११ मंसिर २०७९, आइतबार | Sun Nov 27 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनियाँ ट्याक्सी चालकले मुर्गा बनाउँदा



बेइजिङलाई कुनैबेला साइकलको अधिराज्य ‘किङडम अफ बाइसाइकल’ भनिन्थ्यो। आयस्तर वृद्धि हुँदै जाँदा बेइजिङबासीले साइकलको ठाउँमा कार किन्न थाले। पछिल्लो समयमा बेइजिङमा निजी साइकलभन्दा निजी कारको संख्या बढी छ।

छोटो यात्रालाई सहज बनाउन, समय बचाउन, पार्किङको तनाबबाट मुक्त हुन, वातावरण संरक्षण गर्न, स्वस्थ रहन लगायतका कारणबाट केही वर्षदेखि बेइजिङका सडकपेटीमा सार्वजनिक प्रयोगका लागि लस्करै साइकल राखिएका छन्। साइकल र कारको संख्या जतिसुकै भए पनि सार्वजनिक यातायातमा ट्याक्सीको संख्या भने दिनदिनै वृद्धि हुँदै गएको छ।

सन् २०२० को तथ्याङ्कअनुसार चीनभरमा लगभग १४ लाख ट्याक्सी सञ्चालनमा छन्। बेइजिङमा मात्र ७१ हजार ५ सयभन्दा बढी ट्याक्सी गुड्छन् भने शाङहाईमा ५० हजारभन्दा बढी ट्याक्सी रहेको तथ्याङ्कमा उल्लेख छ।

ट्याक्सी भाडा चीनका प्रान्त र शहर अनुसार केही फरक छ। बेइजिङमा ट्याक्सी चढ्ने बित्तिकै मिटरमा १३ चिनियाँ युआन (२४० रुपैयाँभन्दा केही बढी) देखिन्छ। यो शुल्कले सुरुको ३ किलोमिटरको यात्रा गर्न सकिन्छ। त्यसपछि ४ देखि १५ किलोमिटरसम्म प्रतिकिलोमिटर २.३० युआन (४३ रुपैयाँभन्दा केही बढी) लाग्छ भने १५ किलोमिटरभन्दा माथि गएपछि प्रतिकिलोमिटर ३.४५ युआन (६५ रुपैयाँ जति) उठ्ने गर्छ। रात्रिकालीन समयमा २० प्रतिशत बढी लाग्ने गर्छ।

बेइजिङमा ट्याक्सी प्रयोग गर्दा प्रतिकिलोमिटर लाग्ने शुल्क नेपालभन्दा सस्तो छ। चीनमा ट्याक्सीको शुल्क विश्वमै सस्तो मध्ये पर्ने गर्छ। नेपालमा जस्तो ‘हाउ मच’ भनेर ट्याक्सीमा जथाभावी शुल्क उठाउने काम पनि चीनमा हुँदैन।

ट्याक्सीले दिने बिलमा ट्याक्सीको नम्बर, चालकको नाम र ट्याक्सी कम्पनीको फोन नम्बर पनि उल्लेख हुन्छ। मोबाइल एपबाटै ट्याक्सी अर्डर गरिने भएकाले कहाँ पुग्न कति शुल्क लाग्छ भन्ने कुरा पहिले नै थाहा पाउन सकिन्छ। ट्याक्सी चालकको व्यवहार पनि सद्भावयुक्त हुने गर्छ।

सन् २०१७ को अक्टोबर १६ तारिखका दिन नेपालबाट फर्कँदा बेइजिङको क्यापिटल विमानस्थलबाट ट्याक्सी लिएर आफ्नो कोठासम्म आएको थिएँ। ट्याक्सीबाट झरेर कोठामा पुगेपछि थाहा भयो मैले मोबाइल फोन ट्याक्सीमै छुटाएँछु। पेन्टको पकेटबाट मोबाइल ट्याक्सीमा झरेको थाहा भयो। आधा बाटोबाट साथीसँग मोबाइलमा कुरा गरेको थिएँ।

मैले तुरुन्तै साथीको मोबाइलबाट बिलमा भएको ट्याक्सी कम्पनीको नम्बरमा फोन गरेर आफ्नो मोबाइल ट्याक्सीमा छुटेको जानकारी दिँदै ट्याक्सी नम्बर र आफू चढेको समय टिपाएँ।

एक घण्टापछि उही ट्याक्सी मोबाइल लिएर आइपुग्यो। मैले मोबाइल लिएपछि उसलाई नेपालबाट ल्याएको एउटा कलात्मक झ्याल उपहार दिएँ। उसले उपहार नलिन धेरै जोड गर्‍यो। मेरो मोबाइल फिर्ता गर्नका लागि उसले निकै टाढादेखि रित्तै ट्याक्सी लिएर आएको थियो। बल्लतल्ल उसले उपहार स्वीकार गर्‍यो।

ट्याक्सी चालकहरु मिलनसार र सहयोगी हुन्छन्। तर उस्तैत्यस्तै चालकको फेला परियो भने चाहिँ नराम्ररी फसिन्छ। चीनमा ट्याक्सी चालकबाट नेपालीले पाएका भुक्तमानका केही उदाहरण यस प्रकार छन्।

बेइजिङमा बसेर काम गर्न थालेको दुई वर्ष नाघेको थियो। नियमित वार्षिक विदासँगै दशैँ मनाएर सन् २०१५ मा म काठमाडौँबाट बेइजिङ फर्कदै थिएँ। नोभेम्बर १ तारिख आइतबार बिहान काठमाडौँदेखि खुन्मिङहुँदै बेइजिङ आइपुगेँ।

आफ्नो लगेज तान्दै विमानस्थलबाट बाहिर निस्कदै थिएँ म। ट्याक्सी चढ्ने लाइन निकै लामो रहेको विमानस्थलको भित्री कक्षबाटै देखिन्थ्यो। यात्री आगमन गेटबाट बाहिर निस्कन लाग्दा एकजना चिनियाँ युवाले ट्याक्सी चाहिन्छ भनेर अंग्रेजी भाषामा सोध्यो। उसले गोजीबाट झिकेर क्यापिटल एयरपोर्ट लेखेको आफ्नो परिचयपत्र पनि देखायो।

बाहिर निस्किएर लाइन लागेर ट्याक्सी पर्खनुभन्दा त्यही व्यक्तिको ट्याक्सी चढ्न श्रेयस्कर ठानेँ मैले। मैले सोच्दासोच्दै उसले मेरो लगेज तानेर अगाडि बढिसकेको थियो। ऊ बाहिर निस्किएन। लिफ्टमा प्रवेश गरेर भूमिगत तलामा रहेको पार्किङलटमा प्रवेश गर्‍यो। म पनि उसको पछिपछि लागेको थिएँ।

उसले मेरो लगेजलाई कालो रङको कारमा राख्यो। त्यो ट्याक्सी थिएन। मैले ऊसँग बिल नभएको ट्याक्सीमा जान अस्वीकार गरेँ। उसले आफू बस्ने सिटको गद्दी उठाएर ट्याक्सीका बिलहरु देखाएर भन्यो ‘चिन्ता गर्नुपर्दैन म अवस्य बिल दिन्छु।’

बिल अरु ट्याक्सीले दिने जस्तो सक्कली नै देखिन्थे। म दुविधा लिँदै ट्याक्सीमा चढेँ। चढ्न त चढेँ तर मनमा चाहिँ आज ठगीको सिकार भइयो भनेर चिसो पसिरह्यो।

बेइजिङको क्यापिटल एयरपोर्टबाट म बसेको ठाउँ लगभग ४७ किलोमिटरको दूरीमा छ। सो दूरीमा दिउँसो ट्याक्सी चढ्दा १७० युआनभन्दा बढी पैसा उठ्दैन भन्ने मलाई थाहा थियो। त्यो पनि जाम पर्दा मात्र हो। नत्र १५० युआनको हाराहारी शुल्क लाग्ने कुरा सबैलाई थाहा थियो। त्यो कारमा शुल्क देखाउने मिटर थिएन। कति शुल्क उठ्दैछ भन्ने थाहा पाउने कुरै भएन।

आफ्नो ठाउँमा आइसकेपछि त्यो ड्राइभरसँग मैले बिल मागेँ। उसले आफ्नो झोलाबाट एउटा सानो मिसिन झिक्यो र बिल प्रिन्ट गर्‍यो। ओहो बिल त ३६५ युआनको पो!बिलमा ट्याक्सी चढेको दूरी पनि १५० किलोमिटर प्रिन्ट थियो।

त्यति धेरै पैसा कहिल्यै नउठ्ने भएकाले मैले नतिर्ने बरु प्रहरी बोलाउने धम्की दिएँ। मेरो धम्कीले ऊ टसकोमस चलेन। केहीबेर अगाडिसम्म अंग्रेजी राम्रैसँग कुरा गरिरहेको र सबै बुझ्ने व्यक्ति अब अंग्रेजी पनि नबुझ्ने भयो र चिनियाँ भाषामा केके भटभट्याउन थाल्यो। म उसको शुल्क तिर्न बाध्य भएँ।

अफिसले ट्याक्सीको बिल सोधभर्ना गर्दथ्यो। ३६५ युआनको बिल दिन निकै अप्ठ्यारो लाग्यो। भोलिपल्ट अफिसमा गएर बिल दिएँ। बिल हेरेर सबै चिनियाँ साथीहरु छक्क परे। मैले आफू ठगिएको सुइँको नदिइकन भने ‘खै मैले ठेगाना भनेको चालकले राम्रो बुझेनछ। कता कता घुमाएर दिनभरमा ल्याइदियो।’

बिलमा ट्याक्सीको नम्बर र कम्पनीको फोन नम्बर पनि थियो। चिनियाँ साथीहरुले सो ठाउँमा फोन गरेर बुझेछन्। बिलमा प्रिन्ट भएको कम्पनी र ट्याक्सीको नम्बर सही रहेछ। कुनै गिरोहले ट्याक्सीको नम्बर र कम्पनीको नम्बर ह्याक गरेर बिल बनाएको थाहा भयो।

नक्कली ट्याक्सीले मलाई ठगेको सबैभन्दा नजिकबाट नियाल्ने व्यक्ति सहकर्मी लक्ष्मी लम्साल थिए। म ट्याक्सीबाट ओर्लँदा उनी मलाई स्वागत गर्न पुगेका थिए। उनले नै यति धेर पैसा कसरी उठ्यो भनेर केहीबेर उक्त चालकसँग गलफती पनि गरेका थिए।

बेइजिङमा निजी कारलाई ट्याक्सीका रुपमा प्रयोग गरेर धेरै पैसा असुल्ने गरेको सुनिएकै थियो। त्यस्ता कारलाई अवैध ट्याक्सी अर्थात् ‘ब्ल्याक ट्याक्सी’ भनेर चिनियाँहरुले भन्छन्। आफैँ ब्ल्याक ट्याक्सीको सिकार भएको सहकर्मी लक्ष्मीजीले देखिरहेकै थिए।

म नेपालबाट बेइजिङ फर्किएको एक सातापछि लक्ष्मी एक महीने बिदामा नेपाल गए। नेपाल जाँदा उनलाई ट्याक्सीमा चढाएर बिदा गरेको थिएँ। फर्कदा चाहिँ लाइन लागेर भए पनि वैध ट्याक्सीमा आउनु होला है पनि भनेको थिएँ। बिडम्बना एक महीने बिदा सकेर फर्कँदा उनी त्यस्तै ब्ल्याक ट्याक्सीको सिकार भए।

लक्ष्मीजी अर्कोपटक पनि ट्याक्सीको ठगाइमा परेका थिए। नेपाली दूतावासले आयोजना गरेको एक कार्यक्रमा भाग लिएर फर्कँदा उनले ट्याक्सी लिएका थिए। त्यो ट्याक्सी अवैध अथवा ब्ल्याक थिएन। ट्याक्सीबाट ओर्लेपछि उनलाई बिल चाहिँ नक्कली दिएछ। फिर्ता दिनुपर्ने २० युआन पनि पैसा छैन भन्दै गएछ। भोलिपल्ट अफिसमा बुझाउँदा पो थाहा भयो बिल नक्कली भनेर। सक्कली बिल प्रिन्ट गरेर दिनु पर्नेमा पहिले नै प्रिन्ट गरेर राखिएको नक्कली बिल दिएर बढी पैसा लिएको रहेछ। खासमा विदेशी भनेर उक्त ट्याक्सी चालकले ठगेको थियो।

चीनमा ट्याक्सीले नक्कली बिल दिएर मात्र होइन नक्कली पैसा फिर्ता दिएर पनि यात्रीलाई ठग्ने गर्छन्। यसरी ठगिनेमा विशेषगरी विदेशी यात्री बढी हुन्छन्। विदेशी यात्री केही समयपछि चीनबाट फर्कने, चीनमा रहे पनि प्रहरी प्रशासनमा नपुग्ने भएकाले नक्कली पैसा दिने गरेको बुझ्न सकिन्छ।

शाङहाईमा लामो समयदेखि बसोबास गर्ने दाङका राजु अधिकारी सन् २०१३ मा ट्याक्सीचालकबाट नराम्ररी ठगिए। रातिको समयमा उनी ट्याक्सी चढेर आफ्नो डेरा फर्कँदै थिए। ट्याक्सीमा ६० युआनजति उठेको रहेछ। उनले एक सय युआनको नोट दिएछन्। ट्याक्सी चालकले नोट ओल्टाइपल्टाइ गरेर हेरेपछि भनेछ ‘यो नोट त अलिकति पुरानो रहेछ। यो चलाउन गार्‍हो हुन्छ अर्को देऊ।’

उनले त्यो नोटलाई आफ्नो पर्सभित्र राखेर अर्को दिएछन्। अर्को नोट पनि चालकले उसैगरी फिर्ता दिएछ। उनको पर्समा तीन सय युआन र केही खुद्रा पैसा थियो। तेस्रो नोट पनि फिर्ता गरेछ चालकले। त्यसपछि उनले आफूसँग पैसा नभएको बताएपछि डाइभरले भनेछ ‘खुद्रा जति छ त्यति दिए हुन्छ।’ सबै खुद्रा भेला गरेर ३५ युआन दिएपछि उनी डेरामा फर्किए। ६० युआनको ठाउँमा ३५ युआन तिर्दा बिचरा चालकलाई २५ युआन घाटा भयो भनेर थकथकाउँदै उनी डेरामा पसे।

अघिल्लो राति ट्याक्सी चालकले उनका तीनवटा सक्कली नोटसँग नक्कली नोट साटेको कुरा राजुले भोलिपल्ट मात्र थाहा पाए। चालकले फिर्ता दिएका तीनवटै नोट नक्कली रहेछन्। चलाखीपूर्वक रुपमा चालकले तुरुन्तै राजुले दिएका सक्कली नोट लुकाएर ऊसँग भएका नक्कली नोट भिडाएको रहेछ।

ट्याक्सी चालकबाट नक्कली पैसा पाउनेमा कल्याण रोका पनि हुन्। उनी बेइजिङको अन्तर्राष्ट्रिय वाणिज्य तथा अर्थशास्त्र विश्वविद्यालयमा विद्यावारिधि गर्दै थिए। ट्याक्सी चालकले फिर्ता गर्ने बेलामा ५० चिनियाँ युआन नक्कली पैसा दिएको रहेछ। उक्त ५० युआनको नोट पसलबाट सामान किन्दा मात्र नक्कली भएको रोकाले थाहा पाएको बताएका थिए। रोका हाल युवा तथा साना व्यवसाय स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष छन्।

यसैगरी सहकर्मी अजय अलौकिककी श्रीमती बैजिल केसीलाई पनि एक पटक ट्याक्सी चालकले यो नोट कुच्चिएको रहेछ, अर्को दिनु भनेर पैसा फिर्ता गरेछ। केसीले दिएको सक्कली पैसा लुकाएर ट्याक्सी चालकले नक्कली नोट फिर्ता गरेको रहेछ।

हिजोआज चीनमा ट्याक्सीबाट ठगिने सम्भावना निकै कम हुन्छ। किनभने मोबाइल एपबाट ट्याक्सी अडर गरेपछि एपबाटै पैसा तिर्ने काम हुन्छ। त्यसको सबै रेकर्ड रहने भएकाले कुन ट्याक्सी प्रयोग गरेको र को चालक थियो भन्ने कुरा प्रशासनले सहजै थाहा पाउँछ।

पैसा पनि नगद नदिएर एपबाट तिर्ने भएकाले फिता गर्नुपर्ने झन्झट नहुने भएकाले नक्कली पैसा फिर्ता दिने सम्भावना पनि रहँदैन। तै पनि कहिले काहीँ कुनै चालकले मलाई नगदै चाहिन्छ भन्यो भने चाहिँ उसको ठग्ने प्रवृत्ति हो भनेर सहजै अनुमान गर्न सकिन्छ।

बेइजिङमा नक्कली ट्याक्सी प्रश्वस्त छन् भन्ने कुरा सन् २०१८ अप्रिल २३ मा चाइना डेलीले प्रकाशन गरेको समाचारले पनि पुष्टि गर्दछ। उक्त समाचारमा प्रहरीले बेइजिङबाट नक्कली ट्याक्सी र नक्कली नोट बरामद गरेको उल्लेख छ। प्रहरीले एक संदिग्ध नक्कली ट्याक्सी सञ्चालन केन्द्रमा छापा मार्दा १९ जनालाई पक्राउ गरी करीब ७ लाख २० हजार चिनियाँ युआन बराबरका नक्कली नोट बरामद गरेको थियो।

प्रहरीका अनुसार उक्त समूहले १६ ओटा नक्कली ट्याक्सी सञ्चालन गरेको र नक्कली बिल बनाएर यात्रुलाई पटक–पटक ठगी गरेका थिए। नक्कली नोट बेइजिङको उत्तरी क्षेत्रस्थित यानछिङ जिल्लास्थित एउटा घरमा छापा मार्दा बरामद गरिएको थियो। बरामद गरिएका सबै १६ नक्कली ट्याक्सीलाई बेइजिङको यातायात आयोगले नष्ट गरेको समाचारमा जनाएको थियो।-चेतनाथ आचार्य

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ४ : ३३ बजे