११ मंसिर २०७९, आइतबार | Sun Nov 27 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोट हाल्न पाँच घण्टा भीरको बाटो कहिलेसम्म हिँड्ने ?



अहिले पानी पर्ने मौसम छ। बाटो चिप्लो हुन्छ। एउटा मत खसाल्नकै लागि भीरको बाटो ५/६ घण्टा ओर्लिएर फेरि त्यही बाटो उक्लिन पर्ने बाध्यता कहिले सकिन्छ? मत खसाल्न गुम्बाथान झर्दै गर्दा कुनै घटना घटे जिम्मेवार को हुने ?

‘हाम्रो घर त तेम्बाथानमा हो नि !’ बुवा (साइँला लामा) प्रायः यो वाक्य दोहोर्‍याइरहनुहुन्थ्यो। म अलमलमा पर्थेँ। किनकि, म भारतमा जन्मिएँ, उतै हुर्किएँ।

म हुर्किएको हिमाञ्चलमा यो नाम गरेको कुनै गाउँ थिएन। बुवाको मुखबाट बाहेक अरुबाट यो गाउँको नाम पनि सुनेको थिइनँ मैले।

बुझ्ने हुँदै गएपछि म बुवालाई सोध्थेँ ‘कस्तो छ तेम्बाथान?’

बुवाले तेम्बाथानको विशेषता सुनाउनुहुन्थ्यो। नेपालको सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नजिकै छ, तेम्बाथान भन्नुहुन्थ्यो। ठूला पहाडका काखमा स–साना घर भएको शेर्पा बस्ती छ भन्नुहुन्थ्यो।

झरना र नुन झर्ने पहाडका बारेमा वर्णन गर्दा दिमागमा आफ्नै खालका चित्र कोर्थेँ तर सँगै तेम्बाथान पुग्ने सडक बनेको छैन, बिजुली पुगेको छैन गाउँमा भन्नुहुन्थ्यो बुवा।

तेम्बाथान गाउँ

न गतिलो विद्यालय न त स्वास्थ्य चौकी, केही छैन भनेको सुन्दा अचम्म लाग्थ्यो मलाई। किनकि, सडक र बिजुली बिनाको जिन्दगी कल्पनासमेत गर्न सक्दिनथेँ म।

सोच्थेँ, कसरी बस्छन् होला त्यस्तो अँध्यारो गाउँमा ? मलाई तेम्बाथान गाउँ कस्तो देखिन्थ्यो हेर्न मन थियो। भारतमा छँदै तत्कालीन प्रधानमन्त्रीको भिडिओ फेसबुकमा देखेको थिएँ।

भिडिओमा उहाँले ‘गाउँगाउँमा बाटो पुगिसकेको छ’ भन्नुभएको थियो। मैले सोचेँ, ‘बुवाले विकट भनेर सुनाउने तेम्बाथानमा पनि अहिले बाटो पुगिसक्यो होला। सरर गाडीमा चढेर तेम्बाथान पुगिन्छ।”

तेम्बाथानमा बाटो पुगेको कल्पना गर्दै उनी भारतबाट २०१५ मा पहिलोपटक नेपाल आएका थिए तर तेम्बाथान पुग्न ८/९ घण्टा हिँड्नुपरेपछि उनको कल्पनाहरू नमीठा र तीता अनुभवमा बदलिए। कात्तिके भन्ने ठाउँदेखि बिहान हिँड्न थालेको साँझ मात्रै तेम्बाथान पुग्यौँ।

गोरेटो बाटो हिँड्ने बानी थिएन, त्यसैले पनि हिँड्न झन् ढिला भयो। पहिलोपटक भीरैभीर हिँडेँको थिएँ म। गाउँ जाँदै गर्दा जागेको उत्साह, भीरैभीर हिँड्दै गर्दा भएको जोखिमले शून्य प्राय बनाइदिएको थियो। गाउँ सुन्दर मनमोहक देखिन्थ्यो तर हिँड्नुको सास्तीले त्यो सौन्दर्यमा रमाउन सकेन यो मन।

बल्लतल्ल गाउँ पुगेँ। व्यवस्था परिवर्तन भएसँगै गाउँमा पनि केही परिवर्तन आयो होला भन्ने सोचेको थिएँ तर बुवाले सानामा जस्तो कथा सुनाउनुहुन्थ्यो। त्यसमा केही फरक आएको थिएन। तब महसुस भयो, देशमा व्यवस्था बदलिएको सुनिए पनि गाउँ–गाउँमा त अवस्था उस्तै छ।

अहिले म वर्षमा एकपटक गाउँमा आउँछु। बिजुलीको सट्टामा अहिले गाउँमा जेनेरेटेर, सोलार बाल्न थालेका छन्। जुगल गाउँपालिकाको गुम्बाथान, च्याङ्छिन, दिपू, तेगा, तेम्बाथानमा अझै बिजुली पुगेको छैन। बाटो गुम्बाथान सम्म मात्रै पुगेको छ। त्यसपछि बाटो बनाएको छैन।

२०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँमा बाटो पुग्ने आशमा खुशी थिए तेम्बाथानबासीहरू तर जनप्रतिनिधिले तेम्बाथानबासीको आशामा आगो लगाइदिए।

दुई करोड रुपैयाँ बजेटको बाटोको ठेक्का निकाले पनि ठेक्का पाएका ठेकेदारले १५ लाख खाएर भागेको भनेर सुनाउँछन् साथीहरू। म पनि गएको बेलामा जनप्रतिनिधिलाई बाटोको बारेमा सोध्थेँ। तर कहिले बजेट अभावको कारण देखायो, कहिले कोभिडको। चासो नै गरेन।

बाटो बन्नु भनेकै विकास हुनु हो। बाटोसँगै विकास गाउँमा पुग्छ। र अहिले तेम्बाथानलाई चाहिएको नै बाटोको विकास हो। तेम्बाथान गाउँ सुन्दर छ। तर त्यहाँको बसाइँ कष्टकर छ। त्यहाँ पुग्ने जो कोहीले त्यो महशुस गर्न सक्छ।

भीरको बाटो हिँड्दै स्थानीय

तेम्बाथानमा प्याज, लसुन फल्छ तर रासन, तेल लगायत सबै आधारभूत आवश्यकताका चिजबिजका बोरा गुम्बाथानबाट बोकेर ६ घण्टा हिँडेर लानुपर्छ। अहिले पनि पनि खोलामा पुल छैन।

गत वर्ष चिसोयाममा तेगाबाट तेम्बाथानमा खोप लगाउन आएकी एक महिला र उनकी ८ महीने छोरी हिउँमा चिप्लेर भीरबाट खस्दा ज्यान गुमाउन बाध्य भए। त्यो नानीको फोटो अझै पनि मेरो ल्यापटपमा सेभ गरेर राखेको छु।

गाउँपालिकाको बजेटले तेम्बाथानमा सानो अस्पताल खुलेको छ। एक जना डाक्टर पनि राखिदिएका छन्। तर सिरियस बिरामी भए गाउँमा उपचार नै हुन्न। मर्ने बाँच्ने अवस्था सिर्जना हुन्छ। मेरै परिवारले एकपटक ठूलो समस्या भोग्नुपर्‍यो।

मेरो ९० वर्ष पुग्न लाग्नुभएको हजुरआमा अहिले पनि उतै तेम्बाथानमै हुनुहुन्छ। तीन महीना अघि कौशीमा चिप्लिएर हात भाँचियो हजुरआमाको। गाउँमा उपचार गर्न सम्भव नभएपछि हेलिमा राखेर काठमाडौं ल्याउनपर्‍यो।

सरकारी हेलिप्याड भएकाले पैसा परेन। व्यक्तिगत रुपमा खर्च गर्न परेको भए एक– डेढ लाख लाग्थ्यो। हामीले कहाँ बाट ल्याउँथ्यौँ त्यत्रो पैसा ? गाडीको बाटो नभएकोले समस्या भयो।

गाउँको गोरेटो बाटो त्यति राम्रो छैन। हिउँदमा पानी सुक्छ भनेर खानेपानी घर–घरमा पुर्‍याइदिएको छ तर पढ्नको लागि राम्रो विद्यालय गाउँमा छैन। कक्षा पाँच माथि पढ्न सहर झर्नैपर्छ। गाउँमा सुरक्षा पनि छैन।

तेम्बाथान नामको प्रहरी चौकी पनि तलै कात्तिकेमा राखिएको छ। खोई, कहिले पुग्छ त्यो तेम्बाथानमा ? उत्तर कसैसँग छैन। हाम्रो गाउँका युवा बोल्दैन। बिस्तारै बोल्न थालेको छ।

म ‘टुरिस्ट गाइड’ को रुपमा काम गर्छु भारतमा। तेम्बाथानको बारेमा थप खोजी गरिरहेको छु। तेम्बाथानलाई पर्यटनको क्षेत्रबाट प्रख्यात गराउन चाहन्छु। गाउँ विकास भएको भए सहज हुन्थ्यो।

मेरो बुवा पनि भारतको ‘रोड विभाग’ मा काम गनुहुन्छ। सानैदेखि बुवाले काम गरेको हेरेर हुर्किएँ। बाटो कसरी बनाउँछ भनेर देखेको छुँ। चाह्यो भने बाटो बनाउन कुनै गाह्रो काम होइन तर यहाँ जनप्रतिनिधिले नै चाहेको देखिँदैन।

२०७४ मा निर्वाचित जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ तेम्बाथान एकपटक मात्रै पुगेका छन्, त्यो पनि मेरो बुवाले तानेर लग्नुभएको कारण। उनले गाउँमा जाँदा भीरको बाटो हिँड्नुपरेपछि एक ठाउँमा फलामको बाटो बनाइदिएको छ। त्यसपछि शून्य, कोही गाउँमा पुगेका छैनन्। जो पनि गुम्बाथानसम्म मात्रै पुग्छ किनकि गुम्बाथानसम्म बाटो पुगेको छ।

अहिलेको स्थानीय निर्वाचन पनि गुम्बाथानसम्म मात्रै पुगेको छ। निर्वाचन आयोगले पनि तेम्बाथान, दिपू, तेगाका मतदातालाई गुम्बाथानमै बोलाउँछ। गुम्बाथान भन्दा माथि पनि गाउँ छ भन्ने कसैलाई थाहा छ कि छैन, म जान्दिनँ।

भीरको बाटो हिँड्दै तेम्बाथानबासी

अहिले पानी पर्ने मौसम छ। बाटो चिप्लो हुन्छ। एउटा मत खसाल्नकै लागि भीरको बाटो पाँच-६ घण्टा ओर्लिएर फेरि पाँच-६ घण्टाको बाटो उक्लिन पर्ने बाध्यता कहिले सकिन्छ ? भोट खसाल्नकै लागि ५ घण्टा कहिलेसम्म हिँड्ने ? मत खसाल्न गुम्बाथान झर्दै गर्दा कुनै घटना घटे जिम्मेवार को हुने ?

यी र यस्ता यावत प्रश्नहरू अझै पनि तेम्बाथानबासीमा छ। कतिपयले त भोट हाल्न गुम्बाथानमा जाँदैनौँ भनेका छन्। तेम्बाथानमा पनि चौर छ, जहाँ मतदान केन्द्र बनाउन सकिन्छ। तेम्बाथानबासीहरूको माग छ, आफ्नै गाउँमा भोट हाल्ने अवस्था सिर्जना गर्नुपर्छ तर यो प्रयत्न यसपालि पनि पूरा हुन सकेन।

मिङ्मार शेर्पा, तस्वीर : गोपेन राई

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ४ : ३० बजे