१६ बैशाख २०८१, आइतबार | Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

द्वन्द्वकालको अछाम डायरी

संस्मरण



समय बलवान छ । समयको वेगलाई कसैले चिन्न सक्दैन । पृथ्वी आफ्नै नियममा सूर्यको वरिपरि घुमिरहन्छ । लाग्छ, पृथ्वीले सूर्यको परिक्रममा गर्नु नै प्रकृतिको शुभारम्भ बिन्दू हो । प्रकृतिका नियमहरूको उत्थानबिन्दू यही हो । यदि पृथ्वी सूर्यको वरिपरि घुम्दैन थियो भने जल, जमिन, जीवजन्तु, वनस्पति तथा यो चराचर जगत सम्भव हुन्थ्यो त ? अहँ, मलाई त्यस्तो लाग्दैन । पृथ्वी सूर्यको वरिपरि नघुम्नु त के पृथ्वीले आफ्नो परिक्रमण गतिमा एक सेकेण्ड मात्रै आराम गर्छु भन्यो भने प्रकृतिको नियम नै अवरुद्ध हुन्छ । त्यसैले हाम्रो वरिपरि जे जति घटना घट्छन्, ती सबै प्रकृतिको नियममा बाँधिएका छन् । नियममा बाँधिएर नै घटना घट्छन् । जे हुन्छ, त्यो प्रकृतिको नियमले हुन्छ, जे हुँदैन त्यो प्रकृतिको नियमले हुँदैन । यदि सूर्यको वरिपरि पृथ्वी दौडिदैन थियो भने २०७२ सालमा भूकम्प आउने थिएन । अस्ति मात्रै जाजरकोटमा गएको भूकम्पले त्यत्रो जनधनको क्षति गर्ने थिएन । बर्सेनी घट्ने बाढी, पहिरो, हूरीबतास, चट्याङ्ग आदि प्राकृतिक विपत्तिका घटना घट्ने थिएनन्, नत पोखरामा यति एअरलाइनको विमान दुर्घटना भएर दर्जनौं मान्छेको इहलीला क्षणभरमै खरानी हुने थियो ।

प्रकृतिको विराट गतिलाई सम्झेर म गम खान्छु । जीवनका कैयौं अनुभूति हुन्छ्न् । कैयौं कुरा विस्मरणमा बिलाएर मेटिन्छन् । तर कतिपय घटनाहरूले मानसपटलमा चीरस्थायी बास गरिदिन्छन् । मेरो जीवनका केही यस्ता कहालीलाग्दा तीता घटनाहरू छन्, जसले बेला-बेला मेरो मस्तिष्कलाई चिमोटिरहन्छन् । कतिपटक ती कहालीलाग्दा घटना प्रकृतिको जिम्मा लगाइदिएर निश्चिन्त भइदिउँ जस्तो लाग्छ, तर मनले मान्दैन । आँखिर मन पनि त प्रकृति नै हो नि ! लाग्छ, मानसपटलका पानामा केही घटनाको छाप यस्तो दाग बनेर बसिदिएको छ जसलाई मट्टितेल, पेट्रोल र तेजाबले घोट्दा पनि हटाउन सकिने छैन । जीवनमा यस्तो दुःखान्त अनुभूति दिने घटनाहरूमध्ये निम्न चारवटा घटनाहरूले मलाई विशेष स्तब्ध बनाउने गर्छन् ।

घटना एक

घटना २०५५ सालको हो । महिना एकिन हुन सकेन तर मंसिर र पुसमध्ये एउटा हुनुपर्छ । त्यो दिन राति ११ बजेतिर मलाई नजिकैको गाउँमा जानैपर्ने जरुरी काम पर्यो । गाउँमा त्यो समय राति हिँड्डुल गर्नु सामान्य मानिन्थ्यो । जरुरी काम पर्दा हामी नजिकको गाउँ राति जतिबेला पनि आवतजावत गर्न सक्थ्यौं । टहटह चम्किरहेको जुनको उज्यालोमा कर्णालीको बगरै बगर भएर म हिँडिरहेको थिएँ । अकस्मात् कालो छायाँको लस्कर आकृति आँखामा पर्यो । एकैछिन पछि त्यो आकृति बाक्लो हुँदै र प्रष्टिँदै गयो- बन्दूक बोकेर पङ्तिबद्ध हिँडिरहेका करिब सैनिकजस्तै देखिने मान्छेको लस्कर चिन्न सकिने हुँदै गयो । संयोगवश, उनीहरूले मलाई नदेख्दै त्यहीँ रहेको एउटा ढुङ्गाको ओढारमा छेकिएर लुक्न सकेँ । ढुङ्गाको ओढारमा ओत लागेर मैले उनीहरूलाई नियालिरहेँ । सुनसान रातमा करिब एक हजारभन्दा बढी सङ्ख्या अनुमान गर्न मिल्ने हतियारधारीहरूका बुटको आवाजले चमकन्न रातमा कीट पतिङ्करहरूको शान्ति बिथोलिरहेको थियो । घण्टौंसम्म बुट बजारिरहेको आवाज आइरहेको थियो । गाउँमा यतिको सङ्ख्यामा मैले पहिलो पटक हतियारधारीको समुह देख्दै थिएँ । करिब २ घण्टा लाग्यो होला, ड्याम्म डुम्म बुटको आवाजबाट शान्तिले उन्मुक्ति पाएको । तर पनि मैले ओढारबाट निस्किने आँट गर्न सकिनँ । अझै पनि हतियारधारी आइरहेका पो छन् कि ! एकान्त अवस्थामा दुईजना प्रहरी देख्दा डराउनुपर्ने अवस्था थियो, त्यो समय । तर, त्यो मध्यराति करिब एक हजारभन्दा बढी सङ्ख्यामा हतियारधारी साक्षात्कार हुँदा पनि मलाई डर लागेन । किनकि, मैले उनीहरू माओवादी छापामार हुन् भन्ने अड्कल गरेको थिएँ । माओवादी छापामारले सर्वसाधारणलाई केही पनि गर्दैनन् भन्ने सुनेको थिएँ । उनीहरू गरिब निमुखाहरूको मुक्तिका लागि युद्ध लडिरहेको बुझेको थिएँ । बिहान करिब ५ बजेतिर म आफ्नो गन्तव्य रहेको गाउँ पुगे । गाउँको एउटा घरको आँगनीमा बसेर राति देखेको घटनाको वृत्तान्त गाउँलेहरूलाई सुनाउँदै थिए । गाउँलेहरू मेरो कुरा चाख मानेर सुनिरहेका थिए । मेरो कुरा सुन्ने जति सबैले मैले राति साक्षात्कार गरेको शस्त्रधारी समुहलाई माओवादी छापामार नै हुन् भन्ने कुरामा विश्वस्त थिए । तर एक हजारको सङ्ख्यामा भने कसैले पनि विश्वास गरेनन् । भन्थे- ‘रातिको समयमा डरले धेरै जना लाग्यो होला, एक डेढ सयभन्दा बढी हुन सक्दैन ।’

गाउँमा माओवादी छापामार आएको कुरा फैलिएपछि एक-एक गरी मान्छे थपिँदै गए । त्यति बेला माओवादी छापामार भन्ने बित्तैकै अर्कै ग्रहबाट आएको मान्छेजस्तो चासो हुन्थ्यो । पत्रपत्रिकामा छापिएका तस्बीरबाहेक माओवादी छापामारलाई कसैले देखेकै थिएन । कतिपय त माओवादीसँग हतियारधारी सेना छन् भन्ने कुरामा विश्वास नै गर्दैनन् थिए । बिहान ७ बजेको हुँदो हो हामी गफगाफमै मस्त थियौं, हामीमाथिको आकाशबाट हेलिकप्टर उडेर कालिकोटतिर अदृश्य भयो । करिब १० मिनेटपछि अर्को हेलिकप्टर त्यसरी नै उडेर सोही क्षितिजमा विलय भयो । त्यसको ५ मिनेटपछि अलि परतिरबाट अर्को हेलिक्टर उतैतिर बिलायो । गाउँमा हेलिकप्टर नदेखेको धेरै समय भएको थियो । आज एकपछि अर्को गरी तीनवटा हेलिकप्टर उडेर एउटै दिशातिर बिलाएको देखेपछि हामीमा स्वाभाविक कौतुहलता बढ्यो । हेलिकप्टर किन उडिरहेका होलान् भन्ने विषयमा थुप्रै तर्क-वितर्क भए । बितेको राति माओवादी सेनाको टोली गएको थाह पाएर सेनाको टोली खटाइएको अनुमान पनि गरियो । तर्क, वितर्क र अनुमान गर्दागर्दै उत्सुकताको बाँध फुटेर हामी आठ दश जनाजति चिल्ताडातिर दौडिहाल्यौं । चिल्ताडा तत्कालीन कालेकाँडा गाविसको मुकाम थियो, जहाँ प्रहरी चौकी सहित सानो बजार थियो । सधैं डेढ घण्टा लाग्ने दूरी आज भने हामीले करिब ४५ मिनेटमा पूरा गरेर चिल्ताडा पुगेका थियौं । चिल्ताडा पुगेपछि त्यहाँ त अर्कै माहौल पो देखियो । प्रहरी चौकीअगाडि हजारौंको खङ्ख्यामा दङ्गा प्रहरीको भिड तैनाथ (त्यति बेला प्रहरीको एउटा समुहलाई दङ्गा भनिन्थ्यो) थियो । तीनवटा हेलिकप्टरले बन्दूकधारी दङ्गा प्रहरीहरूलाई कालिकोटतिर ओसारिरहेको थियो । कोही हेलिकप्टर चढ्न तँछाडमँछाड गरिरहेका, कोही उभिएरै भात खाइरहेका त कोही खाँदाखाँदाको थाली छोडेर हेलिकप्टर चढ्ने प्रतिस्पर्धा गरिरहेका शस्त्रधारी प्रहरी कहिल्यै नदेखिएको दृश्य हाम्रो अगाडि थियो । आम्मामा ! हिजो राति मैले साक्षात्कार गरेका यिनै दङ्गा प्रहरीको जत्था पो रहेछ । आँखा चिम्म गरेर ईश्वरलाई सम्झिएँ, बालबाल ज्यान जोगिएकोमा ईश्वरलाई धन्यवाद दिएँ । एक छिनपछि आफ्नै शरीर हेर्दा शरीरका रौं काँडाझै ठिङ्ग ठाटो परेका, बाप्रे !

लामो सास फेरेर पछाडि सरेँ । अलि परतिर चिन्ताजनक अवस्थामा बसिरहनु भएका एकजना बृद्ध मान्छेमाथि (करिब ६५ वर्षजति) मेरो आँखा पर्यो । उहाँको अनुहारमा निराशा र चिन्ताका अक्षरहरू टाढैबाट स्पष्ट पढ्न सकिन्थ्यो । नजिकै गएर मैले उहाँलाई सोधेँ- ‘बुवा हजुर कहाँबाट आउनु भएको ?’ आफनो एकाग्रता एक्कासि भङ्ग भएपछि उहाँले मलाई एकटकले हेर्नुभयो र टाउको भुइँतिर फर्काएर दिक्कलाग्दो स्वरमा भन्नुभयो- ‘घर त मेरो कालिकोट हो । कालिकोटबाट सुर्खेत जान हिजो म कुज्जेडा पुगेको थिएँ । राति दङ्गा आएर मेरो छोरालाई काम छ भनेर सँगै ल्याएका थिए, त्यसैले छोराको खोजीमा आएको हुँ ।’

‘छोरा भेट्टाउनु भयो त ?’ मैले पुनः सोधेँ ।

‘छैन, जसलाई सोधे पनि थाह छैन मात्रै भन्छन्’ उहाँले निराशजनक भन्नुभयो ।

‘आउनुहोस्, म हजुरलाई सहयोग गर्छु’ भन्दै मैले उहाँलाई दङ्गा प्रहरीको हाकिमजस्तै भद्र देखिने व्यक्ति नजिक लगेर सोधपुछ गरेँ । भलादमी जस्तै देखिने ती व्यक्ति नेपालगञ्ज प्रहरीका डिआइजी रहेछन् । उनले हाम्रो जिज्ञासाको उत्तर दिनुभन्दा मेरो परिचय लिनमा चासो लिए । त्यति बेलासम्म म विद्यार्थी नै थिएँ । मैले परिचय दिएपछि उहाँले अछाममा कुन पार्टीले चुनाव जित्ला ? भनेर प्रश्न राख्नुभयो । त्यो समय निर्वाचन आयोगबाट २०५६ को संसदीय निर्वाचनको तिथि तोकिएको जस्तो लाग्छ । नेकपा एमाले विभाजित अवस्थामा थियो । मैले विभाजित नभएको भए नेकपा एमालेले जित्ने सम्भावना बढी देखिएको तर एमालेबाट नेकपा मालेको जन्म भएको फाइदा नेपाली काँङ्ग्रेसले लिनसक्ने आफ्नो अनुमान सुनाएँ । ती डिआइजीमा एमालेप्रति सहानुभूति रहेको मलाई आभास भयो । हाम्रो समस्याभन्दा डिआइजीसापको राजनीतिमा चासो देखेपछि मैले प्रसङ्गलाई हाम्रो समस्यासँग जोडेँ-

‘सर तलको गाउँबाट उहाँको छोरालाई राति प्रहरीले समातेर ल्याएको थियो रे । उहाँ आफ्नो छोरा लिन आउनुभएको ।’

मेरो दोस्रो पटकको जिज्ञाशामा डीआइजी सापले आफू आज बिहान मात्रै नेपालगञ्जबाट आइपुगेको हुँदा यो विषय अरुलाई नै सोध्न सुझाव दिए । त्यसपछि हामीले तीन चार जना प्रहरीलाई सोधपुछ गर्यौं, अहँ कसैबाट पनि उहाँको छोराको अवस्था पत्तालाग्ने सङ्केत देखिएन । थकित र निराश अवस्थाले अनायस मेरो मुखबाट फुत्त निस्कियो-

‘मलाई त हजुरको छोरालाई यिनीहरूले मारिसके जस्तो लाग्यो ।’

 ‘मेरो छोराले के बिगार गरेको छ र मार्ने ? त्यस्तो त नभन्नुहोस् मेरो छोरालाई किन मार्छन् ? यिनीहरू पनि त मान्छे हुन्, बाघ होइनन् क्यारे !’

 ती बृद्धको जवाफ सुनेर अनायस आफ्नो मुखबाट निस्केको शब्दले मलाई हिनताबोध भयो । अब कुनै उपाय नभएपछि हामी घर फर्किने तरखरमा लाग्यौं । मैल ती बृद्ध बुवालाई अन्तिमपटक भने-

‘हवस् बुवा, हजुरले अझैं सोधपुछ गरेर आफ्नो छोरा खोज्नुहोस् हाम्रो घर जाने समय भयो ।’

सँगै आएका हामी करिब दश जना घरतिर लाग्यौं । घरतिर जाँदैगर्दा अझै हेलिकप्टर हेर्नको लागि चिल्ताडातिर आइरहेका मान्छे भेटिँन्थे । गाउँमा हेलिकप्टर देख्दा स्वाभाविकरूपमा गाउँलेहरूका लागि नयाँ कुरा हुन्छ । कहिल्यै नदेखेको हेलिकप्टर हेर्ने स्वाभाविक कौतुहलता रहन्छ । यसै क्रममा हेलिकप्टर हेर्न आइरहेका दुईजना आफन्तसँग बाटोमा हाम्रो भेट भयो । आफू जान लागेको ठाउँबाट हामीलाई फर्किरहेको देखेर उनीहरूले उत्सुकतापूर्वक प्रश्न गरे-

‘चिल्ताडामा हेलिकप्टर किन आएको रहेछ ?’

हामीले देखेको विवरण सुनायौं । हामीले उनीहरूको जिज्ञाशा मेटायौं तर उनीहरूले हामीभित्र अर्कै यस्तो उत्सुकता भरिदिए-

‘नैनेलमाणुनेर राति बन्दूकको ठुलो आवाज सुनिएको थियो । आज बिहान हाम्रो झरेलामा (माझा मार्ने पासो) रगतले लत्पतिएको कमिज भेटियो । कतै दंगाले मान्छे त मारेन ?’

उनीहरूलाई हेलिकप्टर हेर्ने यति उत्सुकता थियो कि यति कुरा भन्दाभन्दै उनीहरू चिल्ताडातिर दौडिहाले । यो कुराले कसैको ज्यान जानेगरी राति कुनै न कुनै घटना घटेको हुनुपर्छ भन्ने हामीले अनुमान लगायौं । नैनेलमाणु हाम्रो घरबाट चिल्ताडा आउँदा बिच दूरीमा पर्ने स्थान हो । जहाँ नैनेलदेवताको थान छ । नैनेललाई कर्णाली नदीको देवता मानिन्छ । नैनेलमाणुमा ठुला-ठुला ओढारहरू छन्, जहाँ आवतजावत गर्ने बटुवाहरूले बासस्थान बनाएर बस्ने गर्थे । सुर्खेत-जुम्ला राजमार्ग बन्नुअगाडि हुम्ला, मुगु, जुम्ला, पूर्वी बाजुरा र कालिकोटका मान्छेहरूलाई राजधानी काठमाडौँ र नेपालको तराईक्षेत्र आवतजावत गर्ने यो एक मात्रै पदमार्ग थियो । अर्को शब्दमा कर्णाली अञ्चलका लागि नुनदेखि सुनसम्म ल्याउने यो एक मात्र पदमार्ग थियो । हिँडदै जानेक्रममा हामी नैनेलमाणु पुग्यौं । अघि बाटोमा भेटिएका आफन्तले बन्दूकको आवाज सुनिएको भन्नुभएको ठाउँतिर हामी गयौं । हामीलाई पक्कै पनि त्यहाँ रक्तपातपूर्ण घटना घटेको अनुमान थियो । नैनेलको थाननेर पुग्दा कर्णाली नदीको बगरमा आगो बालेर निभाइएको दाउराको कोइला देखियो । निभेको कोइलाबाट गत राति नै कसैले आगो बालेको अनुमान गर्न सकिन्थ्यो । नभन्दै त्यहाँ त अचम्मको दृश्य देखियो । आगो बालेको स्थान वरिपरि घ्यू पोखिएको देखियो । त्यहाँ मानव पाइला पनि प्रशस्तै देखिन्थे । निभेको आगोको छेउमै नेपाली एक हजारका नोटको बिटो जलाइएको अवस्थामा देखियो । नोटमा लेखिएका अक्षर स्पष्ट पढ्न सकिने तर छुनेबित्तिकै धुलोधुलो हुने अवस्थामा रहेछन् । हामीले छुनेबित्तिकै नोटको बिटो खरानीमा परिणत भयो । नजिकै अर्को ठाउँमा आधा इन्चजति मात्रै जल्न बाँकी रहेको अवस्थाको एक हजार नेपाली नोटको बिटो भेटियो । रुपियाँका नोटहरू आगोमा जलाउँदा पनि अक्षर पढ्न सकिने अवस्था हुँदोरहेछ भन्ने मलाई जीवनमा पहिलो पटक जानकारी भयो । त्यहाँको दृश्यले त्यहाँ करिब चार पाँच लाख नेपाली रुपियाँ जलाइएको हुनसक्ने हामीले अनुमान गरेका थियौँ । हाम्रो मुटु हल्लिने गरी त्यहाँ अर्को दृश्य देखियो । घ्यू पोखिएको स्थानदेखि कर्णाली नदीसम्म आलो रगत ठाउँ ठाउँमा पोखिएको र मान्छेलाई घिसारेर नदीमा फ्याकिएको अनुमान गर्न मिल्ने दृश्यले हामीलाई स्तब्ध बनायो । दृश्यबाट त्यहाँ ठुलो सङ्ख्यामा मान्छे हताहती भएको र शवहरू नदीमा फ्याकिएको हुनसक्ने अनुमान गर्न सकिन्थ्यो । त्यो स्थानमा ठुलो सङ्ख्यामा मान्छे मारिएको र शव नदीमा फालिएको हामी सबैजना निष्कर्षमा पुग्यौं ।

केही समयपछि मैले चिल्ताडामा अघि आफ्नो छोरालाई खोजिरहनु भएका बृद्धलाई सम्झिएँ र उहाँलाई उक्त घटनाको जानकारी दिन जरुरी सम्झिएँ । मैले हामीसँग भएका एकजना साथीलाई तुरुन्तै चिल्ताडा पठाइहालेँ । डेढ घण्टाको अन्तरालपछि ती बृद्ध मान्छे त्यहाँ आइपुग्नुभयो । त्यहाँको दृश्य देखेर ती बृद्ध मान्छे आत्तिएको जस्तो देखिनुभयो । त्यहाँ ठुलो अनिष्ट भएको हुनसक्ने र त्यस घटनाबाट आफू पीडित बन्नसक्ने भयको छाप ती बृद्धको अनुहारमा स्पष्ट देखिन्थ्यो । उहाँको अवस्था देखेर मैले सान्त्वनापूर्ण भनेँ-

‘नआत्तिनुहोस् बुवा । यो ठाउँमा धेरै मान्छे मारिएको जस्तो देखिन्छ । दंगाले त तपाईको एकजना छोरा मात्रै लिएको हो । तपाईको छोरा दंगासँगै सुरक्षित भएजस्तो लाग्छ । के थाह, हाम्रै आफन्तहरू पनि मारिएको हुनसक्छन् । तपाई एक्लो हुनुहुन्छ, तपाईको गाउँमा खबर पठाएर आफन्तलाई बोलाउनुहोस् ।’

त्यहाँको अवस्था निकै कहालीलाग्दो र कारूणिक थियो । ती बृद्ध मान्छेले कालिकोटमा रहेका आफ्ना आफन्तलाई खबर पठाउनु भयो । अर्को दिन कालिकोटबाट करिब दुई दर्जनजति मान्छे घटनास्थल आइपुगे । उहाँहरूका अनुसार अध्ययनको सिलसिलामा कालिकोटबाट सुर्खेत गइरहेका ६ जना विद्यार्थीहरू सम्पर्कविहीन भएका थिए । त्यसैले उनीहरूको नै सामुहिक हत्या भएको हुनसक्ने आशङ्का बढ्यो । बुझ्दै जाँदा आशङ्का गरिएका ६ जनाहरूमध्ये चारजना मसँग परिचित थिए । म स्नातक तहको परीक्षा दिएर सुर्खेत क्याम्पसबाट भर्खर घर फर्किएको अवस्था थियो । सायद उनीहरू प्रमाणपत्र तहमा अध्ययनरत म भन्दा जुनिएर भाइहरू थिए । क्याम्पस छँदा उनीहरू मलाई दाइ भनेर सम्बोधन गर्थे । चिनजान भए पनि हाम्रो धेरै निकटताको सम्बन्ध चै थिएन । उनीहरुले मलाई राम्ररी चिन्थे तर म कालिकोटतिरका भाइ सम्झेर मात्रै चिन्थे । मलाई एक जना पंकज विष्टबाहेक अरूको नाम याद छैन । कर्णाली नदीमा शवहरू फालिएको हुनसक्ने अनुमानको आधारमा खोजी कार्य गर्नुपर्ने अवस्था भयो । म त्यहाँको स्थानीयबासी भएकोले खोजकार्यको समन्वय गर्न आफ्नो भूमिका आवश्यक सम्झिएँ । त्यो स्थान कर्णाली नदीकै निकै गहिरो भाग थियो । निलो कञ्चन पानीबाहेक सतहमा केही देखिँदैन थियो । पानीमा डुबेर नदीको सतहसम्म पुगेर खोजी गर्न सम्भव थिएन । हामीसँग स्रोत साधनले सज्जित तालिम प्राप्त गोताखोर थिएनन् । हामीसँग थियो त केवल आँट, साहस र अनुभव मात्रै । डुङ्गामाथि बसरे लामो डोरीमा बाँधिएका बल्छी र फलामका तारको सहायताले हामी निष्प्राण मानव खोजी कार्यमा जुट्यौं । नभन्दै हामी एक-एक गरेर पाँचवटा पार्थिव शरीर कर्णालीको निलो पानीबाट बाहिर निकाल्न सफल भयौं । जति खोजी गरे पनि हामीले एक जनाको शव भेटाउन सकेनौं । प्राप्त शवहरूबाट आफन्तहरूले अनुमान तथा शङ्का गरेका व्यक्तिहरूको नै सामुहिक हत्या भएको पुष्टि भयो । सबै शवहरूको अनुहार आगोले जलाइएको अवस्था थियो । सायद, चिन्न नसकिने अवस्था बनाउन प्रहरीले अनुहार आगोमा जलाएर कर्णालीको पानीमा फालेको थियो । तर हामीले सजिलै शव पहिचान गरिहाल्यौं ।

पारिवारिक स्रोतबाट भएको जानकारी अनुसार बाटोमा सबै जनाले भेट गर्ने र बेलुकी सँगै बास बस्ने सल्लाहमा उनीहरू फरक-फरक समयमा कालिकोटबाट सुर्खेतका लागि हिँडेका थिए । बृद्ध मान्छे हिँडाइमा कमजोर हुने भएकाले उहाँ र उहाँको छोरा बिहान ६ बजे घरबाट निस्केका थिए भने अन्य ५ जना विद्यार्थीहरू दिउँसो १२ बजे आफ्नो घरबाट रवाना भएका थिए । तर ती बृद्ध र उनको छोरालाई अन्य पाँच जनाले बाटोमा भेटाउन नसकेपछि एउटै ठाउँमा बास बस्ने अवस्था नभएको रहेछ । त्यो समयमा टेलिफोनको सुविधा नभएकोले को कहाँ पुग्यो बुझ्न सकिने अवस्था थिएन । ती बृद्ध र उनको छोरा बेलुकी कुज्जेडा भन्ने गाउँमा पुगेर बास बसेका थिए भने ढिलो हिँडेका पाँच जना कुज्जेडा पुग्न दुई घण्टाको दूरी पछाडिको ठाउँ नैनेलमाणुमा बास बसेका रहेछन् । त्यो बेला बाटोमा बास बस्ने होटेलको व्यवस्था थिएन । आफूलाई चाहिने रासन र खाना पकाउने भाँडा बोकेर हिँड्ने चलन बढी थियो । पाल थापेर बास बस्नुपर्ने र त्यसो गर्न नसकिएमा ओढारमा भए पनि रात बिताउने चलन बढी थियो । एकजना विद्यार्थीलाई कुज्जेडाबाट र पाँचजनालाई नैनेलमाणुमा ओढारमा बास बसिरहेको अवस्थामा दङ्गा प्रहरीले गिरफ्तार गरेर सामुहिक हत्याको कुकर्म गरेको देखियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले माओवादी विद्रोह दबाउन सञ्चालन गरेको किलो सेरा टु अपरेसन अन्तर्गत कर्णाली अञ्चलको कालिकोट जिल्लामा खटाइएको दङ्गा प्रहरीले ६ जना निर्दोष विद्यार्थीको सामुहिक हत्या गरेको घटना हो, यो । अर्थात् किलो सेरा टु अपरेसनअन्तर्गत दङ्गा प्रहरी कालिकोटतिर जानलाग्दा उसले बाटोमा भेटिएका निर्दोष छ जना विद्यार्थीहरूलाई माओवादी कार्यकर्ता मानेर पाशविक हत्या गरेको थियो ।

त्यो समयसम्म नेपालमा सेना परिचालन भएको थिएन । सायद नेपाल प्रहरीलाई हतियारयुद्ध नयाँ अनुभव थियो । लाग्छ, मान्छे कसरी मार्ने भनेर प्राक्टिस गर्न ती निहत्था विद्यार्थीलाई दङ्गा प्रहरीले सायद गोली हानेको थियो । अर्थात् कसरी निर्दयी र निर्मम बन्न सकिन्छ भन्ने अभ्यासमा छ जना निर्दोष गोलीको शिकार हुनुपरेको थियो । त्यो काल बौलाएको समय थियो । वैदिक वाङ्मयहरूमा हामी भगवानले विभिन्न रूपमा अवतार धारण गर्नुपरेको पढ्न पाउँछौं । लाग्छ, त्यतिबेला  काल प्रहरी र माओवादी अवतारमा बौलाएको थियो । २०५५ सालसम्म अछाममा द्वन्द्वको प्रभाव खासै थिएन । छिमेकी कालिकोट जिल्लाको प्रभावले अछाम बिस्तारै गाँजिदै थियो । रुकुम, रोल्पा, जाजरकोट कालिकोट, सिन्धुलीजस्ता केही जिल्लाहरूमा माओवादीले सुराकी र शोषक सामन्तको नाममा र प्रहरीले माओवादीको नाममा मान्छे मार्ने क्रम बढ्दै थियो । एदाकदा दोहोरो भिडन्त र प्रहरी चौकीमाथि आक्रमणका घटना सुनिन थालेका थिए । नेकपा माओवादीले सञ्चालन गरेको दशवर्षे सशस्त्र युद्धमा अछामी माटोमा रगत बहेको यो पहिलो घटना हो । अछामको माटोमा मानव रगत पोखिएको पहिलो घटना नै कालिकोट जिल्लाका निहत्था तथा निरपराधी विद्यार्थीहरूको सामुहिक हत्याकाण्ड हो, जुन नैनेलमाणु घटनाले चिनिन्छ । अछामी माटोमा पोखिएको पहिलो रगतको प्रत्यक्ष साछी थिएँ, म ।

अछाममा रगतको खोलो बगाएर गएको दङ्गा प्रहरीको पल्टनलाई तीनवटा हेलिकप्टरले अछामको चिल्तडाबाट कालिकोटका विभिन्न ठाउँमा ओसारेको थियो । म यो दृश्यको पनि साछी थिएँ । त्यति मात्रै होइन मध्यराति मैले नै हतियारले सज्जित करिब एक हजारभन्दा बढी सङ्ख्याका दङ्गा प्रहरीको लावालस्कर साक्षात्कार गरेर बालबाल बाँचेको थिएँ । यदि त्यो मध्यराति दङ्गा प्रहरीले मलाई देखेको मात्रै हुन्थ्यो भने के हुन्थ्यो होला ? सायद, नैनेलमाणु घटनामा मृत्युवरण गर्ने ६ जना निहत्थामा म थपिएर ७ जना हुने थियौं होला । त्यो दिन सम्झिँदा आज पनि मेरो शरीरका रौं ठाडो हुन्छन् ।

त्यो अपरेसनमा कालिकोटमा दङ्गा प्रहरीले निकै आतङ्क मच्चाएको सुनिन्छ । उसको ब्रह्मले माओवादी देखेका जति सर्वसाधारणलाई उसले तातो गोलीले भुटेको थियो । तर, राजनीतिक चेतना भएका अधिकांश युवाहरू घर छोडेर भूमिगत भइसकेका र द्वन्द्व चपेटामा गरेका जति भारत गइसकेका हुँदा मानवीय क्षति धेरै भएको सुनिएन । घरमा बुढाबुढी र महिलाहरू मात्रै भेटिने गरेको कारण धेरै जनाको हताहती नभए पनि धरपकट र बलात्कारजन्य घटनाले सीमा नाघेको सुनिन्थ्यो । बलात्कारमा परेका कैयौं महिला चेलीहरू गर्भवती हुनुपरेको सुनिन्थ्यो । दङ्गा प्रहरीको मानवताविरोधी कुकर्मको कारण सरकारको किलो सेरा टु अप्रेसन असफलसिद्ध भएको थियो । सरकारको ज्याजतिले पराकाष्ठा नाघेको कारण माओवादी विद्रोह भूसको आगोझैं सल्किएको थियो । नेपालको इतिहासमा माओवादी विद्रोह सशक्त र सशस्त्र हुने गरी मौलाउनुको प्रमुख कारणमध्ये यही किलो सेरा टु अपरेसन लाई एउटा मानिन्छ । यो अपरेसन असफल भएपछि सरकारले सेना परिचालन गर्नुपरेको थियो ।

 पारिवारिक स्रोतका अनुसार नैनेलमाणु घटनामा मारिएका ६ जना निहत्था विद्यार्थीहरू नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध थिए । उनीहरूका आफन्त जति सबै नेकपा एमालेमा आबद्ध हुनु, अन्तिम संस्कारको बेला कालिकोट जिल्लाका नेकपा एमाले सचिवले (सायद तुलाराम विष्ट) सबै शवलाई नेकपा एमालेको झण्डा ओढाउनु र नेकपा माओवादीले हालसम्म उनीहरू आफ्नो कार्यकर्ता भएको दाबी नगर्नु आदि कारणले उनीहरू नेकपा एमालेमा आबद्ध विद्यार्थी थिए भन्ने पुष्टि हुन्छ । यी सन्दर्भ र तथ्यहरूले उनीहरू नेकपा माओवादीमा नभएर एमालेमा आबद्ध विद्यार्थी थिए भन्न सकिन्छ । सुर्खेत क्याम्पसमा मैले उनीहरूलाई नेकपा एमालेको विद्यार्थी सङ्गठनमा सङ्गठित भएको देखेको थिएँ । तर, समय यस्तो थियो सामान्य अनुमान र रिसइबीमा प्रहरीले मान्छे मार्नु सामान्य थियो । मान्छे मार्नको लागि एउटै आरोप पर्याप्त थियो- माओवादी ।

घटना दुई

घटना २०५६ साल असोज १६ वा १७ गते हुनुपर्छ । साल र महिना एकिन भए पनि गते एकिन हुन सकेन तर १६ र १७ मा एक दिन भने अवश्य हुनुपर्छ । कर्णाली नदी तरेर म पारि भेल्तडी गाउँमा जानुपर्ने काम थियो । भेल्तडी दैलेख जिल्लामा पर्दछ, मेरो गाउँ घाटखेत भने अछाम जिल्लामा पर्दछ । घाटखेत र भेल्तडीको दूरी एक किलोमिटर जति मात्रै होला तर बीचमा कर्णाली नदी भएकोले आवतजावतमा आधा घण्टा लागिहाल्छ । एकाबिहानै म कर्णाली नदी किनारमा जान्छु । कर्णाली नदी किनारको बगरमा अड्काएर राखिएको सानो डुङ्गा (सल्लोको रुख कोपेर बनाइएको) चढेर भेल्तडी जान लाग्छु । कर्णाली आफ्नै गति र सूरमा छचल्किँदै थियो । पानीका छालहरू फूर्तिका साथ उमिल्किँदै थिए । म डुङ्गा चलाउँदै नदीको अछाम किनारादेखि करिब ३० मिटरको दूरीसम्म पुगिसकेको थिएँ । डुङ्गा खियाउँदै गर्दा मेरो नजर नदीको किनारातिर पानीमा तैरिरहेको एउटा आकृतिमा पर्यो । एक्कासि म अत्तालिन्छु । मेरो नजर मान्छेको टाउको आकृतिको दृश्यमाथि थियो । एक मनले भन्यो, भैगो छोडिदिउँ कर्णालीको भेलमा यस्ता दृश्य कति देखिन्छन्, कति । अर्को मनले भन्यो, होइन त्यो आकृति मेरो साथी नवराज भाटको लाश पनि हुनसक्छ, जसलाई एक हप्ताअघि मात्र अर्थात् असोज १० गते प्रहरीले पक्रेर बेपत्ता बनाएको थियो ।

मेरो दोस्रो सोच निर्णायक बन्यो । म त्यो मानव आकृति नजिकै गएँ । पूरै शरीर पानीले छोपिएको, उत्तानो परेको अवस्थामा मुखाकृति स्पष्ट देखिएर चिन्न सकिने अवस्थामा रहेको निर्जीव मानव शरीर नजिक पुग्छु, म । आम्मामा ! मेरो अनन्य मित्र, नवराज भाट दुरुस्त छ । हत्या हुनुभन्दा एक हप्ताअघि मात्रै सेभिङ्ग गरेको जस्तो लाग्ने सानो तर बाक्लो दाह्रीवाल मानव आकृति मेरो मित्र नवराजको निष्प्राण शरीर हो भन्ने कुरामा कुनै द्विविधा थिएन । दाब्लोको (डुङ्गा खियाउने काठको डण्डी) सहायताले पानीले छोपिएको खुट्टा उठाएर हेर्छु । हरे शिव ! प्रहरीले पक्राउ गरेको अघिल्लो दिनमा हामी दुईजनाले सँगै खाजा खाँदा लगाएको उही खैरो जिन्स पाइन्ट र रातो छालाको जुत्तामा निष्प्राण शरीरमा मेरो अगाडि छ, नवराज । एक सय होइन, एक हजार प्रतिशत दुरुस्त एक हप्ताअघि मात्रै सँगै खाजा खाँदै गफ गरेको मेरो साथी आज पार्थिव शरीरमा मेरो अगाडि थियो । मलाई सम्हालिनुबाहेक कुनै उपाय थिएन । मैले दाब्लाकै सहायताबाट साथीको मृत शरीरलाई बगरतिर धकेलेँ । घाँटीको रुद्रघण्टीनेर श्वासप्रश्वास नली छेडिने गरी एउटा र नाभीमा अर्को गरी दुईवटा गोली दागिएको स्पष्ट देखिन्थ्यो, जुन दृश्यले मलाई झनै स्तब्ध बनायो ।

अछाममा २०५६ साल कहालीलाग्दो समय थियो । प्रहरीको आँखामा पर्नु काललाई निम्ता दिनुजस्तै हुन्थ्यो । प्रहरीले मान्छे समात्यो कि उसको जीवन सकियो भन्ने अनुमान करिब सत्य सावित हुन्थ्यो । प्रहरीले समातेको मान्छेको चासो लिने, उसलाई छुटाउन प्रयत्न गर्ने आफन्तलाई नै माओवादीको बिल्ला भिराएर प्रहरी गोली ठोक्न बेर लगाउँदैन भन्ने त्रास व्याप्त थियो । मेरो साथी नवराज पनि यस्तै परिबन्दमा परेको थियो । असोज १० गतेको दिन नवराज भाट सदरमुकाम मंगलसेन जान भनेर घरबाट हिँडेका थिए । उनी शिक्षक भएकोले सदरमुकाम गइरहने काम परिरहन्थ्यो ।घ रबाट दुई घण्टाको ठाडो ओरालो झरेपछि नवराज आफ्नो गाविसको मुकाम चिल्ताडामा पुगेछन् । चिल्ताडामा प्रहरी चौकी थियो । त्यही दिन कालेकाँडा गाउँ विकास समितिको गाउँ परिषद्को बैठक चलिरहेको रहेछ । गाविस सचिवले शिक्षक नवराज भाटलाई परिषदको बैठकमा सहभागिताको लागि अनुरोध गरेछन् । एउटा जिम्मेवार शिक्षकलाई जिम्मेवार गाविस सचिवले आफ्नो गाउँ परिषदमा सहभागिताका लागि अनुरोध गरेपछि नवराजले त्यो दिन चिल्ताडामै बसेर अर्को दिन बिहानै सदरमुकाम जाने मानसिकता बनाएछन् । र, उनी गाउँ परिषदको बैठकमा सहभागी भए । दिनभरि गाउँ परिषदको बैठक चल्यो । त्यहाँ नवराजको टेकबहादुर शाही नामका चिनजानका मान्छेसँग भेट भएछ । टेकबहादुर शाहीको घर कालीकोटको मालकोट भन्ने गाउँमा थियो । माओवादीको ज्यानधम्कीको कारण टेकबहादुर शाही घरबाट विस्थापित भएर ज्यानसुरक्षाका लागि चिल्ताडामा बस्ने गरेका थिए । त्यति बेला प्रहरी चौकीं भएकोले चिल्ताडा सुरक्षित स्थान मानिन्थ्यो । त्यो बेलासम्म अछाममा लुकिछिपी राति मात्रै माओवादीहरूले कसैमाथि आक्रमण गर्नसक्ने अवस्था थियो । तर, प्रहरी भने तीन-चार जनाको समुहमा गाउँमा हिँडडुल गर्नसक्ने अवस्थामा थियो । गाउँ परिषद्को बैठकमा नवराज भाट र टेकबहादुर शाहीलाई एउटै पङ्तिमा सँगै बस्ने अवसर जुरेको रहेछ । कुराकानीको सन्दर्भमा नवराजले टेकबहादुर शाहीलाई भनेका रहेछन्-

‘शाहीजी, मान्छेको यस्तो भिडभाडमा माओवादी घुसपैठ हुनसक्छन् । यस्तो भिडभाडको समयमा खतरा हुनसक्छ, आफ्नो ज्यानको ख्याल राख्नु होला, चनाखो भएर बस्नुहोला ।’

 नवराज र टेकबहादुर शाहीबिच थुप्रै वैयक्तिक कुराकानी भए होलान् तर माथिको संवाद सुनिजान्ने प्रमाण हो । गाउँ परिषद्को बैठक सकिएपछि उनीहरू आआफ्नो बास्थानतिर लागेछन् ।

बेलुकी साढे सात बजेतिर टेकबहादुर शाही आफू बस्दै आइरहेको होटलको आँगनीमा बसेर रेडियो कानमा लगाएर सुनिरहेका रहेछन् । त्यो समयमा रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रम निकै चर्चित थियो । अलिकति राजनीतिक चासो राख्ने मान्छेले रेडियो नेपालको घटना र विचार कार्यक्रम सुन्न छुटाउदैनन् थिए । टेकबहादुर शाही पनि सोही कार्यक्रम सुन्न ध्यानमग्न रहेछन् । रेडियो सुन्न एकोहोरो ध्यानमग्न भइरहेको मौका छोपेर तीन जना अज्ञात व्यक्तिहरूबाट टेकबहादुर शाहीको टाउकोमा प्रहार भएछ । खुकुरीले अन्धाधुन्ध खुकुरी प्रहार गरेर आक्रमणकारी फरार भएछन् । एकछिन अगाडि शान्त देखिएका टेकबहादुर शाही रगताम्मे अवस्थामा अशान्त बने । त्यहाँ अवस्था बीभत्स डरलाग्दो बन्यो । रगतका धारा बग्न थाले । अचेत, बेहोसी र बीभत्स अवस्थामा टेकबहादुर शाही कराउन थाले-

‘ऐया ! माओवादीले मलाई खुकुरी प्रहार गरे । बचाओ ! बचाओ ! ऐया नि मरेँ, म मरेँ ।‘

 उनको चिच्चावटले पूरै चिल्ताडा बजार थर्किए छ । उनको चिच्चावट यति बिघ्न थियो कि सायद नजिक रहेका जङ्गली जनावरहरू आतङ्कित बनेर कुलेलम ठोके होलान् । कीटपतिङ्गरहरू थर्कमान भएर गुप्त भए होलान् । तर, पूरै चिल्ताडा गाउँ मुर्दा शान्तिमा निदाइरहेको थियो । घरको ढोका थुनेर गाउँलेहरू घरभित्रबाट चुपचाप टेकबहादुर शाहीको चिच्चावट सुनिरहेका थिए । एकै छिनअघि टेकबहादुर शाहीसँगै रहेका मान्छेहरू दौडिँदै आफ्नो घरभित्र पस्न आतुर थिए । एउटा मानव जीवनको अन्तिम क्षणमा प्राणको भिख मागिरहेको बीभत्स अवस्था देखेर सँगै बसेका मान्छेहरू निर्मम भागिरहेका थिए । सायद यो निर्ममता समयको दोष थियो । उनको चिच्चावटले नजिकै रहेको प्रहरी चौंकी पनि तरङ्गित भएछ । एकै छिनपछि प्रहरी घटनास्थल पुगिहाल्यो । पुग्ने बित्तिकै प्रहरीले अचेत अवस्थाका टेकबहादुर शाहीलाई केरकार गर्न थालेछ-

‘शाहीजी, तपाईँलाई हामी केही पनि हुन दिँदैनौं । हामी हेलिकप्टर मगाएर तपाईको काठमाडौँमा उपचार गराउँछौं । तर भन्नुहोस् तपाईमाथि खुकुरी प्रहार गर्ने को हो ? तपाईँ  उनीहरूलाई चिन्नुहुन्छ कि ? तपाईलाई कसमाथि शङ्का लाग्छ ?’

छट्पटाइरहेका टेकबहादुर शाहीले अचेत अवस्थामै भनेछन्-

 ‘मलाई नवराज भाटमाथि शङ्का लागेको छ । उसले नै दिउँसो आज तपाईलाई खतरा हुनसक्छ भनेको थियो । मेरो हत्यारा नवराज भाट हो, त्यसलाई नछोड्नु होला ।’

टेकबहादुर शाहीको यो अन्तिम वाक्य थियो । यो वाक्यपछि उनी निशब्द बने अर्थात् निष्प्राण भए । कालिकोटमा रहेको आफ्नै घर असुरक्षित मानेर प्रहरी चौकीको सहारामा ज्यान जोगाउन एक महिना अघिदेखि चिल्ताडामा बस्दै आइरहेका टेकबहादुर शाही सधैँका लागि बिदा भए ।

स्वर्गीय टेकबहादुर शाहीको मरणासन्न वाक्य सुनिसकेपछि प्रहरीलाई अरु के चाहियो र ! प्रहरी सरासर नवराज भाट बास बसेको घरमा पुगेछ । सुतिरहेको अवस्थामा नवराज भाटलाई जगल्ट्याएर प्रहरीले चौकी लिएछ । त्यसपछि नवराजको अवस्था कसैलाई थाह हुन सकेन । उसको चासो राख्नुको अर्थ आफ्नो काल निम्याउनु हुनसक्थ्यो । कसको आँट र हिक्मत हुने ? केही समयअगाडि कोलाहल र चिच्याहटमा थर्किएको चिल्ताडामा यसरी सन्नाटा छायो कि मानौं आज जुनकीरीले आफ्नो पुच्छरमा बत्ति बाल्न बिर्सियो । भ्यागुत्ताले ट्वारट्वार गरेर गीत गाउन बिर्सेका थिए । अन्दाजी १२ बजेतिर प्रहरी चौकीमा दुई राउण्ड बन्दूक पड्किएको आवाजले चिल्ताडा बजार आतङ्कित भएछ । सुन्ने जतिले नवराज भाटको इहलीला समाप्त गर्ने आवाज यही हो भन्ने लख काटेछन् । तर वास्तविक अवस्था कसैलाई थाह थिएन, अज्ञात थियो । प्रहरीले समातेको मान्छेको विषयमा चासो लिनु आफ्नै ज्यानको खतरा थियो । प्रहरीले माओवादीको बिल्ला लगायो कि उसको जीवन सकियो भनेर बुझे हुन्थ्यो । पहिलेदेखि नै नवराज भाट प्रहरीको आँखाको तारो बनिसकेको, प्रहरी उसलाई समाउने निहुँ कुरिरहेको भनेर खासखुस कुरा गर्थे, स्थानीयहरू ।

भोलिपल्ट नवराज भाटका बुवा जहरी भाट छोराको अवस्था बुझ्न चिल्ताडा पुगेछन् । तर उनले पनि प्रहरीसँग सोधपुछ गर्न सकेका थिएनन् । त्यति बेला प्रहरीलाई प्रहरी होइन काल देख्थे, मान्छेहरू । साससहितको छोरा पाउने आशामा बुवा जहरी भाट एक हप्तादेखि चिल्ताडाको बजार चाहारिरहेका थिए । प्रहरी चौकींमा पुगौं, कतै आफै कालको शिकार भइने त होइन ? अन्यौल, आशा र निराशाको भवचक्रमा बुवा जहरी भाटले जेनतेन एकहप्ता बिताइसक्नु भएको थियो । सोही समयमा मैले नवराज भाटको शव कर्णाली नदीको पानीमा तैरिरहेको अवस्थामा भेट्टाएको थिएँ । म बिलखबन्दमा परेँ । समयले भनिरहेको थियो

-‘पवन, तँ भाग ! यो काल मात्तिएको समय हो । तँ, जानी-जानी आफ्नो ज्यान किन जोखिममा पार्दैछस् ? नवराज तेरो साथी भए पनि उ निष्प्राण भइसक्यो । अब त्यसको कुनै काम छैन । मरेको मान्छेको लागि आफ्नो ज्यान किन जोखिममा पार्छस् ? वास्ता नगरेर आफ्नो बाटो लाग्, पवन ! तैंले लाश भेटाएर आफन्तलाई बुझाएको प्रहरीले थाह पायो भने तेरो आयु सिद्धियो, तँ छैनस् !’

त्यतिबेला समय बलवान मात्रै होइन, निर्मम पनि थियो । तर साथीको शव नदेखेझैं गरेर कुलेलम ठोक्न मलाई मेरो आत्माले दिएन । मैले पानीमा तैरिरहेको नवराजको शवलाई नदी किनारमा सुरक्षित बनाएर उनका आफन्तलाई जानकारी दिनु आफ्नो कर्तव्य सम्झिएँ । निष्प्राण भइसकेको साथीको भौतिक शरीरमा प्राणवायु भर्न सक्दैन थिएँ, म । तर आफ्नै साथीको पार्थिव शरीर देखेर पनि बेवारिस छोडेर जाँदा आफ्नो जीवित अस्तित्वको कुनै मूल्य नहुने महसुस गरेँ । मानवीय कर्तव्य निर्वाह गर्दा पुलिस काल बनेर आउँछ भने ज्यान अर्पण गर्न मेरो मानसिकता तयार भयो । टाउको पानीतिर र खुट्टा जमिनतिर पारेर ठुला ढुङ्गाले अड्याएर शव बहेर नजाने निश्चय गरेँ । टाउको जमिनतिर बनाउँदा वा पूरै शव जमिनमा राख्दा गिद्धले खाने समस्या हुन सक्थ्यो । शवको सुरक्षाका लागि पानीमै रहन दिनुपर्ने बाध्यता थियो, मलाई ।

जेनतेन शव संरक्षणको व्यवस्थापन गरेपछि नवराजको आफन्तलाई जानकारी दिनु मैले जरुरी सम्झिएँ । बाटोमा दर्जनौं मान्छे ओहोरदोहोर गरिरहेका थिए । उनीहरू अधिकांशले म र नवराजलाई चिन्थे पनि । मैले भेटिएका मान्छेलाई नवराजको शव भेटिएको उनका आफन्तलाई जानकारी दिन अनुरोध गरेँ । तर कोही पनि सहयोग गर्न तयार भएनन् । नवराजको शव भेटिएको कुरा सुन्ने बित्तिकै वायुवेगको रफ्तारमा भाग्थे, गाउँलेहरू । केही सीप नलागेपछि स्वयम् म आफैँले नवराज भाटको आफन्तलाई खबर गर्न जाने मनस्थिति बनाएँ । आफैँ जाने भएपछि नवराजको शवलाई नदीले बगाएर लिन नसक्ने गरी व्यवस्था गरेँ । अन्ततः एक घण्टाको बाटो तताएर आफैं नवराज भाट बुवासम्म पुगेँ । जाँदा र फर्किँदा लागेको दुईघण्टासम्म पनि संयोगवश हामीले शव सुरक्षित भेटायौं । एकैछिन नवराजको पार्थिव शरीर आफन्तहरूले घेरिएको थियो । त्यो बेलाको रुवाबासी, बिलौना र शोकको घडी म शब्दमा व्याख्या गर्न सक्दिन । अन्ततः वैदिक सनातन परम्पराअनुसार सोही स्थानमा नवराजको अन्तिम संस्कार सम्पन्न गरी हामी बिदाबारी भयौं ।

मलाई थाह भएअनुसार नेकपा माओवादीको विद्रोहमा अछामी भूमिमा रगत बगाउने पहिलो अछामी नवराज भाट हुन् । यद्यपि नेकपा माओवादी सशस्त्र युद्धमा सबैभन्दा पहिले मृत्युवरण गर्ने व्यक्ति माओवादी नेता टंक बोगटी हुन् । उनलाई प्रहरीले कैलाली जिल्लामा गिरफ्तार गरेर २०५५ साल भाद्र १७ गते निर्ममतापूर्वक हत्या गरेको थियो । तर, अछामभित्रै बलिदानी दिने पहिलो व्यक्ति भने नवराज भाट नै हुन् । टंक बोगटी नेकपा माओवादीका नेता थिए । उनको हत्यापछि नेकपा माओवादीले उनलाई सहिद घोषणा गरेको थियो । नेकपा माओवादीले अहिले पनि टंक बोगटीको सम्झनामा सहिद स्मृति दिवस मनाउने गरेको छ । तर  नवराज भाट नेकपा माओवादी समर्थक थिए भन्ने कुरा अहिलेसम्म पनि पुष्टि भएको छैन । उनी नेकपा एमाले समर्थक थिए । एमाले विभाजन भएपछि उनी नेकपा मालेमा संगठित थिए । तर उनको हत्या प्रहरीले नेकपा माओवादीको कार्यकर्ता भनेर गर्यो ।

घटना तीन

उदयराम जैसी नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका नेता थिए । नेपाली काङ्ग्रेको विद्यार्थी सङ्गठन हुँदै उनी युवा सङ्गठन नेपाल तरुण दलको पनि नेता भइसकेका थिए । त्यति बेला युवाहरूमा अहिलेको जस्तो राजनीतिमा आशक्ति थिएन । विद्यार्थी र बेरोजगार हुँदा रहरले विभिन्न सङ्गठनमा आबद्ध हुनेहरूको कमी थिएन । राजनीतिलाई समाजसेवाको रूपमा  समर्पित भएर यसमा सङ्गठित हुनेहरूको सङ्ख्या निकै कम थियो । उदयराम जैसी भने राजनीतिमा समर्पित मान्छे थिए । उनी राजनीतिकै लागि जन्मिएको जस्तो लाग्थे । त्यसैले उदयराम जैसी नेपाली काँङ्ग्रेसको पूर्णकालीन राजनीतिक कार्यकर्ता थिए । अर्थात् उनी आजसम्म बाँचेका हुन्थे भने यतिबेला अछाम जिल्लामा नेपाली काङ्ग्रेसको प्रशिद्ध नेता वा कुनै निर्वाचित जनप्रतिनिधिको रूपमा स्थापित व्यक्तित्व हुने थिए जस्तो लाग्छ । उदयराम जैसीले नेताको परिचय बनाइसकेका थिए । उनलाई नामले भन्दा पनि नेताजी भनेर सम्बोधन गर्नेहरुको सङ्ख्या बढी थियो । अर्थात् कालेकाँडामा ‘नेता’ भन्ने बित्तिकै सर्वसाधारणले उदयराम जैसीलाई चिन्थे ।

उदयबहादुर शाही नेपाली काँग्रेसका गाउँस्तरीय नेता थिए । साथै उनी स्थानीय सामान्य व्यापारी पनि हुन् । यदि उहाँ हालसम्म जीवित हुनुहुन्थ्यो भने नेपाली काँग्रेसको वडास्तरमा नेतृत्व गर्नसक्ने खुबीका नेता कहलिन्थे भन्ने मेरो अनुमान छ । नयाँराम जैसी नेपाली काँग्रेस निकट शिक्षक सङ्घमा आबद्ध थिए । उनी सङ्घमा सामान्य आस्थावान मान्छे हुन् । हाल उनी बहालवाला शिक्षक छन् । यी तिनै जनासँग मेरो निकै निकट, आत्मिय र व्यक्तिगत सम्बन्ध थियो । यहाँ म सबैभन्दा पहिले शिक्षक नयाँराम जैसीसँगको विषयमा कुरा गर्न चाहन्छु ।

नयाँराम जैसी मेरै उमेर समुहका मान्छे हुन् । यद्यपि म भन्दा दुई तीन वर्षले उहाँ जेठो हुनुहुन्छ जस्तो लाग्छ । पञ्चदेवल विनायक नगरपालिका वडा नं. ५ आलीमा अवस्थित विजय प्रा.वि. मा (२०४९ सालमा) शिक्षक पदपूर्तिका लागि दरखास्त आव्हान भएको थियो । उक्त पदमा नयाँराम जैसी र म दुवैजना प्रतिस्पर्धी थियौं । हामी दुवै जनाले भर्खरै एसएलसी उत्तीर्ण गरेका थियौं । हामी दुवै जना शिक्षकका आकाङ्क्षी थियौं । त्यो समयमा गाउँमा एसएलसी पास गरेको मान्छे भेटिनु निकै ठुलो कुरा थियो । यस्तो समयमा हामी दुई जना एउटै पदका आकाङ्क्षी थियौं । तर, अभिभावक र विद्यालय व्यवस्थापन समितिले मलाई शिक्षक बनाउने निर्णय गर्यो । म शिक्षकमा छनौट भएपछि नयाँराम जैसी नियाउरो अनुहार लगाएर घर फर्किनुभएको अहिलेझै लाग्छ । म शिक्षकमा छनोट हुनुको आधार क्षमताको मूल्याङ्कनले थिएन । उक्त विद्यालयका लागि नयाँराम जैसीभन्दा म बढी नजिकको स्थानीय व्यक्ति हुनु छनोटको आधार थियो । नजिकको स्थानीयलाई प्राथमिकता दिनुपर्ने त्यतिबेलाको चलन थियो । पछि उहाँ आफ्नो गाउँ नजिकैको विद्यालयको स्थायी शिक्षक बन्नुभयो । एक वर्षपछि शिक्षकबाट राजीनामा दिएर म क्याम्पस पढ्न गएको थिएँ भने नयाँराम जैसी शिक्षक पदमा कार्यरत भइरहनु भएको थियो। हाम्रो सम्बन्ध सुमधुर थियो र अहिले पनि सुमधुर छ ।

उदयराम जैसी ठ्याक्कै मेरै उमेर समुहका हुन जस्तो लाग्छ । अझ, म भन्दा एक दुई वर्षले कान्छो हुन् कि ! निकै मिजासिलो मान्छे हुनुहुन्थ्यो, उहाँ । ख्यालठट्टामा माहिर, सामाजिक र निडर स्वाभावका लाग्थे मलाई, उदयराम । उदयबहादुर शाही हाम्रो अग्रज हुनुहुन्थ्यो । मितेरी नाताले उहाँ उहाँ मेरो दाइ पर्नुहुन्थ्यो । हाम्रो उमेरमा करिब बिस वर्ष जतिको फरक थियो होला । २०५६ सालको माघ महिनातिर उदयराम जैसी, उदयबहादुर शाही र म अछामबाट सँगै काठमाडौँ आएका थियौं । त्यो समयमा नेकपा माओवादी नेपाली काङ्ग्रेसविरुद्ध बढी आक्रामक थियो । अछामदेखि काठमाडौँ आउँदा कैलालीको चिसापानीसम्म पैदल यात्रा गर्नुको विकल्प थिएन । घरबाट हिँडेको पहिलो दिन हामी सुर्खेत जिल्लाको बाँसपानी खोलामा बास बसेका थियौं । दोस्रो दिन कैलालीको चिसापानी बजार बास बस्यौं र तेस्रो दिन चिसापानीबाट रात्रिबसमा काठमाडौँ पुगेका थियौँ ।

काठमाडौँमा तीन-चार दिन हामीले सँगै घुमफिर गर्यौं । हामीमध्ये उदयबहादुर शाही पहिलोपटक काठमाडौँ आउनुभएको हुँदा उहाँलाई घुमाउनका लागि पनि सँगै घुमफिर गर्नुपर्ने थियो । किनकि हामीले बाटोमै काठमाडौँ पुग्ने बित्तिकै उहाँलाई घुमाउने बचन दिइसकेका थियौं । म रोजगारको खोजीको सिलसिलामा काठमाडौँ आएको थिएँ भने उदयबहादुर शाही नेकपा माओवादीको धम्कीको कारण ज्यान सुरक्षाका लागि काठमाडौँ बस्ने सोंचले आउनुभएको थियो । उदयराम जैसी भने राजनीतिक कामको सिलसिलामा काठमाडौँ निरन्तर आवतजावत गरिरहन्थे । अछामदेखि काठमाडौँ आइपुग्दासम्म र काठमाडौँमा करिब एक हप्ता सँगै घुमफिर गर्दा हामीबिच थुप्रै कुराकानी भए । लाग्छ, जीवनमा हामी तीनजनाको यति धेरै सामिप्यता र अन्तरंग कहिले पनि भएको थिएन । हाम्रो कुराकानीका विषय देशको राजनीति, माओवादी समस्या, बेरोजगारी समस्या र व्यक्तिगत मामिला नै थिए । तर, यतिको सामिप्यता र कुराकानीमा उहाँहरू दुवै जनामा नेकपा माओवादीविरुद्ध सुराकी गर्नुपर्ने कुनै कारण र व्यवहारको सङ्केत मैले देखेको थिएन् । माओवादीप्रति उहाँहरूको सहानुभूति र उनीहरूले उठाएका एजेण्डामा समर्थन रहेको मैले पाएको थिएँ । बरू दुवैजना आफ्नै नेताविरुद्ध आक्रोशित देखिन्थे । आफ्नै नेताको कमजोरीले गाउँमा माओवादी समस्या बढ्दै गइरहेको र आफूजस्तै निर्दोष कार्यकर्ताले दुःख पाइरहने अवस्था रहेको दुवै जनामा रोष थियो । चिल्ताडामा प्रहरी चौकी पुनस्थापना हुनुपर्छ भन्ने कुरामा भने दुवै जनाको माग थियो । प्रहरी चौकी स्थापनाका लागि सहयोग गर्न उहाँहरूले आफ्ना नेताहरूलाई दबाब पनि दिएका थिए । नवराज भाटको हत्यापछि चिल्ताडाबाट प्रहरी चौकी विस्थापित भइसकेको थियो ।

उदयबहादुर शाही आफू गाउँमा माओवादीबाट असुरक्षित भएको ठानेर चिन्तित थिए । उहाँ काठमाडौँ आउनुको कारण नै नेकपा माओवादीबाट उत्पन्न डर थियो । तर उदयराज जैसीलाई भने माओवादीप्रति एकरति पनि डर थिएन । पशुपतिनाथको मन्दिर पारिपट्टि वनकालीको चौतारीमा बसेर हामीले गरेको कुरा मलाई अहिलेझैं लाग्छ । मैले दुवैजनालाई तपाईहरूलाई गाउँमा असुरक्षा हुनुसक्छ, त्यसैले काठमाडौँ नै बस्नुहोस् भनेर सल्लाह दिएको थिएँ । तर उदयराम जैसीले भनेका थिए-

“मैले के गल्ती गरेको छु र गाउँ छोड्नुपर्ने ? काङ्ग्रेसका यी नेताहरू सच्चिएनन् भने म स्वयम् माओवादी भएर यिनै नेताहरूको टाउकोमा वम पड्काउन बेर लाग्ने छैन । म माओवादी हुने हो भने अछाममा काँङग्रेसका नेताहरू अछाम नगए हुन्छ, सधैंका लागि घर त्याग्नुपर्ने हुनसक्छ ।”

नेपाली काँङ्ग्रेसका अछामी नेताहरू उदयराम जैसी माओवादीसँग घुलमिल भइसकेको आशङ्का व्यक्त गर्थे । एक जना दिग्गज नेताले मसँग भनेका थिए-

“त्यो उदयरामको दिमाग माओवादीले खाइसके कि क्या हो ? जतिबेला पनि माओवादी-माओवादी मात्रै भनिरहन्छ ?”

काठमाडौँको एक हप्ताको बसाइँमा उदयबहादुर शाहीले नेपाली काङ्ग्रेसका थुप्रै नेतासँग ज्यानको भिख मागेर निराश भइसकेका थिए । नेताहरूले काठमाडौँमा गाँसबासको न्यूनतम व्यवस्था गरिदिनु पर्छ भन्ने उनको माग थियो । तर कुनै पनि नेताले उनको अनुरोधलाई मनन् गरेनन् । एउटा कानले सुनेर अर्को कानले उडाइडिए । वनकालीको छेउमै बसेर शाहीले बोलेका यो संवाद मेरो मानसपटलमा ताजै छ-

“हुन त माओवादी गर्दा मलाई फाइदा पनि भएको छ । उनीहरूको डर नमानेको भए म काठमाडौँ कहिले पनि देख्न पाउने थिएन । उनीहरूले नै मलाई माठमाडौँ देखाइदिए । आफ्नै दाजुभाइ त हुन् नि ! म घर फर्किन्छु उनीहरूसँगै मिलेर बस्छु ।”

काठमाडौँ बस्नसक्ने उपाया क्षीण भएपछि उदयबहादुर शाहीले यसरी निराशा व्यक्त गरेका थिएँ । उनको भनाइ नटुङ्गिँदै उदयराम जैसीले ठट्यौली पारामा हाँस्दै भनेका थिए-

“शाहीजी, माओवादीले काठमाडौँ देखाएर त ठीकै गरे तर माथि पनि देखाइदेलान् है !  ख्याल गर्नुहोला ।”

जैसीको यो संवाद सुनेर मैले पनि हाँसो रोक्न सकेको थिएन । तर उदयबहादुर शाही कठोर र निडर बन्दै गएको मलाई आभास थियो । भनेका थिए-

“होइन, म अब घर नै जान्छु । माओवादी बाघ त होइनन् नि। उनीहरू पनि मान्छे हुन् । म उनीहरूसँग मिलेर बस्छु ।”

नभन्दै केही दिनपछि उदयबहादुर शाही अछाम फर्किसक्नु भयो भन्ने सुनियो । म पनि बेरोजगारी समस्याले पीडित थिएँ । धेरै दिनसम्म काठमाडौँ बस्न सक्ने अवस्थामा थिएन । त्यसपछि हामी तिन जना को कता गयौं मलाई थाह भएन । आआफ्नो बाटो लागेका थियौं । तर, केही समयपछि मेरो र उदयराम जैसीको गाउँमै भेट भएको थियो । त्यो बेला नेपालको कुनै ठाउँमा सुराकीको आरोपमा नेकपा माओवादीका कार्यकर्ताले नेपाली काङ्ग्रेसका नेताको हत्या गरेका थिए । उक्त समाचार रेडियोमा हामी दुवै जनाले सँगै सुनेका थियौं । समाचार सुनिरहँदा उदयराम जैसीले अनायस भनेका थिए-

“भर्खर काठमाडौँबाट आइएको छ, यस्ता समाचार सुनिन्छन्, फेरि गइहाल्नुपर्छ कि क्या हो यार । कतै मारिदिने पो हुन् कि !”

तर एकैछिनमा जैसीले फेरि भनेका थिए-

“हुन त मैले के गरेको छु र मैले डर मान्नुपर्ने ?”

उदयराम आफैँ प्रश्न र आफैँ जवाफमा अल्मलिएपछि मैले सोधेको थिएँ-

“तपाईको माओवादीसँग भेट हुन्छ कि ? के भन्छन् उनीहरू ?”

उनले बेला-बेला माओवादी कार्यकर्तासँग आफ्नो भेटघाट हुने गरेको र आफूलाई गाउँमै बस्न उनीहरूले सल्लाह दिने गरेको मलाई सुनाएका थिए । ‘फटाह सामन्तहरू मात्रै गाउँ छोडेर भाग्छन्, तपाईँजस्तो इमान्दार मान्छेलाई गाउँमा बस्न कुनै समस्या छैन’ भनेर माओवादीले आफूलाई आश्वासन दिएको उदयरामले मलाई सुनाएका थिए । इमान्दार नेताहरू गाउँमा सजिलै बस्न सक्छन् भन्ने सन्देशले आफ्नो पार्टीलाई सहयोग हुने भनेर आफूलाई गाउँमै बस्न माओवादीले अनुरोध गरेकोले आफूलाई कुनै डर नभएको कुरामा उदयराम निर्धक्क देखिन्थे । त्यतिबेला माओवादीको कुरा गर्नु निकै चुनौतिपूर्ण हुन्थ्यो । गाउँमा माओवादीका कार्यकर्ता देख्दा पनि देखेँ भन्नसक्ने आँट कसैको हुँदैनथ्यो । प्रहरीको कानमा कुरा पर्ने बित्तिकै परिस्थितिले अर्को मोड लिनसक्ने खतरा थियो । तर उदयराम जैसी मसँग यति विश्वस्त थिए कि उनी माओवादीसँग आफ्नो भेटघाट भइरहेको कुरा मलाई निसंकोच सुनाइरहेका थिए ।

उदयराम जैसीसँग मेरो भेटघाट भएको तीन चार दिन मात्रै भएको थियो होला । २०५६ साल चैत्र ३० गते राति नेकपा माओवादीका कार्यकर्ताले सुराकीको आरोपमा उदयबहादुर शाही, उदयराम जैसी र नयाँराम जैसीमाथि साङ्घातिक आक्रमण गरेको सुनियो । प्रहरीले नवराज भाटको हत्या गरेको आठ महिनापछि अछामको कालेकाँडामा अर्को यो दःखद घटना घटेको थियो । उदयबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको सुनियो । केही महिनाअघि आफूसँगै काठमाडौँ गएको मान्छेको दुखद निधनको खबर पत्याउन मलाई निकै गाह्रो भइरहेको थियो । उदयराम जैसी र नयाँराम जैसीलाई सरकारी हेलिकप्टरबाट जीवितै उद्धार गरी उपचारार्थ काठमाडौँ शिक्षण अस्पताल पुर्याइएको खबर सुनियो । घटनाको चार दिनपछि २०५७ साल बैशाख ३ गते उदयराम जैसीले शिक्षण अस्पताल काठमाडौँमा उपचारको क्रममा देहत्याग गरेको दुखद खबर सुनियो । म स्तब्ध भएँ । केही समयअघि मात्रै अछामदेखि काठमाडौँसम्म सँगै लामो यात्रा गरेको क्षण र गरेका थुप्रै कुनाकानी पुनर्ताजगी भएर मानसपटलमा अङ्कुराए । सुरक्षाका लागि जीवनमा पहिलोपटक काठमाडौँ पुगेका उदयबहादुर शाही र उनले आफ्नै नेताहरूसँग ज्यान गोजाइदिन गरेको याचना मेरो दिमागमा नाचिरह्यो । ज्यानसुरक्षाका लागि काठमाडौँ बस्न उनले गरेको भगिरथ प्रयत्न र केही सीप नलागेपछि घर फर्किनुपरेको परिस्थितिमा ज्यान जानुपरेको दुखद अवस्थाको म जानकार तिएँ । अनि वनकालीको चौतारीमा उदयराम जैसीले उदयबहादुर शाहीलाई भन्नुभएको ‘माओवादीले काठमाडौँ देखाए भनेर धेरै खुसी नहुनुहोस् कतै माथि पनि देखाइदेलान्, ख्याल गर्नुहोला शाहीजी’ संवाद मानसपटलमा खेल्न थाल्यो । उदयबहादुर शाहीप्रति लक्षित ठट्यउली आज आफैँमाथिको व्यङ्ग्य बन्दै थियो । नेपाली काङ्ग्रेसका लगभग सबै नेताहरूले असुरक्षाको कारण गाउँ छोडिसक्दा समेत गाउँमै बसिरहेका उदयराम जैसीसँगका भेट र उनका संवादले व्याकुल बनाइरह्यो । ‘मैले के गल्ती गरेको छु र डर मानेर भाग्नुपर्ने ?’ करिब एक हप्ताअघि उनमा देखिएको आत्मविश्वास, आँट र काठमाडौँको भेटमा आफ्नै नेताहरूमाथि पोख्नुभएको आक्रोश दिमागमा घुमिरह्यो । जीवनको अन्तिम समयमा उदयराम जैसी र उदयबहादुर शाहीसँग भएको सामिप्यताले मलाई झन बढी घायल बनायो । 

लामो उपचार पश्चात शिक्षक नयाँराम जैसीले पुनर्जीवन पाएका थिए । घटना प्रकृति हेर्दा नेकपा माओवादीका कार्यकर्ताहरूबाट उदयराम जैसी, उदयबहादुर शाही र नयाँराम जैसी तीनै जनालाई हत्या गर्ने योजना रहेको स्पष्ट हुन्छ । यस घटनापछि पुनर्जीवन पाएका शिक्षक नयाँराम जैसीसँग मैले बुझ्दा आआफ्नो घरमा राति सुतिरहेको अवस्थामा नेकपा माओवादीका कार्यकर्ताले उहाँहरू तीनैजनालाई अपहरण गरेर गाउँभन्दा पाँचसय मिटरको दूरीमा रहेको खोलामा साङ्घातिक आक्रमण गरेका थिए । तीनैजना नै मारिएको सोचेर माओवादी कार्यकर्ता छोडेर हिँडेका थिए । तर, उदयबहादुर शाहीको घटनास्थलमै र उदयराज जैसीको काठमाडौँ शिक्षण अस्पतालमा उपचार गर्दागर्दै चार दिनपछि मृत्यु भएको थियो । एक जना नयाँराम जैसीले भने लामो उपचारपछि पुनर्जीवन पाएका थिए ।

घटना चार

जिल्ला विकास समितिको कार्यालय अछाममा जागिर सुरु गरेको ६ महिना पनि भएको थिएन । अर्थात् जिल्ला विकास समितिको कार्यालय अछाममा २०५८ साल भाद्र २५ गते पूर्वाधार विकास अधिकृत पदबाट मैले जागिरे जीवन सुरु गरेको थिए । म २०५८ साल फागुन ४ गते शनिबारको त्यो कहालीलाग्दो दिनको विषयमा लेख्दैछु । फागुन महिनाको दोस्रो हप्तामा हुन लागिरहेको अछाम जिल्लाको परिषद्को तयारी अन्तिम चरणमा पुगेको थियो । त्यो बेला जिल्ला परिषद् जिल्लाको सर्वोच्च निकाय मानिन्थ्यो । जिल्ला परिषद्सम्म आइपुग्दा योजना तर्जुमाका तेह्रवटा चरण पार गरी सक्नु पर्दथ्यो । पूर्वयोजना तर्जुमा बैठक, वडा समिति बैठक, गाउँ समितिको बैठक, गाउँ परिषद्को बैठक, इलाकास्तरीय बैठक, विषय समितिका बैठक, एकीकृत समितिको बैठक, जिल्ला विकास समितिको बैठक र जिल्ला परिषद्को बैठक गरी राष्ट्रिय योजना आयोग तथा विषयगत मन्त्रालयमा योजना प्रस्ताव गर्ने सबै गरी योजना तर्जुमा प्रक्रियाले चौधवटा चरण पार गर्नु पर्दथ्यो । एकीकृत समितिको बैठक सम्पन्न गरेर हामी जिल्ला परिषद्को बैठकमा पेस गर्नुपर्ने योजनाहरू माइन्युटमा लेख्न व्यस्त थियौं । ६ वटा विषयगत समितिका निर्णयहरूलाई एकीकृत समितिको एउटै माइन्युटमा सार्नुपर्ने कार्यभार थियो । कार्यालय प्रमुख (एलडिओ) बाहेक जिल्ला विकास समितिको कार्यालयमा हामी तीनजना अधिकृत थियौं । एक-एक दिन आलोपालो गरेर हामी तीन जना अधिकृतले माइन्युट लेखन कार्य गरिरहेका थियौं । फागुन ४ गते माइन्युट लेख्ने पालो मेरो थियो । शनिबारका दिन म एकाग्र भएर माइन्युट लेखिरहेको थिएँ । डेरामा म र सदरमुकाममा पढ्नका लागि आफूसँगै राखेको मेरो ७ वर्षीय छोरा मात्रै थियौं । मैले छोरालाई आफूसँगै राखेर विद्यालय पठाउने गरेको थिएँ । माइन्युट लेखिँरहदा रातिको ११.५५ बजेको पत्तै भएन । दिनभरि लेख्ने कार्य भएकोले म निकै थकित अवस्थामा थिएँ । छोरा भने दुई घण्टा पहिले नै निदाइसकेको थियो । अब सुत्नुपर्छ भन्ने मानसिकताले कलम बन्द गरेर माइन्युट दराजमा थन्क्याएर पिसाब गर्न कोठाबाहिर निस्किएँ । पिसाब गरेर कोठाभित्र प्रवेश गर्दा रातिको १२.०० बज्नै थालेको थियो । ढोकाको चुकुल लगाएर बत्तिको स्वीच थिच्नैलाग्दा एक्कासि घर नै थर्किने गरी ठुलो ड्याम्म आवाज आयो । आवाजसँगै बिजुलीको बत्ति पनि निभ्यो । मंगलसेन र साँफैबगरभरि एकैसाथ बत्ति निभेको रहेछ । भटटट…ड्याङ डुङ…… ऐया बा मरेँ… काका… मामा…. आदि इत्यादि आवाजले मंगलसेन बजार थर्कमान हुन्छ । भीमकाय आवाजले निदाएको छोरा ब्युझिसकेको थियो । एउटा बुवालाई आफूभन्दा आफ्नो सन्तानको धेरै माया हुँदोरहेछ भन्ने यो घटना एउटा दृष्टान्त बन्यो । बम, बारुद र बन्दूकको आवाजले म बसेको घर थर्किरहेको थियो । एउटा पोथी कुखुरीले आफ्नो चल्लालाई पखेटाले छोपे जसरी खाटमुनि घोप्टो परेर आफ्नो मुनि छोरालाई राख्न पुगेँछु। बम बारुदको आकाश थर्काउने आवाज सामना गर्न विवश थियौं, हामी । आवाज यति भयङ्कर थियो कि आजसम्म मैले त्यति ठुलो आवाज सुनेको छैन । आफ्नै अगाडि चट्याङ्ग खस्दा सामना गर्नुपर्ने आवाजभन्दा पनि कैयौं गुणा ठुलो थर्कमान आवाजले हामी आतङ्कित भइरहेका थियौं ।

 “बुवा हामी बाँचौला र ?”

छोराको मुखारबिन्दूबाट बारम्बार निस्किरहने निर्दोष आवाजलाई सान्त्वना दिन जबर्जस्त भनिरहेको हुन्छु-

“केही हुँदैन, नडराऊ, चिन्ता नगर !”

 “त्यसो भए हामी खाटमुनि किन लुक्ने त ?”

छोराको निर्दोष प्रश्नले निरुत्तर हुन बाध्य हुन्छु, म । तर पनि भन्न बाध्य हुन्छु-

“चुप लगेर बस ।”

मेरो डेरा जिल्ला प्रहरी कार्यालयदेखि करिब दुई सय मिटर जति टाढा थियो भने शाही नेपाली सेनाको ब्यारेकदेखि करिब तीन समय मिटरको दूरीमा हुँदो हो । बम बारुदको आवाज जिल्ला प्रहरी कार्यालय र सैनिक व्यारेकमै केन्द्रित थियो । रातभरि ‘ऐया मरेँ, हानहान ठोक, दुश्मनले घेरा तोड्दैछ ठोक ठोक’ आदि इत्यादि आवाजहरू र बम वारुदको ड्याङ्ग डुङ्गले मानसिक असन्तुलन भइसकेको थियो । आज जीवनको अन्तिम दिन रहेछ भन्ने करिब निष्कर्षमा पुगिसकेको थिएँ, म । कतिबे ला हामी बसेको घरमा बम पड्किएर इहलीला समाप्त हुन्छ प्रतीक्षा गरिरहेजस्तै अवस्था थियो । कति बेला माओवादी सेना घरभित्र पस्छन् र तातो गोली दागेर इहलीला सकिन्छ भन्ने त्रासले मानसपटल असन्तुलित थियो । पटक-पटकका आवाजहरूले आफू बसेको घरमै बम प्रहार भएजस्तो लाग्थ्यो । बमको ठुल्ठुलो आवाजसँगै माथिल्लो तल्लामा बस्ने मान्छेहरू बेहोसमा ऐया-ऐया भनेर कराएको आवाज बारम्बार सुनिन्थ्यो । बम, बारुदको थर्कमान आवाजसँगै रातका प्रहर छिचोलिँदै उज्यालो हुन्छ । अकल्पनीय त्रासदीमा रात बित्यो, बिहान भयो ।

बिहानको सात बजेसम्म घर बाहिर निस्किन सकिने अवस्था थिएन । घरभित्र हामी थियौं, बाहिर लडाकूहरू अनेक आवाजमा कराइरहेका थिए । केही समयपछि हेलिकप्टरको आवाज सुनियो । हेलिकप्टरले हामी बसेको घरलाई नै लक्षित गरे जसरी आकाशबाट आएको आवाजले घर थर्कमान हुन्थ्यो । मैले आकाशबाट हामी बसेको घरमा बम खसालिएको अनुमान गरेको थिएँ तर हाम्रो नजिकैबाट माओवादीका सेनाहरूले हेलिकप्टरलाई ताकेर गोली हान्दा निस्केको आवाजले हामी थर्कमान भइरहेका रहेछौं । बिस्तारै मान्छे र गोला बारुदको आवाज कम हुँदै गयो । जमिनमा बम, बारुदको आवाज सुस्ताए पनि आकाशबाट हेलिकप्टरले झनझन आतङ्कित बनाइरहेको थियो । भट्टट…ड्याङ्ग कैयौं प्रकारका आवाज सुनिन थालेका थिए । लौंन ! रातभरि बालबाल जोगिएको ज्यान अब हेलिकप्टरको आक्रमणमा परेर खरानी हुनु लेखेको रहेछ ! मनमा अनेक तरङ्ग तरङ्गित हुन्थे । बिहानको ८ बजेतिर मंगलसेन बजारभन्दा तल कारागारतिर नेपाली सेनाको हेलिकप्टर अवतरण भएको खबर सुनियो । आकाशबाट भइरहेको फाइरिङ्ग पनि कम हुँदै गयो । अब त बाँचिने भइयो भन्ने आशाले बाहिरको अवस्था बुझ्न छोरोलाई कोठैभित्र थुनेर म आफू बाहिर निस्किएँ । यति बेलासम्म झलमल्ल घाम लागिसकेको थियो । म बसेको घरदेखि ५० मिटरको दूरीमा मूल बाटो पर्दथ्यो । म मूल बाटोमा पुगेँ । म त्यहाँ पुगेको एक मिनेट अगाडि मात्रै त्यहीँबाट सरकारी सेनाको एक टुकडी गएको रहेछ । करिब एक सय मिटरको दूरी परबाट मैले शाही नेपाली सेनालाई देखिरहेको थिएँ । सरकारी सुरक्षाकर्मी भनेपछि म निर्धक्क थिएँ । आफु कर्मचारी भएकोले उनीहरूले हाम्रो सुरक्षाको जिम्मा लिन्छन् जस्तो लागेको थियो, मलाई । तर, त्यति बेला सरकारी सेना काल बनेर आएको रहेछ । मंगलसेनमा देखिएका मान्छे जति सबैलाई उसले माओवादी ठानेको रहेछ । जसलाई भेटियो त्यसैलाई गोली दागेर सिध्याउने धाउन्नमा रहेछ, नेपाली सेना । अगाडि भेटिएको मान्छेलाई सिध्याइहाल्ने अविवेकी चेतमा रहेछ, उ । मसँग जम्माभेट हुन एक मिनेटको समय फरक परेको नेपाली सेनाले जम्काभेट हुने सम्भावित ठाउँबाट अगाडि बढेको पाँच मिनेटभित्र तीन जना सर्वसधारणको ज्यान लिएको थियो । रामेछाप जिल्लाबाट कामको खोजीमा (उनीहरू काठ चिर्ने काम गर्थे) अछाम पुगेका तीन जना मजदुरलाई रामेछाप घर भएकै कारण माओवादी ठानेर सेनाले गोली हानी हत्या गरेको थियो । रातभरि बम बारुदबाट ज्यान जोगाएर सकुशल बाँचियो सोचिरहेका विचरा ती मजदुर बिहान सरकारी सैनिकबाट मारिएका थिए । एक मिनेटको फरकमा म सरकारी सेनाबाट जोगिएको थिएँ । बाह्य वातावरण बुझ्न म बजारको माथिल्लो स्थानमा गएँ, जहाँ ६।७ जना मैले चिनेका अन्य मान्छेहरू बसेर मंगलसेनको दृश्य नियालिरहेका थिए । आफ्नो कोठादेखि एक सय मिटरको दूरीसम्म पुग्दा बाटोमा रगताम्मे र बीभत्स अवस्थामा यत्रतत्र छरिएका शवहरू देखेर मेरो मानसिकता विक्षिप्त बनेको थियो । विक्षिप्त अवस्थामै माथि अग्लो थुम्कोमा पुगेर मैले चारैतिरको मंगलसेन नियालेँ । तत्कालीन अछामी राजाले बनाएको ऐतिहासिक राजदरबार भवन धुवाँको कालो मुस्लोले ढाकिएको थियो । जिविस, वन, शिक्षा, कृषि, टेलिकम, भेटनरी, सिडियो कार्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयहरू कालो मुस्लोले छोपिएका थिए । जता हेर्दा पनि कालो मुस्लो र आगो मात्रै देखिन्थ्यो । त्यति बेला मैले जापानको नाकासाकी र हिरोसिमालाई सम्झिएँ । सायद, नाकासाकी र हिरोसिमा यसरी नै जलेर खरानी भएका थिए होलान् । केही समयपछि प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान अधिकृत र उहाँको धर्मपत्नी मारिएको र करिब २०० जनाभन्दा बढी सङ्ख्यामा मान्छे खबर सुन्दा आफू जीवित छु भन्ने विश्वास गर्न नसकिने मानसिकता बनेछ । आगोको र धुवाँको मुस्लोले ढाकिएको अछाम दरबार देखेर म स्तब्ध मात्रै भएन आफूलाई धन्य पनि सम्झिएँ । किनकि त्यो दिनभन्दा पाँच महिनाअगाडि  मात्रै मैले जागिर सुरु गरेको हुँदा मा डेराको खोजीमा थिएँ । डेरा खोजी गर्ने क्रममा मलाई राष्ट्रिय अनुसन्धान अधिकृतले भन्नुभएको थियो-

“सिडिओ साप र हामी अछाम दरबारमै बस्छौं । एउटा कोठा खाली छ । मंगलसेनमा बाथरुम, शौचालय, बिजुली पानीको यतिको सुविधा भएको अर्को घर छैन । सुविधा पनि पाइने, भाडा पनि नपर्ने यतै बसौं सर बाहिर किन भाडा तिर्नुहुन्छ ?”

फागुन ४ गति रातिको माओवादी आक्रमणमा परेर त्यही भवन भग्नावेशमा परिणत भइरहेको थियो । त्यहाँ बस्ने प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान अधिकृत र उहाँको धर्मपत्नी निष्प्राण हुनुभएको खबर सुन्नु परिरहेको थियो । मलाई पनि जिल्लाकै ठूलो र सुविधासम्पन्न भवनमा सित्तैमा बस्न पाइन्छ भने किन नबसौँ नलागेको होइन तर अर्को मनले सोच्यो- माओवादी आक्रमणको निशानामा अछाम दरबार परेको हुनसक्छ । दुईचार पैसाको लोभ गरेर ज्यान जोखिममा राख्नुभन्दा निजी घरमा डेरा बनाउनु बुद्धिमानी हुने ठानेर म बजारदेखि अलि टाढा बसेको थिएँ । धन्न बुद्धि पुगेर आफु बाँचिरहेको आभास भयो, मलाई । आफूले पुनःजन्म पाएको अनुभूति भयो । दुईचार हजारमा लोभिएको भए २०५८ मै खरानी भइसक्ने रहेछु ।

समय बित्दै जाँदा करिब १० बजेतिर मंगलसेन बजार शाही नेपाली सेनाको पूर्णनियन्त्रणमा आइसकेको थियो । जिल्ला विकास समितिका सभापति कृष्णप्रसाद जैसीको कुशल समन्वयले मंगलसेनमा थप क्षति हुन पाएन । जिल्लामा जेनतेन बाँचेका डीएसपीसहित केही प्रहरीहरू अछाम दरबार अगाडि रहेको चौरमा बसेर ज्यानको याचना गरिरहेका थिए । मंगलसेनमा अवतरण भएको पहिलो हेलिकप्टरबाट शाही नेपाली सेना झर्ने बित्तिकै तिनै प्रहरीमाथि अन्धाधुन्ध गोली हान्न थाल्यो । सभापति कृष्णप्रसाद जैसीले आफूलाई परिचित गराएर मंगलसैनको वस्तुस्थिति सरकारी सेनालाई बुझाउन सफल हुनु भएपछि मात्रै स्थिति सहज भएको थियो । विपत्तिमा बोल्ने कला र वाक पटुताको आवश्यकता पर्दोरहेछ भन्ने उदाहरणको रूपमा मैले कृष्णप्रसाद जैसीलाई पाएँ । उहाँ मात्रै हुनु हुन्थेन भने मंगलसेनमा ठुलो नरसंहार हुने निश्चित थियो, मलाई यस्तै लाग्छ । यसपछि डीएसपी र प्रहरीहरूले आफ्नो परिचय दिएर दुवै हात ठाडो पारेपछि मात्रै सरकारी सेनाले गोली हान्न छोडेको थियो । यस घटनाबाट पनि बाहिरबाट आएको सेनामा मंगलसेन माओवादीको कब्जामा रहेको र आफ्नो नियन्त्रणमा लिन आँखाअगाडि देखिने जतिलाई गोली हान्ने मानसिकतामा रहेको बुझ्न सकिन्छ । त्यसपछि मात्रै हामी सर्वसाधारण बजारमा हिँडडुल गर्न सक्ने अवस्था भएको थियो  ।

मंगलसेन हेर्न नसकिने अवस्थामा थियो । यत्रतत्र छरिएका विक्षिप्त अवस्थाका शवहरू, जालझैं छियाँछियाँ परेका बिजुलीका पोलहरु, गोली र बमले भत्किएका घरका भित्ताहरू, कालो मुस्लोले छोपिएका भवनहरू, यत्रतत्र देखिएका बम र गोलीका खोकाहरू, आकाशमा उडिरहेका र अवतरण हुन लागिरहेका हेलिकप्टरहरू आदि इत्यादि बीभत्स दृश्यले फेरि पनि बाँच्छु भनेर विश्वास गर्न सकिने अवस्था थिएन । कति बेला कहाँनेर बेवारिसे बममा परेर सिद्धिने हो भन्ने त्रासमा हिँड्नु पर्ने अवस्था थियो । बिस्तारै मंगलसेनको अवस्था जानकारी हुन थाल्यो । सेनाको ब्यारेकमा रहेका ५८ जना सैनिकमध्ये ५५ जना सैनिक मारिएको खबर सुनियो । नेपाल प्रहरीतर्फ त्यतिकै सङ्ख्यामा हताहती भएको जानकारी पाइयो । अछामको साँफेबगर र मंगलसैनमा एकैपटक नेकपा माओवादीबाट आक्रमणमा गरिएको रहेछ । दुईवटै स्थानमा नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारण गरी एक सय साठी जना सरकारी पक्षको ज्यान गएको तथ्याङ्क पुष्टि भयो । विद्रोही नेकपा माओवादीतर्फ पनि त्यतिकै सङ्ख्यामा हताहती भएको हुनसक्ने अनुमान थियो । सदरमुकाम मंगलसैनमा मात्रै दुवै पक्षका गरी करिब २०० भन्दा बढी शव भएको अनुमान थियो । जीवनको पहिलोपटक म लाशको थुप्रो अगाडि थिएँ । धुवाँको कालो मुस्लो, निष्प्राण मानव शरीरको थुप्रो, प्वाल परेका बिजुलीका पोल र घरका भित्राहरू, जति हेर्यो रगतका टाटाहरू मात्रै देखिने, कल्पनामा नसोचेको र व्याख्या गर्न नसकिने बीभत्स दृश्यको साक्षी बनेको थिएँ, म । मैले किताबमा पढेको रुवाण्डा, इथोपिया, सुडान र गाँजा क्षेत्रका दृश्यहरू आफ्नै आँखाअगाडि भोगिरहेको थिएँ ।

समयले नेटो काट्दै गयो । सरकारी कर्मचारीहरू मंगलसेन कसरी छोड्ने भन्ने धाउन्नमा थिए । हामी केही कर्मचारीहरू नेपाली सेनासँग मिलेर यत्रतत्र छरिएका शवहरूलाई मंगलसेन टुँडिखेलमा एकीकृत गर्न थाल्यौ । फागुन ५ गते बेलुकी अबेरसम्म सम्पूर्ण शवहरू एकीकृत गर्ने कार्य भयो । यति धेरै मानव मृत शरीर मैले जीवनमा पहिलो पटक साक्षात्कार गरिरहेको थिएँ । फागुन ६ गतेदेखि शव सनाखत हुन थाल्यो । सनाखतपछि मृतकका आफन्तकहाँ शव पुर्याउने कार्य हुन थाल्यो । धेरैजसो शवहरू सेनाको हेलिकप्टरबाट धनगढी, नेपालगञ्ज र दिपायल ओसार्ने काम भइरहेको थियो । सरकारी कर्मचारीहरू मंगलसैन छोड्न आतुर थिए । उनीहरूलाई हेलिकप्टरभित्र छिर्न पाउँदा सायद जीवितलोकमा पुगेजस्तो आभास हुन्थ्यो होला । त्यसैले लाशसँगै कोचिएर कर्मचारीहरू हेलिकप्टर चढिरहेका थिए । अछामलाई विपत्ति पर्दा केन्द्र प्रशासित कर्मचारीहरू कुलेलम ठोकिरहेका बेला हामी भने बम बारुदको धुँवाभित्र निसास्सिएर लाशको रगतले लत्पदिँदै थियौँ । उनीहरू घर पुगेर आफन्तसँग पुनर्जीवनको माया साटिरहँदा हामी बाँच्ने आशा त्याग गरेर लाशको रगतले डुबेको मंगलसेनलाई पखालेर सरसफाइमा तल्लिन थियौं ।

करिब एक हप्तापछि मंगलसेन आर्मी, प्रहरी र एक जना शाखा अधिकृतस्तरका सिडिओबाहेक सरकारी कर्मचारीविहीन भयो । त्यसपछि एक वर्षसम्म मंगलसेन मृत सहरजस्तै देखिन्थ्यो । लामो समयसम्म अछाममा कोही पनि सरकारी कर्मचारी जान मान्दैन थिए । सम्पूर्ण कार्यालयहरू लामो समयसम्म निमित्त प्रमुखबाट सञ्चालन भइरहे । मंगलसेन घटनापछि लगातार पाँच जना शाखा अधिकृतले अछामको सिडिओको रूपमा काम गरेको तथ्याङ्क छ । यो समयमा जिल्ला विकास समितिका कर्मचारीहरूलाई राज्यले गहन् जिम्मेवारी दिएको थियो । केन्द्रबाट खटाइएका कर्मचारी अछाम जान नमान्ने भएपछि स्थानीय निकायका कर्मचारीलाई एलडिओको जिम्मेवारी दिइएको थियो । नागरिकता सिफारिस लगायतका कार्यहरू पनि स्थानीय निकायका कर्मचारीहरूको जिम्मा दिइएको थियो । द्वन्द्वमा विकास निर्माणका कार्यहरू सुस्ताए पनि जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेहरूको घुइँचो लाग्ने गर्थ्यो । स्थानीय निकायको पदावधि २०५९ मा सकिएकोले देश जनप्रतिनिधिविहीन अवस्थामा थियो । यस्तो अवस्थामा नागरिकता सिफारिस गर्ने विकल्प हामी स्थानीय निकायका कर्मचारी मात्रै थियौं । लाग्छ, द्वन्द्वकालमा करिब २५ हजारभन्दा बढी अछामीहरूको नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिसमा मैले हस्ताक्षर गरेँ होला । तर अवस्था सहज भएपछि राज्यले हाम्रो योगदानलाई बिर्सियो । आज पनि शासकहरूले केन्द्र र स्थानीय तहको भूमिका बुझ्न सकेका छैनन् । त्यसैले त केन्द्र प्रशासित कर्मचारीहरूलाई दुई तह बढुवा गरेर स्थानीय तहमा समायोजन गर्दा हामीलाई जिल्लाबाट जस्ताको तस्तै पालिकातिर लखेटियो ।    

समयले आज पच्चिसौं वसन्तको पालुवा फेरिसकेको छ । द्वन्द्वकालमा यी चारवटा घटनाहरूको अलावा अछाममा कैयौं घटनाहरू घटेका छन् । २०५६ सालमै नेकपा माओवादीले अछामको विनायकमा नेपाल बैंक लिमिटेड कब्जा गरेको थिए । त्यहाँ रहेको इलाका प्रहरी  कार्यालयका इन्चार्जलाई नियन्त्रणमा लिएर केही समयपछि छोडिएको थियो । २०६० सालतिर विनायकमै माओवादीले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रमलाई लक्षित गरी सरकारी सेनाले गरेको हवाई आक्रमणमा थुप्रै जनाको हताहती भएको थियो । २०५७ सालको माघी पर्वको दिन तत्कालीन ढाँकु गाविसको डुङगाला भन्ने ठाउँमा दङ्गा प्रहरीले गरेको आक्रमणमा परेर पाँच जना सर्वसाधारणहरूले क्यान गुमाएका थिए । तर मैले मेरो नजिकबाट देखेको, स्वयं आफैले साक्षात्कार गरेका घटनाहरू मात्रै यहाँ उल्लेख गरेको हुँ ।

 कहालीलाग्दा ती दिन र घटनाहरूले समय-समयमा मेरो मानसपटलका पाना खल्बल्याइदिन्छ । सम्झिँदा शरीरका रौं ठाडा हुन्छन् । बेला-बेला मानव विवेकशून्य ती दिन, मान्छेको मान्छे नै काल बनेको त्यो अतीतले मलाई विक्षिप्त बनाइरहन्छ । द्वन्द्वकालमा कैयौं घटनाहरू साक्षत्कार गरियो । तर यी चारवटा घटनाहरू मेरो जीवनको नजिकबाट गुज्रिए । घटना एकमा हताहती हुने ६ जना निर्दोष विद्यार्थीहरू मेरै चिनजानका साथी थिए । हामी एउटै संस्थाका (क्याम्पस) परिवार थियौं । उनीहरूको हत्या गर्ने दङ्गा प्रहरीबाट म बालबाल छलिएर बाँचेको थिएँ । यदि उनीहरूले मलाई देखेको मात्रै भए मेरो मृत्यु निश्चित थियो । दङ्गा प्रहरी अवतारमा आएको काललाई देखेर म ढुङ्गामा ओत लागेर बाँचेको थिएँ । घटना दुईमा मारिएका नवराज भाटसँग घटना भएको केही दिनअघि मात्रै मेरो भेट भएको थियो । हामीबिच थुप्रै कुराकानी भएका थिए । घटना तीनमा मारिएका उदयबहादुर शाही र उदयराम जैसीको जीवनको पछिल्लो तीन महिनादेखि म नजिक थिएँ । उदयबहादुर शाही नेकपा माओवादीबाट आफू असुरक्षित महसुस गरेर ज्यान सुरक्षाका लागि काठमाडौँ पुगेका थिए । काठमाडौँ बस्न सकिने आधार नभएको कारण जस्तो हुन्छ त्यस्तै टर्छ भन्ने बाध्यतामा उनी गाउँ फर्किएका थिए । उदयराम जैसी माओवादीबाट आफूलाई कुनै समस्या नहुने कुरामा ढुक्क थिए । माओवादी समस्या बल्झिनुमा उनी आफ्नै नेताहरूलाई दोषी देख्थे । तर उनीमाथि माओवादी कार्यकर्ताहरूले आक्रमण गरेको तीन चार दिनअघि मात्रै उनले मसँग भनेका थिए-

“माओवादीले कतै मारेर फालिदिने हुन् कि भर छैन ।”घटना चारको वर्णन शब्दमा सम्भव छैन । मंगलसेनमा माओवादीले आक्रमण गरेको एक हप्ताअघि मात्रै घटनामा मारिएका प्रमुख जिल्ला अधिकारीबाट मैले नेपाली नागरिकताको प्रतिलिपि बनाएको थिएँ, जुन आज पनि सुरक्षित छ । उहाँले मसँग अछाममा माओवादी गतिविधिको विषयमा चासो राख्नुभएको थियो । मंगलसेनमा मारिएका दर्जनौं प्रहरी र कर्मचारीहरूसँग मेरो चिनजान र सामिप्यता थियो । यी चारवटा घटनाले मेरो जीवनमा सर्वाधिक प्रभाव पारेका छन् । कहालीलाग्दा ती स्मरण उफ !

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ९ : ३१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *