बेइजिङ । अनिश्चितता र रूपान्तरणको युगमा मानवताका लागि सबैभन्दा ठुलो चुनौती के हो ? यो प्रश्नको जवाफ फरक हुन सक्छ । गरिबी सूचीको शीर्षमा छ । गत वर्ष ७३ करोड ३० लाख मानिस (विश्वभर एघारमध्ये एकजना) भोकै सुते, जबकि १.१ अर्ब मानिस प्रतिदिन २.१५ डलरभन्दा कम रकममा बाँच्न बाध्य भए । यो महामारी उन्मूलन गर्नु साझा विश्वव्यापी अभियान बनेको छ ।
सबैभन्दा ठुलो विकासशील देशको रूपमा चीनले यो आह्वानलाई जवाफ दिएको छ । यसले ४० वर्षमा ८० करोडभन्दा बढी मानिसलाई गरिबीबाट सफलतापूर्वक बाहिर निकालेको छ, जुन त्यस अवधिमा विश्वव्यापी गरिबी न्यूनीकरणको ७० प्रतिशतभन्दा बढी हो ।
यो विश्व समतातर्फको एउटा महत्वपूर्ण कदम हो र यसले गरिबीविरुद्धको विश्वव्यापी लडाइँमा नयाँ आत्मविश्वास र गति प्रदान गर्छ । यस्तै अनुभव यस लेखमा उल्लेख गर्न खोजिएको छ । चीनले शुद्ध कल्याणकारी र ट्रिकल–डाउन फेन्टासी (धनीहरूलाई दिइने आर्थिक लाभले अन्तत: गरिबलाई पनि फाइदा पुर्याउँछ भन्ने सिद्धान्त) दुवैलाई अस्वीकार गर्छ । चीन कसैलाई केवल माछा मार्ने काम दिनुभन्दा माछा मार्ने काम सिकाउनु उपर्युक्त हुन्छ भन्ने कुरामा विश्वास गर्छ । त्यसकारण, एउटा प्रमाणित दृष्टिकोण भनेको आर्थिक विकासको व्यापक प्रक्रियामार्फत गरिबी निवारणलाई अगाडि बढाउनु र स्थानीय मानिसलाई क्षमता प्रदान गर्नु हो ।
गरिबी निवारणमा चिनियाँ पहल लोभलाग्दो छ । सडक, ५जी र इ–वाणिज्यलाई दुर्गम काउन्टीमा पठाइयोे, त्यसपछि भुक्तानी गर्ने सीपहरूसँग मिलाइयो । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा गोठालाहरूले आफ्ना गाईवस्तुलाई स्वस्थ राख्न पशु चिकित्सा विज्ञान सिक्छन् । दक्षिण–पश्चिम चीनको गुआङ्सी प्रान्तमा इ–वाणिज्य सहकारीले गाउँलेलाई आफ्ना बाँसका टोकरी अनलाइन बेच्न सक्षम बनाएको छ । यसको अर्थ एक मानिसलाई माछा मार्न सिकाउनुहोस् र उसलाई बेच्नका लागि बजार उपलब्ध गराउनुहोस् ।
स्थानीय परिस्थितिसँग मिल्ने नीति
सरकारले प्रत्येक गरिब घरपरिवारलाई दर्ता गर्यो र पाँच प्रमुख तत्व– शिक्षा, उत्पादन, स्थानान्तरण, पारिस्थितिक क्षतिपूर्ति र सामाजिक सहायतासहित गरिबी न्यूनीकरण उपाय लागू गर्यो ।
समग्र अनुदानको सट्टा लक्षित गरिबी न्यूनीकरण रणनीतिले स्थानीय अवस्थाअनुरूप अनुकूलित नीतिको माग गर्छ र अनुकूलित समाधानका उपाय प्रदान गर्छ । उदाहरणका लागि पहाडी क्षेत्रलाई बार्दलीमा खेती र पर्यटनका लागि सहयोग प्राप्त भयो, जबकि शुष्क क्षेत्रमा पानी संरक्षण प्रविधि र खडेरी प्रतिरोधी बालीलाई पश्रय दिइयो । धेरै गाउँलेले मह, चिया र परम्परागत कढाइजस्ता स्थानीय विशेषताले भरिपूर्ण ब्रान्ड सफलतापूर्वक निर्माण गरेका छन् । यसैबिच, पर्यावरणीय पर्यटनले सांस्कृतिक रूपमा धनी क्षेत्रमा सम्पदा संरक्षण गर्दै रोजगारी सिर्जना गर्दै छ ।
समग्र राष्ट्रको प्रयास
गरिबी न्यूनीकरण कहिल्यै पनि एकजनाको काम होइन, बरु सम्पूर्ण पार्टी, समग्र देश र समाजको एकीकृत प्रयास हो, जसले एक शक्तिशाली तालमेल सिर्जना गर्छ । सबैका लागि समृद्धिको भावनामा ‘जोडी सहायता’ कार्यक्रम (सबैभन्दा नवीन रणनीतिमध्ये एक) प्रयोग गरिएको थियो । कार्यक्रमअन्तर्गत ज्ञान, प्रविधि र विशेषज्ञताको बहुमूल्य हस्तान्तरणका लागि अधिक विकसित पूर्वी प्रान्तलाई कम विकसित पश्चिमी क्षेत्रसँग जोडिएको थियो ।
यसको ज्वलन्त उदाहरण मिनिङ सहर हो । पूर्वी तटीय क्षेत्रको फुजियान प्रान्तको सहयोगमा स्थानीय किसानले नयाँ सिँचाइ प्रविधिमा निपुणता हासिल गरे, अंगुर र स्ट्रबेरी खेतहरू रोपे र इ–वाणिज्य नेटवर्क निर्माण गरे । यी उत्पादन अहिले देशभरका ग्राहकसम्म पुग्छन् । त्यसवेलादेखि मिनिङ बाँझो क्षेत्रबाट ६० हजार मानिसको व्यस्त सहरमा परिणत भएको छ । यो अन्तर–क्षेत्रीय सहयोगको प्रभावकारिताको एक शक्तिशाली प्रमाण हो ।
यो राष्ट्रिय परियोजनालाई ठुलो संख्यामा समर्पित व्यक्तिले चलाएका छन् । तीस लाखभन्दा बढी निजामती कर्मचारी, इन्जिनियर, कृषिविद् र युवा पेसेवरलाई गरिब क्षेत्रका गाउँलेसँग प्रशिक्षकको रूपमा बस्न परिचालन गरिएको छ । उनीहरूले नयाँ सीप सिकाए र प्रविधि विकास गरे ।
सरकारबाहेक निजी कम्पनी, विश्वविद्यालय र व्यक्तिले पनि यसमा सहभागिता जनाए । प्रविधि दिग्गजहरूले डिजिटल बजारहरू स्थापना गर्न मद्दत गरे । रेल कम्पनीहरूले कृषि उत्पादनका लागि छुटमा यातायात प्रस्ताव गरे । सेलिब्रेटीहरूले स्थानीय सामानको अनलाइन प्रवद्र्धन गरे । सरकारको नेतृत्वमा रहेको नीतिबाट गरिबी न्यूनीकरणलाई साझा राष्ट्रिय अभियानमा रूपान्तरण गर्दै समाजमा आमूल परिवर्तन गरियो ।
विश्वव्यापी महत्व
विश्वले ध्यान दिइरहेको छ । गरिबी न्यूनीकरणमा चीनको सफलता ग्लोबल साउथअन्तर्गतका देशमा राम्रो जीवनका लागि एउटा महत्वपूर्ण पाठ हुन सक्छ ।थाइल्यान्डले विज्ञान र प्रविधिद्वारा सहयोग गरिएको चीनको गरिबी निवारण अभ्यासबाट प्रेरणा लिएको थाई उपप्रधानमन्त्री विसानु क्रे–न्गामले उल्लेख गरेका छन् । खोन केन प्रान्तमा स्थानीय थाई सरकारले चीनको लक्षित गरिबी निवारण परियोजनाबाट ‘पेअर अप’ मोडेल सिकाइ लागू गर्यो ।
चीन विश्वव्यापी गरिबी न्यूनीकरण सहयोगमा सक्रिय रूपमा संलग्न छ । लुबान वर्कसपजस्ता बेल्ट एन्ड रोड परियोजनामार्फत १८० देशका चार लाख प्रशिक्षार्थीले हाइब्रिड धान, जुनकाओ च्याउ खेती र इ–वाणिज्यको अध्ययन गरेका छन् । ग्लोबल डेभलपमेन्ट इनिसिएटिभले लगभग २० अर्ब डलरको ११ सय परियोजना सुरु गरेको छ । गरिबी न्यूनीकरणमा विश्वव्यापी सहमतिलाई बलियो बनाउँदै ८० भन्दा बढी देश इनिसिएटिभका मित्रको समूहमा सामेल भएका छन् ।
चीनको प्रयासले गरिबी मानव निर्मित नहुन सक्छ, तर मानव जातिद्वारा यसलाई हटाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्छ । चीनको कथा विकासशील देशले गरिबी हटाउन सक्छन् भन्ने कुराको प्रमाण हो । अन्य विकासशील देशले पनि चीनको सिको गर्न सक्छन् । गरिबीविरुद्धको चीनको लडाइँले संसारलाई यही भन्छ ।
बेइजिङस्थित अन्तर्राष्ट्रिय मामिलाका पर्यवेक्षक हुई फ्यानको आलेख ।











प्रतिक्रिया