२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार सङ्क्षेपमा बौद्ध दर्शन



बौद्ध दर्शनका संस्थापक सिद्धार्थ गौतम हुन् । सिद्धार्थ गौतम शाक्यवंशीय राजा शुद्धोधनक जेष्ठपुत्रको रूपमा नेपालको कपिलवस्तुमा ई.पू. ५६३ मा जन्मिएको मानिन्छन् । यद्यपि उनको जन्म मितिको विषयमा फरक धारणा पाइन्छन् । उनको आमाको नाम मायादेवी थियो ।

मायादेवी आफ्नो माइती देवदह जाने क्रममा लुन्बिनीको घना जङ्गलमा सिद्धार्थ गौतमको जन्म भएको थियो । सिद्धार्थ गौतम जन्मिएको सात दिनमा उनकी आमाको स्वार्गारोहण भएकोले उनी मातृसुखबाट बञ्चित रहनु पर्यो । तर राजा शुद्धोधनले उनलाई मातृवात्सल्यको कमी हुन नदिन सुख सुविधाको कुनै कमी हुन दिएका थिएनन् । ज्योतिषीले सिद्धार्थ गौतममा राजा र सन्यासी बन्ने बराबर गुण रहेको भविष्यवाणी गरेका थिए  आफ्नो एक मात्रै छोरा कतै सन्यासी बन्ने त होइन भन्ने चिन्ताले राजा शुद्धोधनले सबै प्रकारका भौतिक सुविधाले सम्पन्न गराएका थिए । राजदरबारमै इतिहास, दर्शनशास्त्र, राजनीति, नीतिशास्त्र र अस्त्र-शस्त्र आदि सबै विषयमा पारङ्गत गराएका थिए । 

सिद्धार्थ गौतमलाई वैराग्यता नहोस् भनेर बुवा शुद्धोधनले बाह्य दुनियाँबाट उनलाई टाढा राख्न भग्मग्दुर कोशिश गरेका थिए । तर राजदरबारको वैभव र भौतिक तथा सुविधाले राजकुमार सिद्धार्थ गौतमको स्वाभावलाई शान्त पार्न सकेन । राजकुमार सिद्धार्थको  स्वाभाव अनौंठो थियो । उनका लागि भौतिक सुविधा र राजदरबारको वातावरण सुखका साधन थिएनन्, बरू दुःखका कारक थिए । जसै उनी राजदरबारभित्र आफ्नो मर्यादा र सुविधाका साधन देख्थे, त्यसमा दुःख नै दुःखको भवचक्र देख्दथे । राजदरबारका सुसारे, सुसारनी, माली र सुरक्षाकर्मीलाई देखेर सिद्धार्थ गौतम यो दुनियाँमा धेरै मानिस दुःखी छन् भन्ने निष्कर्ष निकाल्थे ।

राजा शुद्धोधनले राजकुमार सिद्धार्थ गौतमको समयमै देवदहकी कुमारी यशोधरासँग विवाह गराइदिएका थिए । राजकुमार सिद्धार्थको एकाग्र तथा फरक स्वाभाव र ज्योतिषिको भविष्यवाणी सम्झेर राजा शुद्धोधनले समयमै उनको विवाह गराइदिएका थिए । राजकुमार सिद्धार्थको एकाग्र स्वाभाव सुनेर यशोधराका पिता राजा दण्डपाणीलाई उनमा राजनीतिक क्षमतामाथि शङ्का थियो । सिद्धार्थ गौतमले राजकाजसम्बन्धी सबै विधामा पराक्रम देखाएर कुरा सुनाउने र शङ्का गर्नेहरूको मुखमा बुझो लगाई दिएका थिए । विवाहपछि पारिवारिक तथा सांसारिक परिवेशमा सिद्धार्थ गौतम घुममिल हुने राजा शुद्धोधनलाई विश्वास थियो । तर, सिद्धार्थ गौतम पारिवारिक मोह र राजसी जीवनशैलीले सन्तुष्ट हुने व्यक्तित्व थिएनन् । उनमा ज्ञानको अनुराग थियो । त्यसैले उनी दरबारको घेराबाट बाहिर निस्किन चाहन्थे । त्यसैले एक दिन सिद्धार्थ गौतम एउटा छन्दुक लिएर दरबारबाट बाहिर निस्किए । दरबारबाट बाहिर निस्किएको पहिलो दिन सिद्धार्थले बुढ्यौलीले कयप्रो परेर सकी नसकी हिँड्न लागेको एक जना बृद्ध देखे । भनिन्छ, दरबारको राजसी सुखमा हुर्किएका सिद्धार्थलाई ती बृद्ध मान्छे हुन् भन्नेसमेत ज्ञान थिएन । त्यसैले उनले आफ्ना छन्दुकलाई त्यो कुन जीव हो भनि प्रश्न गरे । छन्दुकले उनी मान्छे भएको र हामी सबै एक दिन त्यसरी नै बूढो हुनुपर्ने बताए । सबै मान्छेको यस्तो अवस्था हुन्छ भन्ने थाह पाउँदा सिद्धार्थ गौतम छक्क परे । एवम् रीतले अर्को दिन घुम्न जाँदा सिद्धार्थ गौतमको एक जना रोगी मान्छेमाथि दृष्टिपात भयो । अर्को दिन उनले मान्छेको मृत शरीर देखे । यी दृष्टान्तहरूबाट सिद्धार्थ गौतमले मान्छेले बालकबाट बिस्तारै बूढो, रोगी भएर एक दिन मर्नैपर्ने रहेछ भन्ने कुराको ज्ञान प्राप्त गरे ।

सिद्धार्थ गौतमले मान्छेको यो अवस्थाबाट संसारमा कुनै पनि चिज स्थायी नभएर क्षणिक हुँदारहेछन् भन्ने निष्कर्ष निकाले । यो कुराले उनी उद्धेलित र दुःखी बने । अर्को पटक सिद्धार्थ बाहिर निस्किँदा सांसारिक मोहबाट बाहिरिएका एक जना भिक्षुलाई देखे । भिक्षुलाई देखेपछि सिद्धार्थमा पनि आफू भिक्षु बन्ने विचार उत्पन्न भयो । केही समयपछि सिद्धार्थ गौतमले पुत्रलाभ प्राप्त गरे । पुत्रलाभको अवसरमा दरबारमा भव्य सुखियाली र भोजको आयोजना गरियो । तर, सिद्धार्थ गौतमलाई पुत्रलाभको घटनाले कुनै खुसी दिन सकेन । उनी मान्छे मात्रको दुःखको कारण जान्न चिन्तामग्न थिए । उनी पुत्रलाभबाट झन निराश बने । त्यसैले सिद्धार्थ गौतमले आफ्नो पुत्रको नाम राहुल राखे । राहुलको अर्थ बन्धन हुन्छ ।

सिद्धार्थ गौतमले सांसारिक भौतिक तथा क्षणिक दुनियाँलाई छोडेर ज्ञानको खोजीमा हिँड्ने निश्चय गरिसकेका थिए । त्यसैले एक दिन मध्यरातमा उन निदाइरहेकी श्रीमती र नाबालक छोरालाई छोडेर ज्ञानको खोजीमा दरबार छोडेर बाहिरी दुनियाँमा निस्किए । यद्यपि सिद्धार्थ गौतमले दरबार छोड्नुमा दुई थरी मत छन् । एक थरी मतअनुसार दरबारको राजकीय सुख-सयल, श्रीमती र छोरा, सांसारिक क्षणिक भौतिक सुविधाबाट मुक्त भएर सिद्धार्थ गौतम ज्ञानको खोजीमा मध्यरातमा बाहिरी दुनियाँमा प्रस्थान गरेका हुन् । दोस्रो थरी मतअनुसार सिद्धार्थ गौतम आफूखुशी राजकीय सुख-सयल, श्रीमती र छोरा, सांसारिक क्षणिक भौतिक सुविधा छोडेको नभई उनलाई देशनिकाला गरिएको हो । संस्कृति तथा दर्शनका अध्येता शीतल गिरीका अनुसार ‘तत्कालीन शाक्य गणराज्यमा अत्यन्तै कडा नियम थिए । कपिलवस्तु र कोलीय राज्यको सीमानामा रोहिणी नदी बहन्थ्यो । उक्त नदीको पानीबाट दुवै राज्यमा सिंचाइको व्यवस्था गरिएको थियो । पानीको प्रयोग सम्बन्धी विवादमा यी दुवै राज्यबीच वैमनष्यता थियो । विवाद उत्कर्षमा पुगेपछि कपिलवस्तु राज्यले युद्धद्वारा पानीको विवाद सधैंका लागि समाप्त गर्ने बाटो अङ्गीकार गर्यो । तर युद्ध गर्ने नीति सर्वसहमत पारित हुन सकेन । युद्ध गर्ने र नगर्ने निर्णयमा पुग्न मतदान हुने भयो । सिद्धार्थ गौतमले युद्ध खराब हुन्छ र युद्ध गर्नु हुँदैन भन्ने मतको नेतृत्व गरे तर उनको विचार अल्पमतमा पर्यो । आफ्नो विचार अल्पमतमा परे पनि सिद्धार्थ गौतमले युद्ध खराब चिज हो र यो गर्नै हुँदैन भन्ने मतसहित बहुमतलाई अस्वीकार गरिदिए । त्यसबेला सङ्घको निर्णय अस्वीकार गर्नुको अर्थ मृत्युदण्ड पाउनु हुन्थ्यो । तर त्यो बेला सिद्धार्थलाई मृत्युदण्ड दिँदा सङ्घबाट हस्तक्षेप हुने खतरा देखियो । अन्ततः सङ्घले सिद्धार्थको मृत्युदण्ड सजायलाई देशनिकालामा परिणत गरायो ।  देशनिकाला निर्णय सिद्धार्थ गौतमले सहर्ष स्वीकार गरेर उक्त राज्यबाट उनी सदाका लागि बिदा भएर गए ।

 सिद्धार्थ गौतम राजदरबार छोडेर निस्किँदा उनी उनन्तिस वर्षीय लक्का जवान थिए । कपिलवस्तुबाट निकै टाढा पुगेपछि उनले आफूले लगाएका बहुमूल्य गर-गहनाहरू फुकालेर आफ्नो साथ गएका सारथिलाई दिए, केही गरीबहरूलाई बाँडे । आफ्नो लामो कपाल खौरिए र आफ्ना महङ्गा वस्त्र गरीबलाई दिएर आफुले गरीब किसानका वस्त्र लगाए । त्यसपछि लामो समयसम्म साधारण वेशभूषामा भिक्षुझैं हिँडन थाले । सिद्धार्थ गौतमले धेरै ठाउँमा घुमफिर गरेर तपस्या गरे । उनले आफ्नो महायात्रामा धेरै जना गुरु, सन्त र तपस्वीहरू भेट्टाए । यसै क्रममा उनी पाँचजना तपस्वीहरूसँग जोडिए । ती तपस्वीहरू अत्यन्तै कम खाएर कडा साधनामा लिप्त हुन्थे । सिद्धार्थ गौतमले पनि उनीहरूको सिको गर्दै जाडो, गर्मी, भोक, तिर्खा केही नभनेर अत्यन्तै कडा ध्यान साधनमा तल्लीन भए ।

कडा ध्यानमग्न हुँदा सिद्धार्थ गौतमको शरीर अत्यन्तै कमजोर भइसकेको थियो । सिद्धार्थ गौतम जङ्गलको एउटा वृक्षको फेदमा बसेर तपस्या गरिरहेका थिए । बैशाख पूर्णिमाको दिन एक जना महिला हातमा खानेकुरा लिएर सिद्धार्थ गौतमले तपस्या गरिरहेको वृक्षमा प्रकट भइन् । वृक्षको फेदमुनि पूर्वदिशातिर फर्किएर धयानमग्न दुब्लो कदको मान्छे आकृति देखेर ती महिला झसङ्ग भइन् । केही समयपछि उनले वृक्ष देवता प्रकट भएको सम्झिन् र आफूले ल्याएको खानेकुरा सिद्धार्थको अगाडि राखिदिइन् । सिद्धार्थ गौतमले आँखा खोलेर मुसुमुसु हाँस्दै ती महिलालाई धन्यवाद दिए र उक्त भोजन कपाकप खान थाले । सिद्धार्थ गौतमले भोजन ग्रहण गरेको देखेर अन्य पाँचजना तपस्वीहरू सिद्धार्थलाई पथभ्रष्ट भएको ठानेर निराश भए । उनीहरू सिद्धार्थ गौतमलाई छोडेर अन्तै लागे । सिद्धार्थ गौतमको अगाडि खानेकुरा राखिदिने महिला कोही नभएर सुजाता थिइन् । सुजाता सिद्धार्थ गौतमले तपस्या गरेको जङ्गल नजिकैको गाउँमा बस्ने गोठालोको श्रीमती थिइन् । आफ्नो पहिलो सन्तान भएको खुसीयालीमा बैशाख पूर्णिमाको दिनमा मीठो भोजन तयार गरेर उनी रुखलाई चढाउन नजिकैको जङ्गल गएकी थिइन् ।

सिद्धार्थ गौतमले अतिवाद, आत्मदमन र विलासिताको जीवन त्यागेर मध्यममार्ग ‘सम्यक् पथ’ ग्रहण गरेका थिए । जिउ सुकाएर अति कष्टप्रद साधनाको पक्षमा सिद्धार्थ गौतम देखिँदैनन्, नत उनमा विलासिताको जीवनप्रति आशक्ति थियो । गौतम बुद्ध वेद, वर्णाश्रम व्यवस्था, ईश्वर आदिका विरोधी थिए । आचार दर्शनमा उनले न अति सुख सयल र न अतिकष्ट दुवै अतिवादका विरुद्ध मध्यमार्ग अवलम्बन् गरेका थिए । सिद्धार्थ गौतम गया नजिकैको गाउँमा एउटा वृक्षको मुनि बसेर ध्यान गर्न थाले । सोही स्थानमा उनले ज्ञान प्राप्त गरे । उक्त वृक्षलाई बोधीवृक्ष भनिन थालियो । सोही बोधिवृक्षमा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे । त्यसपछि सिद्धार्थलाई गौतम बुद्धको रूपमा चिनिन थालियो । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि सर्वप्रथम उनी आफूलाई छोडेर गएका पाँचजना भिक्षुलाई खोज्दै बनारस आए । सिद्धार्थ गौतम ध्यानमग्न भएको बेला सुजाता नामकी महिले अगाडि राखिदिएको भोजन उनले ग्रहण गरेका थिए । यो देखेर उनीसँगै रहेका पाँचजना भिक्षुहरू सिद्धार्थ गौतमलाई पतित भएको ठानी उनलाई छोडेर हिँडेका थिए । सिद्धार्थ गौतमले आफूमाथि भिक्षुहरूले गरेको शङ्का निवारण गर्ने उद्देश्यले आफूलाई पतित ठान्ने उनै पाँचजना भिक्षुहरूलाई आफ्नो पहिलो उपदेश दिए । बुद्धले भने-“भिक्षु हो ! यी दुई अतिहरूको (चरम-पथहरूऐ ……सेवन गर्नु हुँदैन ।- (१)……कामसुखमा लिप्त हुनु,…..(२) शरीरपीडामा लाग्नु । यी दुई अतिहरूलाई छाडेर मैले मध्यम मार्गको पत्तो लगाएको छु, त्यो आँखा दिने, ज्ञान हटाउने….शान्ति (दिने) छ । …..त्यो (मध्यम मार्ग ) यही आर्य अष्टाङ्गिक मार्ग हो, जस्तो-ठीक दृष्टि (दर्शन), ठीक सङ्कल्प, ठीक वचन, ठीक जीविका, ठीक प्रयत्न, ठीक स्मृति, ठीक समाधि ।…..”

“सिद्धार्थले २९ वर्षको उमेर (५३४ ई.पू.) मा घर छाडे । ६ वर्षसम्म योग- तपस्या गरेपछि ध्यान र चिन्तनद्वारा ३६ वर्षको हुँदा (५२८ ई.पू. मा) बोधि अर्थात् ज्ञान प्राप्त गरेर बुद्ध भए । त्यसपछि ४५ वर्षसम्म आफ्नो धर्म (दर्शन) को उपदेश दिएर ८० वर्षको भएपछि ४८३ ई.पू. मा कुसीनारामा निर्वाण प्राप्त गरे ।“

 बौद्ध दर्शनको प्रमुख ग्रन्थ त्रिपिटक हो, जुन तीनवटा पिटकको योग हो । यी तीनवटा पिटकमा सूत्रपिटक, विनयपिटक र अभिधर्मपिटक हुन् । सूत्रपिटक आनन्दको सहयोगमा, विनयपिटक उपालीको सहयोगमा र अभिधर्मपिटक महाकश्यपको सहयोगमा सङ्कलन भएको बताइन्छ । सूत्रपिटकमा बौद्ध दर्शनका सूत्रहरू समेटिएका छन् । विनयपिटक आचारशास्त्रको संग्रह हो भने अभिधर्मपिटक दर्शनशास्त्रको सङ्ग्रह हो ।

बौद्ध दर्शनलाई निरीश्वरवादी तथा अनात्मवादी मानिन्छ । यसले संसारमा सबै वस्तु अनित्य र क्षणिक मान्दछ । प्राचीन आर्यवत् क्षेत्रमा छाएको वैदिक सत्ताको भाववादी चिन्तनविरुद्ध एउटा सशक्त दार्शनिक धरातलमा उदाएको बौद्ध दर्शनले तत्कालीन वैदिक समाजमा उथलपुथल ल्याइदिएको देखिन्छ । त्यति बेला वैदिककालीन समाजमा यज्ञ, कर्मकाण्ड, जातिप्रथा, आत्मा, परमात्मा, स्वर्ग, नर्क, पाप र पूण्यजस्ता अमूर्त चिन्तनले जरा गाडेको थियो । अमूर्त भाववादी चिन्तनमा समाजका टाठाबाठा र सीमित बुद्धिजिवी वर्गको दबदबा रहन्थ्यो । अधिकांश सर्वसाधारणहरू यस्ता अमूर्त कर्मकाण्डी व्यवहारप्रति अनभिज्ञ रहन्थे । वैदिक सत्ताका मूल्य मान्यताविरुद्ध उभिनु यो निकै चुनौतिपूर्ण समय थियो । तर सिद्धार्थ गौतमले वैदिक सत्ताका कर्मकाण्डी, पुरोहित्याइँ तथा वर्णश्रम व्यवस्थाविरूद्ध एउटा छुट्टै दार्शन पल्लवित गराए । जुन वैदिक दर्शनको अमूर्त कर्णकाण्डी भाववादी चिन्तनमाथि सशक्त प्रहार थियो । ‘ब्रह्म सत्य जगत मिथ्या’ मान्ने वैदिक दर्शनको दबदबाविरुद्ध बौद्ध दर्शनले संसार अनित्य छ भन्ने निरीश्वरवादी चिन्तन स्थापित गराएर आर्यवत् क्षेत्रमा ठुलो दार्शनिक हलचल ल्याएको देखिन्छ ।

बौद्ध दर्शनको मुल सार निरीश्वरवाद र अनात्मवाद हो । यसले संसारमा सबै वस्तुलाई क्षणिक तथा अनित्य मान्दछ । यस दर्शनका प्रवर्तक दार्शनिक गौतम बुद्धले आफ्नो जीवनभरि कुनै पनि ग्रन्थको रचना गरेनन् । उनले प्रवचनको रूपमा ज्ञानको प्रचारप्रसार गरे । बुद्धका उपदेशहरु लामो समयसम्म मौखिक परम्पराका रुपमा नै रहे । बुद्धको मृत्युपछि उनका शिष्यहरूले ई.पू. २४७ तिर लगभग (सम्राट अशोकको पालामा) सप्तपर्णी नामक गुफामा ठुलो सभाको आयोजना गरे जसलाई तेस्रो बौद्धसभा भनिन्छ । उक्त सभामा बुद्धका उपदेशहरूलाई उनका शिष्यहरूले प्रश्न तथा सवाल जवाफलाई एकमुष्ट बनाएर तीनवटा क्षेत्रमा वर्गीकरण गरेर तीनवटा पिटक (ग्रन्थ) तयार गरे, जसलाई त्रिपिटक भनिन्छ । बुद्धका तीनजना शिष्यहरू उपाली, आनन्द र महाकश्यपको प्रयासमा त्रिपिटक सङ्कलन गर्ने कार्य सम्पन्न गरियो । उनका उपदेशहरूलाई संयोजन गर्ने कार्य यिनै तीन जना शिष्यले गरे । बुद्धका उपदेशहरूलाई  विनय, सूत्त र अभिधम्म गरी तीनवटा पिटकमा (पेटारा) वर्गीकरण गरियो । यिनै तीववटा पिटकको समग्र रूपलाई त्रिपिटक भनिन्छ । आचरण र अनुशासनसम्बन्धी विषयहरू विनय पिटकमा उल्लेख गरिएको छ भने सूत्त पिटकमा बुद्धका उपदेश र उनका प्रारम्भिक शिष्यहरूका विचार प्रस्तुत गरिएको छ । अभिधम्म पिटकमा दार्शनिक विचार समेटिएका छन् । सुत्तपिटकलाई बुद्ध शिष्य आनन्दको सहयोगमा, विनयपिटकलाई उपालीको सहयोगमा र अभिधम्भपिटकलाई कश्यपको प्रयासमा सङ्ग्रहित गर्ने कार्य भएको थियो ।

सिद्धार्थ गौतमले संसार दुःखमय देखे । त्यसैले दुःखको रहस्य बुझ्न र दुःख निवारण गर्ने उपाय पत्ता लगाउन उनले सांसारिक सुखको बाटो त्याग गरी सन्यासी तथा तपस्वी बने । सिद्धार्थ गौतमले प्राप्त गरेको ज्ञानलाई चारवटा आर्यसत्य भनिन्छ, जुन यसप्रकार छः

संसारमा दुःख छ

बौद्ध दर्शनको प्रथम आर्यसत्य संसार दुःखमय छ । दुःख खोज्न बाहिर कतै जान पर्दैन, मान्छेको जन्मसँगै दुःखको जन्म भएको हुन्छ । जन्म लिनु, मृत्यु हुनु, बूढो हुनु, बिरामी हुनु, गलत मान्छेसँग सम्पर्क हुनु, असल मान्छे गुमाउनु, आफूले चाहेको प्राप्त गर्न नसक्नु र पञ्चस्कन्ध नै दुःखका कारण हुन् । पञ्चस्कन्ध भन्नाले विज्ञान स्कन्ध, वेदना स्कन्ध,  संज्ञा स्कन्ध, संस्कार स्कन्ध, रुप स्कन्ध हुन् । मन, इन्द्रिय र बुद्धिद्वारा जानकारी प्राप्त गर्नु विज्ञान स्कन्ध हो । ज्ञानेन्द्रिय, कर्मेन्द्रियद्वारा दुःख, सुख, हर्ष, विस्मात् आदिको जानकारी प्राप्त हुनुलाई वेदना स्कन्ध भनिन्छ । वस्तुको नामसम्बन्धी जानकारी हुनुलाई संज्ञा स्कन्ध भनिन्छ । विज्ञान, वेदना र संज्ञाद्वारा जानकारी प्राप्त हुनु संस्कार स्कन्ध  र परमाणुका रुपको जानकारी हुनु रूप स्कन्ध भनिन्छ । यिनै पाँच स्कन्धको चक्रवत् परिभ्रमणबाट मानिसमा दुःख पैदा भइरहन्छ । मानिसमा पैदा हुने काम, क्रोध, लोभ, मोह, शोक, राग, द्वेष सबै य दुःखमया छन्, त्यसैले संसार दुःखमय छ ।

दुःखको कारण छ

बौद्ध दर्शनको दोस्रो आर्यसत्यले दुःखको कारण छ भन्छ । सिद्धार्थ गौतमका अनुसार विना कारण संसारमा कुनै पनि कार्य हुँदैन । कुनै कार्य हुनका लागि कारण हुन्छ । कुनै पनि कार्यसँग कारण विद्यमान रहन्छ । एउटा कारणले अर्को कार्यको जन्म हुन्छ । त्यसैले संसारमा दुःख हुनुको अर्थ दुःखको कारण अवश्य हुन्छ भन्ने हो ।  म, तेरो मेरो र आफू भन्ने अज्ञानता र अहङ्कार नै दुःखको प्रमुख कारण हो । म, तेरो मेरो, आफू र आफ्नो मान्ने अज्ञानताले माया, मोह, रिस, राग, द्वेष, क्लेश र ईर्ष्यालाई जन्म दिन्छ र यिनै दुःखको कारक बन्दछन् । बुद्धले अज्ञानताको शृङ्खलाबद्धरूपले अन्य दुःखका कारण जन्मिन्छन् भनेका छन् । दुःखको यो शृङ्खौंलालाई भवचक्र भनिन्छ । भवचक्र निरन्तर चलिरहन्छ र यो नै दुःखको मूल कारण हो । जस्तै-अविद्याबाट संस्कार, संस्कारद्वारा विज्ञान, विज्ञानले नामरूप, नामरूपले षडायतन, षडायतनले स्पर्श, स्पर्शले वेदना, वेदनाले तृष्णा, तृष्णाले उपादान, उपादानले भव, भवले जाति, जातिले जरामरण, जरामरणले पुनः अविद्यालाई जन्म दिन्छ । वेदुराम भुषालका अनुसार अज्ञानतालाई अविद्या भनिन्छ । अनुभवबाट मनमा पर्ने छापलाई संस्कार र चेतनालाई विज्ञान भनिन्छ । नामरूप भनेको भौतिक पदार्थ र चेतनाको संयोगबाट बनेको प्राणी शरीर हो । पाँच इन्द्रिय र मनलाई षडायतन भनिन्छ । इन्द्रिय र विषय वासनाको संयोग स्पर्श हो भने वेदना अनुभूति हो । तृष्णाको अर्थ इच्छा  हो । आशक्ति पैदा हुनु उपादान हो । जन्म लिने इच्छा प्रकट हुनु भव हो भने जन्म लिनु जाति हो ।

एउटा कारण तथा घटनाबाट अर्को घटना पैदा हुन्छ भन्ने बौद्ध दर्शनको सिद्धान्तलाई प्रत्यीत्य समुत्पाद भनिन्छ । यस सिद्धान्तले प्रत्येक वस्तुको अस्तित्वका लागि कुनै न कुनै कारण विद्यमान रहेको हुन्छ भन्छ । यदि अमुक कारण नभएमा कुनै अमुक घटना घट्न सक्दैन । त्यसैले संसार दुःखमय हुनुको अर्थ दुःखको कारण भएर हो । गौतम बुद्धले दुःखको कारणमा अज्ञानता तथा अविद्यालाई मूल जरो मानेका छन् । यसैबाट एक गरी अर्को दुःखको कारण शृङ्खौलाबद्धरूपले उत्पत्ति हुन्छ । बुद्धले तृष्णालाई पनि दुःखको प्रमुख कारण मानेका छन् । काम तृष्णा, भव तृष्णा र विभव तृष्णा गरेर तीन प्रकारका तृष्णा दुःखका प्रमुख कारण हुन् । काम तृष्णाले पञ्चकाम गुणमा भुलेर बस्ने इच्छा गर्दछ । पञ्चकाम भन्नाले पञ्चकर्मेन्द्रियले गर्ने काम हुन् । भव तृष्णाले बारम्बार जन्म लिएर सुखसँग बस्ने इच्छा प्रकट गर्दछ । विभव तृष्णाले पुनर्जन्म नलिने इच्छा प्रकट गर्दछ ।

दुःखको निवारण छ

दुःख हटाउन सकिन्छ अर्थात् दुःखको निरोध हुन्छ भन्ने मान्नु बौद्ध दर्शनको तेस्रो आर्यसत्य हो । सिद्धार्थ गौतमका अनुसार जसरी संसार दुःखमय छ, त्यसरी नै दुःखका कारण छन् । जसरी दुःखका कारणहरू छन्, त्यसरी नै दुःख निरोधका उपायहरू पनि विद्यमान छन् । संसारमा अस्तित्वमा रहेका सम्पूर्ण वस्तुहरू अस्थायी हुन् । कुनै पनि अस्तित्त्व शाश्वत र नित्य छैन । संसारमा कुनै पनि वस्तु चीरस्थायी हुँदैन, सबै क्षणिक हुन् । हामीले प्राप्त गर्ने ज्ञान र चेतना पनि क्षणिक छन् । हरेक वस्तुको सत्ताको विषयमा ज्ञान प्राप्त गर्नु नै दुःखको निरोध हो, यही नै तेस्रो आर्यसत्य हो ।

दुःखको निरोधको उपाय अज्ञानताबाट मुक्त हुनु हो । अज्ञानता विद्यमान रहँदासम्म दुःखको भवचक्र चलिरहन्छ । जब हामी अज्ञानता तथा अविद्याबाट मुक्त हुन्छौं अनि मात्रै दुःखको निरोध तथा निवारण हुन्छ ।

दुःख हटाउने उपाय छन्

संसार दुःखमय हुनु बौद्ध दर्शनको पहिलो आर्यसत्य हो । पहिलो आर्यसत्यबाट नै दोस्रो आर्यसत्यको जन्म हुन्छ । संसार दुःखमय भएकोले नै दुःखका कारण छन्, जुन दोस्रो आर्यसत्य हो । दोस्रो आर्यसत्यले नै तेस्रो आर्यसत्यको जन्म हुन्छ । दुःखका कारणहरू भएकोले नै दुःखको निवारण हुन्छ, जुन तेस्रो आर्यसत्य हो । दुःखको निवारण हुने भएकोले नै दुःख निवारण गर्ने उपाय छन्, जुन चौथौं आर्यसत्य हो ।

गौतम बुद्धले दुःख निवारण गर्न आठवटा उपाय निर्क्यौल गरेका छन्, जसलाई अष्टाड्गिकमार्ग उपाय भनिन्छ । ती देहायअनुसार छन्-

-सम्यक दृष्टि

-सम्यक् सङ्कल्प

-सम्यक् वचन

-सम्यक् कर्म

-सम्यक् आजीविका

-सम्यक् व्यायाम

-सम्यक। स्मृति

-सम्यक् समाधि

सम्यक् दृष्टिले ठीक दृष्टिकोणलाई सङ्केत गर्दछ । कुनै पनि वस्तुप्रतिको हेराइ सही ठीक हुनुपर्दछ । हेराइ नै गलत भयो भने दुःखका तमाम कारणहरू समाहित हुन जान्छन् । त्यसैले दृष्टि सद् विश्वासपूर्ण हुनु पर्दछ । सही अठोट आत्मसात् गर्नु नै सम्यक् सङ्कल्प हो । यसअन्तर्गत निष्क्रमण (Renunciation), अत्यापद (Goodwill) र अहिंसा (Non-harming) पर्दछन् । झुटो नबोल्नु, अनावश्यक कुरा नगर्नु, चुक्ली र कडा वचन परित्याग गर्नु सम्यक् तथा सही वचन हो । मानिसले सही वचनलाई मात्रै ग्रहण गर्ने र गलत वचन परित्याग गर्ने हो भने दुःखबाट मुक्ति पाउन सकिन्छ । सम्यक् वचनले मात्रै दुःखबाट पूर्ण मुक्ति सम्भव हुँदैन । मान्छेले सम्यक् तथा सही कर्म मात्रै गर्नुपर्दछ । सही कर्मअन्तर्गत प्राणी हिंसा, चोरी  र व्याभिचारबाट अलग रहनु पर्दछन् । सम्यक् कर्मको साथै मान्छेले सम्यक् तथा सही आजीविका अर्थात् जीवनशैली अङ्गीकार गर्नुपर्दछ । यसअन्तर्गत चोखो शुद्ध जीविका पर्दछ । चोखो जीविकाभित्र हातहरियार, मासु, मानिस, मदिरा र विष पाँचवटा कुराबाट अलग रहने कार्य पर्दछन् । सम्यक् व्यायाम तथा सही प्रयास दुःखबाट मुक्ति पाउने अष्टाड्गिकमार्गको छैटौं उपाय हो । कुविचार उत्पन्न नगर्ने, अकुशल चेतनालाई नष्ट पार्ने प्रयास, कुशल चेतनाको विकास गर्ने प्रयास, भएका कुशल चेतनालाई विकास गर्ने प्रयास सम्यक् व्यायामभित्र पर्दछन् । सही चिन्तनले सम्यक् स्मृतिलाई सङ्केत गर्दछ । सम्यक् समाधिअन्तर्गत चालिस वटा ध्यानका विषयहरू पर्दछन् । सम्यक् तथा सही एकाग्रता अष्टाड्गिकमार्गको आठौं तथा अन्तिम उपाय हो ।

बौद्ध दर्शनअनुसार उल्लिखित अष्टाड्गिकमार्ग नै दुःख निवारण गर्ने उपाय हुन् । दुःखबाट मुक्ति प्राप्त गर्न हामीले यी आठवटा अर्थात् अष्टाड्गिकमार्गी उपाय अवलम्बन् गर्नु पर्दछ ।

बुद्ध दर्शनलेदुःख निवारण गर्ने अष्टाड्गिकमार्गलाई निम्न तीनवटा समूहमा विभाजन गरेको छः यी ८ वटा उपायलाई ज्ञान, शील र समाधि गरेर बुद्धले तीन भागमा विभाजन गरेका छन् । जस्तो-

-ज्ञान (दृष्टि) – सम्यक् दृष्टि, सम्यक् सङ्कल्प

-शील (आचार)- सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका

-समाधि (योग-ध्यान)- सम्यक् व्यायम, सम्यक् स्मृति, सम्यक् समाधि

डा. बेदुराम भुषालका अनुसार बुद्धको समयमा दक्षिण एसियाको पूर्वोत्तर क्षेत्रमा कबिला गणतन्त्र भत्किरहेका थिए  र तिनीहरूको भग्नावशेषमा सामन्ति राज्यहरूको निर्माण भइरहेको थियो । मगध र कोशल राज्य त्यही कालमै जन्मेका थिए । ती सामन्ती राज्यहरूले आफ्नो आसपासका सबै क्षेत्रबाट कबिलातन्त्र समाप्त पार्न चाहन्थे । त्यसैले उनीहरूले शक्य गणतन्त्रलगायतका क्षेत्रमा हमला समेत गरेका थिए । बुद्ध स्वयम् एक कबिला गणतन्त्रमा जन्मिएका थिए र उनलाई कबिला गणतन्त्रप्रति गर्व थियो । उनी प्राचीन सामुदायिक जीवन प्रणालीलाई बचाइराख्न चाहन्थे । त्यसैले उनले भिक्षु सङ्घको धारणा विकास गरेका थिए ।

बुद्ध दर्शनमा ६ वटा प्रमुख सिद्धान्त छन् । यसलाई यहाँ सविस्तार गर्न खोजिएको छ ।

बुद्ध दर्शनका ६ वटा प्रमुख सिद्धान्त छन्-

-अनित्यवाद तथा क्षणिकवाद

बौद्ध दर्शनले  संसारमा कुनै पनि वस्तु चीरस्थायी छैन र सबै कुरा नित्य हुन्छ भन्ने मान्यता राख्दछ । यो दर्शनले संसारका सम्पूर्ण वस्तुहरूहरूलाई स्कन्ध, आयतन र धातु गरी तीन समूहमा विभाजन गरेको छ । संसारका सबै वस्तुहरू यी तीनवटा समुहभित्र पर्दछन् र ती सबै क्षणिक तथा अनित्य हुन्छन् भन्ने मान्यता बौद्ध दर्शनको रहेको छ ।

स्कन्धअन्तर्गत रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान पर्दछन् । रूपमा चारवटा महाभूत पृथ्वी, जल, अग्नि र वायु पर्दछन् । सुख र दुःखको अनुभवलाई वेदना भनिन्छ । संज्ञा भनेको नाम तथा अचेतन अवस्था हो । मनमा उत्पन्न छाप तथा वासनालाई संस्कार भनिन्छ । विज्ञान चेतन अवस्था तथा मनको विभिन्न रूप हो । यी सबै स्कन्धहरू क्षणिक र अनित्य छन् ।

आयतन बाह्रवटा छन् । ती ६ वटा इन्द्रिय (आँखा, कान, नाक, जिभ्रो, छाला र मन)  र ६ वटा नै इन्द्रियका विषयहरू जस्तै- रूप, स्पर्श, गन्ध, रस, शब्द र धर्म हुन् । धर्मभित्र वेदना, संज्ञा र संस्कार पर्दछन् ।

त्यसै गरी अठार धातुअन्तर्गत ६ इन्द्रिय, ६ इन्द्रियका विषय र इन्द्रिय र इन्द्रियका विषयहरूको सम्पर्कबाट हुने ६ वटा विज्ञान पर्दछन् । ६ विज्ञानमा चक्षु विज्ञान, श्रवण विज्ञान, घ्राण विज्ञान, जिह्वा विज्ञान, काम विज्ञान र मन विज्ञान पर्दछन् । विश्वका सम्पूर्ण वस्तुहरूलाई स्कन्ध, आयतन र धातु तीनवटामध्ये कुनै एउटा प्रक्रियामा बाँड्न सकिन्छ । यी सम्पूर्ण तत्त्वहरू अनित्य र क्षणभङ्गुर हुन्छन् ।

प्रत्यीत्य समुत्पाद

प्रत्यीत्य समुत्पाद बौद्ध दर्शनको महत्त्वपूर्ण सिद्धान्त हो । यसलाई बौद्ध दर्शनको कार्यकारण सम्बन्धको सिद्धान्त पनि भनिन्छ । एउटाको विनाशपछि अर्काको उत्पत्ति हुने प्रक्रियालाई बुद्धले प्रत्यीत्य समुत्पादको रूपमा व्याख्या गरेका छन् । प्रत्ययलाई बुद्धले एउटा नष्ट वा बितेर जाँदा अर्को उत्पत्ति हुने अर्थमा जोडेका छन् । जस्तै- दही बनाउन दूधको नष्ट हुनुपर्दछ । दही बनिसकेपछि दूधमा दूधको गुण नष्ट भइसकेको हुन्छ । यो सिद्धान्तले कुनै एउटा घटना तथा वस्तुको अस्तित्वमा अर्को घटना वा अस्तित्वलाई कारण मान्दछ ।

सिद्धार्थ गौतमका अनुसार विना कारण संसारमा कुनै पनि कार्य हुँदैन । कुनै कार्य हुनका लागि कारण हुन्छ । कुनै पनि कार्यसँग कारण विद्यमान रहन्छ । एउटा कारणले अर्को कार्यको जन्म हुन्छ । त्यसैले संसारमा दुःख हुनुको अर्थ दुःखको कारण अवश्य हुन्छ भन्ने हो ।  म, तेरो मेरो र आफू भन्ने अज्ञानता र अहङ्कार नै दुःखको प्रमुख कारण हो । म, तेरो मेरो, आफू र आफ्नो मान्ने अज्ञानताले माया, मोह, रिस, राग, द्वेष, क्लेश र ईर्ष्यालाई जन्म दिन्छ र यिनै दुःखको कारक बन्दछन् । बुद्धले अज्ञानताको शृङ्खलाबद्धरूपले अन्य दुःखका कारण जन्मिन्छन् भनेका छन् । दुःखको यो शृङ्खौंलालाई भवचक्र भनिन्छ । भवचक्र निरन्तर चलिरहन्छ र यो नै दुःखको मूल कारण हो । जस्तै-अविद्याबाट संस्कार, संस्कारद्वारा विज्ञान, विज्ञानले नामरूप, नामरूपले षडायतन, षडायतनले स्पर्श, स्पर्शले वेदना, वेदनाले तृष्णा, तृष्णाले उपादान, उपादानले भव, भवले जाति, जातिले जरामरण, जरामरणले पुनः अविद्यालाई जन्म दिन्छ । वेदुराम भुषालका अनुसार अज्ञानतालाई अविद्या भनिन्छ । अनुभवबाट मनमा पर्ने छापलाई संस्कार र चेतनालाई विज्ञान भनिन्छ । नामरूप भनेको भौतिक पदार्थ र चेतनाको संयोगबाट बनेको प्राणी शरीर हो । पाँच इन्द्रिय र मनलाई षडायतन भनिन्छ । इन्द्रिय र विषय वासनाको संयोग स्पर्श हो भने वेदना अनुभूति हो । तृष्णाको अर्थ इच्छा  हो । आशक्ति पैदा हुनु उपादान हो । जन्म लिने इच्छा प्रकट हुनु भव हो भने जन्म लिनु जाति हो ।

एउटा कारण तथा घटनाबाट अर्को घटना पैदा हुन्छ भन्ने बौद्ध दर्शनको सिद्धान्तलाई प्रत्यीत्य समुत्पाद भनिन्छ । यस सिद्धान्तले प्रत्येक वस्तुको अस्तित्वका लागि कुनै न कुनै कारण विद्यमान रहेको हुन्छ भन्छ । यदि अमुक कारण नभएमा कुनै अमुक घटना घट्न सक्दैन । त्यसैले संसार दुःखमय हुनुको अर्थ दुःखको कारण भएर हो । गौतम बुद्धले दुःखको कारणमा अज्ञानता तथा अविद्यालाई मूल जरो मानेका छन् । यसैबाट एक गरी अर्को दुःखको कारण शृङ्खौलाबद्धरूपले उत्पत्ति हुन्छ । बुद्धले तृष्णालाई पनि दुःखको प्रमुख कारण मानेका छन् । काम तृष्णा, भव तृष्णा र विभव तृष्णा गरेर तीन प्रकारका तृष्णा दुःखका प्रमुख कारण हुन् । काम तृष्णाले पञ्चकाम गुणमा भुलेर बस्ने इच्छा गर्दछ । पञ्चकाम भन्नाले पञ्चकर्मेन्द्रियले गर्ने काम हुन् । भव तृष्णाले बारम्बार जन्म लिएर सुखसँग बस्ने इच्छा प्रकट गर्दछ । विभव तृष्णाले पुनर्जन्म नलिने इच्छा प्रकट गर्दछ । दुःखका कारणहरू नष्ट नगरेसम्म दुःख निवारण हुन सक्दैन । एउटा घटनाबाट अर्को घटना पैदा हुन्छ भन्ने उपर्युक्त सूत्रको सिद्धान्तले प्रत्येक घटना वा वस्तुको अस्तित्वका निम्ति कुनैन कुनै कारण हुन्छ भन्दछ ।

अनात्मवाद

बौद्धवादका अनुसारआत्मालाई नित्य, शास्वत र अनन्त मान्नु भ्रम हो । आत्मा भौतिक वस्तु  आत्मालाई नित्य मान्ने हो भने यसको शुद्धि र मुक्तिको कुनै अर्थ नै छैन । आत्मा खास कारणबाट भौतिक पदार्थ र मन मिलेर बनेको एउटा भौतिक पदार्थको अङ्ग मात्रै हो । भौतिक पदार्थ नाश हुने बित्तिकै आत्मा पनि नाश हुन्छ । आत्मा जीवित हुनुको अर्थ भौतिक पदार्थसँगको कार्यकारण सम्बन्ध मात्रै हो । यो भौतिक पदार्थमा निर्भर रहन्छ ।  बौद्ध दर्शनको अनात्मवादले आत्माको अमरता तथा वैदिक दर्शनको ब्रह्म सत्य सिद्धान्तलाई ठाडै अस्वीकार गर्दछ ।  भौतिक पदार्थजस्तै आत्मा उत्पत्ति र विनाश हुन्छ भन्ने विश्वास बौद्ध दर्शनले गरेको छ ।

निरीश्वरवाद

बौद्ध दर्शनका अनुसार आत्माको जस्तै ईस्वरको पनि कुनै अस्तित्व छैन । बौद्ध दर्शनले कार्य कारण सिद्धान्तलाई अक्षुग्ण मान्दछ । यदि सृष्टिको निर्माणकर्ता ईश्वर हो भने विना कारण उ निर्माणकर्ता हुन सक्दैन । तर, ईश्वरले सृष्टिको रचना गर्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन । यदि ईस्वरले विना कारण सृष्टिको रचना गरेको मान्ने हो भने कार्यकारण सम्बन्धको सिद्धान्तले यसलाई समर्थन गर्दैन । यदि कारणसहित ईश्वरले सृष्टिको रचना गरेको हो भने उसको रचना कसरी भयो ? बौद्ध दर्शनले गम्भीर प्रश्नको उत्तर अपेक्षा गरेको छ । यो संसार दुःखमय छ । यदि ईश्वर सृष्टिको रचयिता हो भने आफ्नै सृष्टिलाई सुखमयभन्दा दुःखमय बनाउन उ किन निर्मम बन्छ ? बौद्ध दर्शनको अर्को प्रश्न छ । बौद्ध दर्शनको ईश्वरवादीहरूप्रति अर्को निरुत्तर प्रश्न छ- कुनै पनि कार्य हुनुभन्दा पहिले कर्ताको अस्तित्व अत्यावश्यक हुन्छ । यदि सृष्टि अनादि हो भने ईश्वर फेरि त्यसको सृष्टिकर्ता कसरी हुन्छ ? ईश्वर सर्वेसर्वा हो भने मानवीय कर्मको कुनै आवश्यकता नै रहँदैन । मानवीय क्रियाशीलताबिना राम्रो, नराम्रो, पाप र पूण्य भन्ने नै हुँदैन । बौद्ध दर्शनले ईश्वरमाथि विश्वास गर्नुलाई मानवीय क्रियाशीलता विरोधी मान्दछ । मानवीय क्रियाशिलताविना संसारलाई दुःखबाट मुक्त गराउन सकिँदैन । अष्टाङ्गमार्गी उपायहरूबाट दुःखबाट निर्वाण प्राप्त गर्न सकिन्छ र त्यसका लागि मानवीय क्रियाशीलता आवश्यकता पर्दछ । ईश्वरीय आस्थाबाट मात्रै दुःखको निवारण हुन सक्दैन । अतः निरीश्वरवाद बौद्ध दर्शनको मूल सिद्धान्त हो ।

जीवनप्रवाहवाद

आत्मा, ब्रह्म र ईश्वरमाथि विश्वास नगर्ने बौद्ध दर्शनले पूर्वजन्म र पुनःजन्ममा भने विश्वास गर्दछ । त्यसैले यसले अङ्गीकार गरेको अनात्मवाद, निरीश्वरवाद, क्षणभङ्गुरवाद भौतिकवादी दृष्टिकोण हुँदाहुँदै पूर्वजन्म र पुनःजन्ममाथि विश्वास गर्नेभएकोले बौद्ध दर्शनभाववादी दर्शनना दरिन पुगेको छ ।

माथि नै उल्लेख गरियो कि बौद्ध दर्शनले कार्य कारण सम्बन्धमाथि विश्वास गर्दछ । यदि पूर्वजन्म र पुनःजन्ममाथि विश्वास नगर्ने हो भने कार्यकारण सम्बन्धविना जीवनको अस्तित्व नै सम्भव नहुने तर्क बौद्ध दर्शनको छ । ‘बुद्धवादले जीवन प्रवाहलाई  वर्तमान शरीरको अवधिमा मात्रै सीमित गरेर नहेरी पूर्वकाल र भावीकालसँग समेत जोडिएको एक प्रक्रियाको रूपमा हेरेको छ  (भुषालः २०६८; ११९) ।“ बौद्ध दर्शनको तर्क छ यदि कार्यकारण सम्बन्धको सिद्धान्तबाट अलग राखेर मानव जीवनलाई हेर्ने हो यसलाई आकस्मिक घटना मान्नुपर्ने हुन्छ । जबकि संसारमा कारणविना कुनै पनि वस्तुको अस्तित्व हुँदैन । मानवको जन्म आकस्मिक घटना हुँदै होइन, यो त पूर्वजन्म र पुनःजन्मको परिणाम हो । यदि यसको हुँदैन थियो भने बाजे बुवाको अनुहारसँग नाति छोराको अनुहार मिल्ने थिएन । त्यसैले जीवनलाई मानव शरीरको अवधिसम्म मात्रै सीमित गर्न सकिँदैन ।

स्वतः प्रमाण अस्वीकारवाद

बौद्ध दर्शनहरूसार संसारमा कोही पनि सर्वज्ञसिद्ध छैन । संसारमा हरेक कुरा अनित्य छ । त्यसैले कुनै पनि ग्रन्थ वा विचारलाई स्वतःप्रमाण मान्न सकिँदैन । बौद्ध दर्शनको यो मान्यताले वेदलाई स्वतः प्रमाण मान्ने वैदिक दर्शनमाथि ठुलो झापट दिएको मान्न सकिन्छ । कुनै पनि ग्रन्थ वा विचारलाई स्वतः प्रमाण मान्नुको अर्थ कर्ता र उसको कार्यलाई दोषरहित सर्वगुणसम्पन्न मान्नु हो । जवकि संसारमा सर्वगुणसम्पन्न र दोषरहित कुनै कर्ता र कार्यको अस्तित्व नै छैन । न त्यस्तो कुनै ग्रन्थ छ, नत कुनै सर्वज्ञ रचनाकार नै हुन सक्छ । मानवजीवनलाई सार्थक र दुःखबाट मुक्त गर्न सार्थक कर्मको आवश्यकता पर्दछ ।  कर्मबिनाको स्वतःसिद्ध परिणामले मानवजीवनको परिशुद्धिमा बाधा पुर्याउँदछ । त्यसैले हरेक कुरामा संशय प्रकट गरेर सत्कर्मको लगावले मात्रै जीवन अर्थपूर्ण हुन्छ । अतः बौद्ध दर्शनले स्वतः प्रमाणवादलाई अस्वीकार गर्दछ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ७ : ०४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *