अछाम । नेपाली कांग्रेस देउवा पक्षको अछाम जिल्ला अधिवेशन मंगलसेनमा सुरु भएको छ । शुक्रबार आयोजित अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ भने बन्दसत्रबाट नयाँ जिल्ला कार्यसमिति चयन गरिने जनाइएको छ ।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउद प्रमुख अतिथि रहेको अधिवेशनको उद्घाटन सत्रको सभापतित्व कांग्रेस अछामका जिल्ला संयोजक कृष्णबहादुर बुढाले गरेका थिए ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि साउदले पार्टीको आधिकारिकता र चुनाव चिह्न रुख आफूहरूले नै पाउने दाबी गरे । सर्वोच्च अदालतबाट न्यायिक पुनरावलोकनको अनुमति प्राप्त हुनु आफ्नो पक्षका लागि महत्त्वपूर्ण भएको उनको भनाइ थियो । अदालतको अन्तिम निर्णय नआएसम्म दुवै पक्षको दाबी कायम रहने उनले उल्लेख गरे ।
निर्वाचन आयोगले गरेको दलसम्बन्धी अध्यावधिकको कुनै अर्थ नरहेको भन्दै उनले हचुवाका भरमा गतिविधि नगर्न आयोगलाई चेतावनी दिए । पूर्वमन्त्री साउदले आयोगको उक्त निर्णयको समेत प्रतिकार गरिने बताए ।
विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्यहरू डा. रणबहादुर रावल, गोविन्दबहादुर शाह, नृप ओड लगायतका नेताहरूको उपस्थिति रहेको थियो । कांग्रेस अछामका उपसभापति अर्जुन ताम्राकारले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन गोविन्द विष्टले गरेका थिए ।
जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले कांग्रेस अछामको आगामी संगठनात्मक नेतृत्वका लागि अधिवेशनलाई चासोका साथ हेरिएको छ । शनिबार हुने बन्दसत्रबाट नयाँ जिल्ला कार्यसमिति चयन गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ ।










प्रतिक्रिया