नेपाल जातीय, धार्मिक, सांस्कृतिक विविधताले भरिएको मुलुक हो । जातीय, धार्मिक, सांस्कृतिक रूपमा विवाहको चलन पनि फरक–फरक छ । कतिपय जाति र धर्ममा अझैपछि विवाह छिट्टै हुँदै आएको छ । कतिपय समाजमा त छोरीको चाँडै विवाह प्रतिष्ठाको विषय नै हुन्छ ।
परिवारको इज्जत, प्रतिष्ठाका लागि पनि छिटो विवाह गराइन्छ । छोरीको विवाह ढिलो हुँदा नाक काटिन्छ भन्ने मान्यता हाम्रो समाजमा व्याप्त छ । कानुनी रूपमा विवाह गर्ने उमेर २० वर्ष हो । मुलुकी अपराध संहितामा २० वर्ष नपुगी विवाह गरेमा दण्ड सजायको व्यवस्था छ ।
नेपालको संविधानले उमेर नपुगी विवाह गर्न निषेध गरेको छ । तर, कानुन बन्दैमा यो स्वाट्टै घटिहाल्छ भन्ने पनि छैन । त्यसको कार्यान्वयनको पाटो पनि हेर्नुपर्छ । कार्यान्वयन एकदमै फितलो छ । कतिपय समाजमा अझै विवाहको उमेरका बारेमा जानकारी नै नभएको हुन सक्छ ।
पछिल्लो समय समाज खुला भएको छ । सूचना प्रविधिको विकाससँगै फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको प्रयोग पनि व्यापक छ । हाम्रा छोराछोरीलाई छिटो विवाह गर्दा पर्ने नकारात्मक असरको बारेमा सचेतना छैन । कानुनको पनि जानकारी छैन । बहकिएर सानै उमेरमा भागी विवाह गर्छन् । उनीहरूलाई सानैमा विवाह गर्दा के असर पर्छ, कति दुःख पाइन्छ, स्वास्थ्यमा के हानि हुन्छ भन्ने ज्ञान छैन र हामीले पनि त्यो सिकाउन सकेका छैनौं । कतिपय समाजमा अभिभावकले विवाह गरेर पठाइदिने चलन त छँदैछ । तर उमेर नपुग्दै आफंै भागी विवाह गर्ने क्रम भने बढ्दो छ ।
राज्यले नीति निर्माण त गर्छ तर त्यसको सही कार्यान्वयनमा जिम्मेवार नहुँदा बालविवाह भइरहेका छन् । छिटो विवाह गर्दा हुने कानुनीदेखि सामाजिक पाटोसम्मका विषय तल्लो तहसम्म पुर्याउनु पर्छ । यस विषयमा सबैलाई सचेत बनाउनु पर्छ ।
(सेढाईं, जनसंख्याविद् एवं पद्मकन्या क्याम्पसकी उपप्राध्यापक हुन् ।)
प्रतिक्रिया