धनगढी । नेपाल कम्युष्टि पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका माओवादीहरु एक हुने वेला आएको बताएका छन् ।
पार्टीनिकट युवा संगठनको पाँचौँ राष्ट्रिय सम्मेलनको धनगढीमा शनिबार उद्घाटन गर्दै उनले माओवादी एकताका लागि अहिलेको व्यवस्थालाई जनताको व्यवस्थामा बदल्न माओवादीहरु एक हुनुको विकल्प नरहेको बताए ।
‘नेपाली जनताले धेरै दुःख पाइसके । देशमा धेरै समस्या आइसक्यो । यदि कसैको मुटुभित्र माओवादीको विचार छ भने माओवादी मिल्ने वेला भएको छ । जनतालाई दुःख परेको वेला सबै अगाडि आउनै पर्छ,’ उनले भने, ‘नेपाली जनताको सत्ता बनाउने जिम्मेवारी हामीसँग छ । यो दलाल पुँजीवादी सत्तालाई जनताको सत्तामा बलल्न र समाजवादमा जान माओवादीहरु एक हुनुपर्छ ।’
गणतन्त्र ल्याउनका लागि सबैभन्दा बढी रगत माओवादीले बगाएको उल्लेख गर्दै उनले यसलाई जनताको व्यवस्था बनाउन पनि माओवादी शक्ति एक हुनुपर्ने बताए । चन्दले सानातिना संकीर्णता त्यागेर र झिनामसिना कुरामा नअल्झिन पनि माओवादी घटकहरुलाई आग्रह गरे । माओवादीलाई शक्तिलाई दलाल, पूँजीवादी वर्गले अहिले हेप्न खोजेको उनको भनाइ थियो ।
‘जनयुद्धको बलिदानीले जनताले अधिकार पाएको हो, तर अहिले जनयुद्धविरुद्ध कुण्ठा व्यक्त भइरहेको छ, हामीबीच पनि केही समस्या देखिएपछि अलग भयौँ,’ उनले भने, ‘गणतन्त्रको लागि सबभन्दा धेरै रगत माओवादीको बगेको छ । त्यो रगत र त्यो बलिदानको जिम्मेवारी हामीसँग छ । अब सानातिना संकीर्णता र झिनामसिना कुरामा अल्झिएर होइन, जनताको समस्यामा एक भएर जानुपर्छ ।’ माओवादी मिल्ने कुराले जनतामा तरंग ल्याएको उनले दावी गरे ।
उनले कम्युनिष्ट पार्टीहरु नै एक भएर जानुपर्नेमा पनि जोड दिए । मुलुकमा जनताको समाजवाद ल्याउनका लागि माओवादी, उपेन्द्र यादव, बाबुराम भट्टराइदेखि एमाले एक ठाउँमा आउनुपर्ने उनको धारणा थियो ।
चन्दले समाजवादी मोर्चालाई व्यापक बनाउन खोजेको उल्लेख गर्दै यसमा एमाले पनि सकारात्मक रहेको दावी गरे । समाजवाद चाहने सबै कम्युनिष्ट एक भएर जानुपर्ने उनले बताए ।
चन्दले अहिलेको व्यवस्था जनताको व्यवस्था बन्न नसकेको भन्दै यसलाई बदल्नुपर्ने बताए । यो व्यवस्थाको फाइदा आमनागरिकले नभई सीमित व्यक्तिले मात्र लिएको उनको भनाइ छ ।
‘यो जनताको व्यवस्था हो पनि तर यो पूरै व्यवस्था जनताको व्यवस्था होइन पनि । यो गणतन्त्र नेपाली जनताले ल्याएको हो तर यो गणतन्त्र नेपाली जनताको गणतन्त्र बन्न सकेन । नेपालको राजनीति मुठीभरको हातमा गएको छ ।
धनाढ्यले मात्र चुनाव जित्न सक्ने अवस्था बनेको छ,’ उनले भने, ‘यो व्यवस्थाले जनता किसानको हित गर्न सकेन, युवाहरुको समस्या समाधान गर्न सकेन । केही मान्छेमात्र रातारात मोटाए, माफिया मौलाए ।’
आफूहरुले पहिले नै यो विषय उठाएको उल्लेख गर्दै उनले अहिले सबै दल र आमनागरिकको बुझाइ यो व्यवस्थाले हीत गर्न सकेन भन्ने रहेको बताए । सत्तामा पुरानै सामान्तवाद हावी हुन थालेको उल्लेख गर्दै उनले यो गणतन्त्रलाई जनताको गणतन्त्रमा बदल्न र समाजवादी गणतन्त्र बनाउन आवश्यक रहेको बताए ।
प्रतिक्रिया