१६ बैशाख २०८१, आइतबार | Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईश्वर छ वा छैन ? यो बहसको विषय हो वा होइन ?



अनादिकालदेखि मानिस ईश्वरीय सत्तामाथि विश्वास राख्दै आएको छ । वास्तवमा ईश्वर के हो ? ईश्वर छ कि छैन ? भन्ने प्रश्न अनादिकालदेखि बहसको विषय बनेको छ । तर, हालसम्म यो नसुल्झिएको प्रश्न हो । यसको गणितीय उत्तर पाउन असम्भवप्रायः देखिन्छ । १७ औं शताब्दीदेखि मानवले विज्ञान प्रविधिको विकास फड्को मार्दै आइरहेको छ । विज्ञान प्रविधिको जड दर्शन हो । दार्शनिक आधारबिना वैज्ञानिक मूल्य मान्यताहरू फस्टाउन सक्दैनन् । त्यसैले ईश्वरीय अस्तित्व बुझ्न हामी दार्शनिक धरातलमा पुग्नैपर्ने हुन्छ ।
ईश्वर छ भन्ने मत
यो धर्तिमा दार्शनिक चिन्तन देखा पर्नु अघिदेखि नै ईश्वरीय अस्तित्वमाथि विचार विमर्श हुन थालेको देखिन्छ । पाश्चात्य जगतमा थेल (६२४-५३४ ई. पू) को दार्शनिक चिन्तन देखा पर्नुभन्दाअघि पूरै युरोप ईश्वरीय शक्तिमाथि विश्वास गर्दथ्यो । यता भारतीय उपमहाद्वीपमा आर्यहरूको आगमन भएपछि वैदिक दार्शनिक चिन्तनको विकास भएको देखिन्छ । वैदिक दार्शनिक चिन्तनको विकास नै ईश्वरीय शक्ति आत्मसात् गरेर भएको मानिन्छ । संसारमा लिपीको आविष्कार हुनुभन्दा पहिलेदेखि नै भारतीय उपमहाद्वीपमा वैदिक दर्शनको अस्तित्व देखा परेको र वैदिक दर्शनको मूल ग्रन्थ वेदलाई संसारको सबैभन्दा जेठो लिपीबद्ध ग्रन्थ मानिएको छ । वैदिककालभन्दा अघि गर्मी, जाडो, बाढी, पहिरो, भूकम्प, रोगव्याधि,चट्याङ्ग, हुरीबतास, उज्यालो, अध्याँरो आदिजस्ता प्राकृतिक घटनाहरूको कारणमा ईश्वरीय तथा दैवी शक्तिमाथि विश्वास गरिन्थ्यो । उता पाश्चात्य जगतले पनि प्राकृतिक सन्तुलन र असन्तुलनका घटनामा ईश्वरीय तथा दैवी शक्तिलाई नै कारण मान्दथ्यो । थेलको आगमनपछि युरोप दार्शनिक चिन्तनमा प्रवेश गरी बिस्तारै रुढीवाद र अन्धविश्वासबाट तर्क, चिन्तन र मन्थनबाट ज्ञानको खोजीमा अगाडि बढेको देखिन्छ भने पूर्वमा वैदिककालेखि नै दार्शनिक चिन्तन विकसित भएको देखिन्छ । तर, वैदिककाल (ई.पू. १५००-१०००) अघि पनि भारतीय उपमहाद्वीपमा ईश्वरीय शक्तिमाथि विश्वास गरिन्थ्यो भने वैदिककाल सुरु भएपछि पनि ईश्वररीय शक्तिमाथि विश्वास रहेको पाइन्छ ।
प्राकृतिक घटनाको कारणमा दैवी शक्तिमाथि अगाध विश्वास भएकै कारण आर्यहरू हावा, पानीङ आगो, सूर्य, चन्द्र, वन, जङ्गल, पर्वतलाई श्रर्द्धाले देवी देवताको रुपमा स्तुति गर्न थाले । वेदको जन्म नै देवी देवतालाई स्तुति, प्रार्थना र भक्तिभाव गर्दागर्दै भएको मानिन्छ । कतिपय वैदिक दार्शनिक तथा विद्वानहरू वेदको रचना समेत ईश्वरीय शक्तिबाट भएको विश्वास गर्दछन् । वेद रचित ग्रन्थ होइन, सङ्कलित हो । आफ्नो सुख र शान्तिका लागि त्यो बेलाका आर्यहरूले निर्माण गरेका स्तुति, प्रार्थना, भक्ति, पुजनविधि, संस्कार विधान र कर्महरू पछिल्लो पुस्तालाई श्रवण गराउँने र प्रत्येक पछिल्लो पुस्ताले मौखिक तथा श्रृति परम्पराबाट आफ्ना सन्ततिलाई हस्तान्तरण गराउँदै लिने परम्परा निकै लामो समयसम्म चलेको देखिन्छ । वैदिक वाङ्मय यसरी नै कैयौं शताब्दीसम्म गुरु शिष्य तथा गुरुकुल श्रुतिपरम्परामा चलेको पाइन्छ भने प्राकृतिक असन्तुलनका घटनाहरू अज्ञात तथा अदृश्य शक्तिले घटाइरहेको र तिनै अज्ञात घटना घटाउने अदृश्य शक्तिको शरणमा आफूलाई समर्पित गरी स्तुति, भक्तिभाव र प्रार्थना गर्ने क्रममा वेदको सिर्जना भएको देखिन्छ । धेरैजसो विद्वानहरू वेदको सिर्जना हुनमा समेत ईश्वरीय शक्तिको हात रहेको विश्वास गर्दछन् । संसारकै सबैभन्दा पाचीन ग्रन्थको निर्माण र दार्शनिक पद्धतिको अभ्युदय केवल श्रृति परम्पराले मात्रै सम्भव नहुने र अदृश्य शक्तिविना पृथ्वीकै विराट दर्शनको उदभव असम्भव हुने तर्कमा विश्वास गर्ने विद्वान धेरै छन् । यो तर्कमा विश्वास गर्ने विद्वानहरूका अनुसार स्वयम् ईश्वरले विभिन्न ऋषिहरूको रुपमा जन्म लिएर वेदको रचना भएको हो । वेदलाई अपौरूषेयत्व मान्ने पङ्तिमा समेत ठुलो मत छ । यो मत राख्नेहरूले वेदलाई कुनै व्यक्ति, समूह र सम्प्रदायको रचना नभई ईश्वरको रचना तथा देववाणी मान्दछन् । भौतिकवादी र पाश्चात्य विद्वानहरू भने वेदलाई अपौरुषेयत्व तथा ईश्वरीय नभई मत्स्य, वशिष्ठ, अगत्य, भृगु, अङ्गिरा, कश्यप, विश्वामित्र आदि ऋषिहरूको वाक्य मान्दछन् ।
पूर्वीय दर्शनको मूल ग्रन्थ वेद हो । वेदले ब्रह्मलाई सत्य र परमतत्त्व मान्दछ । तर, वैदिक वाङ्मय संहिता, आरण्यक, संहिता, ब्राह्मण र उपनिषदमा ब्रह्मलाई विभिन्न अर्थमा व्याख्या गरिएको छ । ‘ब्रह्म’ को अर्थ कतै स्तुति कतै प्रार्थना त कतै पवित्र ज्ञान र वेदलाई समेत बुझाउने अर्थमा प्रयोग भएको पाइन्छ । ब्रह्म बाहेक सबै मीथ्वेदान्त दर्शनलाई वेदको सारंश मानिन्छ । उपनिषदमा ब्रह्मको अर्थ जीवात्मा र सम्पूर्ण ब्रहमाण्डको प्रतीक स्वरुप अन्तिम शाश्वत सत्यको रुपमा अद्वैत आत्माको अर्थमा प्रयोग भएको छ (डा. भक्त राई २०७४ : ४२६) । रामचन्द्र भट्टका अनुसार (२०७०ः४९) वस्तुतः ब्रह्म शब्दलाई एक सूत्रमा परिभाषित गर्दा ब्रह्म त्यो तत्त्व हो जो विश्वको अणु अणुमा व्याप्त छ तथा जो सर्वव्यापक सत्ता, निराकार, निर्विकार, अविनाशी, अनादि, रैतन्य र आनन्दस्वरुप छ । उपनिषदमा बह्मलाई ईश्वरको रूपमा गर्दै उल्लेख गर्दै जगतको स्रष्टा, सञ्चालक, परमपुरुष, परम ईश आदिको रुपमा स्वीकार गरिएको छ ।
यसरी हिन्दूहरूको मूल ग्रन्थ वेद र मूल दार्शनिक ग्रन्थ उपनिषदमा ईश्वरीय शक्ति र अस्तित्वलाई उच्च महत्त्व दिएको पाइन्छ । उपनिषदको सार भनेकै ब्रह्म नित्य छ, सत्य छ र ब्रह्मबाहेक सम्पूर्ण मिथ्या हो । विश्वको कुल जनसङ्ख्याको १५% जनसङ्ख्या हिन्दू धर्मावलम्बी रहेको पाइन्छ । पृथ्वीको एक अर्बभन्दा बढी जनसङ्ख्या वेदान्त दर्शनको अनुयायी रहेको, वेदान्त दर्शनले ‘ब्रह्म’ परम सत्य मानिरहेको र उपनिषदमा ‘ब्रह्म’ लाई ईश्वरको रुपमा आत्मसात् गरिएको अवस्थामा ईश्वरीय अस्तित्वलाई नकार्न सकिँदैन ।
मोक्ष प्राप्तिका लागि भौतिक तथा अभौतिक पदार्थको सम्यक ज्ञानको आवश्यक मान्ने न्याय दर्शनले पनि अन्ततः ईश्वरीय सत्तालाई स्वीकार गरेको देखिन्छ । यो दर्शनले संसारको निर्माता ईश्वरलाई मान्दछ । पूर्वीय जगतमा ई.पू. सातौं शताब्दीतिर प्रखर भौतिकवादी कित्तामा देखा परेको साङ्ख्य दर्शन पनि बिस्तारै ईश्वरीय सत्तालाई स्वीकार गर्न पुगेर आध्यात्मिकवादी दर्शनको कित्तामा उभिएको पाइन्छ । योग दर्शनले त जीवात्मा र परमात्मा अर्थात मन र ईश्वरबिचको संयोगबाट मोक्ष प्राप्त हुनेमा विश्वास गर्छ । वैशेषिक दर्शन परमाणुवादमा विश्वास गर्दछ । परमाणुवाद र पदार्थ निरुपण नै वैशेषिक दर्शनको उद्देश्य हो । पदार्थ विश्लेषणमा विशेष महत्त्व दिने भएकोले नै यसलाई वैशेषिक दर्शन भनिएको कतिपयको मत छ । भौतिक जगतको सृष्टि परमाणुबाट भएको वैशेषिक दर्शनको वैज्ञानिक मान्यता नै आधुनिक विज्ञानको विकास श्रीगणेश मान्न सकिन्छ । तर परमाणुको सञ्चालन ईश्वरीय परमात्माबाट मात्रै सम्भव हुने मान्यता वैशेषिक दर्शनको निष्कर्ष मान्छ । मीमांसा दर्शनको दार्शनिक निष्कर्ष वेदलाई अन्तिम सत्य मान्नु हो । सुरुमा निरीश्वरवादी भए पनि अन्ततः ईश्वरीय सत्तालाई मीमांसा दर्शनले स्वीकार गर्दछ । आधुनिक विज्ञान प्रविधिलाई समेत दिशा निर्देश गरेको पूर्वीय षड्दर्शनले ईश्वरीय सत्तालाई स्वीकार गर्नुको तार्किक निष्कर्षहरूलाई नजरअन्दाज गर्न सकिँदैन ।

ईश्वर नमान्ने मत
पूर्वीय नास्तिकवादी दर्शनहरूले ईश्वरीय अस्तित्वलाई स्वीकार गर्दैनन् । नेपाली माटोमा आजभन्दा २६०० वर्ष पहिले जन्मिएको बौद्ध दर्शनले ईश्वरमाथि विश्वास गर्दैन । यस दर्शनका प्रवर्तक सिद्धार्थ गौतमका अनुसार संसारका सबै चिज अनित्य, क्षणिक र परिवर्तनशील छन् । त्यसैले आत्मा पनि अनित्य छ । पूर्वीय नास्तिक दर्शन चार्वाकले ईश्वरीय सत्तालाई ठाडै अस्वीकार गर्छ । ईश्वर, आत्मा, कर्मफल, पाप, पूण्य, स्वर्ग, नर्क, पूर्वजन्म, पुनर्जन्म केहीमा पनि चार्वाक दर्शनले विश्वास गर्दैन । बौद्ध र चार्वाक दर्शनजस्तै पूर्वीय जैन दर्शनले पनि ईश्वरमा विश्वास गर्दैन ।
पाश्चात्य जगतमा थेल्स पहिलो दार्शनिक मानिन्छन् । उनले जगतको सृष्टिमा ईश्वररीय शक्ति र सत्तालाई स्वीकार गरेनन् तर पानीलाई परमसत्य माने । अनक्सिमन्दरले परमसत्य हामीले देख्ने गरेको स्थुल दृश्यभन्दा निकै सुक्ष्म रहेको जसलाई उनले ‘अनन्त’ र ‘अनिश्चित’ नाम दिए । ‘अनन्त’ र ‘अनिश्चित’ तत्त्वबाट आगो, हावा, पानी र माटो बनेको तर यसमा सृष्टिकर्ता र विधाताको हात नरहेको विचार दिए । अनक्सिमन्दर पछिका दार्शनिक अनक्सिमन थेल्सको विचारमा फर्किए र पानीलाई जगतसत्य माने । तर, उनले पनि ईश्वरीय सत्ता र अस्तित्व स्वीकार गरेनन् ।
पाइथागोरसले गणितलाई सत्य माने, ईश्वरीय सत्ता र शक्तिलाई अस्वीकार गरे । पाइथागोरसपछि पूर्वीय दार्शनिक गौतम बुद्धले जस्तै पाश्चात्य दार्शनिक हेराक्लिटसले संसारलाई अनित्य माने । हरेक चिज क्षणिक छ । जस्तो हामीले बगिरहेको पानीमा खुट्टा हाल्दा प्रत्येक पछिल्लो पटक त्यही पानी हुँदैन । उनले पनि ईश्वरलाई सत्य मानेनन् । डेमोक्रिटिज र ल्युसिप्पसजस्ता पाश्चात्य दार्शनिकले पनि ईश्वरीय सत्ता स्वीकार गरेनन्, बरू सुक्ष्मवाद तथा परमाणुलाई सत्य माने ।
दार्शनिक सुकरात ईश्वरीय अस्तित्वको बहसमा लागेनन्, तर्कसिद्ध कुराको पछि लागे । यद्यपि सुकरातले विष सेवन गरेर मृत्युवरण गर्दा समेत उनले आफ्ना शिष्यहरूलाई आफू नयाँ यात्राको सुरुवात गर्न लागेकोले यात्रामार्गमा अवरोध उत्पन्न नहोस् भनेर ईश्वरसँग प्रार्थना गर्न लागेको बताएका थिए । सुकरातका शिष्य प्लेटो आफ्ना गुरु सुकरातकै विचारमा लीन भए । उनी प्रत्यक्ष प्राप्त हुने ज्ञानभन्दा तर्कबितर्क र बुद्धिबाट स्पष्ट ज्ञानलाई सत्य मान्थे । पाइथागोरसको विचारबाट प्रभावित प्लेटोले राजनीतिशास्त्रमा पनि कलम चलाए र आदर्श राज्यको कल्पना गरे । तर, उनको तर्कबितर्क र बुद्धि विमर्शमा कतै पनि ईश्वरीय सत्ताको व्याख्या सुनिँदैन । प्लेटोका शिष्य एरिस्टोटलले पनि कतै ईश्वरीय सत्ताको चर्चा गरेको पाइँदैन ।
रोमन साम्राज्यको पतनपछि अर्थात् सन् ४७६ देखि सन् १४५३ सम्मको करिब एक हजार वर्षको समयलाई युरोपमा अन्धकारको युग मानिन्छ । यो अवधिमा युरोपमा दर्शनको ठाउँ चर्च र बाइबलले लियो । तर्कको स्थान धार्मिक आस्था र विश्वासले ओगट्यो । यो प्रसङ्ग किन प्रसङ्गिक छ भने ईश्वरीय आस्था र विश्वासको एकहजार लामो समयलाई युरोपको अन्धकार युग भनिन्छ ।
युरोपको इतिहासमा पन्ध्रौं शताब्दीमा पुनर्जागरण युग भनिन्छ । यो जागरण मध्ययुगअघिको दार्शनिक चेतना र एकहजार वर्ष लामो अन्धविश्वासप्रतिको पश्चातापपूर्ण सचेतनाले बालेको दियो थियो । बेलायती विद्वान फ्रान्सिस बेकन र फ्रान्सेली विद्वान रेने डेस्कार्टसजस्ता व्यक्तित्वले युरोपमा निभ्न लागेको दर्शनरूपी दियोमा तेल हालेर उज्यालो फैलाए । अहँ, यस्ता प्रकाण्ड विद्वानहरू ईश्वरीय सत्ता र शक्तिको आस्थामा एकछिन पनि अल्मलिएनन् ।
बेनिडिक्टस स्पिनोजा, गटफ्राइड विल्हेल्म लाइबनिज, जोन लक, जर्ज बार्कले, जिन ज्याक रुसो, इमानुयल कान्ट, डेभिड ह्युम, सोपेनआवर, चार्ल्स डार्बिन, फ्रेडरिक नित्से, भोल्तेयर, कार्ल मार्क्स, हर्बर्ट स्पेन्सर आदि विद्वानहरूले पाश्चात्य दर्शनमा महत्त्वपूर्ण योगदान दिए । अपवाद बाहेक कुनै पनि विद्नान ईश्वरीय सत्ताको बहसमा समय खेर फालेनन् । फ्रेडरिक नित्से ईश्वरीय सत्ताको यति आलोचक थिए कि ‘ईश्वर मरिसक्यो’ भन्थे । आधुनिक विज्ञान प्रविधिको विकास यिनै विद्वान तथा दार्शनिकहरूको विचारको उपज हो ।
तटस्थ तर्क्र सारांश
विज्ञान प्रविधिको विकासको आधार दर्शन हो । यदि पृथ्वीका दार्शनिक विचारहरू देखा पर्दैन थिए र ईश्वरीय भक्तिपुजामा मात्रै मानव लिप्त भएको भए यो संसारको अवस्था कस्तो हुन्थ्यो होला ? आज मानवले उपभोग गरिरहेको भौतिक सुख सुविधा र विज्ञान प्रविधिको चमत्कार के ईश्वरीय भक्तिले मात्रै सम्भव हुन्थ्यो होला ? यदि यो ब्रह्माण्ड ईश्वरीय सृष्टि हो भने उनले आफैले गरेको सृष्टिको किन रक्षा गर्न सक्दैनन ? किन प्रथम र दोस्रो विश्वयुद्धजस्ता प्रलयकारी घटना ईश्वरीय सृष्टिमा घट्छन् ? बाढी पहिरो, भूकम्प आदिजस्ता प्राकृतिक घटनाहरूले निहत्या प्राणीको ज्यान किन लिन्छ ? के ईश्वर निर्दयी छन् ? यदि निर्दयी छन् भने उनले यो सृष्टिको रचना किन गरे र आफ्नै रचनामाथि कसरी निर्मम बन्छन् ? आदि प्रश्नहरू निरुत्तरित छन् ।
ईश्वरीय सत्ता छ वा छैन, यो बहसको विषय हो । संसारमा कैयौं रहस्यमय घटनाहरू घटिरहेका हुन्छन् । कैयौं सामाजिक घटनाहरू संयोग मान्न सकिएला तर यो चराचर जगतको पर्यायवरणीय प्रणाली (Eco System) के विज्ञान प्रविधिले सम्भव होला ? गाईले भासु किन खाँदैन ? बाघले घाँस किन खाँदैन ? सानो कमिलाहरू माटोको दुलोभित्र यति ठुला प्राकृतिक प्रकोप सहेर बस्न कसरी सकेका होलान् ? भँगेरालाई गुँड बनाउने कला कसरी प्राप्त भयो होला ? अरिङ्गालले आफ्नो बासस्थान बनाउने सीप कहाँ सिक्यो होला ? आदि कैयौं प्रश्नहरूले ईश्वरीय सत्तालाई रहस्यमय बनाउछन् ।
आज ध्रर्तिमा विकसित दार्शनिक चिन्तनहरूले कैयौं प्रश्नको जवाफ दिएको छ । ज्ञान अपार छ, कैयौं दार्शनिक चिन्तन जन्मिन बाँकी छन् । मानवले आजसम्म कल्पना नगरेका नदेखेका प्रविधिहरूको विकास हुन बाँकी छ । ईश्वरीय सत्ताका कैयौं प्रश्नहरूको जवाफ बाँकी छ । पूर्वीय दर्शनको प्रमुख ग्रन्थको निर्माण श्रृति परम्पराबाट भएको मानिन्छ । के ईश्वरीय शक्तिबिना श्रृति परम्पराबाटै पृथ्वीको सबैभन्दा विराट ग्रन्थको रचना सम्भव भयो होला ? आज हामी बिसौं वर्ष विश्वविद्यालयमा अध्ययन गरेर पनि दार्शनिक विचार दिन सकिरहेका छैनौं । पौरत्स्य वाङ्ममय रचयिता ऋषिमुनिहरूले अन्धकार युगमा त्यति ठुला वाङ्मयको रचना कसरी गरे होलान् ? औपचारिक शिक्षा नलिएका सिद्धार्थ गौतमलाई बुद्धत्व कसरी प्राप्त भयो होला ? भाषा र लिपीको विकास कसरी सम्भव भयो होला ? कैयौं पाश्चात्य र पौरत्स्य दार्शनिकहरूले कठोर तपस्याबाट ज्ञान आर्जन गरेका देखिन्छन्, के ईश्वरीय देनबिना कठोर तपस्याले मात्रै ज्ञानार्जन सम्भव हुन्छ ? त्यसैले कैयौं प्रमाणित उत्तरका लागि ईश्वरीय सत्ता र अस्तित्वको बहस हुन निरन्तर चलिरहन आवश्यक छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १ : ४१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *