२३ बैशाख २०८१, आइतबार | May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी नेता मालामाल भए, जनता कंगाल : प्रभु साह



वीरगन्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कांग्रेस र कम्युनिष्टहरूले सत्तामा बसेर देशलाई लुटिरहेको आरोप लगाएका छन्। 

वीरगन्जमा मंगलबार जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘कांग्रेस र कम्युनिष्टबीच कुनै फरक छैन। उनीहरूको पार्टीको नाम र झण्डामात्रै फरक छ। तर काम एउटै छ। जसरी हुन्छ सत्तामा बसेर देशलाई लुट्ने। जनतालाई कंगाल बनाउने।’

पुराना दलहरूलाई डाँकाको संज्ञा दिँदै उनले डाँकाहरूको गिरोहमा आफ्नो पार्टी साधु बनेर आएको जिकिर गरे। उनले आम जनता पार्टी फरक धरातल र धारबाट बनेको दाबी गरे। ‘उनीहरूको काम देश लुट्ने, हाम्रो काम देश बनाउने हो,’ उनले भने।

माओवादीको ११ वर्षे जनयुद्ध जायज भए पनि त्यसबाट माओवादीकै नेता मालामाल भएको तर जनता कंगाल बनेको उनको आरोप छ। अध्यक्ष साहले जनयुद्ध नेपाल र नेपालीको अवस्था बदल्न र तल्लो वर्गका जनतालाई मालिक बनाउने उद्देश्यले भए पनि त्यो उद्देश्य पूरा हुन नसकेको बताए। ‘जनयुद्धकै कारण माओवादी नेता मालमाल भए। तर, जुन जनताले रगत बगाए, बलिदानी दिए, ती जनता झन् कंगाल बन्दै गइरहेका छन्,’ उनले भने।

उनले नयाँ संविधानलाई धोखाको पुलिन्दा भएको बताए। ‘संविधान जारी गर्ने बेलामै मैले यो संविधान धोखा हो भन्दै हस्ताक्षर गरिनँ। जुन अहिले आएर सही सावित पनि भइसकेको छ। माओवादी जनयुद्ध र मधेस आन्दोलनलाई धोखा दिएर जारी गरिएको संविधान केवल धोखाको पुलिन्दा भएको अडानमा आफू कहिल्यै पछि हट्दिनँ। किनकि अहिलेको संविधानले जनयुद्ध र मधेस आन्दोलनका एजेण्डालाई सम्बोधन गर्न सकेको छैन,’ उनले भने।

देशमा लोकतन्त्रका नाममा पुराना दलहरूले पालैपालोमा सत्तामा बसेर देश र जनतालाई  लुट्ने काममात्र गरिरहेको साहले आरोप लगाए। उनले भने, ‘यो मुलुकमा वास्तविक लोकतन्त्र आएकै छैन। लोकतन्त्र हात्तीको देखाउने र चपाउने दाँत फरक फरक भएजस्तै भएको छ। मुलुकमा संघीयता आएको ८ वर्ष भइसके पनि त्यसको लाभ जनताले लिन पाएका छैनन्।’

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : ५६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *