काठमाडौं । सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतलाई प्रभावमा पारेको भन्दै सञ्चारमाध्यमको चर्को आलोचना गरेका छन् ।
आफूलाई ‘कन्फिलिक्ट अफ इन्ट्रेस्ट’ भएको भन्दै आलोचना गरेकोमा आपत्ति जनाउँदै रविले ठूला मिडियाले बदमासी गरेको आरोप लगाए । कान्तिपुर लगायतका केही मिडियाको नाम नै लिएर रविले चर्को आलोचना गरेका छन् ।
अब आफू मिडियासँग नडराउने भन्दै उनले आफ्नो मुद्दा प्रभावित पार्न दर्जनौ सञ्चारमाध्यम एक भएर लागेको दाबी पनि गरे ।
उनले देश मिडियाले नचलाउने भन्दै राजनीति नै गर्ने भए मिडियाका मालिकलाई आफूसँग चुनाव लड्न आउन आग्रह पनि गरेका छन् ।
राहदानीको विषय आफूले चार वर्ष अगाडि नै सार्वजनिक गरेको विषयलाई अहिले उठाउनुको कारण के हो भनेर रविले प्रश्न उठाए । अमेरिका छाड्दा नेपाल बस्नका लागि तत्काल चाहिने कागजपत्र बनाउनतिर लागेकाले पासपोर्ट बनाएको तर त्यसको सदुपयोग र दुरुपयोग केही पनि नगरेको उनले बताए ।
प्रतिक्रिया