७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राउटे समुदायमा जलवायुका अनेकन असर



दैलेख । कट्टी खोला किनारमा फाँट परेको ठाउँ छ। जहाँ लोपोन्मुख राउटे समुदायको बस्ती झुरूप्प देखिन्छ। ४१ घर लहरै छन्। यो पनि उनीहरू सरेर आएको ठाउँ हो। सबै परिवारको घर अट्ने ठाउँको छनोट गरेर बस्ने उनीहरूको रोजाइ खोला किनार परेको धेरै समय भयो। फरक जीवनशैली अपनाउने उनीहरूको यस्तो रहनसहनले नेपाललाई विश्वमा पनि चिनाएको छ भने सांस्कृतिक विविधतामा एउटा इँटा पनि थपेको प्रष्ट छ। 

यो समुदाय दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलका छेउ, पहाडको खोंच तथा टाकुरा, नदी किनारमा बसाइँ सरिरहन्छन्। नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रूपमा चिनिने राउटे जाति दक्षिण एसियाको एक मात्र भ्रमणशील र फिरन्ते जाति हो। आफूलाई ‘वनको राजा’ भन्न रुचाउने यो समुदाय नेपालको नागरिक हौं भनेर गर्व गर्छन्। कर्णाली प्रदेशका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदाय कुनै स्वार्थ देखिँदैन। 

नेपालको नागरिकता नलिए पनि नेपाली नागरिक हौं भनेर गौरव गर्नमा उनीहरू कुनै हिचकिचावट देखिँदैन। यो समुदायहरूको उत्थानका लागि तीनै तहका सरकारले प्रयास पनि गरिरहेको छ। उनीहरूलाई एकै ठाउँमा बस्न सरकारले आग्रह गरिरहे पनि अस्विकार गर्दै आएका छन्। राउटे समुदायका प्रत्येक व्यक्तिलाई सरकारले मासिक भत्ताको व्यवस्था पनि गरेको छ। 

पछिल्लो समय भने यो जातिमा केही परिवर्तन आएको देखिन्छ। स्थायी अन्य समुदायका नागरिकसँगको घुलमिल, लेखपढ र खेतीपाती गर्ने तरिका केही परिवर्तन भएको देखिन्छ। आफ्नो परम्परामा कडा देखिए तापनि आधुनिकतासँगै राउटे समुदायमा परिवर्तनको संकेत देखिएको यो समुदायलाई नजिकबाट नियालिरहेकाहरू बताउँछन्। तर, यो समुदायमा जलवायु परिवर्तनको असर पनि उत्तिकै परेको बताइन्छ। 

मासिँदै वन, जीविकोपार्जनमा समस्या

काठका भाँडाकुँडा र सामग्री बनाउनु राउटेको मुख्य सीप हो। काठका कोसी मदुस, झुमा, पिर्कालगायतका सामग्री बनाई गाउँमा लगेर अन्नसँग साटेर जीविकोपार्जन गर्नु उनीहरू पुख्र्याैली परम्परा नै। तर, पछिल्लो समय भने यो समुदायको पेसा नै संकटमा छ। वनका कु–काठ काटी निकै मेहनतका साथ भाँडाकुँडा बनाउने उनीहरूले पछिल्लो समय काठ पाउनै मुस्किल परेको बताए। यसकै कारण अहिले उनीहरू वनमा आश्रित छैनन्। 

विकासका नाममा जथाभावी सडक खन्नेलगातका कारणले वन मासिँदै छ। त्यसको असर सोझै राउटे समुदायमा बढी परेको छ। जीविकोपार्जनको मुख्य स्रोत गुम्दैछ। अहिले नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन धानिरहेको उनीहरू बताउँछन्।

पाइँदैन कन्दमूल

सिकार गर्नु र काठका सामान निर्माण गरी खाद्यान्नसँग साट्नु नै राउटेको जीविकोपार्जनको मुख्य स्रोत थियो। बनाएको काठको भाँडा बोकेर अन्न साट्न गाउँमा पुग्ने र फर्केर आउन भ्याउने समय अन्दाज गरेर यिनीहरू बासको प्रबन्ध गर्छन्। धेरै यस्तै स्थानमा बस्ती बसाउँछन्।

कुनै समय यस्तो पनि थियो– गिठाभ्याकुर, तरुललगायतका जंगली कन्दमूलको भरमा उनीहरू बाँच्थे। गुना बाँदरको शिकार गर्थे। अहिले भने बजारमा पाइने अस्वस्थकर खानपान जंकफुडका कारण यस समुदायका धेरै बिरामी परिरन्छन्। राउटे समुदायका एक युवा प्रकाश शाही अहिले वन जंगलमा गिठाभ्याकुर, तरुललगायतका जंगली कन्दमूल पाइनै छोडेको बताउँछन्। अहिले त आफूहरूले कन्दमूल खानै छोडेको उनको अनुभव छ। भने, ‘हामी जहाँ–जहाँ बस्ती बस्थ्यौं, त्यहाँ नजिकमा प्रशस्त्रमात्रामा कन्दमूल पाइन्थ्यो। सिकार गर्नलाई गुना बाँदर भेटिन्थ्यो। अहिले त कन्दमूल पनि कम मात्रामा पाइन्छ। सिकार पनि कम गर्छौं।’ 

राउटे बस्तीमा अचेल खानपिनको शैली बदलिएको प्रकाश बताउँछन्। सहरीया खानपिनमा रुचि बढ्दो छ। जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्दैछ। यो समुदायमा पछिल्लो केही वर्षयता मदिराको कुलत पनि बढेको छ। 

घट्दैछ जंगल 

राउटे समुदायलाई काठको धेरै आवश्यक पछ। आफ्नो पेसा नै काठमा जोडिएको हुन्छ। पछिल्लो समय वन जंगल मासिँदै गएपछि समस्या भएको राउटे मुखिया सूर्यनारायण शाही बताउँछन्। ‘पहिले जहाँ पुगे पनि प्रशस्त काठ पाइन्थ्यो। आजभोलि त जंगलै सिद्धिन लाग्यो। पहिले जस्तो सिकार गर्न पनि जाँदैनौं। काठका सामग्री बनाउँथ्यौं। अहिले त धेरै कम भएको छ,’ मुखिया शाहीले भने। 

वन जंगल मासिँदै जाँदा चिन्ता लाग्ने गरेको मुखिया शाही बताउँछन्। ‘माथि–माथि जुम्ला, हुम्लातिर घना जंगल छ होला। हामी बस्ने ठाउँहरूमा त जंगलै कम छ, मासिन थाल्यो। हामी त चिन्तित छौं,’ उनले भने। अहिले त दाउरा पनि पाउनै छोडेको मुखिया शाहीले बताए। ‘पहिला–पहिला त मदुस, कोसीहरू धेरै बनाउँथ्यौ। गाउँ–गाउँमा पुगेर अन्नसँग साट्थ्यौं। हामी कोसी, मदुस दिन्थ्र्यौ, गाउँलेहरू धान दिनुहुन्थ्यो। अहिले पहिला जस्ता काठ पनि पाइँदैन। भाँडाकुँडा बनाउन पाउँदैनौं,’ उनले भने। वन जंगलमा प्राकृतिक रूपमा पाइने जडीबुटीसमेत पाउनै मुस्किल पर्ने गरेको मुखिया शाहीले बताए। 

‘वन जोगाऔं, जडीबुटीको संरक्षण गरौं’

राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यदेवी खड्काले जलवायु परिवर्तनको असरले राउटे समुदायमा प्रत्यक्ष प्रभाव पारेको बताइन्। तीनै तहका सरकारले विकासका नाममा जथाभावी सडक खनेर वन जंगल मासिरहेको उनको आरोप छ। ‘राउटे नागरिकहरू वन जंगलमा पाइने कु–काठ काटेर तीनै काठबाट भाँडाकुँडा बनाउँथे। अहिले त सडकले वन जंगल मासिँदै गएको छ। कु–काठ पाउनै मुस्किल छ। त्यसले राउटेको जीविकोपार्जनमा प्रत्यक्ष असर गरिरहेको छ,’ उनले भनिन्। 

राउटेहरू बसोबास गर्ने स्थानहरू पनि मासिएको उनको भनाइ छ। जथाभावी सडक खन्दा राउटे बस्ने बस्तीहरूसमेत पहिरोको जोखिममा परिरहेको उनी बताउँछिन्। घना वन जंगलमा आगलागी हुँदा पनि वन जंगलहरू नस्ट भइरहेको उनको बुझाइ छ। ‘राउटेहरूले पुर्खादेखि वनमा पाइने वनस्पति खाएर बाँच्थे। अहिले त वनमा जडीबुटीहरू पनि पाउनै छोड्यो,’ राउटेकी भान्जी भनेर चिनिने खड्काले भनिन्। थपिन, ‘वन जंगल विनासले आम नागरिकसँगै राउटे समुदायलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ।’

राउटेहरू घना जंगलको बीचमा बस्ने इतिहास रहेको बताउँदै अहिले उनीहरू पुर्खौंदेखि बसोबास गर्ने स्थान नजिकको पानीका मुहानहरूसमेत सुकिसकेको उनले बताइन्। पानीको मुहानहरू सुक्दा राउटेहरू कि त खोला किनार वा अन्य नागरिकका बस्तीनजिकै बस्नुपर्ने बाध्यता रहेको खड्का बताउँछिन्। 

उनी अब पानीको मुहान संरक्षण गर्नुपर्ने र व्यापक रूपमा वृक्षरोपणको कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछिन्। प्राकृतिक रूपमा वन जंगलमा प्रशस्त मात्रामा पाइने जडीबुटी संरक्षणका लागि सरकारले ठोस कदम चाल्नुपर्ने उनको तर्क छ। ‘जडीबुटी संरक्षणका लागि व्यावसायिक रूपमा खेती गर्नुपर्छ वा राउटेहरूलाई नै जडीबुटी संरक्षणको जिम्मा दिइनुपर्छ,’ उनले भनिन्।

चेतनाको खाँचो

राउटे जाति खस–आर्य समुदायको पिछडिएका लोपोन्मुख आदिवासी हुन्। जंगलमा फिरन्ते जीवन बिताउँदै आएका उनीहरू आफूलाई ‘जंगलको राजा’ दाबी गर्छन्। खस भाषा बोल्ने उनीहरू नेपाली भाषा बोल्न र बुझ्न सक्छन्। बाँदरको सिकार गर्ने र कन्दमूल, फलफूल र अन्य वनस्पति खाएर बाच्ने राउटे केही वर्ष अघिसम्म पैसा छुँदा पाप लाग्छ भन्ने मान्यता राख्थे। 

पहिला राउटेहरूले आफूले बनाएका काठका सामग्री अन्नसँग साटेर जीविकोपार्जन गर्दै आएका थिए। तर, धेरैले अहिले त्यसो गर्न छाडे। राउटेहरू आफू सोवंशी, कल्याल र रास्कोटी गरी तीनवटा ठकुरी समुदायको भएको बताउँछन्। सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाले राउटे समुदाय अज्ञानतासँग रमाइरहेको बताउँछन्। जलवायु परिवर्तनको असर लोपोन्मुख जाति राउटेमा पनि परिरहेको बताउँदै थापाले भने, ‘राउटे समुदायमा सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ। ‘वन जंगल मासिँदै जाँदा उनीहरूको पेसा संकटमा छ। पहिला वनजंगलमा पाइने जडीबुटी खाने उनीहरू धेरै बिरामी पर्दैनथे। अहिले मदिराको प्रयोग पनि अत्यधिक छ। अब आमनागरिकहरूसँगै राउटे नागरिकहरूलाई वन जोगाउने र जडीबुटी संरक्षण गर्ने लगायतका विषयमा सचेतना जगाउनुपर्छ,’ थापाले भने।

  •     राउटेमा जलवायु असर चाङ
  •     जथाभावी सडक खन्दा उजाडिँदै वन 
  •     वन मासिँदा जीविकोपार्जनमा समस्या
  •     सुक्न थाले पानीका मुहान
  •     खानेपानीको जोहो गर्नै समस्या
  •     वनमा पाइनै छाड्यो जडीबुटी र कन्दमूल
  •     हराउन थाले गुना बाँदर
  •     खोला किनारमा बाढी र पहिरोको जोखिम उत्तिाकै 
  •     स्वास्थ्यमा प्रतिकूल असर
  •     मदिराको प्रयोग
     

जलवायु परिवर्तनको असरले पानीका मुहानहरू सुक्दै जाँदा राउटे समुदायको बस्तीमा खानेपानीको समस्या छ। ‘खानेपानीका मुहानहरू सुक्दै गएका छन्। राउटे बस्ने बस्तीबाट टाढा–टाढा गएर खानेपानीको जोहो गर्नुपर्छ,’ उनले भने। राउटे नागरिकहरू खोला किनारमा बसोबास गर्दा बाढी पहिरोको जोखिममा पर्ने गरेको उनको बुझाइ छ। सोसेकले राउटे समुदायको शिक्षा, स्वास्थ्यसहितको समाजिकीकरणका लागि एईआएन लक्जेम्बर्गको साझेदारीमा राउटे परियोजना सञ्चालन गरिरहेको छ।

राउटे समुदायको अहिले १ सय ४४ जना जनसंख्या छ। उनीहरू दैलेखको भगवतीमाई गाउँपालिका–२ बेस्तडा बजार नजिकै बसोबास गरिरहेका छन्। स्थायी रूपमा एकै ठाउँमा नबस्ने र बस्ती सरिरहने राउटेको अर्को विशेषता नै हो। धार्मिक, सांस्कृतिक र मौसमअनुसार राउटे एक ठाउँबाट अर्कोठाउँमा बसाई सरिरहन्छन्। राउटे समुदायमा रास्कोटी, कल्याल र सोमवंशी गरी तीन थर छन्। वनको हरियो स्याउला र घोचाहरूद्वारा गोलाकार र अण्डाकार छाप्रो वरिपरि बनाएर बीचमा केटाकेटी खेल्ने र महिलाहरूले धान कुट्ने, निफन्ने ठाउँ बनाउँछन्। छाप्रो बनाउने कार्य महिलाले गर्छन्।

२०७७ जेठदेखि हालसम्म राउटे बस्तीमा १४ जनाले ज्यान गुमाइसकेका छन्। लोपोन्मुख राउटेलाई राज्यको मूल प्रवाहमा ल्याउन कर्णाली प्रदेश सरकारले नीति निर्माण थाले पनि पूर्णता पाउन सकेको छैन। प्रदेश सरकारले अति लोपोन्मुख राउटे समुदायको मूलप्रवाहीकरण नीति–२०७८ को ड्राफ्ट तयार पारेको छ। कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायको जातीय तथा मौलिकता संरक्षण गर्न नीति बनाउन लागिएको हो।

राउटेको मानव अधिकार संरक्षण, समुदायको पहिचान, मौलिकता, इतिहास, परम्परा, लिपी र भाषाको संरक्षण तथा प्रबद्र्धन अहिलेको मुख्य आवश्यकता हो। यो समुदायको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, जीविकोपार्जनका विकल्पहरू पहिचान गर्न, बाह्य समुदायबाट राउटे समुदायमा हुने वा हुन सक्ने लैंगिक तथा यौनजन्य लगायतका हिंसा र भेदभाव अन्त्य गर्न नीतिको आवश्यकता औल्याइएको छ। 

सामाजिक विकास मन्त्रालयले तयार पारेको नीतिमा मानव सभ्यताको इतिहास बोकेको अति लोपोन्मुख राउटे समुदायको पहिचान, मौलिकता र मानव अधिकारको संरक्षण गरी समातामूलक समाज निर्माण गर्ने लक्ष लिइएको छ। तर, काम भने हुन सकेको छैन।-अन्नपूर्ण 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : ३५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *