विश्व कम्युनिस्ट आन्दोलनको प्रकृति मुलतः दुई किसिमको देखिन्छ । प्रथम, सशस्त्र सङ्घर्ष र दोस्रो, शान्तिपूर्ण सङक्रमण । सशस्त्र सङ्घर्षका दुईवटा रूप देखिन्छन् । प्रथम, मजदुर र पुँजीपतिबीचको सहर केन्द्रित विद्रोह र दोस्रो, किसान र जमिन्दारबीचको गाउँ केन्द्रित विद्रोह । शान्तिपूर्ण सङ्क्रमणमा संसदीय प्रणालीको बाटो अङ्गीकार गरिएको देखिन्छ ।
विश्व कम्युनिस्ट आन्दोलनमा मतभेद र विभाजनको शृखौंला यही पेरिफेरिबाट गुज्रिएको पाइन्छ । सन् १८७१ मा फ्रान्सको पेरिसमा मजदुरवर्गको सत्ता स्थापित भयो । पुँजीवादको प्रतिक्रान्तिले जम्मा ७२ दिन मात्र टिके पनि मार्क्सवादी दर्शनअनुसार दुनियाँमा मजदुर वर्गको सत्ता स्थापना भएको यो पहिलो घटना थियो । सन् १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भएपछि मार्क्सवादलाई व्यवहारिक प्रयोग गर्ने पहिलो देश सोभियत सङ्घ बन्यो । अक्टोबर क्रान्ति दुनियाँका लागि नयाँ सिकाइ भयो । अक्टोबर क्रान्तिपछि सोभियत कम्युनिस्ट पार्टीले लिएको नीति तथा कार्यक्रमले विश्व कम्युनिस्ट आन्दोलनले सैद्धान्तिक दिशा प्राप्त गरेको हो । यही सैद्धान्तिक जगबाट विश्व कम्युनिस्ट आन्दोलनको विकास, विभाजन र निकास भएको मान्न सकिन्छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको बिउँ सोभियत कम्युनिस्ट पार्टी नै हो । तर यो भारतीय भूमिमा उम्रियो, चीनको हावामा हुर्कियो । विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको आरोह अवरोहहरूजस्तै नेपालमा पनि कम्युनिस्ट आन्दोलन अगाडि बढेको देखिन्छ । कम्युनिस्ट पार्टीको उद्भव, विकास, विभाजन र आरोप प्रत्यारोपका शृखौंलाहरू हेर्दा रुस र चीनपन्थको लक्षणरेखा नेपालका कम्युनिस्ट पार्टीहरूले नाघ्न सकेको देखिँदैन ।
राणा शासकको निरङ्कुशतन्त्रबाट गुज्रिएर देश र जनता आक्रान्त मात्रै थिएनन्, २०० वर्ष लामो वंश परम्पराबाट चल्दै आइरहेको राजतन्त्रसमेत शक्ति र भूमिकाहीन अवस्थामा थियो
नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुनुमा राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक परिवेशले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । अन्तर्राष्ट्रिय परिवेशमा सदियौंदेखि सामाजिक, सांस्कृतिक र राजनीतिक दृष्टिकोणले नजिक रहेको दक्षिणी छिमेकी देश भारतमा बृटिश उपनिवेशको बर्को च्यातिएर स्वतन्त्रताको मिर्मिरे घाममा लोकतान्त्रिक चौतारी निर्माण हुँदै थियो भने उता उत्तरको अर्को छिमेकी देश चीनमा माओत्जेदुङ्गको नेतृत्वमा भएको जनवादी क्रान्ति तार्किक निष्कर्षमा पुगिसकेको थियो । अलि पर उता रुसमा केवल तीन दशकअघि नै अक्टोबर क्रान्ति सफल भई जोसेफ स्टालिनको नेतृत्वमा विश्व मानचित्रमै फरक खालको नवीन राजनीतिक प्रणाली हुर्किँदै थियो ।
राष्ट्रिय परिवेशको कुरा गर्दा राणा शासकको निरङ्कुशतन्त्रबाट गुज्रिएर देश र जनता आक्रान्त मात्रै थिएनन्, २०० वर्ष लामो वंश परम्पराबाट चल्दै आइरहेको राजतन्त्रसमेत शक्ति र भूमिकाहीन अवस्थामा थियो । स्मरणीय त के छ भने रुस र चीनमा लामो समयदेखि चल्दै आइरहेको जनवादी क्रान्ति सम्पन्न भएका थिए । भारत बाहेक रुस र चीनको राजनीतिक अवस्था कम्युनिस्ट पार्टीको उद्भवका लागि नेपालसँग मिल्दो थियो । १०३ वर्षदेखि राणाहरू नेपालमा निरङ्कुश जहाँनीय शासन गरिरहेका थिए भने वंश परम्परामा आधारित राजतन्त्रसमेत नेपालमा विद्यमान थियो ।
गिरिजाप्रसाद कोइराला कटन मिलमा, मनमोहन अधिकारी केमिकल उद्योगमा, तारणीप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारी जुटमिलका मजदुर थिए
१५ अगस्त, १९४७ मा भारत स्वतन्त्र भएपछि भारतको राजनीतिक सत्तामा जवारलाल नेहरूको नेतृत्वमा भारतीय काङ्ग्रेस पार्टी सत्तामा आयो । अङ्ग्रेजले भारत छोडेपछि नेपालका राणा शासकसँग भारतको सम्बन्धमा समेत हेरफेर हुनुपर्ने अवस्था सिर्जना भयो । भारतीय मुक्ति आन्दोलनमा बीपी कोइराला, मातृकाप्रसाद कोइराला र मनमोहन अधिकारीजस्ता नेपाली नेताहरूको समेत सहभागिता थियो । मुक्ति आन्दोलनका सिलसिलामा अङ्ग्रेज सरकारले उहाँहरूलाई भारतमा पक्राउ गरी जेल हालेको थियो । भारतीय मुक्ति आन्दोलनमा नेपाली नेताहरूको भएको सहभागिता र भारतीय नेताहरूसँग रहेको हिमचिमको परिवेशले नेपाल कम्युनिस्ट पार्टी र नेपाली काङ्ग्रेस पार्टी स्थापनाका लागि वातावरण बन्यो । भारतीय मुक्ति आन्दोलनमा जेलनेल भोगेका नेता मनमोहन अधिकारी २००३ साल फागुन २० गतेदेखि विराटनगरमा सुरु भएको मजदुर आन्दोलनका नेता थिए । त्यो बेला विराटनगर नेपालको प्रमुख औद्योगिक सहर थियो । विराटनगरमा जुट मिल, राइस मिल, कटन मिल, तेल मिल, सलाई कारखाना र केमिकल कारखाना मौजुद थिए । यी कारखानामा करिब ३० हजारको सङ्ख्यामा औद्योगिक मजदुर कार्यरत थिए ।
गिरिजाप्रसाद कोइराला कटन मिलमा, मनमोहन अधिकारी केमिकल उद्योगमा, तारणीप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारी जुटमिलका मजदुर थिए । ती उद्योगहरू मुनाफामा सञ्चालन भइरहेका थिए तर मजदुरहरूको जीवन निर्वाहका लागि अपुग न्युन ज्याला थियो, काम गर्ने समयको ठेगान थिएन । अतः विराटनगरका मजदुरहरूले गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा ‘विरटनगर मजदुर युनियन’गठन गरी आन्दोलनको शङ्खघोष गरे । उक्त आन्दोलन दबाउन काठमाडौँबाट २५० जनाको सङख्यामा सैनिकहरू विराटनगर पठाइयो र मजदुरमाथि कडा दमन र धरपकट गरियो । विराटनगरमा मजदुर आन्दोलन हुनुभन्दा एक महिना आठ दिनअघि मात्र भारतको कलकत्तामा नेपाली राष्ट्रिय काङ्ग्रेसको जन्म भएको थियो । विराटनगरमा मजदुर आन्दोलन उत्कर्षमा पुगेपछि नेपाली राष्ट्रिय काङ्ग्रेसका संस्थापक सभापति बीपी कोइराला आन्दोलनलाई सहयोग गर्न विराटनगर पुगेका थिए । सेनाले बीपी कोइराला, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालालगायतलाई पक्राउ गरी काठमाडौँ जेल चलान गर्यो । बन्दी बनाइएका नेताहरूको रिहाइ र मजदुर हितको माग राखी आन्दोलन सशक्त अगाडि बढ्यो । अब यो मजदुर आन्दोलनमा मात्रै सीमित थिएन ।
आन्दोलनको राँपमा जनता तातेर जहाँनीय राणा शासनविरुद्ध खबरदारी हुन थालिसकिएको थियो तर नेपाली राष्ट्रिय काङ्ग्रेसले बन्दी बनाइएका नेताहरूको रिहाइ नभए २००४ साल बैशाख १ गतेदेखि देशव्यापी सत्याग्रह गर्ने घोषणा गरेर एकाएक (चैत्र १६ गते) आन्दोलन स्थगित गर्यो ।
राणा शासन विरोधी गतिविधिमा संलग्न भएको कारण १९९७ सालमा गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । गंगालाल पुष्पलालका सहोदर दाजु थिए । मृत्युदण्ड दिनु ठीक एक दिनअघि भद्रगोल जेलमा रहेका गंगालाललाई भेट्न सपरिवार जाँदा उनले पुष्पलाललाई भनेका थिएः “माइला मैले प्रजातन्त्रका लागि बालेको दियोलाई तइँले प्रज्वलित पार्नेछस् ।” दाजुको यही शब्द पुष्पलाललाई राजनीतिक प्रेरणाको स्रोत बन्यो । कालान्तरमा यो शब्द नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको एउटा प्रेरणादायी उर्जा बनिदियो । नेपाल कम्युनिस्ट पार्टी गठन हुनुअघि वि. सं. १९९८ मा प्रेमबहादुर कंसाकार, सूर्यबहादुर भारद्वाज र शम्भुराम श्रेष्ठसँग मिलेर पुष्पलालले नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नुभएको थियो । सङ्घमा आबद्ध हुने सदस्यले आफ्नो रगतले सङ्घको प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुपर्ने नियम थियो । सङ्घले प्रजातान्त्रिक जनचेतना बढाउने, विद्यालय खोल्ने, सीपमुलक तालिम दिने, राणाविरोधी प्रचारप्रसारका काम गथ्र्यो । ‘प्रवासमा रहेका नेपालीहरूमाझ नेपाली प्रजातान्त्रिक सङ्घको प्रचार–प्रसारगर्ने उद्देश्यले काठमाडौँबाट पुष्पलाल कलकत्ता गएका थिए ।
यसै सिलसिलामा भारतमा बन्दी जीवन बिताइरहेका टंकप्रसाद आचार्यलगायतका नेताहरूसँग पुष्पलालको सम्पर्क भयो । २००६ सालमा भारतीय कम्युनिस्ट पार्टीका नेता अजय चक्रवर्तीसँग उहाँको कलकत्तामा भेट भयो । चक्रवर्तीसँगको भेटले गंगालालको जीवनमा नयाँ मोड ल्यायो । त्यस बखत पुष्पलाल पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति बसुको समेत नजिक हुनुहुन्थ्यो ।
नेपाल कम्युनिस्ट पार्टीभित्र मतभेद र विवादको बिउँ स्थापना कालदेखि नै रोपिएको तथ्यहरू देखा पर्दछन्
कम्युनिस्ट पार्टी स्थापना हुनुअघि यसका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ नेपाली राष्ट्रिय काङ्ग्रेसका नेता थिए । पछि नेपाली राष्ट्रिय काङ्ग्रेसबाट राजीनामा दिएर पुष्पलाल माक्र्सवादको अध्ययनमा जुटेका थिए । नेपालमा कम्युनिस्ट पार्टी स्थापना स्थापना गर्ने उद्देश्यले डा. केशरजंग रायमाझीलगायतका युवाहरूले कलकत्ताको क्यम्पवेल मेडिकल कलेजमा ‘मार्क्सवादी अध्ययन मण्डल’ स्थापना गरेका थिए । यसमा भारतमा अध्ययनरत डिपी अधिकारी, हिक्मतसिंह भण्डारी, शैलेन्द्रकुमार उपाध्याय, रामबाबु कार्की र एबी प्रधानजस्ता धेरै युवाहरू आबद्ध हुँदै गए । बनारसमा अध्ययनरत मनमोहन अधिकारी पनि यसमा आबद्ध थिए । मनमोहन अधिकारी र डा. केशरजंग रायमाझी भारतीय कम्युनिस्ट पार्टीको सम्पर्कमा समेत थिए । पुष्पलाल श्रेष्ठ पनि माक्र्सवादी अध्ययन मण्डलमा जोडिएका थिए ।
गंगालाल हलुवाईले वि.सं. २००४ सालमा काठमाडौँमा ‘नेपाल साम्यवादी सङ्घ’ गठन गरेर नेपालमा कम्युनिस्ट पार्टी स्थापनाका लागि प्रयास गरेका थिए । तर पार्टीकै रुपमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा विक्रम सम्वत २००६ साल बैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको न्वारान भएको थियो । त्यो दिन पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ गरी पाँच जनाले भारतको कलकत्ता सहरको श्याम बजारस्थित एकजना बंगालीको घरमा ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन गरेका थिए ।
इतिहासका पानाहरू केलाउँदा नेपाल कम्युनिस्ट पार्टीभित्र मतभेद र विवादको बिउँ स्थापना कालदेखि नै रोपिएको तथ्यहरू देखा पर्दछन् । मार्क्सवादी अध्ययन मण्डलमा आबद्ध युवाहरूलाई थाहै नदिई पुष्पलालले सुटुक्क कम्युनिस्ट पार्टी स्थापना गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । पुष्पलालले काठमाडौँबाट कलकत्ता गएका नेवार समुदायका युवाहरूलाई मात्र समेटेर नेपाल कम्युनिस्ट पार्टी गठन गर्नुभएको बताइन्छ । तर पुष्पलालले आफ्नो ‘नेपालको कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास’ भन्ने पुस्तकमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भइसकेपछि डा. केशरजंग रायमाझीको नेतृत्वमा ‘मार्क्सवादी अध्ययन मण्डल’ स्थापना भएको दाबी गरेका छन् ।
पुष्पलालको दाबी र उनीमाथि लागेको आरोपलाई इतिहासमा पानाहरूमा मिहिनरुपले केलाउन आवश्यक छ । केलाइएका इतिहासका पानाहरूले मार्क्सवादी अध्ययन मण्डलमा आबद्ध डा. केशरजंग रायमाझी र मनमोहन अधिकारीजस्ता युवा नेताहरू नेपाल कम्युनिस्ट पार्टीमा नसमेटिनुको कारण र रहस्यको उत्तर मागिरहेका छन् । मार्क्सवादी अध्ययन मण्डलमा संलग्न युवाहरूमध्ये एकजना स्वयम् पुष्पलाल मात्रै नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध हुनुलाई पनि विशेष अर्थमा बुझ्न जरुरी हुन्छ । पुष्पलाल श्रेष्ठ महासचिव र निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ केन्द्रीय सदस्य रहने गरी नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । तर पार्टी स्थापनाको घोषणा र घोषणापत्रको सार्वजनिकीकरण भने २००६ साल भाद्र ३० मा भएको थियो । रोचक प्रसंग त के छ भने पार्टी सार्वजनिकीकरण गर्दा यसका संस्थापक नेताहरूमध्ये एकजना पुष्पलाल मात्रै उपस्थित हुनुहुन्थ्यो ।
भाद्र ३० गते घोषणा भएको नेपाल कम्युनिस्ट पार्टीको महासचिव पुष्पलाल नै थिए तर केन्द्रीय सदस्यमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंह थिए । अयोध्या सिंह भारतीय कम्युनिस्ट पार्टीका प्रतिनिधि हुन् । भाकपा प्रतिनिधि नेकपाको केन्द्रीय सदस्य हुनुले नेकपाको स्थापनाका भाकपाको समेत भूमिका थियो भन्न सकिन्छ ।
एकातिर केन्द्रीय सदस्यमा भारतीय प्रतिनिधि रहनु, अर्कोतिर मार्क्सवादी अध्ययन मण्डलमा आबद्ध युवाहरू नसमेटिनुले नेपाल कम्युनिस्ट पार्टीमा मतभेदको बिउँ स्थापनाकालदेखि नै रोपिएको थियो भन्न सकिन्छ । विवाद र मतभेदको बिजारोपणलाई बल दिने अन्य तथ्यहरू पनि इतिहासमा मौजुद छन् । एक त २००६ साल बैशाख १० गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीलाई २००६ साल भाद्र ३० गते पुष्पलालले भारतीय प्रतिनिधिलाई समेत समावेश गरेर पुनर्गठन गरेका थिए । भारतीय प्रतिनिधिलाई समावेश गर्नुको सीधा अर्थ पार्टी पुनर्गठन गरेर सार्वजनिक गराउन भारतीय कम्युनिस्ट पार्टीको भूमिका महत्वपूर्ण थियो भन्ने देखिन्छ । पार्टी स्थापना हुनुअघि नै भारतीय कम्युनिस्ट नेता नृपेन्द्र चक्रवर्तीसँग पुष्पलालको घनिष्ठ सम्बन्ध थियो । नेपाल कम्युनिस्ट पार्टीको दोस्रो कमिटीमा समेत मार्क्सवादी अध्ययन मण्डलका नेता केशरजंग रायमाझी नसमेटिनुको पनि विशेष कारण र अर्थ हुनसक्छ । पुष्पलालले नेकपाको स्थापनापछि गौरीभक्त प्रधानको सम्पर्कबाट तुलसीलाल अमात्य पार्टी सम्पर्कमा आएको लेखेका छन् । तर, दोस्रो पुनर्गठित कमिटीमा तुलसीलाल अमात्य समावेश हुँदा उनलाई पार्टी सम्पर्कमा ल्याउने गौरीभक्त प्रधान नसमेटिनुको रहस्यको इतिहासले जवाफ दिनुपर्छ । त्यति मात्रै होइन, पुष्पलालले नरबहादुर कर्माचार्यमार्फत मनमोहन अधिकारी पार्टी सम्पर्कमा आउनु भएको उल्लेख गरेका छन् । जबकि, दोस्रो कमिटीमा केन्द्रीय सदस्यमा मनमोहन अधिकारीलाई समेटिँदा पहिलो कमिटिमा केन्द्रीय सदस्य रहेका नरबहादुर कर्माचार्य हटाइए । पार्टी स्थापनाकालमा उत्पन्न अपारदर्शी गतिविधिहरूले नेकपाको जन्म मतभेद र विवादको बिजारोपणसहित भएको तथ्यलाई बल दिन्छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना मिति समेत विवादको घेराभित्र छ । अहिले पनि कतिपय कम्युनिस्ट पार्टीहरुले २००६ साल बैशाख १० गते पार्टी स्थापना दिवस मनाउने गरेका छन् भने कतिपय कम्युनिस्ट पार्टी र घोषणापत्र सार्वजनिकीकरण गरिएको २००६ साल भाद्र ३० गतेलाई स्थापना दिवस मनाउने गरेका छन् । पार्टी स्थापना दिवस र संस्थापक सदस्यको विषयको विवादले २०१७ सालमा चर्को रुप लिएको थियो । २०३५ सालमा स्थापित नेकपा मालेको प्रथम सम्मेलनको दस्तावेजमा ‘नेपाल कम्युनिस्ट पार्टीको स्थापना अन्तर्राष्ट्रिय संशोधनवादको षडयन्त्रको उपज थियो’ उल्लेख गरिएको छ ।
नेपालमा साम्यवादी विचारधाराको प्रचार–प्रसार गर्ने उद्देश्यले २००५ साल चैत्र २३ गते कार्ल मार्क्सले लेख्नुभएको ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ पुष्पलालले नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभएको थियो । सम्भवतः नेपाली भाषामा सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो । ‘कम्युनिस्ट पार्टीको घोषणपत्र’ लाई नेपाली अनुवाद गर्ने पहिलो व्यक्ति पुष्पलाल हुनुभयो । पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली अनुवाद मात्रै गर्नु भएन, नेपाली समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक भएको निष्कर्षमा वर्ग विश्लेषणसहित नेपाली क्रातिको संश्लेषण समेत गर्नुभयो । पुष्पलालले गरेको नेपाली समाजको वर्ग विश्लेषणले नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्रलाई दिशाबोध गर्यो । अतः नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्रमा नेपालमा कम्युनिस्ट आन्दोलनको आवश्यकता र औचित्यलाई पुष्टि गर्ने प्रयास गरिएको छ । घोषणापत्रको प्रारम्भमै प्रथम र दोस्रो विश्वयुद्धले विश्व पुँजीवादी सत्तालाई नै धक्का दिएको र सोभियत सङ्घलगायत पूर्वी युरोपमा समाजवादी आन्दोलनका आशालाग्दा किरण झुल्किएको अर्थमा उल्लेख गरिएको छ ।
जसमा लेखिएको छः–‘विगत चालीस वर्षमा दुईवटा विश्व युद्धहरू भए । पहिलो विश्वयुद्धको कारण विश्वको ६ खण्डको एक खण्ड भूभाग पूँजीवादी घेराबाट मुक्त भएको छ र समाजवादी सोभियत सङ्घको जन्म भएको छ र सबल वैज्ञानिक समाजवाद महान ऐतिहासिक यथार्थतामा फेरिएको छ । …..बेलायत, फ्रान्स र अमेरिकाका पुँजीवादी शासकवर्गहरूले सोभियत सङ्घविरुद्ध हिटलरी फासिस्टवादलाई उठाएर प्रत्यक्षरूपले दोस्रो विश्व युद्धको बाटो तयार पारे तथा खोले । तर दोस्रो विश्व युद्धको फलस्वरूप, सोभियत ध्वस्त नभएको मात्र होइन, बरू पूर्वी तथा दक्षिण–पूर्वी युरोपका कैयन मुलुकहरूले आफूलाई पुँजीवादी–सम्राज्यवादी कैदबाट मुक्त पारेर समाजवादी विश्वको सीमानालाई विस्तारित पारे । दोस्रो विश्व युद्धको फलस्वरूप, अन्तर्राष्ट्रिय मजदूर आन्दोलनले ठूलो फड्को मारेको छ र औपनिवेशिक जनताहरूले खुल्ला सशस्त्र विद्रोहको बाटो लिएका छन् । यसरी विश्व पूँजीवादका मोर्चा र पृष्ठभाग गम्भीर खतरामा परेका छन् ।’
२००८ साल असोजमा नेपाल कम्युनिस्ट पार्टीको कलकत्तामा पहिलो राष्ट्रिय सम्मेलन (१९५१, सेप्टेम्बर २२) भयो
नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्रमा विराटनगर मजदुर आल्दोलनलाई सगौरव प्रस्तुत गरिएको छ र यो आन्दोलनमा नेपाली राष्ट्रिय काङ्ग्रेसले विश्वासघात गरेको आरोप लगाउँदै भनिएको छः ‘विराटनगर जुट तथा कपडा मिलहरूका मजदुरहरुले बाँच्न लायक ज्याला र काम गर्ने राम्रो अवस्थाका लागि हड्ताल गरे । गुप्तरूपमा क. मनमोहन अधिकारीको नेतृत्वमा बनेको मजदुर युनियनले त्यसको नेतृत्व गर्यो। भारतको विश्वासघाती समाजवादी नेता र निष्कासित राणाहरूद्वारा समर्थित नेपाली रष्ट्रिय काङ्ग्रेसका नेताहरूले हडतालप्रति विश्वासघात गरे ।’
नेपाली राष्ट्रिय काङ्ग्रेसले राणा सरकारलाई नेपाली जनताको साझा शत्रु किटान नगरेको विषयप्रति आपत्ति जनाउँदै घोषणापत्रमा लेखिएको छः ‘महाराणाको घृणित सरकार नेपालको श्रमजिवी जनताको साझा शत्रु होइन । उनीहरूको भनाइ अनुसार, कम्युनिज्म र कम्युनिष्टहरू नेपालको लागि मुख्य खतरा हुन् र उनीहरू कम्युनिज्मविरुद्ध आफ्नो “पवित्र अभियान” मा महाराणाको रक्तरंजित हातसित हात मिलाउन समेत इच्छुक छन् ।’
२००८ साल असोजमा नेपाल कम्युनिस्ट पार्टीको कलकत्तामा पहिलो राष्ट्रिय सम्मेलन (१९५१, सेप्टेम्बर २२) भयो । यो सम्मेलनले पनि पुष्पलाल श्रेष्ठलाई नै महासचिव निर्वाचित गर्यो । पाँच जनाको राजनीतिक समितिमा पुष्पलालका अतिरिक्त मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय र अयोध्यासिंह भाइसाहेब यसमा सदस्य थिए । शम्भुराम श्रेष्ठ पछि थपिएका थिए । त्यसपछि पनि केदार खनाल, शैलेन्द्रकुमार उपाध्याय र विजयकुमार दादालाई समावेश गरी समितिलाई नौ सदस्यीयमा विस्तार गरिएको थियो ।
नेपाल भारतबीच भएको सन्धिको विरोध प्रदर्शनीमा २००८ साल कार्तिक २० गते सरकारबाट विद्यार्थी नेता चिनिया काजीमान श्रेष्ठको हत्या भयो
सुषुप्त अवस्थामा रहेको नेकपाभित्रको विवाद र मतभेदले पहिलो राष्ट्रिय सम्मेलनदेखि नै उचाइ लिन थालेको थियो । पार्टी सदस्यता सैद्धान्तिक बहस र विवादको विषय बनेको थियो । पहिलो राष्ट्रिय सम्मेलनअगाडि नेकपाको विधान थिएन । तर पनि राणाहरूलाई कम्युनिस्ट पार्टीको सदस्यता दिनुहुँदैन भन्ने नेताहरूमा मौखिक सहमति थियो । राणाहरूलाई सदस्यता दिने वा नदिने विषयमा नेकपाभित्र दुई धार देखा परे । सदस्यता दिनुपर्छ भन्नेतिर राणाहरूभित्र पनि गरिब राणा भएकोले उनीहरूलाई पार्टी सदस्यता दिन सकिन्छ भन्ने मत थियो भने विपक्षमा राणाहरूलाई वर्गीय दृष्टिकोणबाट हेर्नुपर्ने मत थियो । वास्तवमा अपवादबाहेक कुनै पनि राणाहरू त्यो समयमा गरिब थिएनन् ।
नेकपाको प्रथम राष्ट्रिय सम्मेलनदेखि नै गणतन्त्र र राजतन्त्रको पक्षमा परस्पर दुई फरक मतका विचार देखा परिसकेका थिए
यो अवस्थामा समेत राणाहरूलाई सदस्यता दिने विषयले पार्टीमा प्रवेश पाउनुले नेकपाको प्रथम राष्ट्रिय सम्मेलनदेखि नै धनी र जमिनदार वर्गप्रति नरम दृष्टिकोण राख्ने नेताहरू जन्मिसकेका थिए भन्न सकिन्छ । पुष्पलाल गणतन्त्रको लाइनमा अडिग थिए, तर मनमोहन अधिकारी र डा. केशरजङ्ग रायमाझी संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पक्षपाती थिए । विस्तारै पार्टीभित्र गणतन्त्रको धार अल्पमतमा पर्दै गइरहेको थियो ।
पुष्पलाल महासचिव निर्वाचित हुनुभएको केही समयपछि २००८ सालमा नै राजनीतिक समितिको बहुमतले पुष्पलाल श्रेष्ठलाई महासचिवबाट हटाएर मनमोहन अधिकारी महासचिव भएका थिए । तरर यो विषयमा पुष्पलालले कहीँ पनि उल्लेख गरेका छैनन् । महासचिवबाट हटाइएपछि पुष्पलाललाई गण्डक क्षेत्रको इन्चार्जको जिम्मेवारी दिइयो । फरक विचार र मतले स्थान नपाएपछि पार्टी फुटाउने तथा फरक पार्टी गठन गर्ने रोगले गिजोलिएको नेकपाको महासचिवबाट हटाइए पनि पुष्पलालले भने अलग पार्टी गठन गरेनन् । पार्टीभित्र अल्पमतमा रहे पनि उनले आन्तरिक सङ्घर्ष गरिरहे ।
सन् १९५० मा नेपाल भारतबीच भएको सन्धिको विरोध प्रदर्शनीमा २००८ साल कार्तिक २० गते सरकारबाट विद्यार्थी नेता चिनिया काजीमान श्रेष्ठको हत्या भयो । २००९ माघ ९ गते डा. के आई सिंहले जेल विद्रोह गरे । २००६ सालमा नेपाली काङ्ग्रेसको सदस्य रहेका भीमदत्त पन्त २००७ सालपछि गठित राणा–काङ्ग्रेस सरकारसँग असन्तुष्ट थिए । पन्तले २००७ सालदेखि नै किसानहरूलाई सङ्गठित गरी पश्चिम नेपालमा आन्दोलनको शङ्ख फुकिरहेका थिए । २००८ सालमा भएको किसान आन्दोलनलाई दबाउन सरकारले दमन गरेपछि पन्त नेपाली काङ्ग्रेसको सदस्यता त्याग गरी २००९ सालमा नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा आएका थिए । ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नारालाई उनले किसान आन्दोलनमा बुलन्द बनाएका थिए । सन् १९५० को असमान सन्धिविरुद्ध विभिन्न ठाउँमा भइरहेका विद्रोह र भीमदत्त पन्तलाई सहयोग गरेको बाहनामा सरकारले २००९ साल माघ ११ गते नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो । किसान आन्दोलन दबाउन सरकारले भारतबाट समेत सैनिक झिकाएको थियो । २०१० साल साउन १७ गते उनका साथीको सुराकीमा डडेलधुराको जोगबुढाको बिर्खम जंगलबाट भीमदत्त पन्तलाई पक्राउ गरियो ।
भोलिपल्ट नै भीमदत्त पन्तको हत्या गरियो ।
पार्टी प्रतिबन्धित अवस्थामा २०१० साल माघ १७ देखि २५ गतेसम्म भूमिगतरुपमा नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशन काठमाडौँमा भयो । महाधिवेशनले २००७ सालको आन्दोलनलाई संस्थागत गर्ने निर्णयसहित मनमोहन अधिकारीलाई महासचिव चुन्यो । नेकपाको प्रथम महाधिवेशन यो महाधिवेशनमा ७८ जना प्रतिनिधि थिए भने पार्टी सदस्य सङ्ख्या १६ हजार पुगेको थियो । पुष्पलाल श्रेष्ठ र डा. केशरजङ्ग रायमाझी दुई फरक–फरक एजेण्डासहित महाधिवेशनमा प्रस्तुत हुनुभयो । पुष्पलालले श्रेष्ठ संसदीय प्रजातन्त्र र संविधानसभाको निर्वाचनमा जानुपर्ने विचारको नेतृत्व गरेका थिए भने डा.केशरजङ्ग रायमाझी संवैधानिक राजतन्त्रको पक्षमा थिए । २००६ सालमा जारी भएको नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र गणतन्त्रवादी भएको भन्दै मनमोहन अधिकारले यसमा संसोधन प्रस्ताव राखेका थिए । पुष्पलालले आफ्नो पुस्तक ‘नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास’ मा प्रथम राष्ट्रिय सम्मेलन २००८ सालदेखि नै नेकपाभित्र संसोधनवादले प्रवेश गरेको र मनमोहन अधिकारीले यसलाई संस्थागत गर्नुभएको उल्लेख गरेका छन् ।
प्रथम महाधिवेशनबाट महासचिव निर्वाचित भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा भाग लिन पार्टी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मनमोहन अधिकारी चीन गए । मनमोहन अधिकारी चीन जाने भएपछि कावा महासचिव को हुने भन्ने विषयमा नेकपाभित्र विवाद उत्पन्न भयो । आफू संस्थापक महासचिव भएको हैसियतले कावा महासचिव आफूले पाउनुपर्ने पुष्पलालको दाबी थियो । तर मनमोहन अधिकारीले केशरजङ्ग रायमाझीलाई कावा महासचिवको जिम्मेवारी दिएर चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेसनमा भाग लिन गए । अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि करिब चार वर्ष उनी चीनमा बस्नुभयो । यस अवधिमा कावा महासचिवको जिम्मेवारी सम्हालेका डा. केशरज रायमाझीले नेतृत्व तहमा गुटबन्दी गरी आफूलाई नेतृत्वमा अघि बढाउने मौका पाए । उनले ‘पार्टी कार्यक्रममा परिवर्तन किन ?’ नाममा दस्तावेज नै अगाडि सारे । यसपछि पुष्पलाल र रायमाझी दुई धारहरू पार्टीभित्र मौलाउँदै गए ।
नेकपाको प्रथम राष्ट्रिय सम्मेलनदेखि नै गणतन्त्र र राजतन्त्रको पक्षमा परस्पर दुई फरक मतका विचार देखा परिसकेका थिए । पार्टीभित्र उत्पन्न मतभेदले सैद्धान्तिक विभाजनको रेखा कोरिँदै आइरहेको थियो । प्रथम राष्ट्रिय महाधिवेशनसम्म पुग्दा यसले संस्थागत रुपधारण गर्न लागिसकेको थियो । यहाँसम्म आइपुग्दा देशमा सन् १९५० को असमान सन्धिविरुद्धको आन्दोलनबाट उत्पन्न परिस्थितिले नेकपामाथि प्रतिबन्धसम्मका घटना विकसित भइसकेका थिए । यसैबिच २०१२ साल कार्तिकमा नेकपाको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सोही वर्ष टंकप्रसाद आचार्य नेतृत्वको सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्यो । पार्टीभित्र उत्पन्न मतभेदको असर बिस्तारै जिल्ला तहसम्म फैलिँदै थियो । यसै सिलसिलामा २०१२ सालमा रौतहट र विरगञ्ज कमिटीले केन्द्रसँग सम्बन्धविच्छेदको घोषणा गर्यो। २०१३ सालमा उत्तर गण्डक प्रान्तीय र पूर्व कोशी प्रान्तीय कमिटी, चैनपुर र धनकुटा जिल्ला कमिटीले पार्टी केन्द्रसँग सम्बन्धविच्छेद घोषणा गर्न पुग्यो । क्रमश………
प्रतिक्रिया