१ माघ २०८१, मंगलबार | Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दगोरियामा धार्मिक महायज्ञ हुने

भारतीय नौटंकी नाचले संस्कृति लोप हुने चिन्ता



कैलाली । धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरियामा श्रीमद्भावगत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बुधबार बर्दगोरिया मन्दिर परिसरमा सरोकारवालाबीच छलफल भएको हो । बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष जगराम चौधरीको सभापतित्वमा भएको भेलामा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर प्रमुख अतिथि रहेका थिए ।

छलफलमा स्थानीय व्यावसायी, बुद्धिजीवि, राजनीतिकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी लगायतले धारणा राखेका थिए । पौराणिक महत्वको बर्दगोरियामा धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि उनीहरुले जोड दिएका थिए । बुधबार भएको छलफलपछि मेलाको स्वरुप परिवर्तन गरिएको छ । भेलाले श्रीमद्भावगत कथा र धार्मिक झाँकी प्रदर्शन गर्ने निर्णय गरेको छ । यही पुस २९ गतेदेखि माघ ६ गतेसम्म श्रीमद्भावगत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ ।

जसका लागि बलबहादुर साउँदको संयोजकत्वमा ९ सदस्यीय मूल समिति गठन गरिएको छ । जसको उपसंयोजकमा लल्तु दास, महासचिव नेत्रराज जोशी, सचिव कृष्णप्रसाद ओझा, कोषाध्यक्ष सुशिल शाही, सदस्य अमर बम, कृष्ण दास, सीता चौधरी, खडकबहादुर थारु र प्रचारप्रसार संयोजकमा लिलाजंग शाही चयन भएका छन् । यहाँ अघिल्ला वर्षमा माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा मेला लाग्दै आएको थियो ।

राज्यको करौडौं लगानीमा संरचना बनेको सन्दर्भलाई दृष्टिगत गर्दै यसवर्ष कार्यक्रमको स्वरुपमा परिवर्तन गर्नुपर्ने सहभागीले सुझाब दिएका दिए । बर्दगोरिया धाममा स्थानीय, प्रदेश र केन्द्र सरकारले पूर्वाधार निर्माणका लागि बजेट दिँदै आएपनि पहिचान ओझेलमा पर्दै आएको उनीहरुको गुनासो छ । यहाँ मन्दिर, प्रवेशद्वार गेट, सडक कालोपत्र र पक्की सिँढी लगायतका संरचना निर्माण सम्पन्न भएका छन् तर, माघी मेलामा प्रदर्शन गरिने भारतीय कलाकारको नौटंकी नाचले मौलिक संस्कृतिमाथि प्रहार भएको, यसले विकृति निम्तिएको र स्थानीय नेपाली मौलिक कला, संस्कृतिको संरक्षण तथा प्रर्बद्धनका लागि सचेत हुनुपर्ने पत्रकार लिलाजंग शाहीले धारणा राखेका थिए ।

यस्तै, सुरक्षा चुनौतीका दृष्टिकोणले पनि मेला लम्ब्याउन नहुने ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक बीरबहादुर थापाले सुझाब दिएका थिए । बर्दगोरियामा धार्मिक क्षेत्र विकास तथा संरक्षण मञ्चले हरेक वर्ष माघी मेला आयोजना गर्दै आएको छ ।

के छ बर्दगोरियाको धार्मिक महत्व ?

माघे संक्रान्ति सुरु हुनुअगावै बर्दगोरिया धाममा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय माघी मेला भर्न हजारौँ स्थानीय तथा श्रद्धालु भक्तजन आउने गर्दछन् । यहाँ परापूर्व कालदेखि नै माघी मेला लाग्दै आएको थियो । विगतमा तत्कालीन सशस्त्र द्वन्दका बेला पनि यहाँ लाग्ने धार्मिक मेला नरोकिएको स्थानीय जानकारहरु बताउँछन् ।

त्यसबेला यहाँ कैलाली र बर्दिया जिल्लाका मानिसहरु मेला भर्न आउने गर्दथे । त्यससँगै भारतका तिकुनिया, शिघाईंबाट भक्तजन बर्दबाबाको पूजाआराधना गर्न र पर्यटकहरु मेला अवलोकनका लागि आउने गर्दथे । देश संघीयतामा गएपछि संघीय संरचना अनुसार स्थानीय तहको पुर्नसंरचनाका क्रममा नामाकरण गर्दा वि.सं.२०७३ सालमा बर्दगोरिया धार्मिक क्षेत्रकै नामबाट बर्दगोरिया गाउँपालिकाको नाम रहन गएको हो ।

यहाँ पौराणिक महत्वका धार्मिक मठमन्दिर तथा सम्पदाहरु अझैपनि छन् । पौराणिक महत्व बोकेको कन्याराजाको दरबार, साइबाबा मन्दिर, शिव मन्दिर, कुवा अवस्थित छन् । कन्याराजाले पछि सो दरबार छोडेर गएपछि दरबार भत्किएर रहेका इटाहरुबाट अहिलेका मन्दिरहरु निर्माण गरिएको हुन सक्ने अनुमान गरिए तापनि यो एकिन हुन नसकेको अधिकांश भक्तजनहरु बताउँछन् ।

करिब १८ हेक्टर क्षेत्रफल ओगटेको बर्दबाबा, कन्या राजा, रामजानकी मन्दिर, हनुमान गढी, ग्वालिन ठाकुर, मनिहारी नामका मुख्य मन्दिरका साथै दुईवटा शिवालय अग्नीकुण्ड तथा भक्तजनहरुलाई नुहाउनका लागि दुई वटा पोखरी रहेका छन् । बर्दगोरियामा पर्यटकीय क्षेत्रका रुपमा पिरुवा, पुरैना ताल, रामजानकी मन्दिर, झरझरिया, ठाकुरद्वार पिकनिक स्थलको प्रचारप्रचार गर्न मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ९ : २८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *