१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमबीबीएस पढाउन २० लाख रुपैयाँ विनियोजन



फुङ्लिङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ। यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ। यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ।

गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो। गाउँपलिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबाट एमबीबीएस पढाउनको लागि २० लाख रुपैयाँ बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको छ।

एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने गाउँपालिकाभित्रका एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए।

तुम्बापोले भने, “एमबीबीएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक २० लाख रुपैयाँ विनियोजन गरेको छ। प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ।”

सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए।

पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका केन्द्र साँघुमा एक जना एमबीबीएस डाक्टरको पदपूर्ति गर्ने र फारर्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको वनेमले बताए।

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अतिविपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पुयाउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ३ : ४५ बजे