२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकगीतमा लोकप्रिय



लोकगीतमा फेरिएको स्वाद र सांगीतिक बजारमा नयाँ कलाकारको प्रवेशले नै लोकगीतलाई उचाइमा पुर्‍याएको छ।

लोकगीत/संगीतको इतिहास बदलिएको छ। परम्परागत समयमा गाउँघरमा मात्र गुञ्जने लोकभाकाहरू अहिले सहरकेन्द्रित भएका छन्। पहिला बुढापाकाले मात्र सुन्ने भनेर व्याख्या गरिएका लोकगीत अहिले हिन्दी र अंग्रेजी गीतमा झुम्ने युवा पुस्तामाझ समेत लोकप्रिय बनेका छन्। लोकगीतमा फेरिएको स्वाद र सांगीतिक बजारमा नयाँ कलाकारको प्रवेशले नै लोकगीतलाई उचाइमा पुर्‍याएको हो। लोकगीत भन्नेबित्तिकै स्याङ्जा सम्झिहालिन्छ।

स्याङ्जालाई लोकगीत, संगीत र संस्कृतिको भण्डार मानिन्छ। जसरी लोकगीतमा श्रोता र दर्शकको क्रेज बढेको छ, त्यसको केही हिस्सा श्रेय स्याङ्जाली कलाकारलाई जान्छ। लोकगीत र स्याङ्जाली कलाकारको योगदानको बारेमा चर्चा गर्ने हो भने स्याङ्जाबाटै रेडियो नेपालमा गीत रेकर्ड गराउने प्रथम कलाकार चन्द्रबहादुर सेन ‘मसाने’लगायत पुराना अग्रज कलाकारलाई बिर्सन सकिन्न। उनले गाएको ‘कति साह्रै जमेको पिरती, बीचमै 

छुटायो दैवले, पर्ख तिमीलाई, जाल बुन्नेलाई’ रेकर्ड गराएको इतिहास पाइन्छ।

मसानेको यही गीतमात्र रेकर्ड भएको पाइन्छ भने उनका अन्य चर्चित र लोकप्रिय गीत भने त्यत्तिकै हराएर गए। कुनै समय अत्यन्तै लोकप्रिय बनेको एउटा भाका ‘साइलो दाइ काँ गयो, पानी खाँदा न्याउली जुरायो’का स्रष्टा पनि मसाने थिए। मसाने राजाबाट तक्मा र सम्मान पाउने सम्भवत :  पहिलो स्याङ्जाली कलाकार थिए। मसाने आज यो संसारमा नभए पनि उनका ती कालजयी गीत स्याङ्जाली कलाकारका लागिमात्र नभई सम्पूर्ण देशकै गहनाका रूपमा परिचित बनेका छन्।

व्यावसायिक र राष्ट्रिय स्तरमै उल्लेखनीय रूपमा चर्चा हुन नसके पनि सावित्री शाह, चन्द्रबहादुर गाहा, दिलबहादुर श्रेष्ठ, रत्न बानियाँ, नवीन गुरुङ, चेतमान गुरुङ, बेलबहादुर गुरुङ, राममाया गुरुङ, बासमती गुरुङ, दोलमाया गुरुङ, विष्णु गुरुङ स्याङ्जाली, जगन्नाथ न्यौपाने, रामप्रसाद पाठक, बुद्धिसागर बस्याललगायत दर्जनौं कलाकारको योगदान पनि लोकगीत संगीतको इतिहासमा भुल्न नसकिने कलाकार हुन्।

स्याङ्जाली भूमिमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित वरिष्ठ लोककलाकार राजेन्द्र लम्साल क्षेत्रीको पनि लोकगीत संगीतमा योगदान छ। २०४० सालदेखि रेडियो नेपालमा गीत गाउन सुरु गरेका लम्सालका ज्याग्दी खोलाकिनारै बसेर धान झुलेको छ, शिरमा रिबन सलको पछ्यौरीलगायतका दर्जनौं गीतका सर्जकलाई पनि देशले गत वर्ष गुमाउनुपर्‍यो।

यस्तै, भगवान् भण्डारी, गोपाल जीटी, शंकर विरही गुरुङ, लोकनाथ सापकोटा, ज्योति न्यौपानेलगायतका दर्जनौं कलाकारको योगदान पनि महत्त् वपूर्ण छ। २०४६ सालमा ‘रुन्छु सधैं मुटु समाउँदै’ रेडियो नेपालमा रेकर्ड गरेर लोकगीतको औपचारिक यात्रा थालेका जीटीले संख्यात्मक रूपमा धेरै गीत बजारमा नल्याए पनि लोकगीत संगीतको क्षेत्रमा उनले गरेको योगदान सम्झनयोग्य छ। हाल प्रवासमा रहेका स्याङ्जाली कलाकार भण्डारीले कुनै समय गाएका बिग्रियो चाल पनि, खैरेनीमा गेट, फूलमा भमरा, दिलको ढोका बन्द, वनमा काँडा छ बोलका गीतले चर्चामा पुर्‍यायो।

स्याङ्जाली लोकगीतका सर्जकमा छुटाउनै नहुने अग्रज कलाकारमा पुरुषोत्तम न्यौपाने, एकनारायण भण्डारी, रमेश बीजी हुन्। अग्रज लोक तथा दोहोरी गायक न्यौपानेले २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर प्रवेश गरेका थिए। न्यौपानेले स्वर दिएका गीतमा ‘ऐना हेरेर’, ‘मिर्मीमुनि काली थुनेको’, ‘लर्के जोवन’, ‘श्रीखण्ड चन्दन’, ‘ऐना हेरेर’, ‘फूलको बासना’, ‘झिलझिल सितारा’, ‘रुन्छ नि मन किन रुँदैन’ र ‘घामजस्तो चम्किलो जून हुँदैन’ लगायत चर्चित छन्। २०५५ सालदेखि दोहोरी प्रतियोगिता गायनबाट सांगीतिक यात्रा सुरु गरे बीजीले।

आजकल एक, दुईवटा गीतहरू गाउनेबित्तिकै सयौं गाइयो भन्ने प्रचलन भए पनि आफूले सयौं गीत गाए पनि करिब दुई तीन सय चाहिँ पक्कै राम्रो गाएको उनी बताउँछन्। लाइछौं फेसन, सररर पानीघट्टामा, सान्नानीले झुक्कायो मलाई, पूर्वैमा झ्याल राखेलगायत थुप्रै गीत चर्चामा छन्, जुन गीतले उनलाई थप चिनायो। एकनारायणका करिब पाँच सय गीतको सिर्जना गरिसकेका छन्। २०५५ सालबाट हालसम्म पनि गीतसंगीतको रचना र गायनमा निरन्तर सक्रिय भण्डारीका ‘सुपारी चाम्रो’, ‘लालुपाते नुघ्यो भुइँतिर’, डाँफे नाचेर, जिम्माल बाको आँगनीमा, हातमा रातो झोलाजस्ता दर्जनौं गीत हिट छन्।

लोकगीत संगीतको नयाँ पुस्तामा स्व. सूर्यकुमार क्षेत्रीको नाम पनि अग्रस्थानमा आउँछ। ३३ वर्षको कलिलो उमेरमै अस्ताएका उनले पनि लोकगीत संगीतमा छोटो समयमै पुर्‍याएको योगदान अविस्मरणीय छ। क्षेत्रीका डाली पलायो, उडी जाने जेट, धानको सिरौला, धोका दिनेलाई के भनुँ र खोइजस्ता दर्जनौं गीत चर्चामा छन्। लोकगीत संगीतमा सबैसामु परिचित नाम क्षेत्रीले शब्द, संकलन गरेका थुप्रै गीत अहिले पनि रेकर्डिङको चरणमा छन्।

गायिकामा पनि स्याङ्जालीको वर्चस्व छ। २०५७ सालमा स्वर परीक्षा पास गरेर लोकगीतसंगीतमा सक्रिय भएकी हुन्, शर्मिला गुरुङले लोक तथा दोहोरीसँगै गुरुङले एकल, सालैजो, कौडा गरी हालसम्म २५ सय बढी गीतमा स्वर दिइसकेकी छन् भने करिब ५० गीतहरूको रचनासमेत गरिसकेकी छन्। विशेषत :  तीजका गीतमा मौलिकता दिने गायिकाको रूपमा गुरुङलाई चिन्न सकिन्छ। उनले गाएका नीलो पछ्यौरी, राम्दी पुल, ‘मिर्मीमुनि काली थुनेको’, ‘रानीघाटैमा’ लगायत थुप्रै सालैजो र एकल गीत चर्चामा छन्।

लोकगीतमा चर्चित नाम हो, विष्णु माझी। दशकअघिदेखि सक्रिय माझीले हजारौं गीतमा स्वर दिएकी छन्। कसलाई सोध्ने होला, न जाउ है सानु पँधेरीमा, घामले नी पोल्दियो, जून लेनी जाडो भो, रुमाल हल्लाई–हल्लाई, भैटै हुन्न होला, सालको पातको टपरी लगायत थुप्रै गीत चर्चामा छन्।

हाल युरोपमा बसोबास गर्दै आएकी अर्की गायिका शकुन्तला थापाले २०५८ सालमा सुन्तला र स्याउ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरिन्। अहिले पनि नेपाल आउँदा जाँदा नयाँ गीत बजारमा ल्याएर स्याङ्जाली कलाकारको झल्को मेटाउँछिन्। यस्तै, कला पंगेनी, कृष्णा गुरुङ, तारा शर्मा पौडेललगायत थुप्रै नयाँ पिँढीका कलाकारले राष्ट्रिय स्तरमै पहिचान बनाएका छन्।

पुराना अग्रज स्याङ्जाली कलाकारहरूले जसरी लोकगीतसंगीतमा दबदबा जमाएका थिए। अहिले नयाँ पुस्ताका कलाकारले पनि त्यसलाई कायम मात्र राखेका छैनन्, अझ बढाएका छन्।सधैंभरी हिन्दी गीत र आधुनिक गीतमा मस्त हुने युवा पुस्तामा लोकगीत संगीतको छाप बसाउन सक्ने कलाकारका रूपमा स्थापित कलाकार हुन्, पशुपति शर्मा। सानै उमेरदेखि घर परिवारको सहमतिबिना लोकगीत संगीतमा हात हालेका शर्माले २०५८ सालमा ‘स्याङ्जामाथि वन’ पहिलो गीत गाए। शर्माले गाएका ‘क्याम्पस पढ्न आउनी’, ‘मलाई अमेरिका यहीँ’, लुट्न सके लुट, झमझम दर्कियो पानी र स्याङ्जा जाने बाटोमा तनहुँ आदि गीत चर्चित छन्।

२०६३ सालमा ‘ईश्वर पनि देब्रे परेछन्’ बोलको गीतबाट सांगीतिक बजारमा उदाएका खुमन अधिकारी, ‘वालिङ बजारमा’ बोलको गीतबाट लोकगीत संगीतमा पाइला चालेका रामजी खाँण र २०६६ सालमा ‘पछ्यौरी लेऊ बैना’ बोलको गीतबाट उदाएका शिव हमालले सदाबहार गायकको परिचय बनाए। खुमनको ‘स्याङ्जालीलाई नभन जाली’, ‘त्यो मन रुन्न होला र ‘जोर शंक फुकेर’लगायतका गीत सर्वाधिक चले। यस्तै खाँणले स्वर दिएका गीतमा ‘पछ्यौरी लेऊ बैना’, ‘फूल फूलेर पहेंलै भयो’ ‘दामी देखिन्छ’, चिनो हरायोलगायत गीत चर्चित छन्। २०६० सालदेखि लोकगीतसंगीतमा सक्रिय रहेका राजु गुरुङले ‘तीते करेली’ बोलको गीतबाट औधी रुचाए। गुरुङले करिब पाँच सय गीत गाएका छन्। ‘तीते करेलीले’, ‘झल्को आउँछ त्यो आँधीखोलाको’ ‘बसेर खाउली’, ‘यतातिर हेर्नै भुलेछु’सहित थुप्रै सालैजो गीतहरू चर्चामा छन्।

२०६० सालमा रेडियो नेपालको देउराली कार्यक्रममा ‘मन मुटुमा तस्बिर कोरेर’ गीतबाट सांगीतिक यात्रा सुरु गरेका अर्का गायक घनश्याम रिजाल विशेषत :  महोत्सवहरूमा माहोल तताउने गायकका रूपमा परिचित मानिन्छन्। २०६३ सालदेखि लोकगीत संगीतमा प्रवेश गरेका स्याङ्जा आँधीखोला गाउँपालिका— ३, बिचारी चौताराका कार्कीको ‘पान खायो मायाले’बाट चर्चा बटुले। २०६० सालमा ‘चल्छ जुहारी’नामक पहिलो लोकदोहोरी गीतबाट औपचारिक रूपमा गायन क्षेत्रमा प्रवेश गरेका ज्योति न्यौपाने, गोपीकृष्ण पंगेनीजस्ता नवगायकले पनि संगीतमा योगदान गरे।

यसबाहेक स्याङ्जाली कलाकारको पहिचान बनाइसकेका अन्य कलाकारमा बहुचर्चित गीत ‘भैंसी पालेर’ गएका अर्जुन ग्रैह्रे, दुर्गा गुरुङ, इन्द्रा गुरुङ, नेत्रप्रसाद पाण्डे, जगन्नाथ न्यौपाने, मधुर गिरी, सुजन लम्साल, शंकर ढकाल, दीपक भट्टराई आदि कलाकार संघर्षरत छन्। लोकगीत संगीतमा जसरी अग्रज र चर्चित राष्ट्रिय कलाकार छन्, त्यसरी नयाँ उदयमान स्याङ्जाली कलाकारको लर्को छ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ३ : ०६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *