डडेलधुरा । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको डडेल्धुरा सेवा केन्द्रको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको वार्षिक प्रगति, वित्तीय अवस्था, बचत तथा ऋण कारोबार, सदस्यको हित र आगामी कार्ययोजना बारे छलफल गर्दै साधारणसभा सम्पन्न भएको हो ।
उद्योग वाणिज्य संघ डडेलधुराको सभा हलमा सम्पन्न साधारणसभामा संस्थाका सञ्चालक हर्कबहादुर चन्दले आर्थिक वर्ष २०८२/०८३ र अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरणसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा संस्थाको शेयर पुँजी २३ करोड १८ लाख ५६ हजार ४ सय रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा शेयर पुँजी २२ करोड ६ लाख ९५ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यस्तै, संस्थाको बचत २ अर्ब २४ करोड ७९ लाख ५७ हजार ८२४ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बचत १ अर्ब ९९ करोड ६५ लाख ३२ हजार ६९४ रुपैयाँ रहेको थियो ।
संस्थाले चालु आर्थिक वर्षमा १ अर्ब ६८ करोड ४४ लाख ५४ हजार ९४३ रुपैयाँ ऋण लगानी गरेको छ । सोही अवधिमा संस्थाले ३ करोड ७६ लाख ५० हजार ४६४ रुपैयाँ नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा संस्थाको नाफा ५ करोड २ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
साधारण सभाका अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट तथा ज्येष्ठ सदस्यहरूलाई सम्मान तथा प्रोत्साहन गरेको छ । उद्यमी सदस्यतर्फ हरिशंकर नाथ, चेतबहादुर ऐर, तिलकराज पाठक र विष्णुदेवी श्रेष्ठ सम्मानित भएका हुन । त्यस्तै अभिमत ऐर, ममता जोशी, सुभाष पाण्डेय र जेशन पाललाई समेत सम्मान गरिएको छ । ज्येष्ठ नागरिकतर्फ हर्कबहादुर ऐरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा लेखा समिति संयोजक चित्राङ्क थापाले सहकारीको लेखा व्यवस्थापन, आन्तरिक समस्या, सहकारी क्षेत्रमा देखिएका चुनौती तथा लेखापरीक्षकबाट तयार पारिएको प्रतिवेदनका विषयमा जानकारी गराए ।
सहकारीका सञ्चालक हर्कबहादुर चन्दको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले गरेका थिए । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा रहेको छ । संस्थाका सेवा केन्द्रहरू धनगढी, अत्तरिया, बेलौरी, दैजी, झलारी, कृष्णपुर, दोधारा, डडेल्धुरा र बैतडीमा रहेका छन् ।











प्रतिक्रिया