मंगलसेन । अछामको ढकारी गाउँपालिकाले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु प्रति शोक प्रस्ताव पारित गरेको छ । आज मंगलबार बसेको कार्यपालिका बैठकमा दिवंगतहरुको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो ।
कार्यपालिकाले यही भदौ २३ र २४ गते काठमाडौं सहित देशका विभिन्न स्थानमा भएका आन्दोलनमा घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना सहित उनीहरुको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार जेन–जी आन्दोलनका नाममा भएको हिंसात्मक गतिविधिमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन पनि माग गरिएको छ । राज्यको सम्पतिमाथि तोडफोड तथा आगजनी गरेर देशकै गरिमा बोकेको संसद, कार्यपालिका र न्यायपालिका तथा नीजि उद्योग र कलकारखानामा क्षति गर्नेहरु समेतलाई अनुसन्धान गरी कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिइएको छ ।
यस्ता घटनामा संलग्नहरु लाई कानुनको कठघेरामा नउभाए सम्म हिंसात्मक मानसिकता भएकाहरुको मनोबल बढ्ने भन्दै कार्यपालिका मार्फत यस प्रकारका कार्यमा संलग्न जोकोहीलाई कारबाही गर्न माग गरिएको अध्यक्ष साउँदले बताउनुभयो ।
साथै आन्दोलनका क्रममा ध्वस्त भएका विभिन्न सरकारी संरचना पुर्ननिर्माण गर्ने कार्यमा जुट्न सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपालीहरुमा कार्यपालिका बैठक मार्फत अपिल समेत गरिएको छ । बैठकले यो संगै अन्य निर्णय समेत पारित गरेको अध्यक्ष साउँदले जानकारी दिनु भएको छ ।











प्रतिक्रिया