१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समृद्धि, चुनावी नारामै सीमित



समृद्धि शब्दको अर्थले सम्पन्न हुनु वा समृद्ध हुनुको भावलाई बुझाउँछ। समृद्धि भनेको कुनै पनि भौतिक अवस्था वा वस्तुको सकारात्मक तथा विकासतर्फको गुणात्मक परिवर्तन पनि हो। कुनै पनि देशको मुख्य उदेश्य समग्र देश र जनताको जीवन समृद्ध पार्नु हुन्छ। समृद्धिका लागि हामीसँग सिंगो मानव इतिहास छ, हामी नेपाली समृद्धिका लागि लिच्छविकाल, मल्लकाल, राणाशासन, शाहकाल हुँदै अहिले पनि यही समृद्धिका लागि लड्दै छौँ, कराउँदैछौँ, नारा लगाउदैछौँ।

आजसम्मको नेपाली राजनीति यही एउटा समृद्धि भन्ने शब्द र सो शब्द प्रयोग गरेर बनेका शब्दका फगत अर्थविहीन हरफ वा नाराको वरिपरि घुमेको त छ नि। हुन त समृद्धि नचाहने को नै होला र ? कुन कालखण्डनै होला र ? समृद्धि आफैंमा सापेक्षिक शब्द हो। त्यसैले यो भौतिक जगत् त्यसमा पनि २१औं शताब्दीको यो वैज्ञानिक युगमा समयसापेक्ष समृद्धिको चाह राख्नु मनासिव नै हो। त्यसैले त यो समृद्धि शब्द अवस्था र स्थितिको तुलना गर्न प्रयोग हुने सापेक्षिक शब्द हो।

अहिले देश संघीय संरचनामा चलिरहेको छ। देशमा हाल ७ सय ५३ स्थानीय सरकार छ। ६ हजार ७ सय ४३ वटा वडा छ। देशले पाँचवर्षे संघीय शासन खेपेर गत वैशाखको स्थानीय निर्वाचनमार्फत हरेक स्थानीय तहले फेरि पाँचवर्षे स्थानीय जनादेश भर्खरै पाएको छ। स्थानीय निर्वाचन भएको झन्डै ६ महिना भयो। यसअघि चुनावमा सुनिएका समृद्धिका नारा यो चुनावमा पनि हुबहु सुनिए, ठाउँ र परिवेशअनुसार विभिन्न समृद्धिका नारा बने। त्यस समय झट्ट नेताको भाषण र नारा सुन्दा विकास त अब केही महिनामा हुँदैछ भन्ने किसिमको थियो। तर चुनावको नतिजासँगै ती नारा ती तथ्यांक गुमनाम भए । प्रायः चुनावमा समृद्धिको नारामा भौतिक अवस्था बदल्ने कुरा मात्रै गरिन्छ। तर आम जनताको समस्या के हो ? ती समस्याको समाधानको बिन्दु कहाँ छ ? त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने तर्फ कसैको ध्यान गएको देखिँदैन र सोहीअनुसारको जनताको खास समस्या सम्बोधन गर्ने नारा कहिल्यै बन्दैन । त्यति मात्रै होइन, विकासको तहगत वर्गीकरण के हो ? कुन तह र कुन अवस्थाको विकास सर्वप्रथम गर्न आवश्यक छ ती कुराको पहिचान र अध्ययनबिनाको विकासे नारा र विकास कति टिकाउ र प्रभावकारी हुन सक्ला ?

नेपाललाई कृषि प्रधान देश भनिन्छ। जस्को अर्थ नेपालमा अन्य स्रोत र साधनभन्दा कृषि कर्म प्रधान वा मुख्य छ भन्ने हो। तर आजको दिनसम्म यो भनाइमै मात्रै सीमित छ। कृषि प्रधान भनिएता पनि कृषिमा देशको लगानी छैन, कृषि क्षेत्रमा हुने समस्याको अनुसन्धान र अनुगमन छैन। यही अनुगमन र नीति नियमको अभावमा कृषि योग्य जमिन बस्तीको रूपमा नासिँदै छ। अनि कसरी हुन्छ त कृषि क्रान्ति ? प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नारा लगाएको केही वर्ष बिते पनि यो परियोजना पनि सीमित पहँुचवालाको मुठीमा छ। वास्तविक किसान अनुदान र सरकारबाट दिने सेवा सुविधाबाट वञ्चित छन्। अनि कसरी पूरा हुन्छ कृषिमा समृद्धिको नारा ?

हामी नेपाली भावनामा रमाउछौं। हामीमा काममा भन्दा कुरामा रमाउने आदत छ। हामीलाई खुसी हुन ठूला काम चाहिँदैन साना मिठा कुरा भए पुग्छ। साँच्चै भन्नुपर्दा हामी नेपालीमा विकासमा भन्दा नाराका ती लयबद्ध आवाजमा रमाउने आदात छ। हामी सोच्छौं समृद्धि भनेको ठुलाठुला विकास गर्नु हो। विश्वका धनी देशहरूसँग प्रतिस्पर्धा गर्नु हो । अनि हामी सोच्छौ पैसाले मात्रै पनि समृद्धि हुन्छ। समृद्धि आर्थिक तथा भौतिक विकासमा छ। तर होला अधिकांश विकासलाई आर्थिक स्रोतले असर पार्ला, भौतिक विकासले समग्र विकासको प्रतिबिम्बित गर्ला तर यो सँगै समृद्धिमा हामीले सामाजिक, भावनात्मक, सांस्कृतिक र पर्यावरणीय पक्षको पनि समानान्तर प्रगति गर्नुपर्ने कुरा अकाट्य छ।

देशको आर्थिक उन्नति प्रगति र समृद्धिका लागि देशका आम नागरिकमा गाउँ, समाज र देशप्रति उत्तरदायी हुने, देशका लागि केही गर्नुपर्छ भन्ने भावना विकसित गराउनु सर्वप्रथम आवश्यकता हो। यदि यस्ता धारणा जनतामा जागृत गराउन सकेमा देश विकासमा राम्रो सघाउ पुग्छ। त्यस्तै देशको विकास भन्नाले सामाजिक, सांस्कृतिक, पुरातातात्विकक र पर्यावरणीय पक्षको पनि विकास हो भनेर त्यसतर्फ पनि सोचेर विकासमा समानान्तर तरिकाले अघि बढ्दा देश वास्तविक चुरो रूपमै विकासमा अघि बढ्छ। किनकि हाम्रो देश सांस्कृतिक, पर्यावरणीय र पुरातातात्विकक रूपमा पनि धनी छ, यी र यस्ता कुरालाई मतलव नगरी देशको समग्र विकास हुन सक्दैन।

अस्वस्थ राजनीति दाउपेच, भ्रष्टाचार, अशिक्षा, द्वन्द्व, बेरोजगारी, महामारी देशका समृद्धिका बाधक हुन्। यी र यस्ता कुराहरूले देश समृद्ध हुनबाट धकेलिन्छ। हाम्रो देशमा हुने गरेका सामाजिक विभेदले पनि देशको सिंगो विकास र समृद्धिलाई पछाडि धकेलेको छ। राजनीति वास्तवमा सेवा हो तर नेपालको हकमा यो पेसा सरह भएको छ। नेपालमा राजनीति दाउपेचको आधारमा गरिन्छ, यहाँ स्वार्थको राजनीति छ। राजनीति गर्नेसँग सेवा गर्नेभन्दा पनि कमाउने, लुट्ने भावना बढी छ। गुण र दोषको आधारमा राजनीति भन्ने कुरा यहाको नेताका मनमा समेत छैन। आफूले गर्दा ठिक अरूले गर्दा बेठिक, आफू ठिक अरू बेठिक यहाँको राजनीति नियमजस्तै भएको छ। भ्रष्टाचार दिनानुदिन बढ्दो छ। गाउँको वडादेखि सिंहदरबारसम्म भ्रष्टाचार छ। नेपालमा ठुलो जनसंख्या अशिक्षाको रेखामुनि हुनुले पनि समृद्धिमा खास असर पारेको छ। दसवर्षे माओवादी जनयुद्ध तथा द्वन्द्वले पनि देशको समृद्धिको यात्रालाई दशकौं पछाडि धकेल्यो। बेलाबेलामा देखा पर्ने महामारी पनि समग्र देशको विकासको बाधक हो। हालसालै कोभिड— १९ महामारी देश विकासको बाधकको रूपमा देखा पर्‍यो।

समृद्धि कागजमा लिपिबद्ध गर्दैमा, पर्चामा लेख्दैमा र सभाहलमा सभा गर्दैमा हुने कुरा होइन। यसको लागि नेपाल सरकारको ढृढ संकल्प, कर्मचारी र आम जनतामा देश विकास र समृद्धिप्रति सकारात्मक ऊर्जा, शैक्षिक जनशक्ति, शून्य भ्रष्टाचार, गुण र दोषको आधारमा हुने नैतिकवान् राजनीति चाहिन्छ। नेपालमा समृद्धिको नारा तब साकार हुन्छ जब सम्पूर्ण नेपाली जो दूरदराजमा रहेर औसत सुविधासहित जीवनयापन र विकासको अनुभूति गर्न पाउँछन्। हरेक नेपालीको मूलभूत आवश्यकता पूरा हुनु र समृद्धिको पहिलो आधार हो। यति भएपछि यिनै कुराहरू गुणात्मक रूपमा बढे मात्रै पनि देश विस्तारै विकास हुने थियो।

आम जनताले स्थानीय नेतृत्वबाट सामान्य अपेक्षा राखेका हुन्छन्। उनीहरूले खानेपानीको सहज व्यवस्था, गाउँमै आधारभूत तथा उच्च सर्वसुलभ शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, कृषिमा अनुदान, सिँचाइको व्यवस्था, विद्युत् तथा गाउँमै सार्वजनिक सवारीसाधनको व्यवस्था, आफ्नो र बालबालिकाको सुरक्षा, कुनै संघसंस्थाबाट छिटो सजिलो झन्झटमुक्त सेवा यी र यस्तै किसिमको सेवा पाएमा जनता खुसी हुने र समाज र राष्ट्रको लागि केही गर्न पनि तत्पर रहन्थे तर आजको दिनमा जनताले न्यूनतम सेवासमेत नपाएको स्थिति छ त्यसकारण पनि जनता नेता र नेतृत्वप्रति सन्तुष्ट छैनन् र समाज र राष्ट्रप्रति योगदान गर्न चाहनै गर्दैनन् ।

नेताले नारा प्रायः विकसित देशको नारा जस्तो बनाउँछन् तर सामान्यभन्दा सामान्य किसिमको काम गर्न सकेका छैनन्। हाम्रो जस्तो विकासको पथमा भर्खरै लम्कन लागेको देशमा सामन्य उद्देश्य राखेर सो पूरा गरे त्यो नै महान् कार्य हुने थियो। हामी जस्तो विकासको हिसाबले पछि परेको देशले विकसित देशको विकास हेरेर मात्रै हुँदैन, समृद्धिले हठात हुने परिवर्तनलाई स्विकार्दैन पनि त्यसकारण हामीले त विस्तारै आफ्नै गति र शैलीमा विकास गर्नु छ। हामीले विकासको कुरा गर्दा नेपालमा गाँस, बास, कपास र स्वास्थ शिक्षा रोजगारमा सामान्य पहुँचसमेत नपुगेका नेपाली नागरिक पनि छन् र तिनको जीवनस्तर मध्ययमस्तर नबनाएसम्म ठुला योजना र नारा शब्दमै सीमित हुन्छ भन्ने बुझ्न जरुरी छ।

समृद्धि तथा समग्र विकासको लागि गाउँ तथा समाजमा विकास र समृद्धिको बारेमा बेलाबेलामा खुल्ला बहस र छलफल गरिनुपर्छ। नेतृत्व तहमा बस्नेले जनताको आलोचना सुन्न, मनन् गर्न र सोहीअनुसार सच्चिन सक्नुपर्छ। देशमा निर्माण भएका विभिन्न ऐन तथा कानुनको सबैले बराबरी पालना गर्नुपर्छ। राजनीति सेवामुखी र गुण र दोषको आधारमा गरिनुपर्छ। योग्य व्यक्तिलाई नेतृत्व गर्ने ठाउँमा पुर्‍याउनुपर्छ। अपराध र भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ। आन्तरिक उत्पादनमा वृद्धि गर्न सक्नुपर्छ। जनतालाई हरेक अवसरमा समान पहुँचको व्यवस्था गर्नुपर्छ। नागरिक समाज चनाखो, उत्तरदायी, खबरदारी गर्ने र राम्रो काममा स्याबासी दिने किसिमको हुनुपर्छ। युवाको युवा अवस्थाको उच्चतम प्रयोग गरी देश विकासमा प्रयोग गर्नुपर्छ। देशको संघीय संरचनाअनुसारको तीन तहबीच आपसी समन्वय हुनुपर्छ। समाजमा अन्याय र विभेद अन्त्य गरिनुपर्दछ। यी र यस्ता आधारभूत कुराहरू व्यावहारिक रूपमा लागू गर्नेसके हामी नेपालिका लागि समृद्धि टाढा छैन। त्यसैले यस्ता कुराहरू लागू गर्नमा हामी सबै लाग्न जरुरी छ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *