अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पहिलो मतभेद र विभाजनको रेखा प्रथम अन्तर्राष्ट्रियकालमै देखा परेको थियो । मार्क्सवादी विचार र सङ्गठनलाई विस्तार गर्ने उद्देश्यले कार्ल मार्क्सको पहलमा सन् १८६४ मा कम्युनिस्टको पहिले इन्टरनेश्नल गठन गरियो । प्रथम इन्टरनेश्नल कालमा नै पिचेर जोसे प्रुधोँ मार्क्सको विचारविरूद्ध असहमतिको स्वर लिएर अगाडि उभिए ।
सुरूमा मार्क्सवादका कट्टर समर्थक र पछि कट्टर विरोधी देखिएका प्रुधोँ मार्क्सकै पहलमा स्थापना भएको प्रथम अन्तर्राष्ट्रियका अध्यक्ष चुनिएका थिए। राज्य शक्तिका विरोधी र स्वतन्त्रताका प्रबल समर्थक रहेका प्रुधोँ साम्यवादलाई काल्पनिक मान्थे । साम्यवाद र राज्यशक्तिका कट्टर विरोधी उनी मार्क्सवादलाई ‘गरिबको दर्शन’ भन्थे जबकि माक्र्सले प्रुधोँको विचारलाई ‘विचारको दरिद्रता’ भन्नु हुन्थ्यो ।
प्रुधोँको १८६५ मा निधन भएपछि उनको विचारको नेतृत्व मिखाइल अलेक्सान्द्रोविच बाकुनिनले गरे । मार्क्स र एङ्गेल्स ‘सर्वहारावर्गले पुँजीवादी सत्तामाथि कब्जा गरिसकेपछि पराजित पुँजीवादीहरूबाट प्रतिक्रान्तिको खतरा रहिरहने हुनाले पुँजीवादीहरूमाथि अधिनायकत्व कायम हुनुपर्ने’ कुरामा दृढ थिए ।
तर बाकुनिन पुँजीवादी सत्तामाथि विजय प्राप्त गरिसकेपछि राज्यलाई स्वतन्त्र छोडिदिनुपर्ने कुरामा अडिग थिए । बाकुनिनको अराजकतावादी हटको कारण उनलाई सदस्यबाट निकाला गरी सन् १८७२ मा प्रथम इन्टरनेश्नल विघटन भएको घोषणा गर्न मार्क्स बाध्य भएका थिए । कम्युनिस्ट इतिहासमा बाकुनिनलाई अराकतावादी भनेर चिनिन्छ । प्रथम इन्टरनेश्नल विघटन गर्दा मार्क्सले भनेका थिएः ‘बाकुनीन अराजकतावादको जङ्गी घोडा हुन् ।’
प्रथम इन्टरनेश्नलकालमै यो विवादलाई सैद्धान्तिक दिशाबोध हुनेगरी एउटा घटना घट्यो । २८ मार्च, १८७१ मा फ्रान्सको पेरिसका मजदुरहरूले सशस्त्र विद्रोहबाट त्यहाँको पुँजीवादी सत्तामाथि विजय हासिल गर्यो , जसलाई पेरिस कम्युनको नामले चिनिन्छ । पुँजीवादीहरूमाथि अधिनायकत्व स्थापित गर्न नसक्दा भएको प्रतिक्रान्तिको कारण पेरिस कम्युन ७२ दिनमै ढल्यो ।
कम्युनिस्ट सिद्धान्तभित्र प्रवेश गरेको यो विचारले विश्व कम्युनिस्ट आन्दोलनलाई सुदृढ होइन विवादास्पद र विघटनतर्फ धकेलेको विश्लेषण गरिन्छ ।
७२ दिनमै प्रतिक्रान्तिमा सेलाएको पेरिस कम्युनले विश्व सर्वहारा वर्गका लागि नयाँ शिक्षा दियो । मार्क्स र एङ्गेल्सलाई पेरिस कम्युनको अनुभवले सर्वहारावर्गको अधिनायकत्वको विषयमा थप गहन् भएर सोच्न बाध्य बनायो ।
दोस्रो इन्टरनेश्नलकालमा (१८८९–१९१४) विवाद र बखेडाको झण्डा एड्बर्ग बर्नस्टिनले समाए । बर्नस्टिनले मार्क्सको अतिरिक्त मूल्यको सिद्धान्त, द्वन्द्वात्मक भौतिकवाद र सर्वहारा वर्गको अधिनायकत्व दृष्टिकोण अस्वीकार गरी यसविरुद्ध संसोधनको मुद्दा उठान गरे । दोस्रो इन्टरनेश्नलकालमा कार्ल मार्क्सको निधन भइसकेको थियो र यसको नेतृत्व एंगेल्सले गरेका थिए । तर १८९५ मा एंगेल्सको पनि निधन भएकोले इन्टरनेश्नलको नेतृत्व बर्नस्टिनमा सरेको थियो ।
सन् १८९६–१८९८ मा बर्नस्टिनले समाजवादको समस्या भन्ने लेख शृखौंला प्रकाशित गरेका थिए । ती लेखहरुमा उनले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजका सिद्धान्तका क्षेत्रमा मार्क्सवादको आधारभूत प्रस्तावनाको आलोचना गरेका थिए । पछि प्लेखानोवले बर्नस्टिनको संशोधनवादको व्यापक आलोचना गरेका थिए । त्यसपछि लेनिनले बर्नस्टिनको संशोधनवाद र मेन्सेविक अन्तर्राष्ट्रिय आन्दोलनविरुद्ध व्यापक आलोचना गरी माक्र्सवादी सिद्धान्तलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्याउनु भयो ।
भ्लादिमर इलिच लेनिनको क्रान्तिकारी विचारको अगाडि कार्ल काउत्स्की समस्याको पर्खाल बनेर उभिए । लेनिन सर्वहारा वर्गको अधिनायकत्वभित्र लोकतन्त्र सम्भव मान्थे जबकि काउत्स्की सर्वहारा वर्गको अधिनायकत्व र लोकतन्त्र सँगसँगै जान नसक्ने मान्यता राख्थे । उनी संसदीय जनवादका पक्षधर थिए । दोस्रो इन्टरनेश्नल काल १९१४ सम्म रह्यो तर काउत्स्की र लेनिनको मतान्तर पछिसम्म चलिरह्यो । काउत्स्कीको विचारमा सन् १९१७ मा बोल्सेभिकहरूले रुसमा सत्ता कब्जा गर्नु गल्ती थियो । उनी बोल्सेभिकहरूलाई क्रान्तिकारी कम आतङ्ककारी बढी देख्थे ।
रुसमा शान्तिपूर्ण तरिकाले सत्ता प्राप्त हुने निष्कर्षका पक्षपाती थिए, काउत्स्की । काउत्स्कीले यतिसम्म भन्ने गर्थे कि सर्वहारा वर्गको अधिनायकत्वले वर्ग सङ्घर्षलाई नै समाप्त गर्छ, वर्ग सङ्घर्षलाई जीवन्त राख्न लोकतन्त्र नै आवश्यक हुन्छ । त्यसो त दोस्रो इन्टरनेसनलको गठन हुने क्रममै फ्रेडरिक एङ्गेल्ससँग उनको मतभेद भइसकेको थियो । कार्ल काउत्स्की दोस्रो इन्टरनेसनलका नेता थिए तर मार्क्सवादविरोधी थिए । सन् १९१८ मा लेनिनले ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ भन्ने पुस्तक रचना गरेका थिए ।
सन् १९१२ मा प्रथम विश्वयुद्धका सङ्केतहरू देखा पर्न थालिसकेका थिए ।
प्रथम विश्वयुद्धको विषयमा लेनिन र काउत्स्कीबीच निकै मतान्तर देखियो । लेनिन विश्वयुद्ध पुँजीवादी साम्राज्यवादी अन्तरविरोधको भद्दा नमुना भएकोले कम्युनिस्टहरू आफ्ना देशका शासकको पक्षमा उभिन नहुने विचार राख्थे जबकि काउत्स्की विश्वयुद्धले राष्ट्रवादको जगेर्ना गर्ने विचारसहित पुँजीवादी इसारामा विश्वयुद्धलाई समर्थन गरी अन्तर्राष्ट्रियबाटै विभिन्न गतिविधि सञ्चालन गरिरहे । सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरु हुँदा जर्मन सरकारले पारित गरेको युद्ध बजेटलाई जर्मनीको सोसल डेमोक्र्याटिक पार्टीले समर्थन गर्यो । काउत्स्की उक्त पार्टीका नेता थिए ।
रुसको कम्युनिस्ट व्यवस्था जोगाउन आर्थिक पुनर्निर्माणलाई एकोव्लेव अचुक हतियार ठान्थे । उनलाई “ग्लास्नोस्त” का पितामह पनि भनिन्छ ।
काउत्स्कीले विश्वयुद्धलाई समर्थन गर्ने नीति लिएपछि सोही समयदेखि दोस्रो अन्तर्राष्ट्रिय समाप्त भइसकेको थियो, यद्यपि औपचारिक विघटन १९१६ मा भएको मानिन्छ ।
सन् १९१७ मा महान् अक्टोबर क्रान्ति सफल भइसकेपछि भ्लादिमिर इलिच लेनिनको पहल र नेतृत्वमा सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रिय स्थापना भयो । यसको गठनका लागि मस्कोमा आयोजित सभामा विभिन्न देशका कम्युनिस्ट नेताहरू भेला भएका थिए । भेलाले तेस्रो अन्तर्राष्ट्रियलाई कम्युनिस्ट अन्तर्राष्ट्रिय नामकरण गरेको थियो । प्रथम र दोस्रो अन्तर्राष्ट्रियले कम्युनिस्ट र मजदुर आन्दोलनलाई सङ्गठित हुन मद्दत गरे पनि यसले मार्क्सवादलाई भ्रष्टीकरण गरेको तर तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियले मार्क्सवाद र कम्युनिस्ट आन्दोलनको गुणात्मक विकासमा टेवा पुग्ने आशा लेनिनले गरेका थिए ।
उनले पुँजीवाद साम्राज्यवादमा विकसित भइसकेकोले सर्वहारा वर्गले संयुक्त मोर्चाको रूपमा आन्दोलनको विकास गर्नुपर्ने कुरामा जोड दिए । लेनिनको निष्कर्ष थियो बिसौं शताब्दी सर्वहारा क्रान्तिको शताब्दी हुनेछ ।
लेनिन, स्टालिन र ट्राट्स्की समकालीन नेता थिए । लेनिन पार्टी र आन्दोलनको प्रमुख कमाण्डर थिए । क्रान्तिअघि स्टालिन पार्टीको मुखपत्र चलाउँथे भने ट्रट्स्की सशस्त्र सङ्घर्षको नेतृत्व गर्थे र उनकै नेतृत्वमा २४ अक्टोवर, १९१७ मा पेत्रोगाद कब्जा भएको थियो । सन् १९२४ मा लेनिनको मृत्यु भयो । लडाइँमा लागेको गोलीको कारण लेनिनको स्वास्थ्य १९१८ देखि नै बिग्रिँदो अवस्थामा थियो । लेनिन आफ्नो मृत्युअघि नै आफ्नो उत्तराधिकारी तोक्न चाहन्थे ।
उनलाई ट्राट्स्की उत्तराधिकारीका लागि योग्य छन् भन्ने विश्वास थियो र पार्टीमा पनि बहुमत नेता नियोन ट्राटस्कीलाई महासचिव बनाउन चाहन्थे । तर लेनिनको मृत्युपछि जोसेफ स्टालिनले आफूलाई उनको उत्तराधिकारीको रूपमा दाबी गरे र उनी नेतृत्वको रुपमा उदाए ।
स्टालिन सोभियत सङ्घलाई मजबुत बनाउन चाहन्थे । उनी केन्द्रीयताका पक्षधर थिए । भन्थेः हाम्रो लक्ष्य सोभियत सङ्घ रुसलाई मजबुत बनाउने हो, सारा विश्वमा एकरूपता ल्याउनु होइन । उनी सत्तामा आउँदा रुसमा जमिन सानो–सानो टुक्रामा खण्डिकृत थियो । भोकमरी भइरहन्थ्यो । स्टालिन नेतृत्वमा आउनुअघि लेनिनले उनलाई किसान र मजदुरहरूको काम र उनीहरूको कामबाट प्राप्त परिणाम हेर्न सन् १९२० मा जनकमिसारको जिम्मेवारी दिएका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टी यो निष्कर्षमा पुग्यो कि ‘सोभियत पार्टीको २० औं महाधिवेशनबाट विश्व कम्युनिस्ट आन्दोलनमा ध्रुवीकरण र विभाजनको शृखौंला सुरू भयो ।
लेनिनको पालादेखि नै रुसमा जमिन राष्ट्रियकरण गरिन थालिएको थियो । स्टालिनकालमा धेरै जमिन राष्ट्रियकरण गरियो । यसको विपरीत ट्राट्स्की सर्वहाराको अधिनायकत्व लोकतान्त्रिक सिद्धान्तमा आधारित हुनुपर्दछ भन्ने मान्यता राख्थे । समाजवाद निर्माण एक देशमा अलग्गै गर्न सकिँदैन, त्यसका लागि राष्ट्रिय क्रान्तिलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय क्रान्तिसँग जोड्नै पर्ने उनको मान्यता थियो । स्टालिन र ट्राट्स्कीबीच मुख्य भिन्नता स्टालिन शक्ति केन्द्रीकरणका पक्षपाती थिए, जबकि ट्राट्स्की जनवादको लोकतान्त्रिकरण हुनुपर्ने मान्यता राख्थे । यद्यपि ट्राटस्कीले स्टालिनसँग टक्कर लिन सकेनन् ।
रुसी कम्युनिस्ट पार्टीले उनलाई दक्षिणपन्थी र अवसरवादीको बिल्ला भिरायो र कारबाही गरेर साइबेरिया पठायो । स्टालिन रुसी जनताका लागि नायक र खलनायक दुवै थिए । नायक यस अर्थमा थिए कि उनले समाजवादी सोभियत सङ्घको जग हाल्नमा महत्वपूर्ण योगदान दिए । पुँजीवादी षडयन्त्रको पर्दाफास गरी लेनिनवादी संगठनात्मक नीतिलाई सोभियत सङ्घको अर्थव्यवस्था समृद्ध बनाउने कार्यमा स्टालिनको विशेष योगदान रह्यो । खलनायक यस अर्थमा थिए कि स्टालिनले किसान र मजदुरहरूलाई उत्पादनको लक्ष्य तोकेर पूरा गर्न आदेश दिए । लक्ष्य पूरा गर्नका लागि किसान र मजदुरले मेसिनझैं काममा जोतिनु पर्थ्यो । उनीहरू काम गर्थे र उब्जनी सत्ताले अधिग्रहण पर्थ्यो ।
त्यो दुर्भाग्यबाट बच्न किसानहरूले अन्न र जनावरहरू लुकाउन थाले, जुन बोल्सेभिक सत्ताका लागि गम्भीर अपराध थियो । स्टालिनले त्यसलाई सोभियत सत्ता र समाजवादविरुद्धको अपराध घोषणा गरे । किसानहरूमाथि कारबाही सुरु भयो । दसौं लाख किसानको हत्या गरियो । स्टालिन क्रुरताको प्रहार पार्टी नेता र सेनाका जनरलसम्म भएको आरोप छ ।
सन् १९५३ मा स्टालिनको निधन भयो । उनको निधनपछि निकिता ख्रुश्चेभ सोभियत कम्युनिस्ट पार्टीको महासचिव र राष्ट्रपति दुवै बने । आज विश्व कम्युनिस्ट पार्टी र नेताहरू ख्रुश्चेभलाई पार्टीभित्र संशोधनवादलाई हुर्काएको आरोप लगाउँछन् तर तिनै ख्रुश्चेभले स्टालिनलाई रुसी इतिहासको सबैभन्दा ठूलो तानाशाहको आरोप लगाए ।
उनले सन् १९५६ मा सोभियत कम्युनिस्ट पार्टी (बोल्सेभिक) को २० औँ महाधिवेशन आयोजना गरियो । त्यस महाधिवेशनको मध्यरातमा ख्रुश्चेभले एउटा गोप्य रिपोर्ट पेस गरे र स्टालिनको आलोचनामा ‘डाकूँ, जुवाडे, मुर्ख, जडशुत्रवादी, अपराधी र हत्यारा’ जस्ता सङ्गीन शब्दको प्रयोग गरे । उनले स्टालिनलाई पार्टी केन्द्रीय कमिटिका १३९ मध्ये ९३ जना र सेनाको १०३ जनरल र एडमिरल मध्ये ८१ जनाको हत्या गरेको सङ्गीन आरोप लगाए ।
पार्टीको उक्त २० औं महाधिवेशनमा ख्रुश्चेभद्वारा प्रस्तुत प्रतिवदेनमा लेनिन र स्टालिनकालीन समयमा अक्टोबर क्रान्तिले लिएको बाटो तत्कालीन परिस्थितिमा सही रहेको तर परिस्थिति बदलिसकेको हुँदा संसदीय माध्यमबाट पनि पुँजीवादबाट समाजवादतर्फको सङ्क्रमण सम्भव रहेको निष्कर्ष निकालियो ।
पहिलेको तुलनामा विश्व पुँजीवादमा निकै सङ्कुचन आइसकेको, समाजवाद शक्तिशाली बनिसकेको, विश्वका आधाभन्दा बढी मुलुकहरू औपनिवेशिक बन्धनबाट मुक्त भइसकेका र विश्वमा शन्तिकामी शक्तिमा गुणात्मक वृद्धि भइसकेको आधारसिहत ख्रुश्चेभले प्रस्तुत गरेको दस्तावेज महाधिवेशनबाट भारी मतले पारित गरियो । २० औं महाधिवेशनपछि सोभियत कम्युनिस्ट पार्टीले युद्धबाट होइन शान्तिपूर्ण सहअस्तित्वको नीति र वार्ताबाट कुनै पनि समस्या समाधान गर्न सकिने बाटो तय गर्यो । २२ औं महाधिवेशनले सोभियत कम्युनिस्ट पार्टीको प्रस्तावनामै सोभियत सङ्घलाई ‘सम्पूर्ण जनताको राज्य’ र पार्टीलाई ‘सम्पूर्ण जनाताको पार्टी’ घोषणा गर्यो।
स्टालिनको निधन र ख्रुश्चेभको उदयपछि विश्व कम्युनिस्ट आन्दोलन निकै विवादास्पद बन्यो । कम्युनिस्ट पार्टीले पूर्ववर्ती क्रान्तिकारी नीतिको सट्टा शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा, शान्तिपूर्ण सङ्क्रमण, सम्पूर्ण जनताको राज्य, सम्पूर्ण जनताको पार्टी भन्नेजस्ता शान्तिकामी सोंच र नीतिसम्बन्धी कार्यक्रम अगडि बढायो ।
कम्युनिस्ट सिद्धान्तभित्र प्रवेश गरेको यो विचारले विश्व कम्युनिस्ट आन्दोलनलाई सुदृढ होइन विवादास्पद र विघटनतर्फ धकेलेको विश्लेषण गरिन्छ । ख्रुश्चेभलाई वर्ग सङ्घर्ष, सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घषको सिद्धान्तविरूद्ध भीषण हमला गरेको भनेर आलोचना गरिन्छ । त्यति मात्रै होइन सोभियत समाजवादमा संशोधनवाद प्रवेश गराएर प्रतिक्रान्तिकारी बाटोबाट माक्र्सवाद–लेनिनवादप्रति गद्दारी गरेको विश्लेषणात्मक आरोपका भागिदार ख्रुश्चेभ हुन् ।
आज पनि कम्युनिस्ट आन्दोलनभित्र कुनै पनि कम्युनिस्ट पार्टी आम जनताको पार्टी हुन सक्दैन भन्ने मत जीवितै छ । कम्युनिस्ट पार्टी सर्वहारा वर्गको मात्रै हुन्छ र राज्य पनि सर्वहारा वर्गको मात्रै हुन्छ भन्ने मत कम्युनिस्ट परम्परागत मान्यता हो । रुसी कम्युनिस्ट पार्टीभित्र देखिएको विचलनको प्रभाव चिनियाँ कम्युनिस्ट पार्टीमा समेत पर्न गयो ।
रुसी कम्युनिस्ट पार्टीको २० औं महाधिवेशन लगत्तै ४ अप्रिल, १९५६ मा चिनियाँ कम्युनिस्ट पार्टीले ‘अधिनायकवादको ऐतिहासिक अनुभवको विषयमा’ र २९ डिसेम्वर, १९५६ मा ‘सर्वहारा अधिनायकत्वको ऐतिहासिक अनुभवको सम्बन्धमा थप कुरा’ भन्ने शीर्षकहरूमा लेख प्रकाशन गर्यो । यी दुईवटै लेखमा स्टालिनमाथि लगाइएका आरोपहरूमाथि गहन् विश्लेषण गरियो । साथै साम्राज्यवादी र प्रतिक्रियावादीहरूद्वारा कम्युनिस्टहरूमाथि लगाइएका लाञ्छनाहरूको चिरफार गरियो । अक्टोवर क्रान्तिको महत्वलाई पुनस्थापित गरियो । सोभियत पार्टीको २० औं महाधिवेशनद्वारा पारित शान्तिपूर्ण नीतिको भत्सर्ना गरियो । चिनियाँ कम्युनिस्ट पार्टी यो निष्कर्षमा पुग्यो कि ‘सोभियत पार्टीको २० औं महाधिवेशनबाट विश्व कम्युनिस्ट आन्दोलनमा ध्रुवीकरण र विभाजनको शृखौंला सुरू भयो ।’
सोभियत पार्टीको २० औं महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रम अब एकदेशीय मामिला रहेन । यद्यपि महाधिवेशनमा विश्व कम्युनिस्ट आन्दोलनलाई नै दिशाबोध हुने गरी कम्युनिस्ट आन्दोलनलाई दीर्घजीवन दिएको दाबी गरिएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको गम्भीर आपत्तिको कारण विश्व कम्युनिस्ट आन्दोलनमा देखापरेको सैद्धान्तिक विवादलाई सुल्झाउने उद्देश्यले सन् १९५७ मा एउटा बैठकको आयोजना गरियो । उक्त बैठकमा विश्वका कम्युनिस्ट र मजदुर पार्टीको सहभागिता थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अध्यक्ष माओत्जेदुङग् स्वयंले उक्त बैठकमा भाग लिनुभएको थियो । बैठकमा सोभियत कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच गम्भीर मतभेद बहस भयो । चिनियाँ कम्युनिस्ट पार्टीले सोभियत कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनले समातेको बाटोविरुद्ध असहमति जनायो । पुँजीवादबाट समाजवादमा शान्तिपूर्ण सङ्क्रमण र संसदमा बहुमत ल्याएर त्यसलाई पुँजीपति वर्गको अधिनायकत्वबाट सच्चा जनताको राज्यसत्तामा बदल्ने विषय बहसको प्रमुख एजेण्डा थियो । सोभियत कम्युनिस्ट पार्टी एजेण्डाको पक्षमा थियो भने चिनियाँ कम्युनिस्ट पार्टी विपक्षमा ।
सोभियत कम्युनिस्ट पार्टीले आफ्नो दस्तावेजमा शान्तिपूर्ण बाटोका विषयमा चर्चा गरे पनि त्यसमा गैरशान्तिपूर्ण बाटोको कुनै चर्चा गरिएको थिएन । शान्तिपूर्ण बाटो एउटा विकल्प हुन सक्दथ्यो तर निर्विकल्परूपमा यसलाई राखिनु वस्तुनिष्ठता र समाज विज्ञानको आलोकसँग अमिल्दो थियो ।
अतः चिनियाँ कम्युनिस्ट पार्टी समहत हुन नसकेपछि एउटा सम्झौतावादी निकासमा सहमत भएर हस्ताक्षर गरियो जुन मस्को घोषणापत्रको रूपमा चिनिन्छ । जहाँ शान्तिपूर्ण सङ्क्रमणको उल्लेख गरिएको छ, त्यहाँ गैरशान्तिपूर्ण सङ्क्रमण उल्लेख गरेर विवादलाई निष्कर्षमा पुर्याइए पनि चिनियाँ प्रतिनिधिमण्डलले सोभियत कम्युनिस्ट पार्टीलाई लेखेको पत्रमा भनिएको थियो–‘रुसी कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनबाट पारित शान्तिपूर्ण सङ्क्रमण सिद्धान्तप्रति हामी असहमत छौं । विश्व कम्युनिस्ट एकतालाई ध्यान दिएर मात्रै हामीले घोषणापत्रमा हस्ताक्षर गरेका हौं ।’
सोभियत कम्युनिस्ट पार्टीले आफ्नो २० औं महाधिवेशनबाट पारित आफ्नो कार्यदिशालाई विश्व कम्युनिस्ट आन्दोलनको कार्यदिशा बनाउन चाहन्थ्यो । तर, सुरुदेखि नै चिनियाँ प्रतिनिधि मण्डल कुनै एउटा देशको कम्युनिस्ट पार्टीको महाधिवेशनबाट पारित कार्यदिशा विश्व कम्युनिस्ट आन्दोलनको साझा कार्यदिशा हुनै सक्दैन, माक्र्सवाद–लेनिनवादमा आधारित सर्वसम्मत दस्तावेज मात्रै अन्तर्राष्ट्रिय कम्युनिस्ट आदोलनको साझा कार्यदेश हुनसक्छ भन्ने अडानमा रह्यो ।
चिनियाँ कम्युनिस्ट पार्टीको असहति र सुझावलाई सोभियत कम्युनिस्ट पार्टीले गम्भीररूपमा लिन चाहेन । मस्को घोषणापत्रमा हस्ताक्षर गरेपछि सोभियत कम्युनिस्ट पार्टी आफ्नो २० महाधिवेशनबाट पारित कार्यदिशाको रुझानमै अल्झियो । ‘शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण सङ्क्रमण’ सम्बन्धी कार्यदिशाको वकालत गर्न उसले छोडेन । अर्थात् आफ्नै आयोजनामा सम्पन्न मस्को घोषणापत्रको उलङ्घन गर्न सोभियत कम्युनिस्ट पार्टी कम्मर कसेर लाग्यो । यहाँसम्म कि पुँजीवादको नेतृत्व लिइरहेको आफ्नो प्रतिद्वन्द्वी अमेरिकाप्रति सोभियत कम्युनिस्ट पार्टीले उदार नीति लिन थाल्यो ।
परिणामस्वरूप दुवै देशका अधिकारीहरूको द्विदेशीय भ्रमण हुनथाले । यसको विपरीत चिनियाँ र अल्बानियाली कम्युनिस्ट पार्टीप्रति सोभियत पार्टी अनुदार देखिन थाल्यो ।
उदेक लाग्दो कुरा त के भयो भने मस्को सम्मेलनबाट विश्व कम्युनिस्ट पार्टीका नेताहरू स्वदेश फर्किसकेका पनि थिएनन्, सोभियत कम्युनिस्ट पार्टीबाट मस्को घोषणापत्र उलङ्घनका विषय बाहिरिन थाले । मस्को सम्मेलनले युगोस्लाभियाको कम्युनिस्ट लिगबाट मार्क्सवाद र लेनिनवादमाथि गद्दारी भएको निष्कर्ष निकालेको थियो ।
सन् १९९० सम्म आउँदा सोभियत सत्तालाई एक सय अर्बभन्दा बढी घाटा लागिसकेको थियो, देश टाट पल्टिदै थियो ।
तर ख्रुश्चेभले युगोस्लाभियालाई समाजवादी देश घोषणा गरिदिए । सोभियत कम्युनिस्ट पार्टीद्वारा जारी एउटा वक्तत्वमा भनियोः ‘..महान् अक्टोबर क्रान्तिको ४० औं वर्षगाँठको अवसरमा मस्कोमा आयोजित सम्मेलनमा सहभागी हुन आउनुभएका विश्वका मजदुर तथा कम्युनिस्ट पार्टीहरूका प्रतिनिधिहरूबीच पारस्परिक हितसम्बन्धमा व्यापक विचार विमर्श भयो । सुरुमा १२ वटा समाजवादी देशका कम्युनिस्ट तथा मजदुर पार्टीको बैठक राखियो भने पछिबाट ६४ देशका प्रतिनिधिहरूको सम्मेलन सम्पन्न भयो । कम्युनिस्ट इन्टरनेश्नल विघटनपछि मजदुर तथा कम्युनिस्ट पार्टीको यो सबैभन्दा ठूलो भेला हो ।
ठूलो विचार विमर्शपछि यस सम्मेलनले जारी गरेको घोषणापत्रबाट विश्व कम्युनिस्ट आन्दोलनको प्रश्नमा सोभियत पार्टीको २० औं महाधिवेशनबाट पारित कार्यदिशा तथा प्रस्थापनाको अनुमोदन गरेको छ ।’
स्टालिनको मृत्युपछि सोभियत कम्युनिस्ट पार्टीभित्र आन्तरिक भन्दा पनि चिनियाँ कम्युनिस्ट पार्टीसँगको मतभेदले निकै तिक्तता ल्यायो । सन् १९६० मा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा प्रकाशित ‘लेनिनवाद जिन्दावाद’ र यसअघि नै प्रकाशित ‘अधिनायकवादको ऐतिहासिक अनुभवको विषयमा’ र ‘सर्वहारा अधिनायकत्वको ऐतिहासिक अनुभवको सम्बन्धका थप कुरा’ शीर्षकका लेखहरूबाट विश्व कम्युनिस्ट आन्दोलनभित्र मतभेदको विजारोपण भएको आरोप सोभियत कम्युनिस्ट पार्टीको छ भने यसप्रकारको विभाजन र मतभेदको शृखौंला सोभियत पार्टीको २० औं महाधिवेशनबाट सुरुभएको चिनियाँ कम्युनिस्ट पार्टीको जिकिर छ ।
यसरी आरोप प्रत्यारोपको हिलो छ्यापाछ्यापबाट सुरु भएको फुट तथा विभाजनको कोपमा विश्व कम्युनिस्ट आन्दोलन सोभियत विचारधारा र चिनियाँ विचारधारामा विभक्त हुन पुग्यो ।
कम्युनिस्ट आन्दोलनमा ख्रुश्चेभको संसोधनवादी धारा अगाडि बढ्यो र सोभियत सङ्घलाई पुँजीवादमा पतन गराइछाड्यो । त्यसको लगत्तै माओत्जेदुङ्ग र चिनियाँ कम्युनिस्ट पार्टीले ख्रुश्चेभपन्थी नवसंशोधनवादविरूद्ध अन्तर्राष्ट्रियस्तरमा बहस चलायो । ख्रुश्चेभी नवसंशोधनवाद संसारका विभिन्न कम्युनिस्ट पार्टीहरुका हैजाका किटाणुझैँ गरी फैलियो । अहिले पनि ख्रुश्चेभपन्थी आधुनिक संशोधनवाद विश्वसर्वहारा क्रान्तिको वाधकको रुपमा खडा हुँदै आइरहेको छ ।
प्रथम इन्टरनेश्नलकालमा कार्ल मार्क्सको शिष्य भन्न आफूलाई गर्व गर्ने एम.ए. बाकुनिनले कालान्तरमा उनै मार्क्सलाई सर्वसत्तावादी र तानाशाहको बिल्ला भिराएका थिए । द्वितीय इन्टरनेश्नल कालमा काउत्स्कीले लेनिनलाई माक्र्सवादलाई मध्ययुगीन बर्बरताको कोटिमा उकालेको आरोप लगाएका थिए । अब आएर स्टालिनका विरुद्ध ख्रुश्चेभले संशोधनवादको जेहाद छेडेका थिए ।
मिखाइल गोर्वाचेभको सत्तारोहण र सोभियत सङ्घको पतन
११ मार्च, १९८५ मा ५४ वर्षका मिखाइल गोर्वाचेभ रूसी कम्युनिस्ट पार्टी महासचिवमा निर्वाचित भए । उनी ख्रुश्चेभको सुधारवादी कार्यक्रमबाट प्रभावित थिए । सोभियत सङ्घको अर्थतन्त्रमा सुधार गर्नु उनको प्रमुख लक्ष्य थियो । यसका लागि उनले खुलापन (ग्लासनोस्ट) पुनर्संरचना (प्रेस्ट्रोइक) को नीति ल्याए । गोर्वाचोभका सुधारवादी कार्यक्रममा उनलाई नजिकबाट सहयोग गर्ने नेता अलेक्जेण्डर यकोव्लेव थिए । उनी अमेरिकामा एक वर्ष पढेर आएका थिए ।
रुसको कम्युनिस्ट व्यवस्था जोगाउन आर्थिक पुनर्निर्माणलाई एकोव्लेव अचुक हतियार ठान्थे । उनलाई “ग्लास्नोस्त” का पितामह पनि भनिन्छ ।
गोर्वाचेभ खुल्ला तथा उदार अर्थतन्त्रबाट समाजवाद हुँदै साम्यवादसम्म पुग्न सकिने मान्यता राख्न थालेका थिए । ख्रुश्चेभको पुँजीवादपरस्त कार्यक्रमबाट सोभियत समाजवाद मक्किँदै गएको थियो । सन् १९८६ मा भएको पार्टीको सत्ताइसौँ महाधिवेशनबाट गोर्वाचेभको आर्थिक पुनर्निर्माण (पेरेस्त्रोइका) र राजनीतिक खुलापन (ग्लास्नोस्त) कार्यक्रम पारित भएको थियो । समाजवादलाई अझ सुदृढ गर्न गोर्वाचेभले यस्तो सुधारको कार्यक्रम ल्याउनुपरेको स्पष्टोक्ति दिएका थिए ।
भनिन्छ, सन् १९८७ को जुनमा भएको पार्टीको विस्तारित बैठकमा गोर्वाचेभले बहुदलीय व्यवस्थाको प्रस्ताव राख्न खोजेका थिए तर तात्कालीन परिस्थितिमा उनी यो प्रस्तावमा अघि बढ्न सकेनन् तर आर्थिक सुधारलाई बल पुग्ने दस्तावेज भने पेस गरे । सोभियत सरकारलाई कुनै प्रश्न गर्न पाइँदैन थियो । गोर्वाचेभले यो नीति लागू गर्नुअघि सोभियत सङ्घमा स्वतन्त्ररूपले बोल्न र लेख्न पाइँदैन थियो । खुला नीतिको कार्यक्रम लागू भएपछि सबैले स्वतन्त्र बोल्न र लेख्न पाउने भए ।
तर गोर्वाचेभले सोंचेको जस्तो भने भएन । कम्युनिस्ट पर्टीमा पुनर्जागरण गर्ने उद्देश्यले लागू गरिएको यो नीतिले त्यहाँको सञ्चारमाध्यम र बौद्धिक वर्ग उल्टै सरकारको विरुद्धमा बोल्न र लेख्न थाल्यो । सोभियत सङ्घले मिडिया र सार्वजनिक क्षेत्र दुवैमा नियन्त्रण गुमायो र प्रजातन्त्रको आवाज उठ्न थाल्यो । प्रेस्ट्रोइकले पुजीँवाद र समाजवादको खराब मिश्रणलाई उजागर गर्यो । बजार मूल्य नियन्त्रण त गरियो तर विद्यमान नोकरशाही संरचनाहरु भने जस्ताको त्यस्तै रहे । गोर्वाचेभको आर्थिक सुधारको कार्यक्रमबाट निजी व्यापारले कानुनी मान्यता प्राप्त गर्यो ।
सरकारी उत्पादन कम्पनिहरूले आफ्नो उत्पादनको तीस प्रतिशत निजी व्यापारी र सहकारीलाई बेच्न पाउने प्रावधान बन्यो । सञ्चारमाध्यमहरूले सरकारका गतिविधिहरूको आलोचना समेत गर्न पाउने भए । कम्युनिस्ट पार्टीविरोधी कार्य गरेको आरोपमा बन्दी भएकाहरु रिहा भए । निजी क्षेत्र नाफामूखीरूपमा अगाडि बढ्न थाल्यो । तर, सरकारी कम्पनिहरूको घाटा बढ्न थाल्यो । परिणामस्वरूप कालोबजारी र भ्रष्टाचार बढ्न थाल्यो । सुधारवादी बाटोले देखाएको निराशाजनक अवस्था र यो नीतिको विपक्षमा कम्युनिस्ट पार्टीभित्र आवाज बुलन्द नभएको होइन ।
तर, गोर्वाचोभले त्यसलाई वेवास्ता गरे । उनले स्थापित गर्न चाहेको नयाँ प्रणाली मजबुत नहुँदै लामो सङ्घर्षबाट स्थापित रुसी कम्युनिस्ट पार्टीबाट स्थापित राज्य संयन्त्र मक्किसकेको थियो । सरकारको नियन्त्रणमा रहेको नोकरशाहीतन्त्र दलाल, माफिया र तस्करीसँगको साँठगाँठमा निकम्पा हुँदै गइरहेको थियो । कालोबजारी मौलाउँदै गइरहेको थियो ।
सुधारवादले अन्ततः पुँजीवादको सेवा गर्छ भन्ने लेनिनवादी चिन्तनको परिणाम गोर्वाचेभवादी चिन्तनबाट मुखरित हुँदै थियो । पुँजीवादको सेवामा समर्पित गोर्वाचेभको भक्तिबाट पश्चिमी पुँजीवादी वृत्त स्वाभाविकले हर्षित थियो ।
मिखाइल गोर्वाचेभको प्रशंसामा उसले शब्दहरु खर्चिन सुरु गरेको थियो । सन् १९८८ मा न्युयोर्क टाइम्स पत्रिकाले गोर्वाचेभलाई “वर्ष पुरुष” घोषणा गर्यो । गोर्वाचेभ मख्ख थिए । पूर्वीयुरोपका समाजवादी मुलुकहरुमा बढेको अमेरिकी सहयोगका कार्यक्रमलाई उनले निर्वाध छूट दिएका थिए । हेर्दाहेर्दै गोर्वाचेभले अफगानिस्तानबाट रुसी सेना फिर्ता गरेर अमेरिकी साम्राज्यवादलाई खुसी पारे ।
स्टालिनले लागु गरेको राष्ट्रिय समाजवादको कार्यक्रम ख्रुश्चेभको उदयले सङ्कटमा पर्दै आइरहेको थियो । समाजवाद र पुँजीवादको प्रमुख भिन्नता समाजवादले अवलम्बन् गरेको अहस्तक्षेपकारी नीति हो । तर, सोभियत सङ्घले अनावश्यक हस्तक्षेप गरेर आफूलाई अमेरिकी साम्राज्यवादको सान्दाइको झल्को दिँदै थियो । आणविक हातहतियारमा राज्यको धेरै ठूलो सम्पत्ति खर्च हुन थाल्यो । आर्थिक सुधारको कार्यक्रमबाट मस्कोले केही थान अर्बपति त जन्मायो तर सिङ्गो सोभियत सङ्घ टाट पल्टिसकेको थियो ।
सन् १९९० सम्म आउँदा सोभियत सत्तालाई एक सय अर्बभन्दा बढी घाटा लागिसकेको थियो । देश टाट पल्टिदै थियो, कम्युनिस्ट सत्ता धर्मराउँदै थियो र पनि गोर्वाचेभ पुँजीवादको ललीपपमा हौसिदै थिए । सन् १९८९ को अन्त्यसम्ममा बाल्टिक गणराज्यहरुले आफूलाई स्वतन्त्र घोषणा गरिसकेका थिए । अन्य गणराज्यहरुमा पनि स्वतन्त्रताको आन्दोलन सुरु भइसकेको थियो । तर, पुँजीवादी सत्ताले सन् १९९० को शान्तितर्फको नोवेल पुरस्कार गोर्वाचेभलाई दियो । गोर्वाचेभ सोभियत सङ्घलाई जोगाउन चाहन्थे । तर उनले विघटनको बिउ आफैँले रोपिसकेको थिए, जुन गलगाँड बनेर बल्झिदै थियो । सन् १९९० को जुन महिनामा सोभियत सङ्घको कम्युनिस्ट पार्टीको अट्ठाइसौँ महाधिवेशन आयोजना गरियो । यो नै सोभियत कम्युनिस्ट पार्टीको अन्तिम महाधिवेशन थियो ।
गोर्वाचेभले “मानवीय प्रजातान्त्रिक समाजवादतर्फ” नामक दस्तावेज पेस गरे । विषवृक्ष रोपेर कल्पवृक्षको आशा गर्नु निरर्थक हुन्थ्यो । सुधारवादको मल हालेर रोपिएको पुँजीवादको बिउँले समाजवादको जग भत्काएर पुँजीवादको नै फराकिलो राजमार्ग बनाइसकेको थियो । राज्य नियन्त्रित उत्पादन फर्महरु बन्द हुने चरणमा पुगेका थिए । किसान र मजदुरको अवस्था सन् १९१७ को झैँ भइसकेको थियो । अब गोर्वाचेभसँग भएको पार्टी र सत्ताको पदले सिन्को पनि भाँच्न सक्ने अवस्था थिएन ।
उनले सबै गुमाइसकेका थिए । गोर्वाचेभ उदारवादको कठघरामा निरिहताको बर्को ओढेर टीठलाग्दो अवस्थामा उभिएका कैंदीजस्ता देखिन्थे । समाजवादसहित आफ्नो अवसानको यात्रा गोर्वाचेभले अचानक सुरु गरेका थिएनन् । सुधारवादको बाटोबाट छिरेको पुँजीवादले उत्पादनका साधनहरु मजदुर र किसानहरुबाट वेतनभोगी नोकरशाहहरूको कब्जामा पुर्याइदिए सँगै यो यात्रा सुरु भएको थियो । अतः सन् १९९१ अप्रिलमा पार्टीको केन्द्रीय समिति बैठकमा गोर्वाचेभ राजीनामा दिन बाध्य भए । तर केन्द्रीय समितिको आग्रहमा उनले आफ्नो राजीनामा फिर्ता लिए ।
१८ अगस्त, १९९१ को दिन गोर्वाचेभ आफ्नी श्रीमती र छोरीको साथ क्रिमियास्थित सरकारी आवासमा बिदा मनाइरहेका थिए । अचानक उनको घरमा एउटा सरकारी टोली पुग्यो र राजीनामा गर्न भन्यो । गोर्वाचेभले राजीनामा गर्न मानेनन् । उनलाई आफ्नै निवासमा बन्दी बनाइयो । २१ अगस्तमा गोर्वाचेभ मस्को ल्याइए । मस्को आएपछि गोर्वाचेभले केन्द्रीय समिति भङ्ग गरेको घोषणासँगै पार्टीबाट राजीनामा दिए । २९ अगस्तमा बोरिस यल्त्सिनले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाए । त्यो समयसम्म सोभियत कम्युनिस्ट पार्टीका झण्डै एक करोड नब्बे लाख संगठित सदस्य थिए ।
१७ डिसेम्बरका दिन यल्त्सिनसँगको बैठकमा गोर्वाचेभले सोभियत सङ्घ विघटनको प्रस्तावमा हस्ताक्षर गरे । २४ डिसेम्बरमा सोभियत सङ्घको राष्ट्रपतिको हैसियतमा गोर्वाचेभले अन्तिम सम्बोधन गरे । उनको भाषणको मुख्य अंश यस्तो थियोः “सुधारका सबै प्रयासहरु असफल भए । .. यो समाजले स्वतन्त्रता प्राप्त गरेको छ ।”
२५ डिसेम्बरका दिन गोर्वाचेभले राष्ट्रपति पदबाट राजीनामा दिए । उनको राजीनामासँगै अक्टोबर क्रान्तिबाट स्थापित सोभियत सत्ता पूर्णतः ढलेको थियो । क्रेमलिनमा हँसिया हथौडा अङ्कित रातो झण्डा अन्तिम पटक फहराइएको दिनदेखि पुँजीवादले विजय उत्सव मनाउन थाल्यो ।
सोभियत सङ्घको पतन विश्व इतिहासमा अनौंठो र विश्व कम्युनिस्ट आन्दोलनका लागि महत्वपूर्ण घटना थियो । विघटन हुनुअघि अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको शक्तिशाली देशको रूपमा सोभियत सङ्घ उदयीमान थियो । गोर्वाचेभले सुधारवादी कार्यक्रम लागू गरिरहँदा भनेका थिए–“हामी सन् २००० मा अमेरिकी उत्पादनलाई उछिन्ने छौं ।” तर सन् १९९१ मै विगत ७० वर्ष लामो सोभियत समाजवादी सत्ता एउटा पनि गोली खर्च नभई ढलेको थियो । क्रमशः…
(मधुश्रीको यो लेख नेपाल कम्युनिस्ट पार्टीको गठनदेखि विगठनसम्म विश्व कम्युनिस्ट आन्दोलनले पारेको प्रभावमाथि केन्द्रित रहेकोले बाँकी अंश क्रमशः प्रकाशित हुँदै जानेछ)
प्रतिक्रिया