अछाम । अछामको कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले नेपाली कांग्रेस अछामको आसन्न जिल्ला अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले शनिबार आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका ढकालले पार्टीभित्र एकता, सहकार्य, परिवर्तन र सङ्गठनात्मक रूपान्तरणलाई प्राथमिकता दिँदै सभापति पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ ।
उम्मेदवारी घोषणा गर्दै ढकालले आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा समूहविरुद्ध नभई पार्टीलाई एकताबद्ध र सङ्गठनलाई बलियो बनाउने उद्देश्यले अघि सारेको उल्लेख गर्नुभएको छ । पार्टीलाई गुट–उपगुटभन्दा माथि उठाउँदै सबै नेता, कार्यकर्ता, अग्रज र युवालाई समान सम्मान तथा अवसर प्रदान गर्ने संस्कारको विकास गर्नुपर्ने उहाँको भनाइ छ ।
गाउँदेखि जिल्लासम्म पार्टी सङ्गठनलाई गतिशील बनाउने, युवाको क्षमता र अनुभवलाई नेतृत्वमा जोड्ने, कार्यकर्ताको आत्मसम्मानको रक्षा गर्ने तथा जनतासँग पार्टीको सम्बन्ध अझ सुदृढ बनाउने आफ्नो प्रमुख उद्देश्य रहेको ढकालले बताउनुभएको छ ।
व्यक्तिभन्दा विचार, गुटभन्दा पार्टी र स्वार्थभन्दा सङ्गठनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले पार्टीका अग्रज नेता, क्रियाशील सदस्य, शुभेच्छुक तथा अधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग र समर्थनका लागि अपिल गर्नुभएको छ ।
ढकाल शेरबहादुर देउवानिकट नेपाली कांग्रेसका नेताका रूपमा सक्रिय रहनुभएको छ । देउवा निकट कांग्रेसले कांग्रेस अछामले यही मंसिर ११ गते जिल्ला अधिवेशन गर्ने तयारी गरिरहेको छ ।











प्रतिक्रिया