७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय कम्युनिस्ट पार्टीमा अन्तर्राष्ट्रिय प्रभाव



भारतीय कम्युनिस्ट पार्टी कहिले स्थापना भयो भन्ने कुरामा एक मत छैन । स्वयम् भारतीय कम्युनिस्ट पार्टीले आफ्नो स्थापना २५ डिसेम्बर, १९२५ मा कानपुरमा भएको मान्छ ।

तर भारतीय कम्युनिस्ट पार्टीबाट विभाजन भएर सन् १९६४ मा गठन भएको भारतीय मार्क्सवादी कम्युनिस्ट पार्टीले भारतीय कम्युनिस्ट पार्टीको स्थापना १७ अक्टोबर, १९२० उज्बेकिस्तानको ताशकन्दमा भएको दाबी गरेको छ । लेनिनको नेतृत्वमा २६ डिसेम्बर, १९१९ मा गठनभएको तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भारतबाट पनि सहभागिता भएको थियो । तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रिय सम्मेलनबाट प्रभावित भएर मानवेन्द्र नाथ राय, इवलिन ट्रेड राय, रोजा फिटिंगाँफ, अबानी मुखर्जी, मोहम्मद शखिक, मोहम्मद अली, एमपीबीटी आचार्यले भारतीय कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।

यसो हुनुको कारण आफ्नो देशको वस्तुस्थितिमा नभएर विश्व कम्युनिस्ट आन्दोलन अर्थात् रुस पन्थी र चिनियाँ कम्युनिस्ट पार्टीको अन्धभक्त हुनु हो । आपसी मेलमिलाप, सदभाव र देशभक्त सोंचभन्दा अवसवादी चरित्र हावी हुनु हो ।


यी दुईवटा तिथिमा एक मत नभए पनि भारतीय कम्युनिस्ट पार्टी स्थापना बृटिश औपनिवेशिक कालभित्रै भएको तथ्य भने सर्वस्वीकार्य छ । तर भारतीय कम्युनिस्ट पार्टीले बृटिश उपनिवेशविरुद्ध कुनै ठोस सङ्घर्षका कार्यक्रम र नीति लिएको इतिहासमा भेटिँदैन । यसको कारण भारतीय कम्युनिस्ट पार्टीको अवसरवादी चरित्रलाई मानिएको छ । किनकि द्वितीय विश्वयुद्धमा रुस र बेलायतले जर्मनविरुद्ध मोर्चाबन्दी गर्ने नीति लिएको थियो ।

यस कारणले पनि भारतीय कम्युनिस्ट पार्टीले बृटिश उपनिवेशविरुद्ध कुनै सङ्घर्षका कार्यक्रम नगरेको बुझ्न सकिन्छ । यसको ठीक विपरीत चिनियाँ कम्युनिस्ट पार्टीले स्वदेशी सत्ताविरूद्ध लडिरहेकै समयमा जापानी साम्राज्यवादविरुद्धको लडाइँमा नेतृत्वदायी भूमिका निर्वाह गर्‍यो त्यसको अगाडि भाकपाले घोर दक्षिणपन्थी अवसरवादी बाटो लिएको देखिन्छ ।


भारतीय कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन सन् १९४८ फेब्रुअरी २८ देखि मार्च ६ सम्म कलकत्तामा भयो । यहाँसम्म भाकपा अविभाजित थियो । दोस्रो महाधिवेशनपछि भाकपामा विभाजनका रेखा देखा पर्दै गए । भाकपा विभाजनको सैद्धान्तिक आधार विश्व कम्युनिस्ट आन्दोलनमा देखापरेको विभाजन नै रहेको कुरामा द्विविधा छैन । तर, पार्टीभित्र उत्पन्न आन्तरिक विवादलाई नजरअन्दाज गर्नु भुल हुनेछ । भारतीय स्वतन्त्रता सङ्ग्राम र तेलङ्गाना आन्दोलनको विषयलाई लिएर भाकपामा गम्भीर मतभेद भयो । तेलङ्गाना आन्दोलन भारतको इतिहासमा सबैभन्दा ठूलो छपामार युद्ध थियो ।

३१ अक्टोवर, १९६४ मा कलकत्तामा अधिवेशन आयोजना गरी भारतीय कम्युनिस्ट (मार्क्सवादी) पार्टी गठन भएको घोषणा गरियो ।

जुन सन् १९४६ देखि १९५१ सम्म हैदरावादबाट सुरू भई आन्ध्रप्रदेशको तीन हजार गाउँसम्म सशस्त्र सङ्घर्षको रूपमा फैलिएको थियो । करिब १६००० वर्ग मिल जमिन कब्जा गरी गरिब किसानलाई वितरण गरिएको थियो । यही आन्दोलन हो, जसले नेहरूको अन्तरिम सरकारलाई कम्युनिस्ट पार्टीमाथि प्रतिबन्द लगाउन बाध्य बनायो ।

तेलङ्गाना आन्दोलनका प्रशिद्ध नेताहरूमा रविनारायण रेड्डी, मददीकायला ओमकर, मददिकाला लक्ष्मी ओमकर, पुचलापल्ली सुन्दर्यया, पिल्लिपल्ली पापिरेड्डी, सुड्डाला हनमांशु, चण्ड्रा राजेश्वर राव, बोम्मगानी धर्म भिक्षम, मखदम मोहिउद्दिन नासिर, मन्त्राला आदि रेड्डी, भीमरेड्डी नरसिम्हा रेड्डी, नंद्यला श्रीनिवास रेड्डी, मल्लु वेंकट नरसिम्हा रेड्डी, लंकाला राघव रेड्डी, कुकुडल जंगारेड्डी, अरुथला रामचंद्र रेड्डी, कृष्णा मूर्ति, अरुथुला कमलादेवी र बिकुमल्ला सत्यम प्रमुख थिए ।

भारतीय कम्युनिस्ट पार्टीमा मतभेद उत्पन्न भइरहेकै समय १९४९ मा चिनियाँ क्रान्ति सम्पन्न भयो ।


सन् १९५१ मा कलकत्ताको उच्च अदाललतले भाकपामाथिको प्रतिबन्द असंवैधानिक ठहर गरी फुकुवा गराएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा भारतीय कम्युनिस्ट पार्टीको मौनताले ठोष रणनीति तय गर्न नसकेको पुष्टि भइसकेको थियो । त्यसैले भारतमा कम्युनिस्टभन्दा बुर्जुवा पार्टीहरू लोकप्रिय थिए । यही कारण भाकपाले संविधान सभामा भाग लिएन । भारत स्वतन्त्र हुँदा भाकपाको महासचिवमा पी.सी. जोशी थिए । जोशीले नेहरूले साम्राज्यवाद विरोधी शक्तिको प्रतिनिधित्व गर्नु भएकोले नेहरूको सरकारप्रति भाकपाले हेर्ने दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने विचार राख्थे ।

यस स्थितिमा उक्त सरकारप्रति सहयोगपूर्ण सम्बन्ध राख्दै सशस्त्र सङ्घर्षको नीति त्याग्नुपर्ने विचारको नेतृत्व जोशीले गरेका थिए । तर बी.टी. रणदिवेको नेतृत्वमा रहेको खेमाले पी.सी. जोशीको मतलाई ठाडै अस्वीकार गर्दै भारतमा जनविद्रोहको आवश्यकता रहेकोले सिंगो राष्ट्रभरि सशस्त्र सङ्घर्षद्वारा राज्य सत्ता प्राप्त गर्न सकिन्छ भन्ने मत राख्थ्यो । रणदिवे भारतको स्वतन्त्रतालाई ‘असत्य स्वतन्त्रता’ ठान्थे र अस्वीकार गर्थे ।

भारतीय कम्युनिस्ट पार्टीमा मतभेद उत्पन्न भइरहेकै समय १९४९ मा चिनियाँ क्रान्ति सम्पन्न भयो । चिनियाँ क्रान्तिपछि भारतीय कम्युनिस्ट पार्टीमा सोभियत कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीप्रतिको बुझाइ र यसबाट लिनुपर्ने शिक्षाको विषयमा बहस झन बढ्यो । यसै बीचमा भारतीय कम्युनिस्ट पार्टीको भूमिकाको विषय उल्लेख गरेर चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्जेदुङ्को सन् १९५० मा एउटा लेख प्रकाशित भयो ।

लेखमा भारतमा पनि कृषि क्रान्तिको अपरिहार्यता दर्शाइएको थियो । यो लेखको सन्दर्भमा भारतीय कम्युनिस्ट पार्टीभित्र निकै बहस भयो । सुरुदेखि नै भाकपामा रुसी लाइन कि चिनियाँ लाइन भन्ने विषयमा बहस थियो । चिनियाँ आन्दोलनमा पनि यही विषयमा मतभेद थियो । भाकपा विभाजन हुनुपूर्व नै रुसी लाइन र चिनियाँ लाइनमा यसका नेताहरू विभक्त भइसेका थिए ।

अन्ततः पीसी जोशीलाई पार्टीबाट निष्कासन गरियो । दोस्रो चरणमा बी.टी. रणदिवे र राजेश्वर रावबीच मतभेद भयो ।


पीसी जोशी, श्रीपाद अमृत डाँगे र अजय घोषजस्ता नेताहरूको समुह सशस्त्र सङ्घर्षको बाटो छाडेर संसदीय बाटो अवलम्बन् गर्न चाहन्थ्यो । यसको विपरीत बी.टी. रणदिवे र राजेश्वर रावको समुह सशस्त्र सङ्घर्षको बाटोबाट नै जानुपर्ने पक्षमा थियो । यो परस्पर फरक मतको विवाद चरमोत्कर्षमा पुग्यो । प्रथम चरममा रणदिवे र राव एक ठाउँमा र जोशी अर्को ठाउँमा उभिए । कारण रणदिवे र राव दुवैजना सशस्त्र सङ्घर्ष लाइनका नेता थिए तर यी दुईजनामा जनविद्रोहको बाटो कि कृषि क्रान्ति भन्ने विषयमा मात्र मतभेद थियो जब कि पीसी जोशी सशस्त्र सङ्घर्षको लाइन त्यागेर संसदीय बाटोमा सङ्क्रमणको पक्षपाती थिए । रणदिवेको विचारमा पीसी जोशी आत्मसमर्पणवादी, प्रतिक्रियावादको पुजारी र संशोधनवादमा पतीत नेता थिए भने जोशीको नजरमा रणदिवे जडशुत्रवादी, यथास्थिति र उग्रपन्थका सेवक थिए ।

अन्ततः पीसी जोशीलाई पार्टीबाट निष्कासन गरियो । दोस्रो चरणमा बी.टी. रणदिवे र राजेश्वर रावबीच मतभेद भयो । यो विवादमा कोही निष्कासन चैं हुनु परेन तर विवादकै सिलिसिलामा बसेको भाकपाको पोलिट व्यूरो बैठकले रणदिवेको सट्टा रावलाई महासचिव चयन गरी नेतृत्व परिवर्तन गरिदियो । यो विवादमा पार्टी विभाजन र कोही निष्कासनको कारबाहीमा नपर्नुको प्रमुख कारण रणदिवे र राव दुवै नेता चिनियाँ आन्दोलनका समर्थक रहनु थियो । रणदिवे ट्रेड युनियनबाट आएका थिए भने राव किसान आन्दोलनबाट । रणदिवे मजदुर तथा मध्यमवर्गको बलमा छापामार युद्धको बाटो चाहन्थे भने राजेश्वर राव किसान समर्पित कृषि क्रान्तिको बाटो अवलम्बन् गर्न चाहन्थे ।

अर्थात् उनीहरूको विवाद मजदुर–सहर र किसान–गाउँको विषयमा केन्द्रित थियो । अतः पार्टीको केन्द्रीय बहसको विषय बनेको तेलङ्गाना आन्दोलनलाई भाकपाको केन्द्रीय कमिटिले २१ अक्टोवर, १९५१ मा फिर्ता लियो । तेलङ्गाना आन्दोलनलाई फिर्ता लिनुको अर्थ हुन्थ्यो भाकपाले सशस्त्र लाइनको बाटो परित्याग गरी संसदीय बाटो अख्तियार गर्नु । यसै सिलसिलामा सन् १९५१ मै भएको पहिलो संसदीय निर्वाचनमा भाकपाले भाग लियो र प्रमुख प्रतिपक्षको स्थान हासिल गर्न पुग्यो ।

कूल ४८९ सिटका लागि भएको संसदीय निर्वाचनमा भारतीय काँग्रेसले ३६४ सिटमा विजय प्राप्त गरी पं. जवाहरलाल नेहरूको नेतृत्वमा सरकार बन्यो भने भाकपाले १६ सिट प्राप्त गरेको थियो । सत्तासिन दल र प्रमुख प्रतिपक्ष दलबीचको यति ठूलो भिन्नताको कारण स्वतन्त्रता आन्दोलनमा भाकपाले लिएको अवसरवादी नीति थियो ।
सन् १९५३ मा सोभियत कम्युनिस्टका नेता जोसेफ स्टालिनको मृत्यु भयो । स्टालिनको मृत्युपछि सत्तामा आएका निकिता ख्रुश्चेवको शान्तिपूर्ण सङक्रमण र सहअस्तित्वको नीतिको प्रभाव भाकपामा नपर्ने प्रश्न नै थिएन । अर्कोतिर चिनियाँ आन्दोलनको घाउ आलै थियो । स्टालिनको सर्वहारा वर्गको अधिनायकत्वको नीतिका बाछिटा सुकिसकेका थिएनन् ।

रोचक त के भयो भने त्यो समयमा पश्चिम बंगालको संयुक्त सरकारमा मार्क्सवादी पार्टी पनि सामेल थियो । मार्क्सवादी पार्टी सम्मिलित सरकारले नै पार्टीको अर्को खेमा निकट किसानमाथि गोली बर्सायो ।

अतः भाकपामा मतभेद, विवाद र बहसले झनझन गति लिइरह्यो । यो विषम परिस्थिति भाकपाका लागि साच्चै अग्निपरीक्षाको घडी थियो । स्टालिनकालीन सोभियत कम्युनिस्ट पार्टीको प्रत्यक्ष निर्देशनमा भाकपाको नेतृत्वले काम गरिरहेको थियो । सोभियत कम्युनिस्ट पार्टीमा आएको बदलावको हावाबाट भाकपा हल्लिनु स्वाभाविक थियो । अतः भाकपाका लागि यो कठिन, अन्यौलग्रस्त, द्विविधापूर्ण र जटिल समय थियो । भाकपाभित्रको विवाद र विचार विभिन्न लेखमार्फत सञ्चारमाध्यमामा देखिन थाले । पार्टी कमिटिमा परस्पर लाइनका प्रस्तावको बाढी आइरहन्थ्यो ।

विवाद चर्किँदै जाँदा पीसी जोशी, श्रीपाद अमृत डांगे र भूपेश गुप्तजस्ता नेताहरू जवारलाल नेहरू नेतृत्वको सरकारसँग सहकार्यको विषयमा बोल्न र लेख्न थालिसकेका थिए ।
सन् १९५७ मा केरला प्रान्तमा भएको निर्वाचनमा भाकपाले बहुमतसहित प्रान्तीय सरकार बनाउने अवसर प्राप्त गर्‍यो । उक्त सरकारले कृषि र शैक्षिक क्षेत्रमा निकै प्रगतिशील सुधारका काम गर्‍यो । तर केरलाको बुर्जुवा वर्गले यसको विरोध गर्‍यो । बुर्जुवा वर्गको विरोधकै कारण केन्द्रीय सरकारले केरलाको प्रान्तीय सरकारलाई अपदस्त गरिदियो ।

यस घटनाले के पुष्टि गरयो भने राज्यसत्तामाथि कम्युनिस्ट पार्टीले पूर्णविजय नगरेसम्म समाजवादी कार्यक्रम लागू गर्न सकिँदो रहेनछ ।
सन् १९६४ को जुलाईमा दिल्लीमा बसेको बैठकबाट भाकपाको एउटा पक्ष असन्तुष्ट देखियो । तद्नुरूप ३१ अक्टोवर, १९६४ मा कलकत्तामा अधिवेशन आयोजना गरी भारतीय कम्युनिस्ट (मार्क्सवादी) पार्टी गठन भएको घोषणा गरियो । यसको नेतृत्व इएमएम नम्बुदरिपादले गरेका थिए । स्थापनाकालदेखि ४४ वर्षे इतिहासमा भाकपा पहिलो पटक विभाजन भएको थियो । यद्यपि पार्टीभित्र मतभेद र फरक विचारको रस्कारस्कीबाट पार्टी लामो समयदेखि गुर्जिदै आएको थियो ।

पार्टीको औपचारिक विभाजनपछि आरोप प्रत्यारोप र एकअर्काको तोजोबध गर्ने प्रवृत्ति भाकपामा हर्लक्कै बढ्यो ।
रुसी लाइनलाई समर्थन गर्ने नेताहरू भाकपा संस्थापन समुहमा रहे भने चीनपन्थी नेताहरू नयाँ गठन भएको मार्क्सवादी पार्टीमा आबद्ध भए । अर्थात् तेलङ्गाना आन्दोलनका हतियारहरू सधैँका लागि बिसाउनुपर्छ भन्नेहरू भाकपा र पुनः उठान गर्नुपर्छ भन्नेजति भाकपा (मार्क्सवादी) मा आबद्ध भए । यी दुईवटा खेमाले एक अर्कोलाई रुसपन्थी र चीनपन्थीको बिल्ला भिराउँथे । चीनपन्थीहरूले सोभियत सङ्घको नवसंशोधनवादी लाइनको बिल्ला भिराउँथे भने रुसपन्थीहरू उग्रवामपन्थको । एक अर्कामाथि हिलो छ्यापाछ्याप र बिल्ला ठोकाठोक बाहेक दुवै समुहमा तात्विक भिन्नता थिएन ।

किनकि दुवै खेमा संसदीय राजनीतिको लक्ष्मणरेखा नाघ्न सक्दैनथे तर आरोप प्रत्यारोपमा भने थाक्दैनन् थिए । भाकपा मार्क्सवादीको गठन भाकपाको संशोधनवादी लाइनविरुद्ध सङघर्ष गर्ने हेतुले भएको थियो । तर पार्टीले संसदीय भासबाट माथि उठ्नसक्ने लक्षण नदेखाएपछि नवगठित पार्टीभित्र पनि मतभेद उत्पन्न हुनथाल्यो । यसभित्रको एउटा खेमा भारतमा कृषि तथा सशस्त्र क्रान्तिको शङ्खघोष गरिहाल्नुपर्ने मान्यता राख्थ्यो । यस खेमामा वेंकटेश्वर राव, पश्चिम बंगालका नेता चारू मजुमदार, शिवकुमार मिश्र र नक्सालवादीका किसान नेता कानु सन्याल आदि थिए । यस खेमाको नेतृत्व नेता चारु मजुमदारले लिएका थिए । मजुमदारभित्र विद्रोहको राँको कसरी दबिएको थियो भन्ने कुरा एउटा घटनाले पुष्टि गर्छ ।

चारु मजुमदारले सन् १९६५ देखि १९६७ सम्म ८ वटा दस्तावेजमार्फत क्रान्तिकारी विचार प्रस्तुत गरिसकेका थिए । उनले लेखेका सुरुका ५ वटा दस्तावेजमा भाकपा मार्क्सवादी पार्टीभित्रबाटै क्रान्तिकारी र सशस्त्र सङ्घर्षको सम्भावनालाई उजागर गरेका थिए । पछिल्ला ३ वटा दस्तावेजमा भने भाकपा मार्क्सवादीबाट क्रान्ति सम्भव नहुने भएकोले नयाँ क्रान्तिकारी पार्टी गठन अपरिहार्य भइसकेको विचार थियो । यसै सिलसिलामा उनी पक्राउ परे । सन् १९६६ मा मजुमदार जेलबाट छुटेर सीधैँ पार्टी कार्यालयमा प्रवेश गरे । त्यहाँ प्रवेश गर्ने वित्तिकै मजुमदारको आँखा भित्तामा झुण्डिएको डाँगेको तस्विरमा गर्‍यो। मजुमदार आक्रोशित हुँदै ‘अहिलेसम्म यो तस्विर यहाँ किन ?’

भन्दै आफैंले झिकेर लात्तिले कुल्चेर चकनाचुर पारिदिएका थिए । जेल जीवनबाट मुक्त भइसकेपछि चारु मजुमदार भाकपा (मार्क्सवादी) लाई अब क्रान्तिकारी धारमा बदल्न असम्भव देख्न थाले । १९६६ मै बसेको पार्टीको पूर्ण बैठकमा उनले चिनियाँ कम्युनिस्ट पार्टीले लिएको नीति विश्व कम्युनिस्ट आन्दोलनको केन्द्र भएको र भारतमा पनि सशस्त्र कृषि आन्दोलन अपरिहार्य भएको विचार प्रस्तुत गरे । त्यसको लगत्तै मजुमदारले क्रान्तिकारी आन्दोलन र सशस्त्र सङ्घर्षमाथि जोड दिँदै एउटा सशक्त क्रान्तिकारी पार्टी गठनका लागि आव्हान गरे ।

यसैबीच १८ मार्च, १९६७ मा सिलिगुडीमा भाकपा (मार्क्सवादी) पार्टीको भातृ संगठन किसान सम्मेलन सम्पन्न भयो । यस सम्मेलनमा क्रान्तिकारी निर्णयसँगै गाउँमा किसान संगठन गठन गरिए । जमिन कब्जा गर्ने कार्य सुरु भयो । दार्जिलिङ्ग जिल्लाको नक्सालवादी गाउँमा २३ मे, १९६७ मा भूमिहीन किसान र जमिनदारबीच भिडन्त भयो । जमिनदारको सुरक्षार्थ आएको प्रहरी र विद्रोही किसानबीच झडप हुँदा ३ जना प्रहरी घाइते भए । घाइते १ जना हवल्दारको २ दिनपछि मृत्यु भयो । आक्रोशित भएको प्रहरीले २५ मे को दिन नक्सालवादी गाउँ घेरा हाली गोली चलाउँदा १० जना किसानको ज्यान गयो ।

रोचक त के भयो भने त्यो समयमा पश्चिम बंगालको संयुक्त सरकारमा मार्क्सवादी पार्टी पनि सामेल थियो । मार्क्सवादी पार्टी सम्मिलित सरकारले नै पार्टीको अर्को खेमा निकट किसानमाथि गोली बर्सायो । यसको समीक्षा गर्न भाकपा माक्र्सवादी पार्टीको पोलिट व्युरोको बैठक जुन २० मा बस्यो र घटनाको भत्सर्ना गर्‍यो। विद्रोहीलाई ‘मुठ्ठीभर व्यक्तिहरूको हरकत’ को संज्ञा दिँदै तिनलाई निष्कासन गर्ने निर्णय पारित भयो ।

अगस्त १८ देखि २७ सम्म बसेको पार्टी केन्द्रीय कमिटिले ‘निराशावादी व्यक्तिहरूमा पलाएको वैचारिक रोग’ भन्दै कडा शब्दमा उक्त विद्रोहको निन्दा गर्‍यो ।
नक्सालवादी विद्रोहलाई चिनियाँ कम्युनिस्ट पार्टीले ‘भारतमा वसन्तको गर्जन’ भन्दै हर्षबढाइँका साथ प्रचारप्रसार गर्‍यो । भाकपा (मार्क्सवादी) ले पार्टीको आधिकारिक धारणाविना मुठ्ठीभरका केही युवाहरूको उक्साहटमा भएको घटनालाई हर्षबढाइ गर्नु अर्को देशको पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भनेर चिनियाँ कम्युनिस्ट पार्टीप्रति असन्तुष्टि व्यक्त गर्‍यो । उता चारु मजुमदारलाई पार्टीले आफूमाथि गरेको कारबाहीको कुनै फिकिर थिएन ।

यस कारबाहीबाट झनै उत्साहित हुँदै संशोधनवादी बुर्जुवा पार्टीविरुद्धको सङ्घर्षलाई अगाडि बढाउन नयाँ पार्टी गठनका लागि क्रान्तिकारीहरूलाई मजुमदारले आव्हान गरे । उनले १९६७ को नोभेम्बरमा कलकत्तामा ‘अखिल भारतीय कोअर्डिनेशन कमिटि’ गठन गरे र त्यसको एक वर्षपछि १९६८ को मे मा उक्त सङ्गठनको नाम संशोधन गरी ‘अखिल भारतीय कम्युनिस्ट क्रान्तिकारी कोओर्डिनेशन कमिटि’ राखियो ।

त्यसको एक वर्षपछि अर्थात् २२ अप्रिल, १९६९ मा ‘अखिल भारतीय कम्युनिस्ट क्रान्तिकारी कोओर्डिनेशन कमिटि’ लाई भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) मा रुपान्तरण गरी भाकपा माले गठन भयो ।

तर चारू मजुमदारलाई पछाडि फर्किनसक्ने अवस्था थिएन । समय निकै घर्किसकेको थियो । उनी आफूले अङ्गीकार गरेको बाटोबाटै अगाडि बढिरहे ।


अब भारतमा भाकपा, भाकपा माक्र्सवादी र भाकपा माले गरी तीनवाट कम्युनिस्ट पार्टी भइसकेका थिए । नवगठित भाकपा मालेप्रति अमेरिका, क्यानडा, क्वुवा, अष्ट्रेलिया, इण्डोनेशिया, इटाली, चीन, नेपाल र पाकिस्तानका कम्युनिस्ट पार्टीहरूको समर्थन थियो । भाकपा मालेको सशस्त्र विद्रोहको रणनीतिभित्र अमेरिकी साम्राज्यवादको विरोध, सोभियत संशोधनवादको भत्सर्ना, भारतीय ठूला जमिनदार र नोकरशाही पुँजीवादीको विघटन, श्रमजिवी वर्गको नेतृत्व निर्माण, आधार इलाका निर्माण र गाउँबाट सहर घेर्ने कार्यक्रमहरू थिए । भाकपा मालेले घोषित रूपमै ‘चीनको बाटो हाम्रो बाटो र चीनका अध्यक्ष हाम्रा अध्यक्ष’ भन्न थालेको थियो । उसले लिएको बाटो पूर्णतया उग्रपन्थी थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीसँग कम्युनिस्ट अन्तर्राष्ट्रिय स्थापनाको प्रस्ताव लिएर भाकपा मालेले आफ्ना नेता सौरेन बोसलाई सन् १९६९ मा बेइजिङ्ग पठायो । तर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले भाकपा मालेको प्रस्तावलाई महत्वपूर्ण सुझाबसहित अस्वीकार गर्‍यो । हरेक मुलकको विशिष्ट वस्तुस्थितिले त्यो देशको कम्युनिस्ट पार्टीको कार्यदिशा तय हुने, अर्को देशको नेतालाई आफ्नो देशको नेता मान्दा राष्ट्रिय भावना खण्डित हुने, जनताले सम्मान गर्न नसक्ने, व्यक्ति हत्याले कम्युनिस्ट पार्टी पतन हुनसक्ने चिनियाँ सुझाव थियो । यही सुझाव लिएर सौरेन बोस स्वदेश फिर्ता भए ।

चिनियाँ कम्युनिस्ट पार्टीको यो सुझावले चारु मजुमदारलाई दिउँसै आकाशका तारा देखाइदियो । जुन पार्टीलाई आदर्श मानेर सशस्त्र विद्रोहको बाटोबाट उनले भारतमा उथलपुथल गरिसकेका थिए आज त्यही पार्टीले आफूलाई सच्चिन दिएको सुझावले उनी असमाञ्जस्यतामा पर्नु स्वाभाविक थियो ।
तर चारू मजुमदारलाई पछाडि फर्किनसक्ने अवस्था थिएन । समय निकै घर्किसकेको थियो । उनी आफूले अङ्गीकार गरेको बाटोबाटै अगाडि बढिरहे । सन्थाल, सन्याल र सत्यनारायणजस्ता सहयोद्धाहरूले मजुमदारको साथ छोड्दै गए । नक्सालवादी आन्दोलनको हिंसात्मक विद्रोह यति चर्को थियो कि जसले तेलङ्गाना विद्रोहलाई सजिलै बिर्साइदियो ।

अतःसरकारले पनि कडा दमनकारी बाटो लियो । सन् १९७२ मा चारू मजुमदार पक्राउ परे । प्रहरीको चरम यातनाबाट उनको केही महिनामै मृत्यु भयो । उनको मृत्युपछि नक्सालवादी आल्दोलन तितरबितर भयो । हजारौं कार्यकर्तालाई जेल कोचियो । कैयौंको हत्या गरियो । मजुमदारको मृत्यपछि नक्सालवादी आन्दोलन सेलाए पनि भारतीय कम्युनिस्ट आन्दोलनमा यो एउटा महत्वपूर्ण हिस्सा बनिसकेको छ । अहिले पनि मजुमदारको नामबाट भारतमा विभिन्न समुह क्रियाशील छन् र उनको योगदानलाई सम्मानपूर्वक लिने गर्छन् ।

नक्सालवादी आन्दोलनको विरासत बोकेका कम्युनिष्टहरू दर्जनौं टुक्रामा क्रियाशील छन् । त्यसमध्येकै एउटा समूहले आन्ध्र प्रदेशमा ‘पिपुल्स वार ग्रुप’ (पीडब्लूजी) ले चिनिन्छ भने अर्को समुह बिहारमा ‘माओइस्ट कम्युनिष्ट सेन्टर’ (एमसीसी) को नामले चिनिन्छ । हाल भारतमा कम्युनिस्ट पार्टीको नाम मात्रको अस्तित्व छ । यसो हुनुको कारण आफ्नो देशको वस्तुस्थितिमा नभएर विश्व कम्युनिस्ट आन्दोलन अर्थात् रुस पन्थी र चिनियाँ कम्युनिस्ट पार्टीको अन्धभक्त हुनु हो । आपसी मेलमिलाप, सदभाव र देशभक्त सोंचभन्दा अवसवादी चरित्र हावी हुनु हो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *