१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरघरमा लक्ष्मीपूजा गरिँदै



काठमाडौं । हिन्दूधर्मावलम्बीहरूले तिहारको तेस्रो दिन अहिले साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गर्दैछन् । 

लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले वास गर्छिन् भन्ने मान्यताअनुसार घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको हो ।

घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भ-याङलगायतका स्थानमा दीपावली पनि गरिँदैछ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

लक्ष्मी पूजा गरिने आजको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । 

घरघरमा पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइएको छ । 

आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजाका अवसरमा आज अधिकांश घरमा दीपावली गरी झिलीमिली बनाइएको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *