११ मंसिर २०७९, आइतबार | Sun Nov 27 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तातेको चलचित्र ‘चिसो मान्छे’



काठमाडौं : गाउँ जाने बाटोमा बार। बारका बाँसमा टाँगिएका ब्यानरमा लेखिएको छ, ‘कोरोना महामारी फैलने भएकाले गाउँमा जान निषेध गरिएको छ।’ कुखुरा बोक्ने जिपमा विदेशमा निधन भएका छोराको शव बोकेर बाजुरा घर हिँडेका बुवाले यस्ता बार र बाधा धेरै छल्नुपर्छ। ‘लासमाथिको राजनीति’ र सुरक्षामा खटिएका प्रहरीले दिएको तनाव उत्तिकै। 

श्रीमान्को निधन भए पनि शोकको कुनै धर्सा अनुहारमा नदेखिएकी बुहारी साथमा। शव बोक्ने भाडाको जिपका चालक यी सबै दुःखका सारथि बन्छन्। कथा हो– अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘चिसो मान्छे’को।

स्वस्तिमा खड्काको मुख्य भूमिकामा दौडिएको यो चलचित्र एउटै कथामा सकिएको छ। स्वस्तिमाकै वरिपरि घुमेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव उठाएदेखि गाउँमा पुर्‍याएर अन्त्येष्टि गर्दासम्मको सोलो कथा बग्छ। खास कथा केही छैन। कथा तन्काउने अन्य उपकथा पनि खास छैन। 

केही मीठो दृश्यको अपेक्षा गर्दागर्दै सकिन्छ चिसो मान्छे। कतारमै मृत्यु भएका बाजुराका एक युवक बोकेको कफन जिपको पछाडि छ। जिपको ड्राइभर साइडकै सिटमा छन्, ड्राइभरको भूमिकामा अर्पण थापा, मृतक युवकको श्रीमती बनेकी छन् स्वस्तिमा खड्का, बुवाको भूमिकामा छन् ।

देशभक्त खनाल। कोरोना महामारीको समयमा सुदूरपश्चिमका नागरिकले भोगेको पीडालाई चलचित्रले केही कोट्ट्याएको छ। तर, मज्जाले कथामा जम्न नसकेको भने प्रष्ट देखिन्छ। स्वस्तिमा सुदूरपश्चिमकै महिलाको भूमिकामा देखिएकी छन्। त्यहाँ उच्चारण गर्ने नेपाली भाषालाई न्याय गरेर कथामा बहन सके पनि सुदूरपश्चिमका महिलाको पीडा छोएको मात्रै छ। त्यसले पारेको सामाजिक असर र दिइने सन्देश चलचित्रमा खासै देखिन्न। 

चलचित्रका मुख्य कुरा टेलरमै सकिएका छन्। मनमा अथाह छट्पटी, दुःख र अभाव भोगेका चलचित्रका नायक नायिका।

सपना, रहर छोप्दै सानै उमेरमा विवाह गरेर श्रीमान्को माया र महत्व महसुस नगरेको पात्रका रूपमा स्वस्तिमालाई देखाइएको छ। त्यसैले हुनुपर्छ चलचित्रमा श्रीमान्को निधन भए पनि थोरै पनि दुःख देखिन्न उनको अनुहारमा। आफन्तको मृत्युमा रुँदै छट्पटाउँदै कोकोहोलो गर्ने गरेको दृश्य देखेका दर्शकले चलचित्रमा स्वस्तिमाको अनुहारमा भने कत्ति पनि दुःख देख्दैनन्। विमानस्थलबाट गाउँसम्म जिपको डालीमा श्रीमान्को शव राखेर लग्दा उनले त्यो एउटा भारी बोकेर गाउँसम्म लगेको जस्तो मात्रै महसुस गरिरहेकी हुन्छिन्। चुलबुले स्वभावमा देखिएकी उनलाई ससुराले लोग्नेकोे मृत्यु सम्झाउँदा पनि प्रश्न गर्दै भन्छिन्, ‘को लोग्ने त्यो चिसो मान्छे ?’

ससुराले श्रीमान्को मृत्युमा पहिलेका महिला सती जाने गरेको सम्झाउँछन्। जवाफमा स्वस्तिमा भन्छिन्, ‘पहिले र अहिले उस्तै हो। ‘पहिले सती जाँदा तन डढ्ने तर, अहिले शरीर नभई मन डढ्ने’ स्वस्तिमाको फिल्मी डाइलगले भने कथालाई केही मिठास थपेको छ। चलचित्रमा स्वस्तिमाले बोलेको चिसो मान्छेको पहिलो डाइलगलाई छोराको शव लिएर गाउँ पुग्दा छरछिमेक र समाजको साथ नपाउँदा ससुराले पनि समाजलाई चिसो मान्छेहरूको समाजका रूपमा स्विकार गरेका छन्। छोराको मृत शरीर बोकेर गाउँ पुगेका वृद्ध बाबु गाउँलेको तिरस्कार र राजनैतिक खिचातानीले आजित बनेका छन्।

कर्णाली भाषा र लवजमा प्रस्टसँग घुलमिल भएकी छन् चलचित्रकी नायिका। तर लोग्नेको मृत शरीर जिपको पछाडि भएकै अवस्थामा उनमा अलिकति पनि संवेदना नदेखिनु अलि असहज लाग्छ। मृत्यु आफैंमा पीडादायक अवस्था हो। यसले हरकोहीलाई स्तब्ध बनाउँछ। तर चलचित्रमा नायिका स्वस्तिमालाई श्रीमान्को मृत्युले अलिकति पनि दुःखी बनाएका छन्। यो दृश्य अलि अप्राकृतिक लाग्छ। मृत्युमा पनि विद्रोह देखाउन खोज्दा चलचित्र वास्तविकभन्दा पर गएको छ।

सुरुवातदेखि अन्त्यसम्म जिपमा बोकेको शवसँगै सडकैसडक दौडिएको चलचित्रमा कथा कतै मोडिँदैन। १८ लाख पारिश्रमिक बुझेकी स्वस्तिमाले आफूलाई दिएको भूमिका त मज्जाले निभाएकी छिन्। तर, चिसो मान्छेमा कथा पनि अलि नतातेको महसुस भने हुन्छ। आमा, पशुपति प्रसादलगायत फिल्म बनाएका दीपेन्द्र के खनालको निर्देशन, कथा र शर्मिला पाण्डेद्वारा निर्मित चलचित्रमा चिसो मान्छे पहिलेका चलचित्र भन्दा केही खल्लो भने छ नै। फिल्ममा कुनै रोमान्टिक गीत र दृश्य छैनन्। न त नायक नायिकाले खुलेर नै प्रेम पोखेका छन्। 

फिल्म हेरेर मनोरञ्जन लिन हलसम्म पुग्ने दर्शकलाई भने चिसो मान्छे नमज्जाले चिसै बनाउँछ। एकोहोरो दुःख र दर्दका शब्द, कथाले दर्शकलाई मनोटोनोस दिन्छ। कलाकारको अभिनयमा भने प्रश्न गर्ने खास ठाउँ छैन। तर फिल्म हेरेर निस्कँदै गर्दा वाहा भन्ने दृश्य पनि केही छैन। खल्लो खल्लो छ चिसो मान्छे।

चलचित्र बजारमा आएको छ। स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतका कलाकारको अभिनय र कथालाई अब मन पराउँछन् या नाक खुम्च्याउँछन् हलमा पसेको दुई घण्टामा निर्णय दिने नै छन्।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १० : ५४ बजे