१६ आश्विन २०८३, शुक्रबार | Oct 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन बजार अनुगमन, कुहिएको मासु जफत, अन्य अखाद्य बस्तु पनि नियन्त्रण



मंगलसेन । अछामको मंगलसेनमा संचालित एक सुकुटी पसलमा २५ किलो बढी कुहिएको राँगाको मासु फेला परेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार गरेको बजार अनुगमनका क्रममा मंगलसेन बजारमा संचालित एभरेष्ट कोल्ड स्टोर तथा हाम्रो सुकुटी पसल एण्ड कटिङ सेन्टरभित्र फ्रीजमा राखिएको २५ किलो बढी राँगाको मासु कुहिएको अवस्थामा फेला परेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बजार अनुगमन समितिका संयोजक दिपेन्द्र सिंह विष्टको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा टोलीले खानै नमिल्ने अवस्थामा उक्त परिमाणको मासु फेला पारेपछि पसल संचालकलाई थप छलफल र कारवाहीका लागि प्रशासनमा उपस्थित हुन निर्देशन दिएको छ । नागरिकको स्वास्थ्यमा माथि गम्भिर किसिमको लापरवाही र खेलबाड गरेको ठहर गर्दै सहायक प्रमुख जिल्ला अधिकारी विष्टले सदरमुकाम बाहिर रहेका पसल सञ्चालकलाई टेलिफोन मार्फत् यथाशिघ्र व्यवसायिक कागजात सहित प्रशासनमा उपस्थित हुन निर्देशन दिए ।

यस्तै अनुगमनका क्रममा मंगलसेन बजारकै एक अर्को मासु पसलबाट साढे १० किलोग्राम सडेको माछा भेटिएको छ । उक्त माछा पनि टोलीले जफत गरेको छ । नजिकिदै गरेका प्रमुख चाडपर्व दशै तिहार लक्षित अनुगमनका क्रममा मंगलसेनका विभिन्न मासु पसलसहित खाद्य स्टोर्स, होटल तथा खाजाघर र मेडिकल लगायत २५ वटा पसलको अनुगमन गरिएको हो । ति पसलबाट म्याद गुज्रेका खाद्य सामाग्री, पेय पदार्थ, मसला तथा कुहिएको तरकारी र फलफुल बरामद भएको छ ।

बरामद गरिएका सामान सरोकारवाला निकायको रोहबरमा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा सचिन भट्टराईले जानकारी जानकारी दिएका छन् । अनुगमन गरिएका पसलका सञ्चालकलाई साईनबोर्ड अनिवार्य राख्न, मुल्य सूचि ग्राहकले देख्ने स्थानमा राख्न, दर्ता नविकरण समयमै गर्न, सरसफाईमा ध्यान दिन तथा म्याद गुज्रेका खाद्य वस्तु विक्रिवितरण नगर्न भन्दै सचेत पारिएको छ ।

अनुगमन टोलीमा समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी विष्ट सहित जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिनेश रिमाल, प्रहरी नायव निरिक्षक छत्र बहादुर सिंह, मंगलसेन प्रहरी चौकीका निमित्त इन्चार्ज तथा प्रहरी हवल्दार प्रेम सिंह बोहरा, घरेलु तथा साना उद्योग कार्यालयका जनकराज ढुंगाना, मंगलसेन नगरपालिकाका दिल बहादुर केसी, रेडियो सोसाइटी एफएमका स्टेशन म्यानेजर पुजा शाही लगायतको संलग्नता रहेको थियो ।

दशै तिहार नजिकिदै गर्दा बजारमा महंगी, खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना लगायत उपभोक्ताको हित विपरितका गतिविधि हुन सक्ने भन्दै त्यसको नियन्त्रणका लागि अनुगमन गरिएको हो । 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ८ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *