अछाम । अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले जिल्लामा शान्ति सुरक्षा, सुशासन, प्रभावकारी सेवा प्रवाह र विकास निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासंघ अछाम तथा जिल्लाका सञ्चारकर्मीहरूसँग आज आयोजित छलफलमा ढकालले सुरक्षा निकायसँग समन्वय गरी शान्ति सुरक्षा कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बताए।
उनले सरकारी कार्यालयमा सेवाग्राहीमैत्री व्यवहार, पारदर्शिता र जवाफदेहिता बढाउँदै सेवा प्रवाहमा हुने ढिलासुस्ती हटाइने बताए। नागरिकका गुनासा प्राथमिकताका साथ सम्बोधन गर्न ‘वन डोर सिस्टम’ कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ।
विपद् जोखिम न्यूनीकरण, उद्धार तथा पुनःस्थापनाका लागि स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरिने उनले बताए। साथै, विकास आयोजनाको अनुगमन, गुणस्तर र समयसीमा पालना तथा मंगलसेन दरबार व्यवस्थापनका लागि कार्यदल गठन गरिने प्रतिबद्धता व्यक्त गरे।
पत्रकार तथा सञ्चारमाध्यमलाई जिल्लाको विकास र सुशासनका साझेदारका रूपमा लिँदै ढकालले नियमित संवाद र सहकार्यबाट जिल्लाका समस्या समाधानमा पहल गरिने बताए।
छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र सिंह विष्ट, पत्रकार महासंघका अध्यक्ष रमेश रावत लगायतको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया