८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम चिनाउने पहिलो पुस्तक ‘नौखुवा’



अछाम । अछामी भाषा चिनाउने एउटा पुस्तक ‘नौखुवा’ प्रकाशित भएको छ । पुस्तकमा अछामी भाषा–साहित्य, कला, संस्कृति, इतिहास र पर्यटनका विषय समेटिएका छन् ।
नौखुवा प्रतिष्ठान नेपालले प्रकाशन गरेको छमास्या (अर्धवार्षिक) पुस्तकमा प्रकाशित सबै लेख रचनाहरु अछामी भाषामै लेखिएको प्रतिष्ठानका अध्यक्ष कमल संघर्षले बताए । ‘अछामी भाषामै लेखिएको यो पहिलो पुस्तक हो,’उनले भने,‘यहाँ अछामको प्राचिन नाम नौखुवालाई चिनाउने उद्देश्य राखिएको छ । यसमा जम्मा ११२ पेज छन् ।’ उनका अनुसार अछाम जिल्लाका विभिन्न नौ वटा इलाकालाई नौखुवा भन्ने गरिन्थ्यो ।
उक्त समयमा समग्र अछामलाई नौखुवा र अछाममा राज्य गर्ने राजाहरूलाई नौखुवाका राजा भनिन्थ्यो । त्योबेला नौखुवाको राजधानी वुडिथर्पुमा रहेको थियो । समालबंसी राजाहरूले कालान्तरमा अछाम राज्य विस्तार गरेको इतिहास भेटिन्छ । अछामी राजाको इतिहास हेर्दा गोपाल भास्करबाट सुरुवाती इतिहास भेटिन्छ ।
त्यही बेलाको इतिहास अध्ययन गरेर यो पुस्तकमा तात्कालिन नौ इलाका अर्थात नौ वटा राज्यका बारेमा लेखिएको छ । जसमा बाइँकोट, सुरइकोट, कुइकाकोट, जनालीकोट, तिडिगैरा, भुलुकोट, छातासैन, तिखापातल र कोटवाडाका बारेमा उल्लेख गरिएको संघर्षले बताए । भाषा संरक्षणका लागि बिशेष जोड दिइएको यो पुस्तकमा जिल्लाको इतिहास संगै नेपालका पहिलो शहीद बाँकावीर, अछामीका आनन्द केवलानन्द तथा अछामी र नेपाली भाषको सम्बन्ध लगायतका बिषयहरु समेटिएका छन् ।
भाषिक दृष्टिले नेपाल विश्वकै धनी राष्ट्रहरुको सूचीमा छ । राष्ट्रिय जनगणना २०६८ अनुसार १२३ भाषा, १२५ जातजाति र १० प्रमुख धार्मिक सम्प्रदाय रहेको नेपाल बहुभाषिक, बहुजातीय र बहुधार्मिक मुलुक हो, जुन कुरा २०७२ को संविधानको प्रस्तावनामा नै उल्लेख छ । त्यही अनुसार देशभित्रका मुल भाषाहरु जोगाउन नौखुवालाई अनुसन्धानात्मक रुपमा प्रकाशन सुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।
यसअघि अछामी भाषामा केहि साहित्यीक कृतिहरु प्रकाशन भएको भएपनि इतिहासदेखि वर्तमान सम्मको अछामको अवस्था खुलाइएको धेरै लेख रचना समेटिएको यो नै पहिलो पुस्तक हो ।
पुस्तकलाई सदरमुकाम मंगलसेनमा एक समारोहका बिच विमोचन गरिएपछि प्रचारप्रसार सुरु गरिएको छ । यो पुस्तकलाई देशका विभिन्न निकाय र अन्य देशहरुमा रहेका नेपालीसम्म पनि पुगाउने लक्ष्य राखिएको छ । जस अन्र्तगत विभिन्न माध्यमबाट अछामी भाषाको संरक्षण गर्नेगरी यो पुस्तक वितरण भइरहेको छ ।
नौखुवा प्रतिष्ठान नेपालका अध्यक्ष कमल संघर्षको अध्यक्षतामा भएको विमोचनमा अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी, भाषा साहित्य प्रेमी जनकराज भण्डारी लगायतले भाषा संरक्षणका लागि भाषिक विविधता, भाषा र संवैधानिक व्यवस्था, भाषा र समाज, भाषा र राजनीति, भाषा र जनगणनालाई माथि उठाउन प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।
विमोचन समारोहमा हिमाल उदासी, मनोज विवश, डम्बर बोगटी, धनराज साउँद, चेतराज खनाल, महेश जोशी, शुसिल भण्डारी, लक्ष्मण भण्डारी लगायतले अछामी भाषामै आफ्ना रचना सुनाएका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १० : ३० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *