अछाम । बालविवाहसम्बन्धी घटनाका उजुरी प्रहरीमा दर्ता हुन नपाउँदै राजनीतिक दबाबमा मिलाउने गरिएको पाइएको छ । दलका नेता र जनप्रतिनिधिले नै यस्ता घटना मिलाउने गरेका हुन् ।
अछामको कमलबजार नगरपालिका– २ बजुडामा आयोजित बाल कचहरी नामक छलफलमा वडा नम्बर ४ चाल्साकी १६ वर्षीया मनीषा साउदले इलाका प्रहरी कार्यालय कमलबजार पुग्ने अधिकांश बालविवाहका उजुरी दलका नेता, जनप्रतिनिधि र सरोकारवालाहरूले दबाबमा मिलाउने गरेको बताइन् । ‘प्रहरीमा पुगेका उजुरी दर्ता नगरेर उल्टै छलफल गरी नेताहरूले पीडकलाई जोगाउँछन्,’ उनले भनिन् ।
दबाब दिएर मुद्दा मिलाउने गरिएका कारण बालविवाह अन्त्य गर्ने अभियान प्रभावित भइरहेको वडा बाल सञ्जालकी सदस्य ललिता विष्टको बुझाइ छ । उनले नेता र जनप्रतिनिधिलाई पीडक जोगाउनेतर्फ नलाग्न र अभिभावकलाई सचेत पार्ने गतिविधि सञ्चालन गर्न सुझाव दिइन् । त्यसो गरे मात्र नगरलाई ०८३ मा बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य पूरा गर्न सकिने विष्टको बुझाइ छ ।
कमलबजार नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल, अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीसमेतको उपस्थितिमा भएको छलफलमा सहभागी बालबालिकाहरूले बालविवाह रोक्ने आफूहरूको अभियानमा सहयोग गरिदिन आग्रह गरेका थिए ।
स्थानीय शिशुसुधार माविमा अध्ययनरत १५ वर्षीय दीपेश खड्काले बालविवाह अन्त्य गर्न बालबालिका, अभिभावक र पुरोहितहरूलाई सचेत पार्ने खालका अभियान सुरु गर्नुपर्ने बताए । वल्डभिजनसँगको साझेदारीमा आस्था नेपालले बाल विकास, बाल समृद्धि र बाल सरोकारबारे विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएका समुदायमा सुरु भएको बाल कचहरीमा कमलबजार नगरपालिका प्रमुख ढकालले जान्ने बुझ्नेहरूले मात्र नभएर अभिभावकले समेत बालविवाहका घटना मिलाइदिन दबाब दिने गरेको बताए । ‘यो हाम्रा लागि ठुलो चुनौती हो,’ उनले भने, ‘अब कडा रूपमा प्रस्तुत हुनुपर्छ ।’ उनले सबै वडाका बालबालिकाको विकास र समृद्धिका लागि बजेट व्यवस्थापन गरेर कार्यक्रम कार्यान्वयन गरी उनीहरूको हक, हित र संरक्षण गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी लम्सालले बालविवाह र बालश्रमका घटनाबारे खुलेर उजुरी दिन आग्रह गरे । उनले त्यस्ता उजुरीमाथि तत्काल कानुनी कारबाही गरिने प्रतिबद्धता जनाए । अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले महिला र बालबालिकासम्बन्धी प्रायः मुद्दा अदालत पुगेर होस्टाइल हुने गरेको बताए । जसकारण राजनीतिक दबाब र आर्थिक प्रभाव रहेको उनले बताए । यद्यपि, बालविवाहबारे कुनै पनि उजुरी लिखित रूपमा प्रहरीसम्म पुग्ने नगरेको भण्डारीले बताए ।
अधिवक्ता पुष्पराज शर्माले बालविवाह अन्त्य गरी बालबालिकाको चौतर्फी विकास गर्न स्थानीय तहमा नीतिगत सुधार हुन जरुरी रहेको बताए । त्यसका लागि नगरपालिका र गाउँपालिकाहरूले बालमैत्री नीति तर्जुमा गर्नुपर्ने उनको सुझाव छ । बजुडाबाट सुरु भएको बाल कचहरी कमल बजारका अन्य तीनवटा वडासहित पञ्चदेवल विनायक नगरपालिका, साँफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकाका १९ वटा वडामा सञ्चालन हुनेछ । जहाँ हिंसामा परेका, अभिभावक गुमाएका, पढ्न नपाएका, अपांगता भएका, कुलतमा फसेका, बालविवाह गरेर समस्यामा परेका तथा विपन्न परिवारका बालबालिकाका समस्याबारे छलफल गरिनेछ ।
प्रतिक्रिया