१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हर्क साम्पाङलाई सेलिब्रिटीले दिए ‘नायकीय’ बधाई



काठमाडौं । हर्क साम्पाङ अहिले एकाएक नायक बनेका छन् । श्रमदान जुटाएर ४२ किमी टाढाबाट धरान सहरमा खानेपानी खसालेपछि उनको प्रशंसा चुलिएको छ । उनको प्रशंसामा रिलका नायक-नायक पनि जोडिएका छन् । सामाजिक सञ्जालमार्फत धरानका मेयरलाई ‘असली हिरो’ बताएका छन् ।

पानी खसालेपछि मुस्कुराएका साम्पाङको तस्वीर सेयर गर्दै ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरी लेख्छन्, ‘हो, यस्ता फोटोले चाहिं आनन्द दिन्छ । ठूला राजनीतिक गफ होइन, विकास मात्रै लक्ष्य ।’ अभिनेत्री स्वस्तिमा खड्काले साम्पाङको उक्त तस्वीर सेयर गर्दै लभहार्ट इमोजी उल्लेख गरेकी छन् । अभिनेता निर्देशक आसिफ शाहले सलाम छ भन्दै तस्वीर सेयर गरेका छन् ।

अभिनेत्री करिश्मा मानन्धर लेख्छिन्, ‘मेयर साप, धरानवासी जनतालाई ४२ किलोमिटर टाढा रहेको कोकाहाको पानी खुवाउन सफल हुनु भो । यस्तै अनेकौं सफलताको शुभकामना छ ।’ फिल्म निर्माता सरोज न्यौपाने लेख्छन्, ‘ठूला-ठूला गफ मात्रै दिनेहरुको भीडमा एउटा काम गरेर प्रमाणित गर्ने असल अनुहार यही देशमा देख्न पाइयो । सलाम छ तपाईंलाई ।’

फिल्म लेखक यज्ञश लेख्छन्, ‘अँध्यारोको एउटा जुनकिरी हर्क साम्पाङ । आफ्नो लक्ष्यप्रतिको निरन्तर लगन, जिद्दी र मेहनतले कसरी एउटा जनप्रतिनिधि ‘लिडर’ बन्छ भन्ने उदाहरण हर्कले स्थापित गरेका छन् । हर्कले धरानमा पानी ल्याएजस्तै एक-एकवटा काम र सुधारको अभियान (रित्तो गफ मात्रै होइन) ७५३ वटै पालिका प्रमुखले थाल्ने हो भने कसो होला ?’

फिल्म लेखक प्रदीप भारद्वाजले पनि साम्पाङको टिकटक भिडियो सेयर गर्दै प्रशंसा गरेका छन् । मेयर साम्पाङ फिल्मकर्मीसँग पनि निकट छन् । गत महिना उनले फिल्म जारी हेर्दै प्रशंसा गरेका थिए । उनले बेलाबेलामा टिकटक लाइभमा आएर गायकी कौशल पनि देखाउने गरेका छन् ।

श्रमदान जुटाएर साम्पाङले सय दिनभित्र ४२ किमी टाढाको कोकाहा खोलाबाट पानी धरान खसालेका थिए । यो पानीले चरम पानी संकट खेपिरहेको धरानका ३० हजार जनसंख्या लाभान्वित हुने जनाइएको छ । धरानको यो खानेपानी अभियानलाई लिएर फिल्म निर्देशक अरुणकुमार प्रधानले डकुमेन्ट्री फिल्म पनि निर्माण गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  १ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *