काठमाडाैं । नेपालको सबै क्षेत्रमा मूल्यवृद्धि उच्च दरमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विषयक प्रतिवेदनअनुसार असोजमा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि दर) ६.३७ प्रतिशत पुगेको छ । यो तीन वर्षयताकै उच्च हो ।
यसअघि असोज ०८० मा मुद्रास्फीति ७.५० प्रतिशत थियो । त्यसयता घट्दो क्रममा रहेको मुद्रास्फीति फागुनपछि बढ्ने क्रममा छ । केन्द्रीय बैंकका अनुसार असोज ०८१ मा ४.१२ र असोज ०८२ मा १.४७ प्रतिशतको मुद्रास्फीति थियो । सरकारले आपूर्ति शृंखलालाई चुस्त बनाउन नसक्दा तथा बजार अनुगमन प्रभावकारी नहुँदा मूल्यवृद्धि उच्च देखिएको उपभोक्तावादीले बताएका छन् ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको थियो । घिउ तथा तेल, फलफूल, चिनी तथा चिनीजन्य पदार्थको मूल्यवृद्धि दोहोरो अंकमा छ । त्यस्तै, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको मूल्यवृद्धि ७.२८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
आर्थिक वर्ष ०८३/८४ को तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार सबैभन्दा बढी महँगी तराईमा देखिएको छ । तराईमा वार्षिक विन्दुगत मुद्रास्फीति ६.८८ प्रतिशत हुँदा पहाडमा ६.१४ प्रतिशत, काठमाडौंमा ५.९२ र हिमालमा ५.५७ प्रतिशत छ ।
असोजमा हालसम्मकै उच्च रेमिट्यान्स
चालू आर्थिक वर्ष ०८३/८४ को असोज महिनामा हालसम्मकै उच्च रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार असोजमा मात्रै दुई खर्ब ६७ अर्ब ३४ करोड रेमिट्यान्स भित्रिएको छ, जुन मासिक रूपमा हालसम्मकै उच्च हो । यसअघि गत वैशाखमा दुई खर्ब ५७ अब ४९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । चालू आवको पहिलो त्रैमासमा भने सात खर्ब तीन अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । प्रतिवेदनअनुसार यो रकम गत आवको पहिलो त्रैमासको तुलनामा २७.२ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रमेट्यिान्स भित्रिएको थियो । मुख्यतः दसैँ–तिहारका कारण असोजमा रेमिट्यान्स आप्रवाह उच्च भएको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । दसैँ–तिहारको खर्च व्यवस्थापन गर्न यो वेलामा विदेशमा बसेका नेपालीले अघिपछिभन्दा धेरै रेमिट्यान्स पठाउँछन् ।
चालू खाता र शोधनान्तर बचतमा
समीक्षा अवधिमा चालू खाता दुई खर्ब ७९ अर्ब रुपैयाँले बचतमा छ । अघिल्लो आवको सोही अवधिमा यस्तो खाता दुई खर्ब ३८ अर्बले बचतमा थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो त्रैमासमा शोधनान्तर स्थिति पनि बचतमा छ । गत आवको तीन महिनामा दुई खर्ब ६४ अर्बले बचतमा रहेको शोधनान्तर स्थिति बढेर यस अवधिमा तीन खर्बभन्दा बढी पुगेको छ ।
१७ महिनाको आयात धान्ने सञ्चिति
हालको विदेशी विनिमय मुद्रा सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यो गत आवको तुलनामा ६.८ प्रतिशतले बढी हो । सो अवधिमा विदेशी मुद्रा सञ्चिति ३८ खर्ब ९७ अर्ब रुपैयाँ थियो । यस अवधिको सञ्चिति अमेरिकी डलरमा २७ अर्ब ३९ करोड रुपैयाँ हो, जुन गत आवको सोही अवधिमा २५ अर्ब ३१ करोड थियो ।











प्रतिक्रिया