मंगलसेन । षोडशा देबी माध्यामिक विद्यालय मंगलसेनको ६४ औ अभिभावक भेला सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मंगलसेन स्थित विद्यालयले शुक्रबार आफ्नो ६४ औ अभिभावक भेला सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडाध्यक्ष झंकरप्रसाद भाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिकाका उपप्रमुख संगीता रावल सोडारी रहनुभएको थियो ।
भेलालाई सम्बोधन गर्दै नगर उपप्रमुख सोडारीले प्रस्तुत प्रगती प्रतिवेदनमार्फत् पहिलेको तुलनामा विद्यालयको शैक्षिक गुणस्तरमा सुधारको संकेत देखिएपनि व्यवस्थापन लगायतका विभिन्न पक्षमा अझै सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयमा अध्ययनरत रहेर वार्षिक परिक्षा र खेलकुद लगायतका क्षेत्रमा प्रगती गर्ने विद्यार्थीलाई शुभकामना दिदै उहाँले षोडशा देबी मावि सदरमुकामकै प्रतिष्ठित विद्यालय रहेकोले जिल्लाका अन्य ठाउँका विद्यालयहरुले पनि यसबाट सिक्ने अवस्थामा ल्याउने गरी काम गर्न सक्नुपर्ने बताउनुभयो । कुनै पनि विद्यालयको चौतर्फी विकासको लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक अग्रसरता आवश्यक हुने भन्दै उहाँले शिक्षक संख्या अपुग हुदा अध्यापनमा देखिएको समस्याबारे नगरपालिकाले पहल गर्ने बताउनुभयो ।
भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकर प्रसाद भाटले विद्यालयको व्यवस्थापन पक्षमा आपसी समन्वयको अभाव देखिएकोले यस्ता समस्या समाधानमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायत सबैको उत्तीकै दायित्व रहेको भन्दै सबैले एकजुट भएर काम गर्न सकेमात्र विद्यालयको शैक्षिक तथा व्यवस्थापकिय पक्षमा प्रगती हुने उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मंगलसेन नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष बिर्ख बहादुर बोगटीले यस्ता महत्वपुर्ण भेलामा अभिभावकको नै न्यून उपस्थितीले दुखी बनाएको बताउनुभयो । उहाँले आफ्ना बालबालिकाले अध्ययन गरिरहेको विद्यालयमा उनीहरुको अवस्था, विद्यालयको अवस्था, पढाईको अवस्था लगायतका सबै क्षेत्रमा हरेक विद्यार्थीका अभिभावकको चासो रहनुपर्ने भन्दै अब सामुदायिक विद्यालयप्रती आम दृष्टीकोण बदल्नुपर्ने अवस्था आएको बताउनुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले विद्यालयलाई नमुना बनाउन अझै पनि थु्रप्रै काम गर्न आवश्यक रहेको कुरा औल्याएका छन् । कार्यक्रममा मंगलसेन नगरपालिकाका निवर्तमान नगर उपप्रमुख सरिता उपाध्याय, नेपाली काँग्रेसका कार्यवाहक जिल्ला सभापती नयाँराम बजगाई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इन्चार्ज निरक शाही, राष्टिय स्वतन्त्र पार्टी मंगलसेन नगर सभापती राजेशबाबु बोगटी, मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख दिपक भण्डारी, जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष तेज बहादुर विष्ट, ब्रह्म कुमारी इश्वरिय विद्यालय अछामका प्रमुख कविता कडायत, नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापा, शिक्षक शंकर भण्डारी लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको सर्वांगिण पक्षको विकासका लागि शिक्षक, अभिभावक र व्यवस्थापन पक्षले मिलेर काम गर्नुपर्ने सुझाव दिएका हुन् ।
कायक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक बृकेश सिंह बोगटीले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार विद्यालयमा लैंगिक समानता सन्तोषजनक देखिएको छ भने माध्यामिक तहमा विद्यार्थी संख्या आधारभूत तहको तुलनामा केही वृद्धी भएको छ । प्रतिवेदनमा विद्यालयको समग्र औसत सिकाइ उपलब्धी २ दशमलव ५६ रहेको भन्दै अपेक्षित सुधारका लागि अझै सुधारक प्रयासहरु गर्न आवश्यक रहेको औल्याईएको छ ।
यस्तै कक्षा ९ र १० को सिकाइ उपलब्धी अपेक्षित स्तरमा नपुग्नु, गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थीको उपलब्धी कमजोर देखिनु तथा उनीहरुमा स्अध्ययनको कमीजस्ता चुनौतीहरु अहिले विद्यालयले भोगीरहेको उल्लेख छ ।
भेलामा लेखा अधिकृत मोहन कुमार बोगटीले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जसमा आर्थिक वर्ष २०८२–८३ को असार १० गतेसम्मको विवरण अनुसार विद्यालयको आय र व्यय ३ करोड ६९ लाख ५ हजार ५२ रुपैयाँ २४ पैसा रहेको छ ।
भेलामार्फत् विद्यालयको विकासका लागि विभिन्न किसीमको सहयोग गर्ने व्यक्तित्व, शिक्षक, विभिन्न नियमित परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालय, जिल्ला तथा प्रदेशस्तरमा भएका खेलकुद प्रतियोगीतामा सफल विद्यार्थीलाइृ पुरस्कार सहित सम्मान गरिएको छ । कार्यक्रममा विभिन्न कक्षा र तहमा अधययनरत विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए । विद्यालयमा अहिले ११ सय ९४ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।











प्रतिक्रिया