१६ बैशाख २०८१, आइतबार | Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरमा खुकुरी हानाहान



विराटनगर। विराटनगरको रत्ना होटलमा सञ्चालित क्यासिनोमा जुवा खेलेर निस्किएका नेपाली युवाहरूबीच मध्यराति खुकुरी हानाहान भएको छ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेका युवाहरूबीच विराटनगर महानगरपालिका-११ स्थित सम्राट क्यासिनोमा शनिबार बिहानका राति १:३० बजेतिर झगडा भएको थियो। झगडा हुन थालेपछि क्यासिनोबाट बाउन्सरले उनीहरूलाई बाहिर निकालेका थिए। बाहिर निकाल्नासाथ क्यासिनो परिसरमै युवाहरुबीच खुकुरी र हेल्मेट हानाहान भएको प्रत्यक्षदर्शीले बताए। खुकुरी प्रहारबाट विराटनगर-११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन्। 

उनको टाउको र देब्रे कानमा गहिरो चोट लागेको छ। विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचाररत कँडेलको टाउकोमा १२ र कानमा ५ टाँका लगाइएको छ। गहिरो चोट लागेपनि अवस्था खतरामुक्त रहेको जानकारी अस्पतालले प्रहरीलाई दिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले घटनामा संलग्न झापाको घैलाडुब्बा घर भइ विराटनगर-८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलियालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार कँडेलमाथि थपलियाले आक्रमण गरेका हुन्। ‘युवाहरूबीच झैझगडा र कुटाकुट भएको जानकारी प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो,’ दाहालले भने, ‘घटनामा संलग्नमध्ये थपलियालाई पक्राउ गरिएको छ।’ 

युवाहरूबीच कुटाकुट मात्रै भएको जानकारी प्राप्त भए पनि घटनाको प्रकृति हेर्दा धारिलो हतियार नै प्रहार गरेजस्तो देखिने उनको भनाइ छ। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको र अनुसन्धानपछि थप प्रष्ट हुने दाहालले बताए। प्रहरीले घटनामा प्रयोग गरिएको हतियार बरामद गर्न सकेको छैन। दाहालका अनुसार घाइते कँडेल र पक्राउ परेका थपलिया साथीसाथी हुन्। 

‘कँडेल र थपलियासहित केही नेपाली युवा जुवा खेल्न क्यासिनोमा छिरेका थिए। जुवा खेल्ने क्रममा पैसा हारमारको विषयलाई लिएर साथी-साथीबीच नै विवाद भएको थियो,’ एक प्रत्यक्षदर्शीले भने, ‘झगडा हुन थालेपछि क्यासिनोका बाउन्सरले उनीहरूलाई बाहिर निकाले। त्यसपछि क्यासिनो परिसरमै उनीहरूबीच खुकुरी र हेल्मेटले हानाहान हुन थाल्यो।’ खुकुरी र हेल्मेटले हानाहान गर्न थालेपछि बाउन्सर तथा सुरक्षागार्डले उनीहरुलाई क्यासिनो परिसरबाट बाहिर निकालेका थिए। 

बाहिर निस्किएपछि सडकमा पनि उनीहरुबीच हानाहान भएको प्रहरीको भनाइ छ। झगडा नियन्त्रणमा लिने क्रममा युवाहरूले बसपार्कको ड्युटीमा खटिएका प्रहरीमाथि पनि दुर्व्यवहार गरेका छन्। 

प्रहरी स्रोतका अनुसार क्यासिनोमा जुवा खेल्न सँगै गएका किरण लिम्बूमाथि थपलियाले खुकुरी प्रहार गरेका थिए। विवाद बढ्दै जाँदा लिम्बुमाथि खुकुरी प्रहार गरिए पनि उनी छलिएर जोगिन सफल भए। उनलाई प्रहार गरेको खुकुरीले लागेर कँडेल घाइते भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उपचारका लागि कँडेललाई अस्पताल लिएर लिम्बु नै पुगेका थिए।  

घाइते अवस्थाका कँडेलले भने आफूमाथि नियोजितरूपमा खुकुरी प्रहार गरिएको बताए। ‘ट्रक व्यवसायी लक्ष्मी प्रसाईंसँग मेरो लेनदेनको विषय थियो। मलाई पैसा लिन आउनु भनेपछि म त्यहाँ पुगेको थिएँ,’ उनले भने, ‘विक्रम थपलिया र लक्ष्मी प्रसाईंलगायतका व्यक्तिहरू पहिलादेखि नै क्यासिनोभित्र रहेछन्। पैसा लिन बोलाएर ममाथि खुकुरी हानियो।’ आफू भने क्यासिनोमा नछिरेको दाबी कँडेलले गरेका छन्। 

डीएसपी दाहालका अनुसार क्यासिनोका सञ्चालकले झगडामा संलग्न युवाहरूलाई प्रवेश नदिएको बताएका छन्। तर, क्यासिनोमा जुवा खेलेको विषयलाई लिएर घटना भएको जानकारी आएको उनको भनाइ छ। ‘यस विषयमा थप बुझ्दैछौं। विभिन्न कोणबाट घटनाको अनुसन्धान अघि बढाइएको छ,’ दाहालले भने उनका अनुसार एउटै समूहका युवाबीच झगडा भएको पाइएको छ। ‘घाइते भएका युवाले नै घटनाका सम्बन्धमा कुरा खुलाउन चाहेका छैनन्,’ दाहालले भने, ‘घाइतेले नै नबोलिदिएपछि प्रहरी पनि अन्योलमा परिरहेको छ।’

प्रहरीका अनुसार थपलिया र कँडेल अपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन्। सट्टेबाजी (फड्का)मा हारेको पैसा असुल्न विराटनगरका पिन्टु भनिने सञ्जय सिंहलाई अपहरण गरेर बन्धक बनाउँदै कुटपिट गरेको आरोपमा २०७७ सालमा कँडेललाई प्रहरीले पक्राउ गरेको थियो।

थपलियाको समूहलाई अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरेर छुटेका आपराधिक पृष्ठभूमिका गुन्डानाइके अभिषेक गिरीको संरक्षण रहेको प्रहरीका अधिकारी बताउँछन्। घाइते अवस्थाका कँडेलले पनि थपलियालाई गिरीले नै संरक्षण दिएर अपराध गर्न उक्साइरहेको आरोप लगाए। ‘मचाहिँ कांग्रेसमा आबद्ध छु। ऊ (थपलिया) अभिषेक गिरीको मान्छे हो,’ कँडेलले भने। 

प्रहरी स्रोतका अनुसार थपलियाले पनि आफू अभिषेक गिरीको मान्छेभन्दै व्यापारी, सरकारी कर्मचारी तथा प्रहरी अधिकारीलाई थर्काउने र अनआवश्यक दबाब दिने गरिरहेका छन् । गिरीकै छत्रछायामा रहेर थपलियाले पछिल्लो समय विराटनगर र आसपासका स्थानमा आतंक मच्चाइरहेको प्रहरीको विश्लेषण छ।

‘केही समययता विराटनगरमा रोकिएको गुण्डागर्दीलाई अभिषेक गिरीको साथ लिएर थपलियाको समूहले अगाडि बढाउन खोज्दै छ। क्यासिनोमा जुवा खेल्ने क्रममा भएको झगडा त्यसको एउटा उदाहरण हो,’ प्रहरीका एक अधिकारी भन्छन्, ‘पछिल्लो समय मिटरब्याजको धन्दा चलाउने, व्यवसायीलाई धम्क्याउने र आतंकित पार्ने गरेको छिटपुट सूचना आइरहेको छ । दैनिकजसो क्यासिनोमा छिरेर जुवा खेल्ने गरेको पनि पाइयो।’

डीएसपी दाहालले भने घटनामा संलग्न र घाइते भएका युवाहरुको विगतको आपराधिक पृष्ठभूमिसमेत केलाएर अनुसन्धान अघि बढाइएको जानकारी दिए। ‘विगतमा पनि अपराधमा संलग्न भएको जानकारी छ,’ उनले भने, ‘थप अनुसन्धानपछि धेरै कुरा ‘क्लियर’ हुन्छ।’ 

क्यासिनोमा नेपालीलाई निर्वाध प्रवेश  
विराटनगरमा दुईवटा क्यासिनो सञ्चालनमा छन्। रत्ना होटलमा ‘सम्राट’ र बिग होटलमा ‘च्याम्पियन जोन’ क्यासिनो सञ्चालनमा रहेका हुन्। कानुनतः क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । तर, दुवै क्यासिनोमा निर्वाध रूपमा प्रवेश गरेर नेपाली युवाहरुले जुवा खेल्न पाइरहेका हुन्छन्। 

क्यासिनो छिरेर लाखौं रूपैयाँ स्वाहा बनाइरहेका छन्। कानुनको खिल्ली उडाउँदै विराटनगरका क्यासिनो सञ्चालकहरुले प्रवेश गराएर नेपाली उद्योगी, व्यापारी तथा युवाहरूलाई जुवा खेलाइरहेका हुन्छन्। नेपालीलाई क्यासिनो प्रवेशमा कुनै रोकटोक छैन। क्यासिनोमा प्रवेश गर्न विदेशी नागरिक पुष्टि हुने ‘आइडी कार्ड’ अनिवार्य देखाउनुपर्ने नियम छ। 

कतिपय नेपालीले भारतीय आधार कार्ड बनाएर त्यसका आधारमा क्यासिनो प्रवेश गर्ने गरेको स्रोतले बतायो। ‘कतिपय नेपाली विदेशी ‘आईडी कार्ड’ देखाएर प्रवेश गर्छन्। कतिपयलाई त्यत्तिकै प्रवेश गर्न दिइन्छ,’ स्रोतले भन्यो, ‘क्यासिनो छिरेर नेपालीले जुवा खेल्छन् । जुवाप्रेमी नेपालीले क्यासिनोलाई मनोरञ्जनस्थल बनाएर लाखौं रूपैयाँ स्वाहा बनाइरहेका छन् ।’ 
स्रोतका अनुसार विराटनगरमा भारतीय ग्राहकलाई लक्षित गरेर सञ्चालन गरिएको क्यासिनो नेपालीले नै भरिभराउ हुने गरेको छ । ‘भारतीय ग्राहाक नियमित आउँदैनन् । नेपाली दिनै पुग्छन्,’ क्यासिनोका एक कर्मचारीले भने, ‘पैसा कमाउनकै लागि सञ्चालकले पनि नेपालीलाई रोक्दैनन्। नेपालीले प्रवेश पाउने वातावरण बन्नुमा सबै पक्षको मिलेमतोजस्तो देखिन्छ।’ 

उनका अनुसार सञ्चालकले नै नेपालीलाई आफैं सम्पर्क गरेर क्यासिनोमा जुवा खेल्ने निम्तो दिन्छन्। ‘चेकजाँचको डरले केही नेपालीहरु क्यासिनो छिर्न हच्किन्छन्,’ ती कर्मचारी भन्छन्, ‘तर, सबैलाई मिलाएका कारण कुनै समस्या हुँदैन भनेर सञ्चालकले नै बोलाउने गरेका छन्।’ राज्यका निकाय बेखबर हुँदा क्यासिनो सञ्चालकले मनोमानी ढंगबाट नेपालीलाई जुवा खेलाइरहेको उनको भनाइ छ। उनका अनुसार प्रदेश सरकार, स्थानीय प्रशासन, विराटनगर महानगरपालिकासमेतका निकायले समेत क्यासिनोको अनुगमनमा ध्यान दिएको पाइँदैन। 

यसअघि विराटनगर महानगरपालिकाले क्यासिनोको अनुगमन गरेको थियो। नेपालीलाई प्रवेश गराउने गरेको सूचनाका आधारमा एकपटक अनुगमन गरेको महानगरले त्यसपछि बेवास्ता गरिरहेको छ। ‘क्यासिनोका सञ्चालकले महानगरलाई नै प्रभावमा पारेजस्तो छ,’ स्रोतले भन्यो, ‘अहिले क्यासिनो नेपालीलाई जुवा खेलाएर कमाउने राम्रो माध्यम बनेको छ।’
 
डीएसपी दाहाल भने क्यासिनोमा नेपालीलाई प्रवेश गराउन नमिल्ने बताउँछन्। क्यासिनोमा जुवा खेल्न जानलाई नेपालीले कसरी प्रवेश पाएभन्ने बारेमा पनि अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । दाहालका अनुसार नेपालीले क्यासिनोमा प्रवेश पाएको पुष्टि भए कारबाही अघि बढाइने छ। 

सम्राट क्यासिनोका मेनेजर लक्ष्मीप्रसाद सेडाईं नेपालीलाई प्रवेश नदिने गरेको दाबी गर्छन्। ‘क्यासिनोभित्र नेपाली छिर्दैनन्। उनीहरुबीच यहाँभित्र झगडा भएको हैन,’ उनले भने, ‘होटलको पार्किङ क्षेत्र र बाहिर झगडा भएको रहेछ। रक्सी खाएर आएका युवा क्यासिनोभित्र छिर्न खोजेपछि रोकेका हौं।’ बाहिरबाट मदिरा सेवन गरेर आएका युवालाई क्यासिनोभित्र छिर्न नदिएको र नेपालीलाई प्रवेशमै प्रतिबन्ध लगाइएको दाबी सेडाईंको छ। 

तर, विराटनगरका क्यासिनोमा नेपालीलाई प्रवेश गराउने गरेको उजुरी ‘हेलो सरकार’मा यसअघि नै परिसकेको छ। यस विषयमा छानबिन र कारबाही गरेर यथार्थ विवरण पेस गर्न प्रहरी प्रधान कार्यालयले मंसिर १० गते कोशी प्रदेश प्रहरी कार्यालयलाई लिखित निर्देशन नै दिएको थियो। प्रदेश प्रहरी प्रवक्ता एसपी ऋषिराम कँडेल छानबिनको विषय आफूलाई थाहा नभएको बताउँछन्। 

‘क्यासिनोमा नेपाली प्रवेश गर्ने विषयमा भएको छानबिन र कारबाहीका बारेमा मलाई थाहा भएन । केही भन्न सक्ने अवस्था छैन,’ कँडेलले भने, ‘म केही दिनदेखि पहाडी जिल्लाको अनुगमनमा छु। यस विषयमा बुझेर मात्रै भन्न सक्छु।’ उनका अनुसार क्यासिनोमा नेपालीले प्रवेश पाउन हुँदैनभन्ने कुरामा प्रहरी प्रष्ट छ। ‘कुनै छानबिन भए वा नभएपनि क्यासिनोमा नेपालीलाई प्रवेश गर्न दिन मिल्दैन,’ एसपी कँडेलले भने। 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *