेताहरू ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखक तथा एमालेबाट उपाध्यक्षद्वय विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ तथा उपमहासचिव विष्णु रिमाल छलफलमा रहेको नेताहरू बताउँछन् ।
ओली आफैँले प्रस्ताव गरेर प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिमा एमालेलाई धोका दिएपछि प्रचण्डसँग ओली रुष्ट हुँदै आएका छन् । त्यसो त देउवालाई धोका दिएर प्रचण्ड एमालेको प्रस्तावमा प्रधानमन्त्री बनेको देउवालाई मन परेको छैन ।
तर, राष्ट्रपतिमा प्रचण्डले कांग्रेसलाई साथ दिएपछि देउवा प्रचण्डको पक्षमा उभिन बाध्य भएका मात्रै हुन् । पाँचै वर्ष गठबन्धनको सरकार टिकाउने र आलोपालो सत्ता साझेदार गर्ने सहमति बमोजिम प्रचण्डको कार्यकाल अझै डेढ वर्ष बाँकी नै छ ।
देउवालाई प्रचण्ड सरकार मन परेको छैन । भ्रष्टाचार विरुद्ध खरो रुपमा काम गरिरहेका प्रचण्डका कारण पत्नि आरजु राणा सहित आफ्न धेरै नेता जेल जानसक्ने बुझेका देउवा पनि प्रचण्डलाई सरकारबाट हटाउन पाए हुन्थ्यो भन्ने मनस्थितिमा रहेको बुझिन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना नेता बालकृकष्ण खाड जेल गएपछि प्रचण्डसँग देउवाको मोह भंग भएको छ । त्यसता पनि ललिता निवास प्रकरण लगायतले देउवालाई झस्काएको छ ।
प्रचण्डको भ्रष्टाचार विरोधी अभियानबाट देउवासँगै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली पनि त्रसित छन् । ओलीले भ्रष्टाचार विरुद्धको अभियान अझै बढे आफ्नै परिवारमा समेत संकट आइलाग्ने बुझेका छन् । त्यसैले प्रचण्ड सरकार ढाल्न चाहेका छन् ।क
यसरी, देउवा र ओलीको पीडा मिलेका बेला दोस्रो तहका नेताहरुले एमाले कांग्रेसको संयुक्त सरकार गठन गर्नका लागि प्रचण्ड सरकार ढाल्ने खेल सुरु गरेका हुन् ।
प्रतिक्रिया