निर्मल लामाको २२औं स्मृति दिवस। २७ वैशाख २०५७ मा नेपाली कम्युनिष्ट आन्दोलनका एक खम्बा लामाको निधन भएको थियो। उनको स्मृति दिवसको सन्दर्भमा उनको मृत्युलगत्तै वामविश्लेषक श्याम श्रेष्ठले लेखेको जीवनीपरक आलेख ‘मूल्यांकन मासिक’को ‘२०५७ जेठ/ असार’ अंकबाट अनुमतिसहित साभार गरिएको छ।
त्यहाँ अन्तिम संस्कारका लागि कुनै लामा ल्याइएन। कुनै ढ्यांग्रो बजेन।
काज-क्रिया, घेवा लगायत तामाङहरूको परम्परागत संस्कारका कुनै कार्यहरू गरिएनन्। न श्रीमतीले चुरा फुटाउनु पर्ने बाध्यता रह्यो न सेताम्मे विधवा-वस्त्र लाउनु पर्ने विवशता। यस्तो भान हुन्थ्यो- जिन्दगीभर विद्रोही रहनुभएका कमरेड निर्मल लामा मृत्युपछि पनि कुसंस्कार र कुरीतिहरूविरूद्ध अझै सफल विद्रोह गर्दै हुनुहुन्थ्यो। जिन्दगीको हरेक मोड र बिसौनीमा विद्रोह र मृत्युपर्यन्त विद्रोह – यो नै निर्मल लामाको असली परिचय थियो।
गएको १० महीनामा नेपालले दुई त्यस्ता ठूला विद्रोहीहरू गुमाएको छ, जसले आफ्नो सम्पूर्ण जीवन गरीखानेवर्ग र छाप्रेहरूको मुक्तिको लागि लगाएका थिए : एकजना रूपचन्द्र विष्ट र अर्को निर्मल लामा। रूपचन्द्र त हुनेखाने वर्गको हुनुहुन्थ्यो, परन्तु निर्मल लामाको अद्वितीयता र विशिष्टता के देखिन्छ भने, उहाँ स्वंय अत्यन्त गरीब मजदूरको छोरो हुनुहुन्थ्यो। नेपाली कम्युनिष्ट आन्दोलनमा मजदूर वर्गमै जन्मेरहुर्केर मजदूरवर्गकै मुक्तिको लागि संगठित ढंगले समर्पित यो उचाइको अर्को कुनै शीर्षस्थ नेता विद्यमान छैन। लामा त अझ अत्यन्त पिछडिन बाध्य तामाङ जनजातिको मान्छे हुनुहुन्थ्यो र तामाङ जनजातिले यो कदको र यति ज्यादा योगदान भएको अर्को कुनै नेता अहिलेसम्म उत्पादन गर्न सकेको छैन। यस अर्थमा लामा सम्पूर्ण उत्पीडित जनजातिका पनि नेतामध्येका सगरमाथा हुनुहुन्थ्यो।
२००७ सालदेखि २०५७ सालसम्मका प्रायः सबैजसो महत्त्वपूर्ण सामान्तवाद र साम्राज्यवादविरोधी संघर्षमा लामाको कुनै न कुनै किसिमको सहभागीता वा योगदान रहेको देखिन्छ।
भोजन नलीको क्यान्सरले पूर्ण अचेत अवस्थामा सास रोकिएर (२०५७) वैशाख २७ गते बिहान ६:१० बजे काठमाडौंस्थित टिचिङ अस्पतालको भी.भी.आइ.पी. रूम नं. ५०१ मा उहाँको देहावसना हुँदा उहाँ पदका हिसाबले ने.क.पा. (एकता केन्द्र)को साधारण सदस्यमात्र हुनुहुन्थ्यो। परन्तु उहाँप्रति श्रद्धाञ्जली अर्पित गर्ने मान्छेको ओइरो, त्यसको विविधता र गुणस्तर हेर्दा, भोलिपल्टको उहाँको शवयात्रा हेर्दा यस्तो प्रतीत हुन्थ्यो- नेपाली जनता पनि पद हेरेर होइन, इमान र योगदान हेरेर मान्छेको मूल्यांकन गर्ने भैसकेका छन्। नेपालमा राम्रो काम गर्नेहरूलाई ‘सतीले सरापेको देश’ भनेर जो भन्ने गरिन्छ, त्यो सही होइन भन्ने कुराको ज्वलन्त सबुद हो – लामालाई सिंगो मुलुकले दिएको उच्च सम्मान । देशका प्रधानमन्त्रीदेखि लिएर सडकका ढाक्रेसम्म, सबै पार्टीका नेता कार्यकर्तादेखि लिएर सबै विचारका बौद्धिकहरूसम्म – सबैले लामाप्रति उचित सम्मान र भावविह्वल श्रद्धाञ्जली दिएको देखियो।
दरबारबाट भने पूर्वाग्रह प्रदर्शित भयो। उद्योगपति तथा व्यापारी विनोद चौधरीको आमाको मृत्यु हुँदा श्रद्धाञ्जली र समवेदना दिन नभुल्ने राजाबाट २००७ सालको राजनीतिक क्रान्तिका मुक्ति सेनाका एकजना सुप्रसिद्ध कमाण्डर, २०४७ सालको संविधानका निर्माता र नेपाली जनताका एकजना अत्यन्त सम्मानित नेताको मृत्युमा न त शोक नै व्यक्त भयो, न श्रद्धाञ्जली। नेपालको दरबारको बौद्धिक र सांस्कृतिक स्तर यो घटनाले राम्ररी प्रदर्शित गरेको छ।
सम्मानका कारणहरू
किन यति धेरै सम्मान प्रदर्शित गर्यो नेपाली जनताले कमरेड लामालाई ? यो अकारण छैन।
निर्मल लामा त्यो व्यक्तिको नाम हो, जो बालक र ठिटौले काललाई छोडेर, १९ वर्षको उमेरदेखि ७१ वर्षको उमेरसम्म लगातार आधा शताब्दीभन्दा ज्यादा लामो समयसम्म देश र जनताको लागि लड्यो। परन्तु पद र अवसरमा कहिल्यै बिक्री भएन। उहाँको चरित्र र ध्ययेप्रतिको इमान उहाँको नामजस्तै निर्मल रह्यो। हाम्रो मुलुकमा मौका पाउनासाथ बेइमान हुने नेताहरू अत्यधिक छन्। तर त्यो भीडमा निर्मल लामा नितान्त भिन्न नेताको नाम हो, जो मौका पाउँदा पनि बेइमान भएन।
२००८ सालमै उहाँलाई मातृकाप्रसाद कोइरालाको मंत्रीपरिषद्मा फुल मन्त्री बन्ने प्रस्ताव आएको थियो। २००८ सालमा कांग्रेस पार्टी छोड्न लाग्दा उहाँलाई तत्कालीन खाद्यमन्त्री सूर्यप्रसाद उपाध्यायले धनाढ्य बन्ने ‘मौका’ प्रदान नगरेका होइनन्। तर यी कुनै ‘मौकाहरू’ले लामालाई कम्युनिष्ट पार्टीमा प्रवेश गर्नबाट रोक्न सकेनन्। २००९ सालको लगत्तैपछि पाएको छँदाखाँदाको त्यतिखेरको दैलेखको बडाहाकिमको पद छोडेर र सबै तथाकथित ‘अवसरहरू’लाई लात मारेर लामा २००९ सालमा आफूलाई मन परेको कम्युनिष्ट ध्येयमा आफ्नो जीवन समर्पित गर्न आइपुग्नु भयो। यो ध्येययमा एकचोटि समर्पित भएपछि उहाँ जीवनभर लक्पकाउनु भएन। इमान, ध्येयप्रतिको अविचलित निष्ठा र जीवनभरको समर्पणको निरन्तरता – यो नै लामाको विशिष्ट गुण हो, जसलाई नेपाली जनताले त्यति ठूलो सम्मान दिएर सही मूल्यांकन गर्न खोजेका छन्।
लामाप्रतिको उच्च सम्मानको अर्को कारण उहाँको संघर्षशील योगदान हो। २००७ सालदेखि २०५७ सालसम्मका प्रायः सबैजसो महत्त्वपूर्ण सामान्तवाद र साम्राज्यवादविरोधी संघर्षमा लामाको कुनै न कुनै किसिमको सहभागीता वा योगदान रहेको देखिन्छ।
२००७ सालमा उहाँले राणाको सामन्ती निरंकुशतन्त्रविरूद्ध धनगढी, राजापुर र सुर्खेत तथा स्याङ्जा-नुवाकोट कब्जाका लागि मुक्ति सेनाको युवा कमाण्डरको रूपमा नेतृत्व गरेर योगदान गर्नुभएको देखिन्छ। २००९ सालदेखि २०१४ सालसम्म काठमाडौं उपत्यकाको सबैजसो सामन्तवाद-साम्राज्यवादविरोधी महत्त्वपूर्ण संघर्षमा जिल्ला स्तरको पार्टी नेताका रूपमा भाग लिएर, २०१४ सालको भद्रअवज्ञा आन्दोलनमा विद्यार्थी नेताको रूपमा भाग लिएर योगदान गर्नुभएको देखिन्छ। २०१७ सालसम्म उहाँले कहिले पोखरामा, कहिले पर्वतको फलेवासमा बसेर त्यहाँको संघर्षमा अगुवाइ गर्नुभएको देखिन्छ। २०१७ सालदेखि २०२७ सालसम्म धेरैजसो समय उहाँले जेलभित्रै तानाशाहीविरूद्ध संघर्ष गर्नुभएको देखिन्छ। २०३१ सालमा नेकपा (चौम)को एकजना शीर्षस्थ नेता भएपछि लगातार उहाँ पञ्चायती व्यवस्था नामको सामन्ती एकतन्त्रविरूद्ध संघर्षमा जुट्नुभयो। २०४७ सालमा नयाँ पूँजीवादी प्रजातान्त्रिक संविधानको एकजना निर्माताको रूपमा उहाँले सामन्ती तानाशाहीको अन्त्यको लागि संघर्ष गर्नुभयो।
गरीबीको कारणले मस्तरामले बल्लतल्ल आठ कक्षामात्र पढ्न भ्याए। परन्तु यही समयमा १३-१४ वर्षको केटो मस्तरामले आफ्नो टाढाको मामाबाट मार्क्सवादको पहिलो जानकारी पाए।
देशमा बहुदलीय प्रजातन्त्र आएपछि पनि नेपाली कांग्रेसको पूँजीवादी तानशाही र राष्ट्रघातका विरूद्ध पनि उहाँ निरन्तर रूपमा धेरैजसो महत्त्वपूर्ण संघर्षको मैदानमा हेलिइरहनुभयो।
हालै चैत्र २४ गतेदेखि जब उहाँ टिचिङ अस्पतालको मृत्युशैय्यामा हुनुहुन्थ्यो र सडकमा चाहिँ वैशाख १९ गते नौ बामको सिंहदरबार घेर्ने कार्यक्रम थियो, उहाँको शरीरमात्र अस्पतालमा थियो, उहाँको मन-मस्तिष्कचाहिँ पूरै संघर्षको मैदानमा रहेको म स्वयंले देखेको छु।
देश र जनताको हितमा संघर्ष भनेपछि हुरूक्क हुने स्वभाव, यो निर्मल लामाको अर्को विशिष्टता हो। ५० वर्षभन्दा ज्यादा लामो समयसम्म सामन्तवाद, साम्राज्यवाद र पूँजीवादविरूद्ध भएका धेरैजसो महत्त्वपूर्ण संघर्षमा कार्यकर्ता वा नेताको रूपमा संघर्षशील उपस्थिति ! यो कुनै चानचुने योगदान होइन। निरन्तरको संघर्षशीलता र सम्झौताविहीन संघर्ष यो लामाको अर्को महत्त्वपूर्ण परिचय हो।
लामाको अर्को सम्मानयोग्य चरित्र भनेको उहाँको पारदर्शिता हो। लामाको पेटमा एउटा कुरा र मुखमा अर्को हुँदैनथ्यो। उहाँको देखाउने जीवन एउटा र भित्री जीवन अर्को हुँदैनथ्यो। लामालाई बुझ्न सरल थियो। जे बोलेको गरेको देखियो, त्यही रूपमा उहाँलाई बुझ्दा प्रायशः धोका खाइन्नथ्यो। नेपाली कम्युनिष्ट आन्दोलनमा अपारदर्शिता ठूलो रोगको रूपमा छ। चलाखी र कुटिलता यहाँ अत्यन्त ज्यादा प्रचलनमा छ। साथीले साथीलाई नै ‘प्रयोग गर्ने’ मानसिकता यहाँ वालछ्याल भेटिन्छ। परन्तु लामा भने चलाख र कुटिल हुनुहुन्थेन। उहाँले अरूलाई ‘प्रयोग गर्ने’ होइन उहाँ आफूचाहिँ बरू अरूबाट ‘प्रयोग’ हुने सम्भावना ज्यादा रहन्थ्यो।
जीवनका कालखण्डहरू
लामाको समग्र जीवनलाई केलाएर हेर्ने हो भने यसलाई मुख्य रूपले पाँख खण्डमा बाँडेर हेर्न सकिन्छः
पहिलो- जन्मदेखि २००५ सालसम्म
दोस्रो- २००५ सालदेखि २००९ सालसम्म
तेस्रो- २००९ सालदेखि २०२७ सालसम्म
चौथो- २०२८ सालदेखि २०५४ सालसम्म
पाँचौँ- २०५५ सालदेखि मृत्यु पर्यन्तसम्म
पहिलो कालखण्ड : मार्क्सवादको बीजारोपण
विक्रम संवत १९८६ साल माघ १ गते दार्जिलिङ जिल्लाको खर्साङ सब-डिभिजनको बाफाबारीमा चिया कमानको अति गरिब मजदूर परिवारमा बाबु हर्कमान र आमा म्हेन्दुको कोखबाट जन्मनुभएका लामा आठ दाजुभाइमध्ये माहिलो हुनुहुन्थ्यो। उहाँ त्यतिखेर निर्मल लामा होइन, मस्तराम नामले परिचित हुनुहन्थ्यो।
यो कालखण्ड उहाँले अत्यत्न ठूलो अभावमा बिताउनुपर्यो। बाबु करीब करिब बेरोजगार भएकाले कहिले आमाले पारेको रक्सी स्कूल जाँदा बाटोमा बेचेर, कहिले आमा छोराले गाई गोरूको आन्द्राभुँडी बेचेर, कहिले गोरा साहेबको भारी वा वयलगाडाको काठ बोक्ने कुल्ली भएर परिवारको गुजारा गर्ने र आफूले पढ्नेजस्तो नितान्त गरीबीको जिन्दगी उहाँले व्यहोर्नुपर्यो। यो त्यही समय हो, जसमा बालक मस्तरामले आफ्नी आमाबाट परिश्रम गर्ने, श्रम गर्नेलाई इज्जत गर्ने, अभावमा जिउने तर बेइमानी नगर्ने, गरीब दुखियालाई हेलाँ नगर्ने बरू प्रेम गर्ने पाठ सिक्यो। परिवार मातृसत्तात्मक थियो, र घरको वातावरण प्रजातान्त्रिक र मायालु थियो। त्यहीँबाट लामाको प्रजातान्त्रिक र विवेकशील चरित्र पनि निर्माण भयो।
२००७ सालमा लामाले मुक्तिसेनाको कमाण्डरको रूपमा धनगढी हुँदै राजापुर, सुर्खेत र दैलेखसमेत कब्जा गर्नुभयो। राणा शासन ढलेपछि बी.पी. कोइरालाको अनुरोधमा दैलेखको बडाहाकिमसमेत हुनुभयो।
गरीबीको कारणले मस्तरामले बल्लतल्ल आठ कक्षामात्र पढ्न भ्याए। परन्तु यही समयमा १३-१४ वर्षको केटो मस्तरामले आफ्नो टाढाको मामाबाट मार्क्सवादको पहिलो जानकारी पाए। प्रोफेसर शिवनारायणबाट सरल भाषामा मार्क्सवादबारे गहन प्रवचन सुनेपछि उनी मार्क्सवादबाट अत्यन्त प्रभावित भए। यही कालखण्डमा जुनसुकै किताब पाए पनि पढ्ने बानीसमेत नवयुवा मस्तरामले विकास गरे।
मस्तरामको स्वभाव बालकैदेखि विद्रोही थियो। सात कक्षामा पढ्दा नै स्कूलमा ईसाई धर्म फैलाउने शिक्षकसित विद्रोह जनाउँदै दुई पानाभरि ‘राम राम’ लेखेर उनले आफ्नो साहसको र स्वभावको परिचय दिएका थिए। ती शिक्षकले लामाको विद्रोही स्वभावलाई त्यतिखेरै चिनेर चेतावनी दिएका थिए, “रातो रङ र सर्वसाधारण जनतादेखि होशियार !”
बालक मस्तरामको भित्रैदेखिको विद्रोही स्वभाव, घरमा श्रम गरी खानुपर्ने र श्रमलाई आदर गर्नुपर्ने अभावग्रस्त वातावरण र त्यतिखेरै मार्क्सवादी सिद्धान्तसितको उनको सम्पर्क – यी तीनओटै कुरो एकै ठाउँमा मिलेपछि जीवनको पहिलो खण्डमै युवा मस्तराम विचारले मार्क्सवादतिर ढल्कन पुगे। उनको मन-मस्तिष्कमा मार्क्सवादी विजारोपण भयो।
दोस्रो कालखण्डः सक्रिय राजनीतिक जीवनको शुरूआत
मस्तरामले सक्रिय राजनीतिक जीवनमा चाहिँ त्यतिखेर प्रवेश गरे, जब डोनास ग्राङ्गडङ्ग भन्ने एकजना चिनापर्चीको बर्मेलीले २००५ सालमा उनलाई विराटनगरमा बाटो खर्चसहित डाकीपठाए। विराटनगरमा रहँदै उनको भेटघाट नेपाली प्रजातन्त्र कांग्रेसका अध्यक्ष सूर्यप्रसाद उपाध्याय र महासचिव महेन्द्रविक्रम शाहसित भयो। उनीहरूमार्फत सुवर्ण शमशेरसम्म पुगेपछि लडाकु र विद्रोही स्वभावका मस्तरामले नेपालमा राणाशाही ढाल्न जनसेना गठन गर्ने राजनैतिक जिम्मेवारी पाए। मस्तराम ‘निर्मल लामा’ बन्ने प्रक्रिया यहींबाट प्रारम्भ भयो।
यो राजनीतिक अभिभारा पाएपछि लामाले जनसेना गठन गर्नुमात्र भएन, स्याङ्जा कब्जा गर्न हिँडिहाल्नुभयो। छोटो समयमै लामाको लडाकु, साहसी र भरपर्दो स्वभावले नेतृत्वलाई यति धेरै प्रभाव पार्यो, नेपाल प्रजातन्त्र कांग्रेस र राष्ट्रिय कांग्रेस मिलेर नेपाली कांग्रेस बनेपछि लामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सचिवसमेत बनाइनुभयो।
२००७ सालमा लामाले मुक्तिसेनाको कमाण्डरको रूपमा धनगढी हुँदै राजापुर, सुर्खेत र दैलेखसमेत कब्जा गर्नुभयो। राणा शासन ढलेपछि बी.पी. कोइरालाको अनुरोधमा दैलेखको बडाहाकिमसमेत हुनुभयो।
लामाकै संघर्षले जेलबाट जाँच दिने सुविधा नेपालमा सम्पूर्ण कैदीहरूले प्राप्त गरे। उहाँले जेलबाटै बी.ए. पास गर्नुभयो। उहाँले जेलमै मार्क्सवादको व्यवस्थित अध्ययन शुरू गर्नुभयो।
परन्तु दिल्लीसित घुँडा टेक्ने र राजासित सम्झौता गर्ने नेपाली कांग्रेसको चरित्र विद्रोही लामालाई मन परेन। उहाँ अब कम्युनिष्ट पार्टीको खोजमा लाग्नुभयो। आफूले खोजेको पार्टी भेटिएपछि नेपाली कांग्रेसका नेताहरूले दिएको पद र पैसाको प्रलोभनलाई लत्याएर लामा क. पुष्पलालको अनुरोधमा कांग्रेस छाडेर २००८ सालमै वामपन्थी कांग्रेसमा प्रवेश गर्नुभयो र २००९ सालमा कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभयो।
तेस्रो कालखण्डः कम्युनिष्ट कार्यकर्ताको रूपमा उदय
कम्युनिष्ट पार्टीमा प्रवेश गर्नासाथ शुरू वर्षमै कमरेड लामा काठमाडौं जिल्ला पार्टीको सेक्रेटरी हुन पुग्नुभयो। उहाँको अगुवायमा काठमाडौंमा भएको खुर्सानी काण्ड (२०१० साल), मोही किसानका आन्दोलनहरू निकै उल्लेखनीय छन्। उहाँको नेतृत्वमा काठमाडौंमा पार्टी संगठनले तीव्र रूपमा विकास गर्यो। जहाँ जनताको संघर्ष, त्यहाँ लामा पुग्ने स्थिति बन्यो। यसबीच लामा चिनियाँ कम्युनिष्ट पार्टीको प्रबन्धमा सैन्य विज्ञानको शिक्षाा लिन चीनका लागि समेत हिँड्नुभएको थियो। तर गाइडको अभावमा उहाँ थाक खोलाभन्दा उता पुग्न सक्नुभएन।
परन्तु कम्युनिष्ट पार्टीमा केशरजंग रायमाझी नेतृत्वमा आएपछि त्यसले राजावादी लाइन लिन थाल्यो। विद्रोही लामाले अब रायमाझीको राजावादी लाइनको विरोध गर्न थाल्नुभयो। रायमाझीसित लामाको चर्को टक्कर पर्न थालेपछि पार्टीका महामन्त्री भएका रायमाझीले लामालाई जिल्ला नेतृत्वबाट हटाउने षड्यन्त्र गर्नथाले। लामाले अब आफ्नै खुट्टामा उभिन पढ्न थाल्नु पर्ने स्थिति बन्यो। यही प्रक्रियामा दुःखसाथ पढ्दै उहाँले सोनाम वाङ्दी लामाको नामबाट एस.एल.सी पास गर्नुभयो र त्रिचन्द्र कलेजबाट आइ.ए. पनि। पढाइको यस अवधिमा पनि लामा विद्यार्थी आन्दोलनको अत्यन्त चर्चित नेताको रूपमा छाउनुभएको थियो। २०१५ सालको आम-चुनावमा कमरेड लामा दैलेखबाट उम्मेदवार बन्नुभयो, तर चुनावमा विजय प्राप्त गर्न सक्नुभएन।
रायमाझीको षड्यन्त्र र असयोग असह्य भएपछि लामाले उसको नेतृत्वसित विद्रोह गर्दै पर्वत जिल्लाको फलेवासमा शिक्षक बनेर काम गर्न जानुभयो। र, त्यहीँ कम्युनिष्ट पैदा गर्ने काम थाल्नुभयो। परन्तु ०१७ सालको दरबारिया सैनिक विद्रोहपछि उहाँ त्यहाँ समेत रहने स्थित बनेन। त्यहाँ छोडेको केही समयपछि २०१८ सालमा दरभंगा प्लेनममा जान खोज्दा उहाँ पोखरामा पक्राउ पर्नुभयो र जेलमा पर्नुभयो।
जेलमा पनि लामाको क्रियाकलाप अत्यन्त विद्रोही र संघर्षपूर्ण रह्यो। लामाकै संघर्षले जेलबाट जाँच दिने सुविधा नेपालमा सम्पूर्ण कैदीहरूले प्राप्त गरे। उहाँले जेलबाटै बी.ए. पास गर्नुभयो। उहाँले जेलमै मार्क्सवादको व्यवस्थित अध्ययन शुरू गर्नुभयो।
जेलबाट छुटेपछि २०२३ सालमा उहाँ निर्मल लामाको नामबाट राष्ट्रिय पञ्चायतमा स्नातक प्रतिनिधिको चुनावमा उम्मेदवार उठ्नुभयो। तर त्रिपुरेश्वरमा राजाविरोधी भाषण दिएबापत उहाँ पुनः जेल पर्नुभयो र २०२७ सालसम्म जेलमै रहनुभयो। जेलमा रहँदा अनसन गर्ने, तरह तरहका माग राखेर संघर्ष र विद्रोह गरिरहने उहाँको स्वभावले गर्दा ६ महीनाभन्दा ज्यादा उहाँलाई कुनै जेलमा नराखिने गरिएको थियो।
यही पछिल्लो पटकको जेलको दौरानमा उहाँको अर्का कम्युनिष्ट नेता क. मोहनविक्रम सिंहसहित भेट भयो। यही भेटघाटको दौरानमा नेपालमा कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नका लागि व्यवस्थित काम थाल्ने योजना बन्यो।
चौथो कालखण्डः कम्युनिष्ट नेताको रूपमा उदय
हुन त लामा जेलमा रहँदै २०१९ सालमै उहाँ तेस्रो पार्टी महाधिवेशनबाट केन्द्रीय सदस्यको रूपमा चुनिइसक्नुभएको थियो। परन्तु त्यसपछि पार्टी नै विलोप र विखण्डनतिर गएकाले र लामा जेलको जेलमै रहनाले केन्द्रीय नेताको रूपमा लामाको विकास यसबीच हुन सकेन। २०२८ सालमा केन्द्रीय न्युक्लियस बनेर २०३१ सालमा नेकपा (चौथो महाधिवेशन)को गठन भएपछि लामाको छनौट पार्टी केन्द्रको पोलिटब्यूरो सदस्यका रूपमा भयो। यस सँगसँगै नेपाली कम्युनिष्ट आन्दोलनमा लामाको उदय एकजना शीर्षस्थ कम्युनिष्ट नेताको रूपमा हुनथाल्यो। मोहनविक्रमलाई ‘माओ’ र लामालाई ‘चाओ’को रूपमा हेर्ने प्रचलन यतिखेरै व्यापक भयो। पार्टी निकै तीव्र गतिमा विकसित र विस्तारित भयो पनि। तर २०३४ सालमा ‘प्रेम-सम्बन्ध भएको’ एकजना कार्यकर्तासँग भएको यौन काण्डमा क. मोहनविक्रमलाई पार्टीबाट कारबाही गरिएपछि लामा नै पार्टीको महामन्त्री बन्न पुग्नुभयो।
लामा आफ्नो नेतृत्वकालमा लचिलो, फराकिलो, व्यावहारिक नेताका रूपमा देखिनुभयो। संयुक्त मोर्चासम्बन्धी उहाँको सोच तत्कालीन परिस्थितिमा क. मोहनविक्रमको भन्दा वस्तुवादी र संकीर्णताबाट मुक्त देखियो। जन-संघर्षसम्बन्धी उहाँको सोच पनि नेपाली धरातलको नजीक देखापर्यो। २०३६ सालमा उहाँले ल्याउनुभएको जनमत संग्रहको लागि पााच पूवशर्तसम्बन्धी सोच र कार्यनीति क. मोहनविक्रमको जनमत संग्रह बहिष्कारको सोचभन्दा निकै वस्तुवादी र बुद्धिमत्तापूर्ण देखियो। त्यो सोच कार्यान्वयन गर्न सकिएको भए सम्भवतः पञ्चायत ढाल्न २०४६ साल पुग्नुपर्ने थिएन। उहाँले ल्याउनुभएको २०३८ सालपछिको पञ्चायती चुनावको उपयोग गर्ने सोच पनि ज्यादा वस्तुसम्मत र सही देखियो। त्यस्तै, मृत्युपछि पुष्पलाललाई ‘कमरेड’ भन्ने धारणा पनि।
परन्तु यिनै सोचको भिन्नताले गर्दा र मूलतः पार्टीभित्र भिन्न मतप्रतिको अत्यन्त असहिष्णु नोकरशाही व्यवहारले गर्दा नेकपा (चौम) एकताबझ रहिरहन सकेन। २०४० सालमा पार्टी फुट्यो।
अहिले आइपुग्दा क. मोहनविक्रम धेरैजसो मुख्य सवालमा त्यहीँ आइपुग्नुभएको छ, जहाँ २०४० सालमा क. निर्मल लामा हुनुहुन्थ्यो। यो सहिष्णुता, लचिलोपन र वस्तुवादिता क. सिंहमा आउनु स्वागतयोग्य कुरा हो। परन्तु यो सहिष्णुता, लचिलोपन र वस्तुवादिता उहाँमा २०४० सालमै भइदिएको भए नेकपा (चौम) फुट्नैपर्ने थिएन र नेपालको कम्युनिष्ट आन्दोलनको स्वरूप र दिशा नै अर्कै हुन्थ्यो।
पार्टी फुटेपछि नेकपा (चौम)को महासचिव पुनः क. लामा नै बन्नुभयो। लामाले आफ्ना विचारको कार्यान्वयन गर्ने अवसर प्राप्त गर्नुभयो। चौमको तत्कालीन संयुक्त मोर्चाको नीत, भाषा नीति, पञ्चायती चुनाव उपयोग गर्ने ढंग, २०४२ सालको सत्याग्रहताकाको पाँच वामको आन्दोलन निकै लोकप्रिय र सही सावित भएका थिए।
परन्तु २०४६ सालको जनआन्दोलनको प्रारम्भमा भने लामा आफ्नै पूर्व सोच र अडानको विपरीत उभिनुभयो। पञ्चायती तानाशाहीविरूद्ध कांग्रेससित समेत संयुक्त मोर्चाकै सोचलाई लिएर २०४० मा पार्टी फुट्यो। परन्तु जब २०४६ सालमा त्यो सोच कार्यान्वयन गर्ने घडी आयो, उहाँ कांग्रेससित संयुक्त मोर्चा कदापि गर्नुहुन्न, क्रान्तिकारी वामपन्थी पार्टीसित मात्र संयुक्त मोर्चा गर्नुपर्छ भन्ने धारमा आइपुग्नुभयो। त्यस्तै, जन-आन्दोलन बहुदलीय व्यवस्थाका लागि होइन, संविधान सभाका लागि गरिनुपर्छ भन्ने उहाँको अडान रह्यो। केन्द्रीय समितिको बहुमतले उहाँको सोचलाई अनुमोदन गरेन र यसको प्रतिक्रियामा आन्दोलनको शुरू चरणमा उहाँले निस्क्रिय रहने फैसला गर्नुभयो। परन्तु जब जन-आन्दोलन चर्कियो, उहाँले आफ्नो अडान बदल्नुभयो र आन्दोलनमा उत्रनुभयो।
जीवनको पछिल्लो घडीमा लामाले निष्कर्ष त विल्कुलै सही निकाल्नुभएको थियो। तर, धेरै ढिलो भइसकेको थियो। उहाँले यो निष्कर्ष बमोजिम काम गर्ने समय नै पाउनु भएन, उहाँलाई मृत्युले झम्टीहाल्यो।
२०४७ सालमा नेकपा (चौम), सर्वहारावादी श्रमिक संगठन र नेकपा (मशाल) मिलेर नेकपा (एकता-केन्द्र) बन्यो। त्यसपछि लामा पार्टीको मूल नेतृत्वमा रहनुभएन। २०५१ सालमा नेकपा (एकता-केन्द्र) पुनः फुट्यो र त्यसबाट नेकपा (माओवादी) अलग्गियो। त्यसपछि पार्टीको नाम त एकता-केन्द्र नै रही रह्यो, परन्तु लामाले पार्टीमा महामन्त्रीको स्थान लिनुभएन। उहाँले पार्टीभित्र आफ्नो सक्रिय भूमिका घटाउँदै लानुभयो। २०५५ सालमा पूग्दा त उहाँले पार्टी केन्द्रबाट राजीनामा नै दिनुभयो।
पाँचौँ कालखण्डः निराशादेखि आशासम्म, आशादेखि मृत्युसम्म
जीवनको पछिल्लो समयमा क. लामा अत्यन्त निराश हुनुभएको थियो। उहाँले आफ्नै नेतृत्व क्षमताप्रति आत्मविश्वास गुमाउनु भएको थियो। अनि अरू कसैप्रति पनि विश्वास गर्ने मानसिक हालत उहाँको थिएन। चरम निराशाको यो घडीमा निराशा झेल्ने उहाँको एउटै साधन बनेको थियो- अत्याधिक रक्सी सेवन। उहाँ रक्सीको एडिक्ट नै बन्न पुग्नुभएको थियो।
संयुक्त जनमोर्चाको माघ २०५४ मा सम्पन्न जनकपुर सम्मेलनपछि उहाँको निराशा अरू गहिरिएको देखियो। क. लामाले बताउनु भएअनुसार त्यस सम्मेलनमा आफूले भिन्न मत सार्वजनिक गर्दा पार्टीसँग उहाँको सम्बन्ध चिसो हुनपुग्यो। उहाँका अनुसार पार्टीले उहाँलाई “हिरासतमा थुन्यो र सम्मेलनमा आएका मान्छेहरूसँग समेत भेट्न दिएन।”
अन्ततः पुष ४, २०५५ मा क. लामाले ‘जनकपुर सम्मेलनको व्यवस्था र संगठित संयन्त्र देखेर अब मैले सक्रिय राजनीतिबाट अवकाश लिनेबेला आयो। यस विषयमा म पहिले धेरै अस्पष्ट थिएँ’ भन्ने व्यहोराको चिठीमार्फत पार्टी केन्द्रलाई राजीनामा पठाउनुभयो।
पार्टी केन्द्रले पनि २०५६ साउन १३ गते आफ्नो सातौं पूर्ण बैठकद्वारा क. लामाले बारम्बार पार्टी अनुशासन उल्लंघन गरेको सर्वविदितै भएको कारण देखाएर अब उप्रान्त उहाँले बोलेको कुरा पार्टीको आधिकारिक धारणा नहुने कुरा सार्वजनिक गर्ने टुंगो गर्दै साधारण सदस्यता मात्र बाँकी राखेर उहाँको राजीनामा स्वीकृत गर्यो।
क. लामाले पार्टीलाई दिनुभएको उक्त पत्रको व्यहोरामा व्यंग्य मिसिएको आभास हुन्छ। कारण, सोही राजीनामा पत्रमा क. लामाले पछाडि भन्नुभएको छ- (पार्टीसँग) ‘…आधारभूत नीतिमा मतभेद भयो भने सम्बन्धित कामरेडहरूसँग अन्तर्क्रिया गरी आवश्यक परे सार्वजनिक रूपमा जाने मेरो अधिकार सुरक्षित राख्न चाहन्छु। यस्तो सोचलाई व्यक्तिवादी प्रवृत्ति भन्न सकिएला तर आवश्यक पर्दा यस्तो प्रक्रिया पनि भजाउनु नितान्त आवश्यक हुन्छ भन्ने म ठान्दछु।”
पार्टीद्वारा क. लामाको हैसियतबारे सूचना सार्वजनिक नहुँदै २०५६ श्रावणमा क. लामालाई भोजन नलीमा क्यान्सर भएको पत्ता लाग्यो। उहाँलाई क्यान्सर भएको सूचना जब जनतालाई थाहा भयो, पार्टीको पहलमा जन-स्तरमा अभूतपूर्व ढंगले अति छोटो अवधिमा बम्बइमा उपचार गर्न लैजानका निम्ति उल्लेखनीय रकम जुट्यो। पार्टीले पनि सक्दो गर्यो र सरकारले पनि उहाँको सम्पूर्ण उपचार खर्च व्यहोर्यो। यी सब कुरा देखेपछि लामाको गुमेको आत्मविश्वास र आशा पुनः पलायो। उहाँले आफ्नो महत्त्व बल्ल चिन्नुभयो। उहाँको जिजीविषा फेरि जाग्यो।
बम्बईबाट अपरेशन गरेर फर्केपछि असोज ९ गते उहाँले एउटा एकदमै नौलो र उल्लेखनीय खालको वक्तव्य जारी गर्नुभयो, जसमा भनिएको छः
‘अब मेरो सामुन्ने प्रश्न छ – बाँकी रहेको जीवन के गरेर बिताउने ? जनताको सेवा, क्रान्ति, राष्ट्रियताको जगेर्ना, प्रजातन्त्रको सुरक्षा, जनतालाई राहत, जनसंघर्षको सुरक्षा, जनतालाई राहत, जनसंघर्ष, धर्ना आदि आदिको विषयमा धेरै धेरै कुरा गरियो। केही काम पनि नगरेको होइन। तर समाजमा उल्लेख गर्न लायकको ठोस परिर्वतन खोइ ? भएन, अब पुरानो राग अलापेर पुग्दैन। नयाँ चीन दिनुपर्यो। विकल्प खोज्नुपर्यो।’
लामाले यो वक्तव्यमा आफ्नो आधा शताब्दी लामो राजनीतिक सक्रियताको अनुभवबाट खिचेर निष्कर्ष निकाल्नुभएको छ। अब विचार अस्पष्टता पालेर हचुवा ढंगले हिँडेर काम नचल्ने निधो गर्दै उहाँले आफ्नो प्रतिबद्धता यसरी व्यक्त गर्नुभएको छ- ‘अब सिंगो समाजको अपरेशन गर्नुपरेको छ। बहुमत ल्याएर सरकार गठन गरी जनताको सेवा गर्दै नयाँ जनवादमा पुग्ने मानिसहरूको हविगत देखिसकियो। तुरून्तै क्रान्ति गरी नयाँ जनवादमा पुगी हाल्ने मित्रहरूको अवस्थादेखि पनि हामी अपरिचित छैनौँ। साँच्चै यी दुई बाटाहरू मार्क्सवाद होइनन् भने नेपाली सन्दर्भमा आजको विकल्प के हो? नेपाली समाजको अपरेशन कहाँ, कहिले र कसरी भन्ने विषयमा म केन्द्रित हुनेछु।”
जीवनको पछिल्लो घडीमा लामाले निष्कर्ष त विल्कुलै सही निकाल्नुभएको थियो। तर, धेरै ढिलो भइसकेको थियो। उहाँले यो निष्कर्ष बमोजिम काम गर्ने समय नै पाउनु भएन, उहाँलाई मृत्युले झम्टीहाल्यो।
नेकपा (चौम) रहँदा पछिल्लो चरणमा हाल मूलतः विचारधारात्मक-सांस्कृतिक कामलाई प्राथमिक महत्त्व दिने र कम्युनिष्ट आन्दोलनलाई अंशमा हैन, समग्रतामा बुझ्ने एवं पार्टीमा जनवादको ग्यारेण्टी गर्ने विषयमा उठेका मागहरूको महत्त्वलाई समयमै बुझ्न उहाँले सक्नुभएन। तर जीवनको अन्त्यमा आइपुग्दा कम्युनिष्ट आन्दोलनमा ‘नयाँ विकल्प’को खोजीसम्म उहाँको ध्यान तानिनु निकै सकारात्मक कुरा हो।
बम्बइबाट फर्केपछि मेरै सामुन्ने उहाँले क. मोहनविक्रम समक्ष विगतका सबै कुरा बिर्सेर हामी दुईजना मिलेर काम गरौं भन्ने प्रस्तावसमेत राख्नुभएको थियो र त्यो प्रयत्नमा म पनि सामेल हुने आशा गर्नुभएको थियो। परन्तु लामाका यी सब कुरा साकार हुन मूर्त प्रयत्न र पर्याप्त समयको जरूरत थियो, जुन मृत्युले कहिल्यै प्रदान गरेन।
लामाका सीमा र कमजोरीहरू
क. लामा कुनै ‘विशेष प्राणी’ हुनुहुन्थेन। त्यसैले, उहाँमा केही मानवीय कमजोरी र सीमाहरू थिए।
व्यक्तिवाद उहाँको एउटा मुख्य कमजोरी थियो। आफूलाई लागेपछि सामुहिक सरसल्लाह गरेर नबस्ने, ठिक बेठीक जे भए पनि गरिहाल्ने, बोलिहाल्ने उहाँको प्रवृत्ति थियो, जुन धेरै पटकको आलोचनापछि पनि कहिल्यै सच्चिन सकेन।
रक्सी उहाँको अर्को कमजोरी थियो। प्रायःजसो उहाँले रक्सी खाने होइन, रक्सीले उहाँलाई खाने गर्थ्यो। पार्टीको काम नोक्सानीमा पर्ने गरेर समेत उहाँ रक्सी खाने गर्नुहुन्थ्यो।
भावुकता र सन्काहापन उहाँका अभिन्न कमजोरीहरू थिए। सनकका भरमा उहाँ टाइम टाइममा लीगबाट बहकिने गर्नुहुन्थ्यो। उहाँको यही कमजोरीबाट फाइदा उठाएर अरूले आफूलाई प्रयोग गरेको उहाँलाई थाहै हुन्नथ्यो।
परन्तु यी सबै कमजोरीका बावजूद लामा जम्मामा एकजना ज्यूँदोजाग्दो र महान विद्रोही हुनुहुन्थ्यो। स्कूलमा विद्रोह, मुक्तिसेनामा विद्रोह, जेलमा विद्रोह, पार्टीमा विद्रोह र मृत्युसित पनि विद्रोह-विद्रोह नै लामाको जिन्दगीको चूरो कुरो थियो कुनै पनि पद र पैसामा नबिक्ने, यस्तो छाप्रे वर्गको जागृत विद्रोही जन्माउन देशले धेरै समय कुर्नुपर्नेछ।-श्याम श्रेष्ठ
प्रतिक्रिया